काठमाडौँ पानीको ‘लिटर’ हिसाब, चाहिने ४३ करोड, आउने ८ करोड

‘काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ’, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १३औँ वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । संविधानमा मौलिक हकका रुपमा उल्लेख छ खानेपानी । २४ सै घण्टा आपूर्ति हुनुपर्ने हो । तर, स्रोतका कारण त्यसो हुननसकेको केयुकेएलको भनाई छ ।

‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना पूरा हुन लागेको छ, सपना देख्नेकै कार्यकालमा पूरा नभएपछि त्यसलाई अर्को पुस्ताले पूरा गर्नुपर्ने भएकाले अब हामी पूरा गर्ने चरणमा पुगेका छौँ, डेढ दशकदेखि उपत्यकावासीले शुद्ध खानेपानी पाउन गरेको आशा पूरा गर्न लागिपरेका छौँ’, वार्षिकोत्सवमा खानेपानी मन्त्री मणिचन्द्र थापाले भने । मेलम्चीको पानी आएपछि वितरणका लागि तयार हुन मन्त्री थापाले लिमिटेडका कर्मचारीलाई निर्देशन पनि दिए ।

‘अव्यवस्थित शहरीकरणका कारण खानेपानीको वितरण प्रणाली कताबाट कता जोडिएको छ भन्ने थाहा नहुने भएकाले चुहावटको समस्या समाधानमा कठिनाइ भएको हो’, मन्त्रालयका सचिव माधव बेल्वासेले भने, ‘उपत्यकामा ३० देखि ४० प्रतिशत खानेपानी चुहावट भइरहेको र लिमिटेडले पाँच करोड लिटर पानीमाात्र बाँडिरहेको छ ।’

२०७८ सालको अन्त्यसम्म मेलम्चीको पानी राजधानीमा वितरण गर्ने मन्त्रालयको प्रतिबद्ध मन्त्रालयले मेलम्ची आएपछि हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले केही दिनमा मेलम्चीको पानी सुरुङमा हालेर परीक्षण गरिने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button