गणतन्त्रमा ‘भव्य’ प्रजातन्त्र दिवसको तयारी, राष्ट्रिय कविता/निबन्ध प्रतियोगिता

‘प्रजातन्त्र दिवसको शुभकामना सन्देश शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ,’ ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ अन्तर्गतको प्रचारप्रसार उपसमिति संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा बसेको बैठकले यो निर्णय गरेको छ ।

त्यसैगरी राष्ट्रिय समाचार समिति (रासस) ले प्रजातन्त्र दिवससम्बन्धी आलेख, लेख, टिप्पणीलगायत समाचार सामग्री प्रकाशन गर्ने छ भने नेपाल टेलिभिजन र रेडियो नेपालबाट दिवसको विषयमा केन्द्रित रही प्रत्यक्ष प्रसारण, परिसंवाद, संवाद, अन्तरक्रिया, छलफललगायत जनचेतनामूलक कार्यक्रमको प्रसारण गरिनेछ । गोरखापत्र, द राइजिङ नेपाललगायत पत्रपत्रिकामा दिवसको विशेषाङ्क-स्मारिका प्रकाशनको तयारी भइरहेको छ । दिवसका अवसरमा आआफ्ना घर घरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न आमसञ्चार माध्यमबाट प्रचारप्रसार गरिने सचिव बस्यालले बताए ।

दिवसका अवसरमा दूरसञ्चार सेवा प्रदायकलाई शुल्कमा विशेष छुट दिने लगायतका अन्य प्याकेज ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले व्यवस्था मिलाउने भएको छ । यसैगरी दिवससम्बन्धी शुभकामना सन्देश प्रवाह गर्न प्राधिकरणले आवश्यक व्यवस्था मिलाउने भएको छ । मन्त्रालय एवं सम्बद्ध निकायले दिवससम्बन्धी नारा आआफ्ना वेबसाइटमा अपलोड गर्ने र फागुन ६, ७ र ८ गते दीप प्रज्ज्वलन गर्ने निर्णयसमेत उपसमितिको आजको बैठकले गरेको छ । बैठकमा राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलगायतको सहभागिता थियो ।

माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानको संयोजनमा फागुन ७ गते प्रज्ञा भवनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको हो ।

महोत्सवका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १५०० शब्दसम्मको निबन्ध माग गरिएको छ । प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा अप्रकाशित र प्रसारित कविता तथा निबन्ध फागुन २ गतेसम्म बुझाइसक्नु पर्ने सूचनामा जनाइएको छ ।

कविता र निबन्ध दुबै विधातर्फ प्रथमतर्फ रु. ५० हजार, द्वितीयतर्फ रु. ४० हजार र तृतीयतर्फ रु. ३० हजार नगद र प्रमाणपत्र पुरस्कार रहेको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button