अझै केही दिन चिसो, दुई दिनपछि वर्षात र पहाडतिर हल्का हिमपात
मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ ।
मौसमविद् सजिना शाक्यले आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताइन् । पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ, उनलृ भनिन्, तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ ।
मङ्गलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आगामी २८ गते बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।