दशकपछि पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश
नेपाल पञ्चाङ्ग निर्णायक समितिले गठन आदेश मस्यौदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषद्बाट पारित भएको छ । मन्त्रिपरिषद्को गत पुस २० गतेको बैठकले समितिको गठन आदेश पारित हो । विधेयक समितिले गठन आदेश पारित गर्न पुस २ गते मन्त्रिपरिषद्मा दर्ता गरेको थियो ।
समितिले आर्थिक वर्ष २०६७/६८ मा गठन आदेश मस्यौदा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा पेश गरेको थियो । मन्त्रालयमा पेश भएपछि अर्थ, कानूनलगायत मन्त्रालयको रायसुझाव लिई गठन आदेश पारितका लागि मन्त्रिपरिषद्मा पेश भएको थियो ।
समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई सरकारले गठन गरेको समिति कसरी सञ्चालन गर्ने भन्ने नियम केही नभएकाले धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत विज्ञसँग छलफल गरी त्यसबेला मस्यौदा गरी पठाएको बताउँछन् । संस्कृतिसम्बन्धी विषय सरकारको प्राथमिकतामा नपर्ने गरेकाले पारित हुन समय लागेको उनको बुझाई छ ।
समितिको गठन आदेशसमेत नहुँदा आफैँ कार्यविधि बनाएर काम गर्ने गरिएको अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । गठन आदेश नभएकै कारण विसं २०७० मा बनेको गौतम नेतृत्वको समितिले नै काम गर्दै आएको छ ।
विसं २०२५ मा स्थापिनात समिति शुरुमा अध्यक्ष प्रा डा मङ्गलराज जोशीकै घरमा कार्यालय राखी सञ्चालन भएको थियो । स्थापना हुँदा नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका नाममा दरबारलाई ज्योतिषीय सल्लाह, सुझाव दिने काम हुने गरेको थियो । समितिलाई पात्रो ९पञ्चाङ्ग० स्वीकृतिको जिम्मेवारी पनि दिइएको थियो ।
अध्यक्ष जोशीको निधनपछि विसं २०६१ मा नायब बडागुरुज्यू प्रा डा माधव भट्टराईलाई जिम्मेवारी दिइएको थियो । उनले पनि शुरुमा घरमै कार्यालय सञ्चालन गरेका थिए । केही समयपछि नेपाल प्रज्ञा–प्रतिष्ठानमा समितिको कार्यालय स्थापना गरियो ।
प्रतिष्ठानको एउटा कोठामा कार्यालय साँघुरो भएर २०६६ सालपछि पशुपतिस्थित महास्नानघरमा कार्यालय सञ्चालन गरिएको थियो ।