
पढेको पढ्यै गर्ने बानी भने छैन

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा सुशीला शर्मा ।
तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
चार-पाँच कक्षा पढ्दैदेखि घरमा वुवाले बालकोशेली जस्ता पुस्तकहरु ल्याएर पढ्न प्रेरित गर्नुहुन्थ्यो । स्ाथै श्याम प्रसाद शर्मा लिखित विभिन्न साना साना जीवनउपयोगी पुस्तकहरुले पनि किताब चाँहि पढनुपर्ने रहेछ भन्ने आभास भएको हो । तर किताब पढेको पढ्यै गर्ने बानी भने छैन । व्यवहारिक काम, जीविकोपार्जनका काम, जाँगर आदिले पनि किताबको किरो बन्न सकिएन् ।
किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब पढ्नाले अवश्य पनि दिमागलाई तरोताजा राख्न,नयाँ नौलो या पुरानै कुराहरुलाई सोच विचार गर्न मद्धत पुर्याउँछ । झन लेखन कार्यमा रहेकोले विभिन्न मुद्धाहरुबारे बहसको लागि पनि पुस्तक पढ्नु अनिवार्य हुन्छ ।
तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
किताब पढ्ने यही समय भन्ने छैन् । तर प्रायः दिउँसोको खालि समयमा किताब पढ्ने मूढ चल्छ ।
किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
किताब पढ्दा आफैंमा गम्भिर भएजस्तो, कुनै भावमा गहिरिएजस्तो लाग्छ ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
प्रायः प्रेरणादायी, महिलाका सवाल, तथा नविनतम सोच जगाउने महिलाद्धारा लिखित पुस्तक पढ्न मन पर्छ । सरस्वती प्रतिक्षाको “स्व” पढिरहँदा पनि आनन्द आएको थियो ।
किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
किताब पढेर अवश्य पनि जीवन दृष्टिमा परिवर्तन आएको छ । समाज, महिला वर्ग, मूल्यमान्यता र यसका असरहरुबारे आलोचनात्मक दृष्टिकोण बनाउन मद्धत पुगेको छ ।
तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
पहिले कागजी पुस्तक नै मन पराईन्थ्यो । किताब संग्रह गर्ने शौख नै बनेको थियो । तर अब विस्तारै सामाजिक सञ्जालतिर आकर्षित हुने क्रममै अध्ययन पनि डिजिटलतिर दल्किरहेको छ । तर किताबको महत्व घटेको भने छैन् ।
नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
नियमित किताब पढ्ने बानी कमजोर हुँदै गईरहेको जस्तो लाग्छ आफैंलाई । तर पनि मोबाईल हातमा लिईबस्दा पनि छेउमा एउटा किताब राख्ने र थोरै भए पनि अध्ययन गर्ने गरेको छु । नव पुस्तालाई पनि यो किताब पढ भनेर हातमै थमाई पनि दिन्छु ।
किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
अन्य काममा त्यति व्यस्त हुन नपरेको अवस्थामा पढ्नैको लागि त्यस्तो चुनौती छैन् । प्रायः हिन्दी र नेपाली भाषामै लेखिएका पुस्तक पढिन्छ । सरल र आफूले बुझिने खालका किताब पढ्ने हुनाले किताब पढ्नु चुनौती छैन् ।
तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
किताबकै विषयलाई लिएर अरु पाठक साथीहरुसंग खासै त्यस्तो बहस गर्ने गरेको छैन् । बरु पुस्तक पढिसकेपछि उक्त पुस्तकको आफूलाई लागेको विषयमा लेख लेख्ने या सामाजिक सञ्जालमा पनि लेख्ने गरिएको छ । तर पनि किताबबाट प्राप्त रचना र दृष्टिकोणले किताबका अरु पाठक साथीभाईसंग चर्चा गर्न भने प्रेरित गर्दछ ।
किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
पढ्न रुचि हुनेहरुले कुनै न कुनै रुपले आफूलाई अध्ययनमा समाहित गराईरहेकै हुन्छन् । विभिन्न पुस्तक प्रदर्शनी, पुस्तक विमोचन आदिमा गएर आफूलाई मन लागेको पुस्तक लिने र पढ्ने अनि समालोचना पनि गर्ने गर्दछन् । यसरी पुस्तकप्रतिको मोह देखाउने मानिसहरु देख्दा ओहो कति पुस्तक प्रेमी मानिसहरु भनेर खुसी लाग्छ । अक्षर चिनेकाले विश्व चिन्न अक्षर नचिन्नेलाई भन्दा सजिलो हुन्छ सो कारण पनि पढ्नु पर्छ । यसो भनिरहँदा पुस्तकको पहुँचमा नभएका अनि खासै पुस्तक नपढ्नेलाई कम आँक्न पनि हुँदैन् । ज्ञान, बुद्धि भन्ने कुरा मानिसमा हुने गुणहरु हुन पुस्तक पढ्नेहरु मात्रै ज्ञानी या बुद्धिमान भन्ने भ्रम पनि हुनसक्छ हामीमा । सबैभन्दा ठूलो कुरो मानिस समय सापेक्ष र प्रगति उन्मुख छ कि छैन भन्ने हो । अर्को कुरा हाम्रा छोराछोरी पुस्ताका कयौं जमातले आफ्नो कोर्शबाहेक पुस्तक पढ्ने गरेको पाईदैन् । उनीहरु आफूलाई चाहिने सूचना डिजिटल माध्यमबाट नै लिन्छन् । नयाँ पुस्ताले पनि नयाँ ज्ञान, पुराना ईतिहास, विश्व परिवेश, कला साहित्यबारे अझ गहिरिएर बुझ्न पनि पुस्तक त पढ्नुपर्ने हुन्छ । डिजिटल माध्यमको साथसाथै पुस्तकको पनि छनौट गर्ने र पढ्ने गर्दा नवपुस्तालाई पनि फाईदा नै गर्दछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



