‘मध्यावधि निर्वाचनले आर्थिक सुधारमा अवरोध हुँदैन’
हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुवल मिटिङमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनैतिक प्रणालीको एउटा प्रक्रिया भएको र नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरेका छन् ।
उनले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीतिहरु संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै राजनीतिक विषयमा दलहरुको छुट्टा छुट्टै मत भएता पनि नेपालका समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको बताए ।
अर्थमन्त्री पौडेलले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रम कुनै व्यक्ति वा दल विशेषको लागि लक्षित नभै नेपालको समग्र आर्थिक विकाससँग सम्बन्धित विषय भएकाले निर्वाचनपछि गठन हुने सरकारले पनि कार्यान्वयनमा ल्याई निरन्तरता दिनेमा विश्वस्त हुन आग्रह गरे ।
उनले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रममा उल्लेखित विषयाहरु संरचनागत सुधार, श्रोत व्यवस्थापन, वित्तीय संघीयता तथा वित्तीय सुशासनका लागि निकै महत्वपूर्ण र दीर्घकालीन रुपमा प्रभाव राख्ने प्रकृतिका रहेको बताए ।