
बा-आमाका तलब र भत्ताकाे निर्धारित सिमा के ?
बा-आमा
मिरा पुडासैनी
आफ्ना जीवनका उर्वर समय खर्चेर
बा-आमाले देखेका कैयाैं सपनाहरू
कति निदाएरै देखेका त कतिले निदाउनै नदिएका,
के सबैका सपनाहरू पूरा भईरहेका हाेलान् ?
तर ती सपनाहरूलाई पुरा गर्नलाई
तिनीहरूले चर्चेका समयकाे लिखत खै ?
बा-आमाले पाउने बिदा खै ?
तिनले पाउने स्वएच्छिक अवकाश खै ?
कहिले हुने सेवा निवृत
बा आमाकाे तलब र भत्ताकाे निर्धारित सिमा के ?
छाेरा छाेरी हुर्काउनमा व्यस्त उनीहरू
त्याेबेला त विदा पाएनन्,
अहिले त झन् पाउने कुरै भएन,
स्कुल पढ्दै गरेका छाेरा छाेरीका कलेज सक्किसकेछन्
छाेरा विदेशमा आफ्नाे श्रम र पसिना बेचिरहेछ
छाेरीले पराई घरलाई सिङ्गारिरहेकी छे
कुटुम्वका घरमा पर्ने रीति रिवाज भ्याईनसक्नु चटाराे छ
घर विदा,भैपरि आउने विदा, तलवी ,बेतलवी,
पर्व बिदा, सुत्केरी अनि क्रिया विदा,
बिदा त कति कति,
त्याे नलिएबापत पाउनु पर्ने भत्ता कति कति
तर
छाेराबाट निवृत भई बाबु अनि बाजे भईन्जेल
छाेरीबाट, बुहारी, सासू र हजुरआमा बनुन्जेल
कति पाए त तिनीहरूले विदा अनि विदा वापतका भत्ताहरू ?
कसले राखाेस् हिसाब कस्ले राखाेस् दस्तावेज ?
देशी अनि विदेशी छाेरा छाेरीका निम्ति
बुड्याैलीमा पनि त्यत्तिकै सक्रिय भईरहेका छन्
छाेरा छाेरीका सन्तान रूङ्गिदिने बहानामा
दिन कटाउने, समय र मन भुलाउने,
नाति नातिनी र घर कुर्दाकुर्दै बित्ने
तिनिहरूका बेतलवी दैनिकीहरूलाई,
तलव भत्ता त खै, कृतज्ञता पनि मिल्दैन कसैकसैलाई
तर पनि सति साल झै अटल ती बृद्ध शरिरहरू
सन्तानकै खुशीमा रमाईरहेका छन् निश्वार्थ,
छाेरा छाेरीका निम्ति बनाएका रित्ता महलहरू
नि:शब्द निर्विराेध कुरिरहेछन्
आउ हामी मिलेर सुरूवात गराैं
तिनका अवकाश पछिका जीवनका केही पलहरूलाई
सम्मानित बनाईदिने काेशिस गराैं उमेरभरिका लगानीलाई
बुझिदिने काेशिस गराैं उनीहरूका भावनाहरूलाई
हाे, अब बेला भईसकेकाे छ,
हामीले नबुझे कस्ले बुझ्ने
हामीले नगरे कस्ले गर्ने ?
किनकि ढिला वा चाँडाे त्याे
समय चक्र घुमेर हामी तिरै लम्किरहेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)