साथी ! ‘युज एन्ड थ्रो’ मेरो शब्दकोषमा छैन

साथीका कुरा सँधै माथी

नरध्वज तामाङ (क्षितिज)

साथी ! जिन्दगी यस्तै त रैछ । यहाँ सबैले सबैलाई एउटै किसिमले कहाँ बुझ्छन् र ! खासमा भन्नुपर्दा त्यसरी बुझ्नैपर्छ भन्ने पनि हुन्न । जे जस्तो भए पनि मैले पटक्कै माइन्ड गरेको छैन । गर्दिँन । बरु मेरो तर्फबाट समयको दौरान केही न केही कमजोरीहरु भएको भए साँच्चिकै माफी चाहन्छु । तिमी जहाँ जसरी रहे पनि जे गरे पनि खुशी रहनु ! भगवानमा बिश्वास त खासै छैन; तर मेरो तर्फबाट भगवानसँग सदासदा यहि प्रार्थना रहनेछ तिम्रा लागि । खैर, मेरो लागि जिन्दगीको अर्को नाम सिकाई भयो । सिकाउनेहरु धेरै आए । गए । फेरि धेरै आउलान् । लाग्छ म निकै भाग्यमानी रैछु । किनकी छोटो जिन्दगीमा धेरैजना गुरुको साक्षात्कार गर्ने अवसर पाएँ । अझै यसरी नैं सिकिरहन पाउँ । यसैलाई ठुलो शौभाग्य ठान्छु म । बाँकी त समयको जिम्मामा छोडेको छु । समयलाई धन्यवाद !

अँ, यहाँनेर एउटा कुरा भने भन्नैपर्छ मैले । तिम्रो बुझाईप्रति मेरो केही दुखेसो थिएन । छैन । गफ होइन, म अरुले देखिने र सोचेभन्दा बढी सुझबुझ भएको मान्छे होजस्तो लाग्छ आफैंलाई चैं । यति फरक हो; म आफ्नो फाइदाको लागि औसत मान्छेजस्तो निर्मम हुन सक्दिँन । झन् युज एन्ड थ्रो त मेरो शब्दकोषमा छैन । मानवीयताका न्युनतम बारहरु कुल्चिनु भन्या मेरा लागि सगरमाथा नाघ्नुभन्दा गाह्रो काम थियो । हो । यो मेरो आफैंप्रतिको बढी विश्वास हो । यो ओभररेटेड पनि हुनसक्छ । मलाई आफ्नो स्व-मुल्याङ्कनमा अब्बल देखाउनु गलत होजस्तो लाग्दैन । आफुलाई विश्वास गर्नु नराम्रो होइन । यस्तो त धेरैले गर्छन् यहाँ । तर घमण्डको फ्लेवर आउन नदिई मिलाएर गर्नुपर्छ जस्तो लाग्छ ।

हुन त सुदुर भविष्य कसले देख्या छ र ! तर जुन दिनसम्म हामी साथी रहन्छौँ नि त्यो दिनसम्म हाम्रो सम्बन्ध मित्रवत र आत्मीय रहिरहोस् भन्ने मेरो पनि चाहना थियो । छ । भोलि पनि हुनेछ । मित्रता टिक्नु नटिक्नुमा धेरैखाले फ्याक्टरले काम गर्छ । गर्दोरहेछ । फेरि सबैखाले सम्बन्ध मोडिफाई बिना नैं दिगो हुनैपर्छ भन्ने नि हुन्न । तर यस्तो होस् कि टाढा हुँदा नि पुराना साथीको बयान गर्न चैं नछोडोस् । कम्तिमा नराम्रो नभनोडस् । अझ टाढै बसेर गरेको गुणगानको ठुलो महत्त्व हुन्छ । हुँदोरहेछ । एकबारको जुनिमा त्यो पो ठुलो र महत्त्वपूर्ण कुरा हो त ! अर्को एउटा अचम्मको कुरा भन्छु- मलाई छोडेर गएकाहरुले/मैले बिशेष कारणले छोडेकाहरुले समेत आजसम्म मेरो बारेमा सकारात्मक नै कुरा गरेको नजिर छ । बस्, सकिन्छ सबैले सकारात्मकताको बिजारोपण गरौं । धेरै ठुलो कुरा बिस्तारै सिकौंला । गर्दै गरौंला । शुरुमा सिक्नु छ भने यहि सानो सानो कुराबाट सिकाईको शुरुवात गरौँ । मानवता अनि मित्रता बचाउने यो अभियान जारी राखौं ।

जय जिन्दगी !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button