पहिलो तलबले बालाई कोट अनि आमालाई सारी सिउन मन छ
भावना कटवाल
असल बाटोमा हिँडी
सभ्य जीवनको रेखा कोर्न मन छ
समय, परिस्थिति अनि आधीहुरीसँग
बहस गर्न मन छ ।
र, पनि पहिलो तलबले
बालाई कोट
अनि आमालाई सारी सिउन मन छ
तर के गर्नु यात्री न परेँ
पूर्णविराम नलागुन्जेल यात्रा गरिरहन मन छ ।
कहिलेकाहीँ कताकता
डरको पहाड सामु बनी आउँछ ।
बा–आमाको मिहिनेत
त्यसै खेर जाने हो कि भनी सताउँछ ।
र, पनि पहिलो तलबले
बालाई कोट
अनि आमालाई सारी सिउन मन छ
तर के गर्नु यात्री न परेँ
पूर्णविराम नलागुन्जेल यात्रा गरिरहन मन छ ।
सफलतालाई केले छेक्यो भनी
बा–आमाको मनले उत्तर खोज्छ
गन्तव्यमा पुग्न पाइला लम्के पनि
मिहिनेत चुके जस्तो मलाई लाग्छ ।
र, पनि पहिलो तलबले
बालाई कोट
अनि आमालाई सारी सिउन मन छ
तर के गर्नु यात्री न परेँ
पूर्णविराम नलागुन्जेल यात्रा गरिरहन मन छ ।
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)