
तिहार त सोचेभन्दा विशेष रहेछ, लक्ष्मी पनि एक होइन आठ रहिछिन्
रितु शाक्य
हाम्रा पूर्वज महान अत्मज्ञानी साधुसन्तहरुले साधनाको बलबाट आर्जित ज्ञानहरुलाई धर्म, ग्रन्थ, अध्यात्म, संस्कृति र चाडपर्वको रुपमा भावी पुस्ताको लागि छोडेर गए । बर्षैभरि मनाइने विविध चाडपर्वका आ–आफ्नै मौलिकता रहेको पाइन्छ । प्रत्येक चाडले हामीलाई सकारात्मक सन्देशसहितको ज्ञान दिएको छ । तर हिजोआज चाडपर्वको बिशेषता नबुझी जथाभावी मोजमस्तीको रुपमा मात्र मनाउन थालिएको हामी देख्छौं, जसको केहि अर्थ नै हुँदैन । अनावश्यक देखासिखी, उत्ताउलोपन र देखावटीले ती मौलिक चाडको अस्तित्व नै हराएको छ ।

हाम्रो सबैभन्दा महान रास्ट्रिय चाड बडादशैं र तिहार हुन् । बडादशैंमा नवरात्रीको साधनाको अर्थ हुन्छ, आफूभित्रका सम्पूर्ण नकारात्मक तत्वलाई हटाएर आफूभित्र विविध सकारात्मक गुण भरेर आफुलाई शुद्दिकरण गर्दै पूर्ण बनाउनु ।
महान चाड तिहारले पनि त्यस्तै सन्देश दिएको छ जुन बिषयमा हामी आज चर्चा गर्छौं । तिहारमा झिलिमिली बत्तीको अर्थ हुन्छ कि हामीभित्रको आनन्द जगतलाई छर्नु । मिठाईको अर्थ हुन्छ आफ्नो बोलीवचनमा मिठास ल्याएर सबको प्रिय बन्नु । सरसफाईको अर्थ हुन्छ मनको शुद्धिकरण । सयपत्री फूलको अर्थ हुन्छ विविध गुणले सम्पन्न हुनु र आफ्नो सद्भाव सबैमा छर्नु ।
तिहारमा विशेषत अष्टलक्ष्मीको साधना गरिन्छ । अष्टलक्ष्मीको विशेष महत्व छ हाम्रो जीवनमा । जो व्यक्ति सम्वृद्धशाली हुन चाहन्छ, उसले अष्टलक्ष्मीको साधना अवश्य गर्नु पर्छ । यहाँ साधनाको अर्थ पूजापाठ मात्र नभई आफूभित्रको त्यो आठवटा गुणको विकास गर्नु हो । ती आठ लक्ष्मी र गुणहरु यसप्रकार छन् ।
१. आदीलक्ष्मी– मोक्षकी देवीको रुपमा चिनिने आदी लक्ष्मीको गुण हामीले आफुमा ल्याउन विभिन्न ध्यान, योग र साधना गरेर आफुमा चैतन्यको विकास गरेर आफुलाई सम्वृद्धशाली र पूर्ण बनाउनु पर्ने हुन्छ । त्यसको लागि एउटा शक्तिशाली लक्ष्य लिनु पर्दछ ।
२, धनलक्ष्मी– धन भनेको पैसा र भौतिक सम्पति मात्र नभई ती बस्तु कमाउन चाहिने शिक्षा, दिक्षा, ज्ञान र सीप पनि धन नै हो । यस्तो धन कमाउन जुन उर्जा चाहिन्छ, त्यो पनि धन नै हो । आफुले आर्जन गरेको धन र उर्जा सहि ठाउँमा खर्चिनाले ती अझ बढ्छन् भने अनावश्यक खर्च नगरी बचाउनु पनि धन कमाउनु बरावर हुन्छ । हामीले धनलक्ष्मीको साधना गर्नु भनेको आफुमा सचेतना र कार्य कौशलता बढाउनु हो ।
३. धान्यलक्ष्मी– धान्यलक्ष्मी त्यो शक्ति हो, जसले अस्थिर मनलाई स्थिर बनाएर अनावश्यक विचारहरुलाई हटाएर एउटा महत्वपूर्ण विचारमा मनलाई केन्द्रित गरेर एउटा महान लक्ष्य हासिल गर्न सहयोग गर्छ । यसले हामीभित्रको असिमित सम्भावनालाई उजागर गर्न सहयोग गर्छ ।
४. गजलक्ष्मी– गजलक्ष्मी त्यो शक्ति हो, जसले हामीलाई यति साहस दिन्छ जुन साहसको बलले हामीले न केवल आफ्नो वल्कि सम्पूर्ण जगतको कल्याण गर्ने, सबैको भरोसा जित्ने, आफुलाई सुन्दर र आकर्षक व्यक्तित्व बनाउने क्षमता प्रवल गर्छ ।
५. सन्तानलक्ष्मी– धन सम्पति मात्र धन नभई सन्तान र सम्बन्ध पनि सम्पत्ति नै हुन् । सन्तान लक्ष्मीको शक्तिले हामीलाई सबैसँग सुसम्बन्ध कायम गर्ने, अपनत्व बढाउने, सेवाभाव, करुणाभाव, सम्मानभाव बढाएर सबैलाई एकजुट बनाएर समुहगत कार्य गर्न प्रेरित गर्ने र आफ्नो लक्ष्य पूर्ण गर्ने सामर्थ्य प्रदान गर्छ ।
६. विद्यालक्ष्मी– ज्ञान नै शक्ति हो भन्ने उक्ति हामीले सुनेकै छौँ । आफ्नो लक्ष्य प्राप्तिको लागि आवश्यक ज्ञान, शिक्षा, सीप, कला तथा अध्यात्मिक ज्ञान सिक्नु नै विद्यालक्ष्मी प्राप्त गर्नु हो ।
७. वीरलक्ष्मी– आफ्नो लक्ष्य पुरा गर्नलाई आवश्यक ऋण लिने आँट, जोखिमलाई लिने आत्मबल, काममा निरन्तरता, लक्ष्य प्राप्ति गर्ने संकल्पशक्ति, अनावस्यक गुनासो हटाउने प्रवृति, आफ्नो कार्यप्रति लगनशीलता आदि गुण नै वीरलक्ष्मी हुन् ।
८. विजयालक्ष्मी– आफ्नो लक्ष्यप्रति इमान्दार भई लक्ष्य प्राप्ति गर्न पुर्व नै लक्ष्य प्राप्ति भइसकेको सोच र आचरण गर्दै अगाडि बढ्दै आफ्नो लक्ष्य प्राप्ति गर्नु नै विजयालक्ष्मी प्राप्ति हुनु हो ।
यी आठ लक्ष्मीको शक्ति आफुमा जन्माउनु नै लक्ष्मीपुजाको मूल ध्येय हो । हामीले आउदै गरेको लक्ष्मी पुजामा यी आठ शक्तिलाई बढाउने संकल्पका साथ साधना गरेर आफुमा पूर्णता हाँसिल गरी सम्वृद्धवान हुन सकौं ।
सबैमा तिहारको यही शुभकामना ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




चेतनामूलक सान्दर्भिक लेखकालागी बधाई ।
Commendable discourse