
दशैंः हिँड्ने बेला आफू बिरामी, फर्कने बेला बाबु
यसपालिको दशैँ
हरिप्रसाद गौतम
हाल: स्वयम्भू
दशैँ भन्नेबित्तिकै हरेक व्यक्तिको मनमा आफन्तहरूसँग भेटघाट गर्ने, आफूभन्दा ठुलाबडासँग टीका थापेर आशीर्वाद लिने अनि मिठो मिठो खाना खाँदै रमाउने भन्ने विचार पैदा हुन्छ । हुन त सत्य पनि त्यही नै हो । तैपनि यात्रा गरेर गन्तव्यमा पुग्न नपर्नेहरूका लागि त यो चाड यत्तिमै सीमित होला तर टाढा टाढा पुगेर दशैँ मनाउनुपर्नेका लागि यो चाडको परिधि अझै फराकिलो र चुनौतीपूर्ण हुने गर्दछ । यस्तै एउटा सत्यभित्र समेटिएको छ हाम्रो यसपालिको यात्रा । अनेकानेक सम्झनयोग्य क्षणहरूले भरिपूर्ण हाम्रो यस यात्रामा फरक अनुभूतिका हाँगाहरू पलाएका छन् । त्यसैले पनि साँच्चै नै पृथक र अविस्मरणीय बनेको छ हाम्रो यात्रा !

हाम्रो यसपालिको दशैँ पूर्वनिर्धारित स्थान र मान्यजनसँग मनाउने गरी तय भएको दशैँ हो । हजुरबाआमा हुँदा पहिले पहिले जहाँ टीका थापिन्थ्यो, बाआमाको शेषपछि हामी गुल्मीदरबार १ अन्तर्गत पर्ने जन्मघर टारी पुगी कान्छीआमा शारदा गौतमको हातबाट सोही स्थानमा टीका थाप्न निस्केका थियौँ । माइला भाइको वैदेशिक जीवन अनि कान्छा-कान्छीको व्यस्तताले गर्दा हामीले परिवारका ३ जनाको लागि मात्र टिकट लिएका थियौँ । १५ गते बिहान काठमाडौँबाट बुटबलसम्मको टिकट हातमा लिएपछि सुरु भएको ज्वरो र टाउको दुखाइले म शिथिल भएको थिएँ । अवस्था हेर्दा टिकट फिर्ता लिनुपर्छ कि जस्तो नभएको कहाँ हो र ! तैपनि हामी ३ जना डराईडराई बसपार्कमा पुगेका थियौँ । खानेकुरा मुखमा हाल्दा वाकवाकी लाग्थ्यो । तैपनि यात्रालार्इ रोक्न मन लागेको थिएन । बसपार्कमा पुगेर ६ बजे साँझ क्याबिनको सिटमा कोचिएर बस्दा मेरो शरीर निकै नै तात्दै थियो । ६ बजे छुट्नुपर्ने गाडी त गाडीकै भिडभाडले गर्दा १० बजे त्यहाँबाट छुटेको थियो । शरीरमा ज्वरो बोकेर म सपरिवार बुटवल त पुगेँ तर त्यहाँ गुल्मीको टिकट पाउने छाँट नदेखेपछि निराश भएँ । त्यहाँ थप दुई जना नातेदार साथी पनि भेटिए । मिलेर नयाँ थप गाडीको प्रतीक्षा गरियो । प्रतीक्षा गरेअनुसारकै सिट पाउन सफल भयौँ । गाडीको व्यवस्था नगरी एकाबिहानै साथीभाइ भन्दै कतै दायाँबायाँ लाग्ने त कुरै भएन । त्यसैले बिहान ७: १० को टिकट भएकाले गाडीभित्र बस्यौँ । दशैँको भिड उसैमा हनहनी ज्वरोले मनलाई त्रसित नबनाएको त कहाँ हो र ! यसो भयो भनेर धैर्य गुमाउन त भएन क्यार ! त्यसैले सकीनसकी भए पनि हामी रुरु पुग्नका लागि तम्घाससम्ममको टिकट किनेर सप्तमीको गन्तव्य : थोर्गाको तीला’र (ससुराली) पुगेका थियौँ ।
छोरा साकारलाई मामाघरमा छाडी हामीले जन्मघर टारी जाने तयारी गर्यौँ । हुन त त्यस दिन प्रतिभा स्कुलले स्वर्णजयन्तीको स्मारिका लोकार्पणको कार्यक्रममा सम्पादकका नाताले मलार्इ पनि निमन्त्रणा पठाएको थियो तर मेरो यात्राको योजना र स्वास्थ्यस्थितिले गर्दा मलार्इ त्यस कार्यक्रममा सरिक हुने अवसरचाहिँ मिलेन । यति बेला मेरो शरीरमा एक पाइलो हिँड्ने खुबी पनि थिएन त्यसैले रिडीबाट अटो बोलाएर हामी रिडीबजार पुगेका भए पनि पुल्कामुख जाने सिट नपाउनाले निराश भएका बेला संयोगवश एउटा जिपमा २ वटा खाली सिट पाउन सफल भयौँ । जसले हाम्रो यात्रालाई सहज बनाएको थियो । कान्छीआमा हाम्रो बाटो हेर्दै हुनुहुँदोरहेछ । ३/४ बजेतिर हामी पुल्कामुख पुग्यौँ । पुल तरेर घरमा पुगेपछि नयाँ बेहुली बुहारी अनिशा र भाइ प्रदीपसँग गफिँदै अनि त्यहाँ वरपर घुमफिर गरेर बितेको थियो महाअष्टमी । कान्छीआमाको स्नेह, बुहारीको आज्ञाकारिता अनि भाइको सक्रियता देखेर हामी निकै मख्ख परेका थियौँ । यस्तै माहोलकै कारण मेरो ज्वरो र टाउको दुखाइ बिस्तारै निको हुँदै थियो भने वरपरका सबैसँगको घुलमिलले हामीमा नयाँ उत्साह पनि थपिएको थियो । महानवमी निकै रमाइलो हुने गतिमा पाइला टेक्दै थियो । तर, एकाएक ओइरिएको वर्षाले हाम्रो भेटघाटलाई खल्लो बनाइदियो । तैपनि खानपिन र गफगाफले गर्दा हाम्रो यो जमघट पनि अर्थपूर्ण बन्न पुगेको थियो ।
दिन शरद ऋतुको दशैँको भए पनि मौसम भने भारी वर्षाले गर्दा वर्षाऋतुभन्दा कम थिएन । टीकाको साहित ढिला थियो । यसको तयारी भएपछि हामीले ११:५२ पछि टीका त लगायौँ तर वर्षाका कारण वरपरका घरमा टीका थाप्न जाने काम सहज हुन सकेको थिएन तैपनि छाता ओडेर टीका लाउन आउनेको भिड भने बढ्दै थियो भने अर्कातिर हामीले पनि थुप्रै ठाउँमा पुगेर टीका थाप्नुपर्ने थियो । तर, हाम्रो पूर्वयोजनाअनुरूप टीकापाती सकेर घोराहा सानीमालार्इ भेट्ने र रूरू पुग्ने हाम्रो धोको भने वर्षाको कारणले पूरा हुन सकेन । दशैँका दिनमा बनाएको योजना सफल नभए पनि भोलिपल्ट पक्कै फर्कन सम्भव हुने छ भन्ने योजना बनाएर सुतेका थियौँ तर घनघोर वर्षा र बाढी पहिरोले गर्दा हामी द्वादशीसम्म रोकिन पुग्यौँ । यसरी रोकिन परे पनि टारीमा रहनुहुने सबैको माया, कान्छीआमाको स्नेहले हामी साँच्चै प्रफुल्लि थियौँ ।
शरीरमा हिँड्ने तागत थिएन नै ! तैपनि मामाघरमा बसेको बाबुलाई भेट्नका लागि यो मन आतुर थियो । पानी थामिएको थिएन । नदी र खोलाहरू बढिरहेकै थिए । मनमा बेचैन भयो त्यसैले दिउँसो २ बजेतिर प्रदीप भाइलेले दुईटा बाइक खोज्यो । भाइ प्रदीप अनि कान्छा ज्वाइँलाई लिएर बिनामेसै बाटो लाग्यौँ । पोलिथिनमा बेरिएर बाइकमा बसी हामी भीरबाटोमा पुग्दा पहिरोले बाटो थुनिएको रहेछ तसर्थ त्यहाँबाट फर्केर जुभुङको ठाडो चिप्लो उकालो बाटो गरेर एक घन्टामा गौँडाकोट पुग्यौँ । एउटा भट्टीमा खाजा खाँदै गर्दा बस आइपुग्यो । त्यसमै कोचिएर थोर्गा त पुग्यौँ तर घर पुग्न ५ किमी बाँकी रहेको दुरीमा पहिरो झरेर बाटो रोकिएकाले त्यहाँबाट हिँडेर सकीनसकी घरमा पुग्यौँ । घरमा पुग्दासम्म पानी रोकिएको भए पनि छोराको अवस्था देखेर हामी निकै दुखी भयौँ । कारण : हामीले अष्टमीको दिनमा छाडेर गएपछि नै बाबुलाई ज्वरोले समाएछ । ज्वरो नरोकिएपछि भाइ प्रकाश र राजिव मिलेर उपचार अगाडि बढाएका रहेछन् । उसलाई यो अवस्थामा देखर हामी रून मात्रै सकेनौँ । हामीलाई खबर नगरेरै ५ दिन बिताउनुभएका हाम्रा आफन्तले सासूआमा र साकारसँग हामीलाई कुरा गराएको खण्डमा हामी धेरै आत्तिने हुँदा सबै जना सकुशल रहेको जानकारी गराइएको रहेछ । दशमीका दिनमा नआएकोमा गुनासो त सबैले गर्नुभयो तर मेरो स्वास्थ्य र मौसमको हालत बुझेर सबै चुप लाग्नुभयो । त्यसपछि हामीले स्कर्पियो बुक गरेर भोलि नै हिँड्ने योजना बनायौँ र खानपिन गरी सुत्यौँ ।
भोलिपल्ट हामी ३ जना, भाइका ३ जना, सालीका ३ जना र मदन भाइ गरी १० जना बुटवलतिर लाग्यौँ । बसपार्क पुगेर मिलेसम्म उसैदिन टिकट लिई समयमै काठमाडौँ पुग्ने र छोरालाई जँचाउने हाम्रो योजना थियो । टिकट लिएपछि गाडी नचलुन्जेल एकछिन बहिनी सुनालाई भेट्ने योजना बनाएका भए पनि बाबुलाई ज्वरो बढेकाले हामीले काठमाडौँ जाने योजना बदलेर क्लिनिकमा पुगी रगत जँचायौँ । गाउँमा छँदा ज्वरो नरोकिएकाले एन्टिबायोटिक चलाएको हुँदा प्लेटलेट्स् निकै घटेको थाहा पाएपछि बल्ल उसलाई डेङ्गी भएको थाहा पाइयो अनि त्यो रात हामीलाई हामीसँग सँगै आएका सालीहरूले बुटवल बस्न र काठमाडौँ जान दिएनन् त्यसैले हामी बेलबास सालीको घरमा बुबाआमासँग बस्यौँ भने भाइ प्रकाशको परिवार उसको ससुराली खैरेनीतिर गयो । हामीले त्यस राति नै एउटा हायस बुक गरेर भोलिपल्ट बिहानै काठमाडौँका लागि गाडी चढ्यौँ । गाडीमा सधैँको भन्दा धेरै भाडा तिरेको भएपनि बस्ने सिट भने अलि सोचेजस्ता थिएनन् तैपनि यसो मिलाएर काठमाडौँ खाल्डाभित्र पुग्न सफल भयौँ ।
हिँड्ने बेलामा आफू बिरामी अनि त्यहाँ पुगेपछि र फर्कने बेलासम्म बाबु बिरामी भए पनि यात्रा र भेटघाटलाई आधार बनाउने हो भने यसपालिको दशैँलाई रमाइलै मान्नुपर्छ । सबैलाई सञ्चो भएको भए अनि मौसमले साथ दिएको भए बुटवलका भाइबहिनी भेट्न सकिन्थ्यो, घोराहा सानीमाको हातको टीका लाउन अनि भक्तिकोट हजुर आमालाई भेटेर आशीर्वाद लिन पाइन्थ्यो तर परिस्थितिको अगाडि कसैको केही लाग्दो रहेनछ । तैपनि टारीको रमाइलो बसाइलाई मिस गर्दै अनि हाम्रा मनमा बस्नभएका रिमुवा ठुलाबाआमा, वहादीकी फुपू अनि दाइभाउजू, भाँवारीका दुई घर मामामाइजू, टक्सार लक्ष्मी, भिनाजु र भाइबहिनी, भक्तिकोटका सबै आफन्तजन, बुटवल माइली फुपू र वहाँको परिवार अनि बुटवलमा रहनुहुने र हामीलाई चिन्नुहुने सबैलाई यो मनले सम्झँदै सबैसँग भावनात्मक सम्बन्ध सजाउँदै यो संस्मरणलाई लिपिबद्ध गरेँ । आउँदो वर्षको दशैँ अझै रमाइलो होओस् भन्ने कामनाका साथमा बुझ्झकी हाम्रा शुभचिन्तकहरूबाट माया र नबुझेरै गाली गर्नुहुने सबैलाई अब आउँदो तिहार २०७९ को अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।
जय दुर्गामाता, जय विजया दशमी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)