
आमाले पकाएको दर खान छोरीचेली आतुर
हरितालिका तीज विशेष
राधाकृष्ण पन्त
गण्डकी गाउपालिका–२, सिम्ले, गोरखा, हालः मध्यपुर ठिमी, भक्तपुर ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको आधिकारिक इतिहास नभएता पनि परापूर्व कालदेखि निरन्तर चल्दै र चलाउँदै आएको कुरा सर्वविवितै छ । ब्रह्माजिको सृष्टिमा सत्य, त्रेता, द्वापर र कलि गरी चार भागमा युगलाई विभाजन गरिएको पाइन्छ । यिनीहरुको आ–आफ्नै आयु हुन्छन् । अहिले कलियुग चलिरहेको छ । चारलाख बत्तिस हजार कलिको आयु भनिएकोमा भर्खर पाँच हजार एक सय चौध वर्ष पार गरेको अवस्था छ ।
हाम्रो परम्मरामा आधारित १८ पुराण मध्येको शिव महापुराणमा शिव–पार्वतीको महिमा तथा विवाह वर्णन चर्चामा छ । हरितालिकातीजको वर्णन पनि उनै शिव–पार्वतीको वर्णनसँग जोडिएर आएको पाईन्छ । जसमा दक्षप्रजापतिकी जेठी छोरी सतिदेवीले आफ्ना पिताजीको यज्ञकुण्डमा हामफालेर देहत्याग गरेपछि हिमालय पर्वतका पत्नी मेनकाको गर्भमा बास लिन पुग्नुभयो । त्यसपछि हिमालय पर्वतकी पुत्री बनेर जन्मलिनु भयो । बालककालदेखि उनै पार्वती माताले पुन उनै श्रीमहादेव पति पाऊँ भनी कठोर तपस्या गर्नु भएको थियो । महादेवको बाहिरी रुप भने पार्वतीजीका माता पितालाई मन पर्दैन थियो तर एक दिन छोरीको एकोहोरो तपस्यादेखि दिक्क भएका पिताले भगवान विष्णुलाई पार्वती कन्यदान दिने तयारी गर्नु भयो । त्यो तयारी थाहा पाएका उनका सखीहरुले पार्वतीलाई हरण गरी जंगलमा लुकाउनु भएको र उतै पार्वतीजीले भाद्र शुक्ल तृतीयाका दिन घोर तपस्या गरी जल समेत सेवन नगरी ब्रत बस्नु भएको त्यही ब्रतको प्रभावले भगवान शिवजीको दर्शन मिलेको र महादेवसँग माता पार्वतीको शुभ विवाह सम्पन्न भएको विषयलाई मान्यता दिँदै आएको कुरा सुन्न पाउँछौँ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन सनातनी रुपमा ब्रत बस्दै भजन कृतन तथा धार्मिक ग्रन्थमा आधारित रहेर वा आफ्ना जीवन घटना, सामाजिक घटना, विकृतिप्रति प्रहार, संस्कृतिको जगेर्ना आदिलाई आधार बनाई रचिएका तीजका गीत हरुमा नाचगान गर्दै आउनु भएको छ ।
उता द्वापर युगको अन्त्यमा असुरहरुको दवदवा बढ्दै गएपछि उग्रसेन राजाका छोरा कंशको राज चल्न थालेको थियो । आफ्ना पितालाई समेत कारागारमा थुनेर एक छत्र राज चलाएको कंशको कार्यकालमा भगवान श्रीकृष्णले धर्मको रक्षा गर्नको लागि साधुसन्तहुको जगेर्ना गर्नको लागि यहि भाद्र कृष्णपक्ष अष्टमीको दिन उनै कंशकी बहिनी देवकीको गर्भबाट जन्म लिनुभएको भाद्रशुक्ल तृतीयाकै दिन भगवान श्रीकृष्णको न्वारन भएकोले विभिन्न कृष्णमन्दिरहरुमा तीजको मेला लाग्ने गर्दछ । बालक अवस्थामा निकै लिला देखाउनु भएका श्रीकृष्ण भगवानका चरित्र वर्णन भएका गीतहरु, भजनकृतनहरु हुने गर्दछ ।
अघिल्लो दिनको रातमा गर्ने भोजनलाई दर खाने भनिन्छ । तीजको दरले उत्तिकै महत्व बोकेकोछ हाम्रो समाजमा । आफ्नो आमाले पकाएको दर खान छोरी चेलीहरु आतुर हुनुहुन्छन् । एउटा आत्मियता बकेको त्यो भोजनले वर्षभरिको मायालाई पोको बनाएर राखेको हुन्छ । सधैँ सम्झना आईरहन्छ यो वर्ष यसरी यो ठाउँमा यस्तो गरियो भन्ने स्मरण दिलाउने गर्दछ तीजको दरले ।
दर खाँदा भने विशेष विचार पुर्याउन पर्ने हुन्छ । स्वास्थलाई ख्याल गरेर आफ्नो शरीरको अवस्था हेरेर मात्र खाना खान पर्ने र ब्रतको समयमा पनि बेलाबेलामा जलहार, फलाहार गर्दै गर्नु पर्ने हुन्छ । नीलहार ब्रत बस्ने प्रचलन पहिलापहिला थियो तर अहिले क्रमैसँग हराउँदै गईरहेको छ । नीलहार ब्रतले महिलाहरुको शरीरमा समस्याहरु ल्याउन सक्ने भएर ब्लड प्रेशर कम हुने, रिङ्गटा लाग्ने, कसैकसैलाई वाकवाकी लाग्ने हुन सक्छ । यी र यस्ता कुरामाथि विशेष ध्यान पुर्याउने हो र दर खाँदा सुपाच्य खाना मात्रै खाने हो भने एक दिनको फलहार ब्रतले स्वास्थलाई फाईदा नै हुने कुरा विज्ञहरु बताउनु हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



