
कविताः म अबजसे इम्बोस्ड नम्बर !
पेशल आचार्य
मेरो अनुहार देख्दैमा
सवारी धनीलाई एलर्जी भएको छ
मेरो नाम सुन्दैमा
जनतालाई उखरमाउलो रिस उठेको छ
नजन्मिँदै मैले
नाना थरीका आरोपहरु
सहनु परेको छ
नआउँदै मैले
चारैतिर सत्तो सराप सहनु परेको छ
चिन्नु भएन होला
म अबजसे इम्बोस्ड नम्बर !
किसानलाई यतिखेर
मल चाहिएको थियो
विद्यार्थीलाई यतिखेर
पाठ्यपुस्तक चाहिएको थियो
गृहिणीलाई यतिखेर
खाने तेल चाहिएको थियो
अभिभावकलाई यतिखेर
चिनी चाहिएको थियो
मैदा चाहिएको थियो
ग्यास चाहिएको थियो
यहाँ चाहिएको कुरा पाइँदैनन्
नचाहिएका कुराहरु यत्र तत्र पाइन्छन्
चिन्नु भएन होला महाशय –
म अबजसे इम्बोस्ड नम्बर !
भाषा आन्दोलन गर्नेहरुले मलाई
भुक्के अक्षर भनेका छन्
उठेका अक्षर पनि भनेका छन्
विदेशी अनुकरण गर्नेहरुले
माफियाका दलाल भनेका छन्
यो भनेका छन्
त्यो भनेका छन्
गाली गरेका छन्
सत्तो सराप गरेका छन्
चिन्नु भएन होला महाशय –
म अबजसे इम्बोस्ड नम्बर !
बेला न कुबेला बजिनयेला भनेझैँ
मन्त्रीले मलाई मन पराएका छन्
डिजीले मलाई अँगालो हालेका छन्
सरकारले मलाई म्वाइँ खाएको छ
तर आम जनताले मलाई
दुत्कारेका छन्
गाली गरेका छन्
भन्नु नभन्नु भनेका छन्
लेख्नु नलेख्नु गरेका छन्
चिन्नु भएन होला महाशय –
म अबजसे इम्बोस्ड नम्बर !
खाना चाहिएको छ
नाना चाहिएको छ
वृद्धि चाहिएको छ
समृद्धि चाहिएको छ
तर सरकारका मतियारहरु
अहिले मलाई भित्र्याउन खोजिरहेका छन्
बलजफ्ती लाद्न खोजिरहेका छन्
खाए खा नखाए घिच शैलीमा
अपनाउन खोजिरहेका छन्
चिन्नु भएन होला महाशय –
म अबजसे इम्बोस्ड नम्बर !
म सबैलाई नचाहिने इम्बोस्ड नम्बर !!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



