खासमा कविताका पुस्तक डिल्लीलाई मन पर्दैन
दुई दशकदेखि पत्रकारितामा सक्रिय डिल्ली आचार्य प्राध्यापनमा पनि संलग्न छन् । आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेका १०’ स्तम्भमा उनै आचार्यलाई प्रस्तुत गरिएको छ ।
१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
म खानेकुरामा नाकनिके छैन । प्रायः सबैजसो खाना रुचाउँछु । स्वाद भन्दा बढी भोक हो । मीठो त भोक हो नि ! खाने बेलामा ‘आहा कति मीठो होला’ भन्ने हुटहुटी भयो भने सबै खान प्रिय र मिठासपूर्ण हुन्छन् । त्यहाँ स्वाद आफैँ आइहाल्छ । त्यति हुँदाहुँदै पनि अलि बढी मनपर्ने चाहिँ मकैको च्याँख्ला र दही हो ।
यसमा स्वाद भन्दा बढी हजुरआमा र आमाको स्नेह र सम्झना छ । यो खानाले मलाई मेरो हजुरआमा सम्झाइदिन्छ । आमाको माया पाएको अनुभव गर्छु । किनकी बाल्यकालमा मैले सबैभन्दा बढी त्यही खाएँ । यही स्वाद जिब्रोमा झुण्डियो ।
२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
मलाई मेरो जन्मस्थान भन्दा मनपरेको ठाउँ अहिलेसम्म छैन । इलामको कन्याम प्राकृतिक रुपले जति सुन्दर छ, त्यहाँका मान्छेको मन र व्यवहार उति नै सुन्दर लाग्छ मलाई ।
बाटो सोध्ने बटुवालाई मही, चिया, कांँक्रो (सिजनअनुसारका फलफूल) खुवाएर मात्र पठाउने कन्यामेलीको अपनत्व कन्यामको माटोको सुगन्धसँग जोडिएको छ ।
३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मलाइ ज्ञान, दर्शन, अध्यात्मका पुस्तकहरु बढी मन पर्छ । उपन्यास र कथाका पुस्तक भेटेसम्म भ्याएसम्म पढ्छु । खासमा कविताका पुस्तक मलाई मन पर्दैन । म पढ्दिन पनि ।
४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
म आफैँलाई औधि मन पराउँछु । किनकी म भित्रको म यो संसारको सबैभन्दा प्रिय हो । जसले मान्छेको चेतनादेखि कर्मसम्मलाई गाइड गर्छ । राम्रो काम गर्न प्रेरित गर्छ । कर्ममा विश्वास गर्न सिकाउँछ । त्यसबाहेक जन्मदिने आमाबुबा, श्रीमती, छोराछोरी, परिवारका सदस्य जोडिएर आउँछन् । म साथीभाइलाई पनि अलि बढी नै मन पराउँछु जस्तो लाग्छ ।
५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
म हत्तपत्त रिसाउँदिन । यही कारण मैले अधिकांश समय धोका पनि पाएको छु । नरिसाएको कारण पाएको धोका सम्झदा आफुलाई आनन्द लाग्छ नि ! हत्तपत्त रिस नै नउठ्ने बानीका कारण कहिलेकाँही हानी पनि गर्छ । कसैले केही भनिहाले या गरिहाले पनि धेरैबेरपछि उसको कर्म र व्यवहार सम्झिएपछि अलिअलि रिस उठ्छ, जुनबेला रिस पोख्ने पात्र निकटमै हुन्न । त्यसपछि टन्टैसाफ ।
६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
खासमा मैले मेरो बाभन्दा मनपर्ने नेता अहिलेसम्म भेटेकै छैन । कखरा सिकाउने, चोर्न, ढाँट्न, छल गर्न हुन्न भन्ने नीति सिकाउने मेरा बा हुन्, गुरुहरुभन्दा पनि अघि । जसको नीति आदर्श बोकेर म आजसम्म हिडिरहेको छु । कर्म गरिरहेको छु । मलाई मेरा आचरण र नीति सिकाउने प्रथम नेतृत्व मेरा बालाई नमन गर्दै बाभन्दा असल नेताको खोजीमा भौतारिरहेको छु । आशा चाँडै भेट्ने छु ।
७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
मेरालागि सबै चाड मनपर्ने नै छन् । चाडपर्वले मान्छेमा उमंग ल्याउँछ । आत्मिय बनाउँछ । मन खुसी बनाउँछ । पीडाहरु भुलाउँछ । त्यसमा पनि दसैँ मेरा लागि मनपरेको चाड हो । जुनबेला मेरा वर्षभरीको थकान मात्र मेटिदैन, परिवार, आफन्तजन लगायतसँग भेट्ने र रमाइलो गर्ने अवसर जुराउँछ ।
८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
पत्रकारिता मेरा लागि सबैभन्दा मनपरेको र प्रिय पेशा हो । जसले मलाई २३ वर्षदेखि काठमाडौँँ खाल्डोमा भात पानी खान दिइरहेको छ । समाजसँग अन्तरक्रिया गर्न दिएको छ । औषतभन्दा बढी मित्र दिएको छ । माया र पहिचान दिएको छ । प्राध्यापन पेशा पनि मेरो दोस्रो मनपर्ने पेशा हो । पुस्तान्तरण हुँदै आएको कृषि पेशालाई त मन नपराउनै कुरै भएन ।
९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
म यति ल्याङफ्याङ छु कि मलाई कुन रंग मनपर्छ भनेर मलाई अहिलेसम्म थाहा छैन । कपडा किन्न, सपिङ गर्न जान मलाई खास रुचि छैन । श्रीमती, परिवारका सदस्य, साथीभाइले जे दिए तेही लाइदिन्छु । जुन रंग देख्यो त्यही मन पराइदिन्छु । मलाई यो दुनिया नै रंगीन लाग्छ । जहाँ कतिवटा रंग छन् र म कुनलाई माया गर्छु भनेर अहिलेसम्म घोत्लिएर सोचेकै छैन ।
१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
म अलि वढी नेपाली मौलिक लोक गीत संगीत मन पराउँछु । पछिल्ला पुस्ताका भन्दा नारायण गोपाल, गोपाल योञ्जन, तारादेवीजस्ता पुस्ताका गीतमा आफुलाई बढी आनन्दित महसुस गर्छु । हिन्दी गीत पनि मन पराउँछु, तर अंग्रेजी गीत खास मन पर्दैन । कारण किन हो थाहा छैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)