
रवीन्द्र चक्रवर्ती, जो मेरो ‘ग्याली प्रुफ’ पत्रकारिताका गुरु थिए

पेशल आचार्य
ऊ बेलाको ‘ग्याली प्रुफ’ पत्रकारिताको कुरा गर्दै छु । मैले सम्वत् २०४२ सालमा पत्रकारिता सिक्दा इनरुवाबाट ‘समाचार जगत’ नामको एउटा साप्ताहिक पत्रिका निस्कन्थ्यो । त्यो बेलाको पत्रकारिता ग्याली प्रुफवाला हुन्थ्यो । इटहरीबाट ‘सप्तकोसी’ साप्ताहिक पत्रिका आउँथ्यो जसका सम्पादक कृष्ण अधिकारी थिए । धरानबाट चन्द्रमणि अधिकारीको सम्पादनमा ‘आरसी’ साप्ताहिक प्रकाशन हुन्थ्यो । ऊ बेलामै धरान चेतनाका हिसाबले निक्कै माथि पुगेको ठाउँ थियो । त्यहाँबाट ‘टुटुल्को’ नामको हास्यव्यङ्ग्य मासिक निकाल्थिन्–सम्पादक सविता श्रेष्ठ बेहोसीले । मेरा सुरु सुरुका साहित्यिक रचनाहरू यी चारवटै पत्रिकाहरूमा प्रकाशित भएका छन् ।
यो चालीसको दसकको समय हो । हामी सम्वत् २०४१ साल जेठ महिनामा फेरि झापाबाट इनरुवा नै बसाइँ आयौं । मेरो पढाइ महेन्द्र मोरङ क्याम्पस विराटनगरमा आइए सेकेन्ड इयरमा थियो । माहिलो भाइ विमल एसएलसीको तयारी गर्दै थियो । कान्छो ईश्वरचाहिँ ८ कक्षामा पढ्थ्यो । उनीहरूले त्यहीँ इनरुवाबाटै पढाइलाई निरन्तरता दिए भने मचाहिँ विराटनगरमा डेरा लिएर पढ्न थालेँ ।
विराटनगरका धेरै सम्झनाहरू छन् । धेरै पात्रहरू छन् । पछि छुट्टै लेख्ने छु ।
इनरुवामा त्यसबेलामा नामचलेका साहित्यकारहरूमा कवि तथा गजलकार कविराज पोखरेल, लेखक रवीन्द्र चक्रवर्ती, पत्रकार नारायण राजभण्डारी, कवि पं.टीकादत्त सुवेदी, कवि पुरुषोत्तम घिमिरे, कवि छविनाथ रिजाल, कवि कालीप्रसाद सुवेदी र कवि विष्णु थापा मगर जस्ता स्थानीय साहित्यकारहरू लेखनमा सक्रिय थिए । कविराज पोखरेल राष्ट्रिय स्तरमै पकड जमाएर बसेका रहेछन् । हामीलाई माया गर्थे । घरमा बोलाएर मिठो खुवाउँथे । यता बजारमा बस्ने मित्र सुविद गुरागाईं नवोदित कवि भैकन उम्दा कवि थिए । मेरो हाँच सुविदसँग मिल्थ्यो । मैले नारायण राजभण्डारी प्रकाशक र रवीन्द्र चक्रवर्ती सम्पादक रहेको ‘समाचार जगत’ साप्ताहिकमा पत्रकारिता सिक्न जान थालेँ ।
त्यो बेलामा सिकारू पत्रकारलाई केही दिने चलन थिएन । रवीन्द्र चक्रवर्ती गम्भीर र अध्ययनशील स्वभावका व्यक्ति थिए । उनी स्थानीय सुनसरी क्याम्पसमा राजनीतिक शास्त्र पढाउँथे । स्थानीय लेबलमा पत्रकारिता गर्थे । चिया र चुरोट खूब खान्थे । बेलुकीबेलुकी पिउँथे पनि भनिन्थ्यो तर मैले कैल्यै देखिनँ । मलाई उनको गम्भीरपना, वाकपटुता र बौद्धिकताले प्रभाव पारेको थियो ।
मैले सुविदजीसँगै ‘समाचार जगत’ को अफिस गएर सित्तैमा भए पनि केही सिक्नु पर्छ भन्ने मान्यता बोकी ‘समाचार जगत’ को अफिस जाने क्रमलाई निरन्तरता दिएँ । सुविदजी मभन्दा धेरै सिपालु रहेछन् । बेला बेलामा ग्याली प्रुफ जोडेर समाचारहरू पनि बनाउँथे । उनले हातले लेखेको समाचार रवीन्द्र सर र नारायण दाइले ओके भनेपछि मात्र कम्पोजिटरले समाचार टिप्थ्यो । हामी उसलाई अक्षर मिलाउन र फुटाउन सघाउँथ्यौं ।
त्यही बेलामा त्यहाँ पत्रकार अर्जुन पोखरेल पनि आउँथे । उनी ‘खुल्दुली’ हास्यव्यङ्ग्य पत्रिका निकाल्दा रहेछन् । उनले पनि केही रचना मागेर छापेका छन्– हाम्रा ।
त्यो बेलामा फलामका एकएक अक्षरलाई जोडेर मोटो धागोले बाँधी काठका स्केलजस्ता पाताहरूमा कसेपछि मात्र छाप्नलायक म्याटर बन्थ्यो । त्यसैलाई ‘ग्याली प्रुफ’ भनिँदो रहेछ । नाम ऊ बेला थाहा हुने कुरा भएन तर काम अलिअलि सिकियो । दिउँसोदिउँसो काम सिकेका बेलामा चना, चिउरा र दूध हालेको चिया खान पाइने सुविधाले सिकाइमा अनुपस्थित हुनै परेन ।
केही महिनाको काम हेरेपछि हप्ताको एकपटक सामान्य ज्ञानको स्तम्भ चलाउन रवीन्द्र दाइले दिनुभयो जसको नाम थियो– ‘थाहा छ भने सम्झनु होस्’ ।
मैले पहिलोपटक अखबारमा लेख्ने अवसर पाएकोमा कस्तो खुसीको अनुभूति गरेँ !
एवम् रितले मैले आइए पास गरेँ । बीएमा मैले नेपाली र इतिहास मेजर लिएर पढ्ने जमर्को गरेँ । कवि तथा गजलकार सुविद गुरागाईंजी र म स्थानीय सुनसरी क्याम्पसमा पढ्थ्यौं । म बीए पढ्दा सुविदजी आइए दोस्रो वर्ष अध्ययन गर्नु हुन्थ्यो । इनरुवा भरिका साहित्य गोष्ठीहरूमा हामी रिठ्ठो नबिराई भाग लिन्थ्यौं । झुम्का, धरान, इटहरी र विराटनगरसम्म आयोजना हुने साहित्य गोष्ठीमा हामी कतै पनि छुट्दैनथ्यौं ।
एकपटक इनरुवामै हामीले ‘प्रयास’ हवाई मासिक पत्रिकाको विमोचनका लागि विराटनगरबाट समालोचक नगेन्द्र चापागाईंलाई प्रमुख अतिथि बनाएर निम्ता गर्यौं । उहाँ आइदिनु भयो । कार्यक्रम भव्यरूपले सफल भयो । त्यो बेलाका साहित्यिक गोष्ठी, साहित्यिक मित्रहरू र पुरस्कारहरू मेरो जीवनमा लेखकीय ऊर्जाका लागि अति नै महत्व राख्छन् ।
अतः मैले साहित्यिक गुरुहरूमा कवि पं.टीकादत्त सुवेदी र रवीन्द्र चक्रवर्तीहरूलाई विशेष रूपले मनको अन्तरकुन्तरमा सजाएर राखेको छु । निक्कै पछि सम्वत् २०५८ सालतिर होला राजाको शासनमा रवीन्द्र चक्रवर्ती मध्यमाञ्चल विकास क्षेत्रका प्रमुख प्रशासक भएर मन्थली भ्रमणमा आउनु भएको मैले थाहा पाएँ । म मन्थलीस्थित स्कुलमै काम गर्थें तर काम विशेषले मैले गुरुलाई प्रत्यक्ष भेट्न पाइनँ ।
त्यसको समयपछि राजनीतिक दलहरूले फेरि सत्ता हातमा लिए । राजाको शासन हट्यो । गुरु रवीन्द्र चक्रवर्ती रोगले थला परे र बिते । ग्याली प्रुफवाला पत्रकारिताका मेरा गुरु रवीन्द्र चक्रवर्तीसँग त्यसपछि प्रत्यक्ष साक्षात्कार हुने अवसर जीवनमा मिलेन ।
ग्याली प्रुफवाला पत्रकारिताका गुरु रवीन्द्र चक्रवर्तीलाई म आजका दिनमा पनि झल्झली सम्झिरहन्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)