
रेडियोमा वासुदेव मुनालले मेरो कविता सुनाउँदा आमा-हजुरमा बोलाएँ तर आउँदा सक्किसकेको थियो
संस्मरणः रेडियोबाट पहिलोचोटी आफ्नो कविता सुन्दा !
तारा केसी
काभ्रे, पनौती
बिहानै ६ बजे बाले रेडियो खोल्नुहुन्थ्यो । हामी ब्युझिन्थ्यौ । भजन ॐ हर हर हर महादेव सुनेर । एक किसिमको उर्जा बोकेर उदाउँथ्यो बिहानी । बिहानीको त्यो पारिलो घाम ताप्दै म आँगनमा खेल्थेँ । बाले रेडियो ल्याएर थामको किलोमा झुन्डिएर आफूचाहिँ चिया खान पसलतिर जानुहुन्थ्यो । त्यो बाको दैनिकी नै थियो । लाहुरेसँग किनेको भन्नुहुन्थ्यो बाले रेडियो कुरा हुँदा । २०४४ सालतिरको कुरा सम्झेर म तरंगित हुँदै छु यतिबेला ।
संस्मरण लेख्नु भनेको बितेका कुराको पुनरावृत्ति गर्नु हो । म तिनै घटना, दृश्य सम्झेर कहिले भावुक हुँदै, कहिले हाँस्दै, कहिले रूँदै त कहिले रोमाञ्चित हुँदै छु। मलाई विगतका अनुभूतिको सिरेटोले बेस्सरी तरंगित बनाईरहेछ यतिखेर ।
नेशनल पानासोनी कम्पनीको दुईओटा ब्याट्रीले चल्ने जापनिज् रेडियो हाम्रो घरमा मात्र थियो त्यतिबेला । रेडियो त्यतिखेर गाउँमा अरूको घरमा थिएन । यो चालीस दशकको कुरा हो । म आठ–नौ बर्षको हुँदा । टारखेतमा काम गर्ने आउने खेतलाहरू भन्थे, ‘बा, रेडियो सुनौँ न ।’
बाले रेडियो लगेर खेतको डिलमा राखिदिनु हुन्थ्यो । खेतलाहरू रमाउँदै गीत सुन्थे । त्यतिखेर बज्थे यी गीतहरू रेडियोबाटः
उकालीमा पनि हजुर मोटर जाँदो रैछ
डाइभर दाइलाई शासना माया सलल
जाऊँ हिड रैलैमा ।
हरियो डाँडामाथि हलो जोत्ने साथी
ह ह माले ह ह ह ह माले ह ह ।
जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ
त्यो देश मेरो हो, त्यो देश मेरो हो ।
ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो ।
काली पारे दाइ कति राम्रो ।
घुम्तीमा नआऊ है ।
यति चोखो यति मिठो ।
यी कर्णप्रिय गीत संगीत सुन्दै हुर्केकी म । सुचना र मनोरञ्जनको एकमात्र साधन थियो रेडियो नेपाल त्यतिखेर । यो पनि सबैको पहुँचमा कहाँ थियो र फेरि ?
बा बितेपछि त्यो रेडियो हजुर मुमा र म सुत्ने कोठामा सरेको थियो । मेरो किताबहरू राख्ने तीन खन्नको भित्ते दराज थियो, त्यहि राखेको थिएँ, मैले रेडियो पनि । बेलुका पाँच बजे स्कुल छुटेर घर फर्केपछि रेडियो सुन्दै गृहकार्य गर्थे म ।
आओ मेरा प्यारा भाइबहिनी हो । रेडियो नजिक आओ भन्दै बेलुका पाँच बजे रेडियो नेपालबाट बालकार्यक्रम शुरू गर्नुहुन्थ्यो बासुदेव मुनाल दाइले । त्यहाँ बज्ने कविताहरू सुनेर मलाई पनि कविता लेख्ने रहर जागेर आयो तर लेख्ने कसरी ? प्रयास गर्दै गएँ । एक दिन एउटा कविता लेखेर हजुरआमालाई सुनाएँ र भनेँ, अब म यो कविता रेडियोमा पठाउँछु । हुलाक कार्यलयमा गएर खाम र टिकटको लागि एक रूपियाँ खर्च गरेर खामको बाहिर ठेगाना लेखेँः
बालकार्यक्रम
रेडियो नेपाल
सिहंदरवार, काठमाडौं ।
मेरो कविता आउँछ कि आउँदैन भनेर प्रतीक्षा गरिरहेँ । यो २०४४ सालको कुरा हो । पत्र पठाएको एक महिनापछि रेडियोमा मेरो कविता आयो। तेरो कविता खुब आउँला भनेर खिस्साउनेहरूलाई सुनाउनु थियो रेडियोबाट मेरो कविता बजेको ।
श्रीखण्डपुर माध्यमिक विद्यालय श्रीखण्डपुरबाट कक्षा ७ की छात्रा तारा केसीले पठाउनु भएको कविता:
आजको सानी बालिका म
भोली ठुलो हुनेछु
पढी लेखी ज्ञानी भई
सगरमाथा छुनेछु ।
बासुदेव मुनाल दाइले मेरो कविता वाचन गर्दै हनुहुन्थ्यो । म भने खुशीले उफ्रिँदै आमा, हजुरआमालाई बोलाउन थालेँ । उहाँहरू आउँदा मेरो कविता नै सक्किसकेको थियो । त्यो दिन सबैभन्दा खुशीको दिन थियो मेरो लागि । त्यसपछिका दिनहरूमा बालकार्यक्रम, साहित्य संसार कार्यक्रम, शाही नेपाली सैनीक कार्यक्रम, प्रहरी कार्यक्रम, महिला कार्यक्रम, युवा कार्यक्रम र रेडियो नाटकमा समेत मैले कथा, कविता र नाटक लेखेर पठाइरहेँ । २०४४ देखि २०५० सम्म निरन्तर यो कार्य चलिरह्ये ।
आज पनि सम्झिन्छु, त्यो रेडियोका कथाहरू र आफुले लेखेको कविता पहिलो पटक रेडियोबाट बज्दाको खुशी !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)