
रेडियोबाट मैले धेरै कुरा सिकेको छु
हरिराम पौडेल
म जन्मदा रेडियो प्रसारण सुरु भएको २५ वर्ष पुगिसकेको थियो । मलाई ख्याल भए अनुसार आफूले बुझ्ने भए पछि २०३७ साल तिर मैले पहिलो पटक रेडियो सुनेको हुँ । २०५० सालमा शान्ति सेनामा गएर फर्केका एक जना आफन्तले ल्याउनु भएको सानो हाते रेडियो रु.सात शय हालेर किस्तावन्दीमा पैसा दिने सर्तमा किने । त्यो रेडियो विग्रे पनि अझ मसंग सुरक्षित छ । त्यस पछि त रेडियोसंग मेरो नाता अझ प्रागाढ बन्यो । रेडियो संगको मेरो नाता निकै गहिरो छ ।
श्रोताको रुपमा रेडियोसंग नजिकिएको मेरो सम्वन्ध एक दशक रेडियो सिटी एफ.एम. ९८.८ को माइक्रोफोनसंग वित्यो । आदरणीय Rupa Bimal दिदी र श्रद्धेय Dhanendra Bimal दाजु संग धेरै सिक्ने अवसर जुर्यो, वहाँहरु संगको सिकाईले अहिले मलाई इमेज एफ.एम. ९७.९ सम्म पुर्याएको छ । इमेज एफ.एम. ९७.९ मा प्रस्तोताको रुपमा जोडिएको पनि आजबाट ४ महिना पुगेर ५ महिना लागेको छ । २०६८ साल तिर इमेज एफ.एम.९७.९ मा कुशल प्रस्तोता Krishna Acharya दाजुको कार्यक्रम दर्शन नमस्ते सुन्दै गर्दा वहाँले उठाउनु भएका सामाजिक तथा समसामयिक विषयहरु खुव मन पथ्र्यो, त्यति बेला टेलिफोन मार्फत वहाँको प्रस्तुतिमा सहभागिता जनाउने गर्दथ्यौ ।
वहाँको एउटा कार्यक्रममा सृजनशिल बाल सेवा परिवारमा आश्रित सानी नानी Reema Puri को बारेमा सुने पछि लिस्नर्स क्लव नेपालको तर्फबाट नानीको खुट्टाको उपचारमा हामी जुटेका थियौं । अहिले रिमा ठुली भइसकेकी छिन्, प्लस टु को अध्ययन पुरा गरेकी छिन्..आफ्नो सुनौलो भविष्यको मार्गमा अगाडि बढिरहेकी छिन् भने म कृष्णु दाजुको सानिध्यमा रहेर वहाँ स्टेशन म्यानेजर रहनु भएको इमेज एफ.एम.९७.९ मा विभिन्न कार्यक्रमहरु संचालन गर्ने जिम्मेवारी बहन गरिरहेको छु, कृष्ण दाजुले धेरै तरिकाबाट मेरो यात्रालाई सहजिकरण गरिरहनु भएको छ ।
रेडियोबाट मैले धेरै कुरा सिकेको छु, रेडियो सिटी एफ.एम. ९८.८ मा मेरा धेरै प्रत्यक्ष प्रशारणका कार्यक्रमहरु थिए भने यता इमेजमा मेरो सबै कार्यक्रम प्रत्यक्ष प्रशारण हुने गर्दछन् । रेडियोले मलाई समयको महत्व बुझाएको, सिकाएको छ । २०५५ /०५६ साल ताका हिट्स एफ.एम. को स्टुडियोमा अफलाइन फोन गर्दा कहिले कहिमे रो कथा मेरो गीत का संचालक Kalyan Gautam (Dear Kalyan) दाजु ले फोन उठाउनु हुन्थ्यो । १२ बजेको वहाँको कार्यक्रमको लागि वहाँ साढे ११ बजे भन्दा अगाडि स्टुडियो आइपुग्नु हुन्थ्यो । भन्नु हुन्थ्यो कमसेकम आधा घण्टा अगाडि स्टुडियो आइपुग्नु पर्ने हाम्रो नियम छ …वहाँको यो भनाई मेरो मानसपटलमा सधैं गुञ्जिरह्यो, सम्भव भएसम्म आज पनि म कार्यक्रम सुरु हुनु भन्दा आधा घण्टा अगाडि स्टुडियो पुग्ने गर्दछु ।
आज विश्व रेडियो दिवस ..रेडियो सहज सूचनाको शसक्त माध्यम हो भने मनोरञ्जनको साधन पनि हो, रेडियो सुन्ने तपाईको बानीलाई निरन्तरता दिनुहोस्, रेडियोलाई माया गर्नुहोस्, रेडियो दिवसको सबै रेडियो प्रेमीहरुलाई मुरी मुरी शुभकामना ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)