‘पत्रकार नभएको भए प्रहरी, शिक्षक वा राजनीतिज्ञ बन्ने चान्स थियो’
२२ बर्षदेखि पत्रकारितामा अनवरत छन् । पछिल्लो केही समयदेखि व्यवस्थापकीय नेतृत्वसहित ‘आयोमेल’का प्रधानसम्पादक छन् । अंग्रेजी र नेपाली दुवैमा उत्तिकै पोख्त र प्रखर । प्राविधिक र कलात्मक दुवै हिसाबले उत्तिकै सबल । नाम जस्तै सुन्दर शब्दकर्मी । अर्थात् सुन्दर खनाल ।
‘नेपालनाम्चा’को धारावाहिक श्रृंखला ‘पत्रकारलाई ५ प्रश्न’ मा उत्तर दिइसकेपछि खनाल भन्दै थिए, ‘जीवन नै लेखेर बिताइएछ ।’
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै गरिरहनु भएको छ ?
पत्रकारिता नै पढेको हो मैले । पत्रकारिता किन पढियो भन्ने सन्दर्भमा चाहिँ एउटा प्रसंग छ । म खासमा इन्जिनियरिङको तयारी गरिरहेको थिएँ । इन्ट्रान्समा नाम पनि निस्किसकेको थियो । तर, फेरि किन–किन म लेखन, सिर्जनात्मकतातिर नै राम्रो गर्न सक्छु जस्तो लाग्यो । र, मैले हठात् आफ्नो एकछिनको निर्णयले फेरि आरआर क्याम्पसमा गएर पत्रकारिता विषय लिएर आइएमा भर्ना भएँ । त्यो पत्रकारिता पढेपछि यो लाइनमा हुने नै भइयो । आफुलाई मनलाग्ने क्षेत्र यही हुनसक्छ भनेर यहाँ आएको हुँ ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
म सुखदुखलाई त्यति सजिलै अथ्र्याउन सक्दिन । अप्ठ्यारो पर्या बेला दुख र सप्ठ्यारो पर्या बेला सुख मान्ने हो भने अप्ठ्यारो–सप्ठ्यारो हरेक क्षेत्रमा हुन्छ । पत्रकारिताको सुखचाहिँ आफुले जानेर, बुझेर संकलन गरेर लेखेको कुरो आममानसमा जान्छ । र, त्यसले आममानसलाई सुसुचित हुने, मत निर्माण गर्ने कुरामा एकदम निर्णायक सहयोग पुर्याउँछ । र, त्यसैबाट सन्तुष्टि आउँछ र त्यही नै सुख हो जस्तो लाग्छ । दुख भन्या’ त सबैको जीवनमा हुन्छ । कतिलाई दुख मान्ने भन्ने कुरा मात्र हो ।
नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
पछिल्लो कालखण्डमा नेपाली पत्रकारिताको विकासक्रम निकै राम्रो छ । थोरै समयमा यसको व्यापक विकास भएको पाइन्छ । यद्यपि सँख्या र आयतनको हिसाबले व्यापक विकास भए पनि गुणस्तरको र व्यवसायिकताका हिसाबले विकास हुनचाहिँ अझ बाँकी नै छ । पत्रकारिताको वास्तविक विकासको लागि लगानीसहित यो पेशाप्रतिको निष्ठाको प्रश्न बढी टड्कारो छ जस्तो लाग्छ । यसबारेमा व्यापक रुपले सामाजिक र राष्ट्रियस्तरमै बहस हुनुपर्छ । आमजगतलाई सुचना दिने पत्रकारिता जगत नै धमिलो भयो भने त्यसले समाजलाई कसरी सफा गर्न मद्धत गर्न सक्छ ?
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
मैले पत्रकारितामा लागेर पाएको मात्र छु । र, त्यस्तो गुमाएकै भन्ने फिलिङ्स् चाहिँ खासै छैन । सबैथोक, खासगरी मेरो परिचय नै मेरो यो पेशाबाट बनेको छ । तर, पत्रकारितामा लाग्दा निजी समय कम हुन्छ । परिवारलाई दिइने समयको सन्दर्भमा कतिपय अवस्थामा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ । त्यो व्यवस्थापनको पक्षचाहिँ अलि चुनौतीपुर्ण छ । तर, यत्तिकै चुनौतीपुर्ण अन्य पेशा पनि छन् र पत्रकारले मात्र आफ्नो पेशा चुनौतीपुर्ण छ भनिरहनु मलाई कताकता एकाँकी दृष्टिकोण लाग्छ । अरु पेशाजस्तै यो पनि सामान्य पेशा हो । र, मलाई पत्रकारितामा मैले आफ्नो मेहेनत अनुसारको फल पाएकै जस्तो लाग्छ ।
यदि तपाई पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
यसबारे म यकिनका साथ भन्न सक्दिनँ । किनभने, पत्रकारिता पढ्ने एउटा निर्णयले मलाई पत्रकारितामा आउन विशेष भुमिका खेल्या’ छ । हुन त पत्रकारिता पढेर यो पेशामा लाग्नै पर्छ भन्ने पनि छैन । धेरैले गर्या पनि छैनन् । तर, नयाँ कुराको खोजी गर्ने एउटा भित्रैदेखिको हुटहुटीले मलाई पत्रकारितामा अड्याएको हो । त्यो चाहिँ म भन्न सक्छु । तर, अन्य क्षेत्रमा लाग्दा पनि यही गुणले सहयोग नै पुग्थ्यो । जस्तो, सायद म प्रहरी पनि बन्न सक्थेँ । सायद शिक्षक पनि बन्न सक्थेँ । वा, राजनीतिज्ञ ! यी तीनमध्ये एकातिर जाने चान्सचाहिँ थियो, यदि मैले पत्रकारिता नपढेको भए वा सानै उमेरमा पत्रकारिता सुरु नगरेको भए ।
सुन्दरजीको सुन्दर शैलीमा सुन्दर भाव । सुन्दजीरको सुन्दर प्रस्तुतिका लागि अन्तर्वार्ताकारलाई बधाई तथा शुभकामना !