श्याम गोयन्काको अरविन्दकृत कान्तिपुर कथा

अरविन्द रिमाल

“१९९७ सालदेखि २०१७ साल– एक अवलाेकन” पुस्तकको “उपसहार”मा यी व्यक्तिको उल्लेख एवं चर्चा नहुनु मेरो तर्फबाट अनुचित कार्य नै ठहरिने छ । विचारमा दूरदृष्टि, व्यवहारमा सहृदयता र भावनामा मधुरता भएका यी व्यक्ति युवावस्थाकै जीवन- संग्राममा जसरी विफल भए त्यो देख्दा आश्चर्य नै लाग्छ । अहिले यिनी कहाँ छन्, काठमाडौंमा कि भारतको राजधानी दिल्लीमा ? आफैँ हाकिम भएर काम गर्छन् कि अर्काको जागीर खाएर बसेका छन्, त्यो म जान्दिनँ– यिनको नाम श्याम गोयन्का हो । यिनलाई प्रजातन्त्र पुनर्स्थापनापछिको नागरिक समाजका एक उल्लेखनीय व्यक्ति भने अत्युक्ति हुनेछैन ।

नेपालमा निजी क्षेत्रकाे पहिला ठूला आकारका “कान्तिपुर” र “काठमाडी पोष्ट” दैनिककाे संस्थापन कार्यमा जुट्दा श्याम गाेयन्काकाे मनमा आफ्नै हजुरबुबाकाे आशीर्वाद, सहयाेग र सहायताबाट भारतकाे मद्रास महानगर गएर “द इण्डियन ईक्सप्रेस” अंग्रेजी दैनिकको स्थापना गर्न सफल भएका आफ्ना कान्छा हजुरबुबा रामनाथ गोयन्काको पुरुषार्थको निश्चयनै सम्झना भएकाे थियाे हाेला !

यो कामको श्रीगणेश गर्दा श्यामले दिल्लीस्थित आफ्ना हितैषी पत्रकार भी. एम. बदोलासँग व्यावहारिक एवं प्राविधिक सल्लाह लिएका रहेछन् । तर हालको लागि दुबै अखबारका एउटै सम्पादक रहने आफ्नो निर्णयचाहिँ पत्रकार बदोलालाई जानकारी दिइसकेका रहेछन् । बदोलाले चाहिँ सम्पादकका रूपमा मलाई योग्य ठानेर श्यामसँग मेरो नाम सिफारिश पनि गरेका रहेछन् । श्यामले नेपालीको लागि त अब अर्काे सम्पादक बदल्न नमिल्ने तर अंग्रेजीको लागि मेरो नाममा आफ्नो मञ्जुरी दिएछन् । यसपछि बदाेलाले मलाई फोन गरेर भेट्ने कुरा गरे । ।मैले उनलाई आफ्नाे घरमै बाेलाएँ । उनीबाट यी सबै वृतान्त सुनेपछि म चकित परेँ । श्याम गाेयन्काले काठमाडौंँमा अखबार चलाउनेबारे आफूसँग सुझाउ-सहयाेग मागेको कुरा बदोलाले मेरा पुराना भारतीय मित्र, “सोभियत भूमि” हिन्दीका अनुवादक सुरेन्द्रकुमारसँग गर्दा सुरेन्द्रले मेरो नामको लागि जोड्दार सिफारिश गरेछन् । अनि बदाेलालाई पनि उनी “द टाइम्स अफ इण्डिया”को काठमाडौंँ सम्वाददाता भएर काम गर्दा मबाट भएको सहयाेगकाे पनि सम्झना भएछ । उनलाई यहाँको आफ्नै खालकाे जटिल राजनीति बुझ्न मेरो विचारबाट सहयोग पुग्ने विश्वास पनि सुरेन्द्रले दिएका रहेछन् । फलस्वरूप, बदोलाले “द टाइम्स अफ इण्डिया”का लागि नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा विभाजन, तत्कालीन जटिलता, ने.क.पा. (माले)को वर्चस्व आदिवार अनेक लेख लेखे जसका लागि उनले ठूलो ख्याति कमाए । तत्कालीन मालेका महासचिव मदन भण्डारीसँग दिल्ली दूरदर्शन टेलिभिजनका लागि अन्तर्वार्ता पनि बदोलाले यहीँ काठमाडौँबाट लिएका थिए जसका लागि उनले मसँगका कुराकानीबाट आफूलाई ठूलो सहयोग पुगेको बताए ।

मैले “द काठमाडौँ पोष्ट”को लागि सम्पादकको प्रस्ताव आफ्नो योग्यता र अनुभवको कमीका कारण लिन मानिँन । योग्यता र अनुभव हासिल हुँदै जान्छ भनी बदोलाले धेरै सम्झाए । तर मलाई आफ्नो योग्यता थाहा थियो, त्यसैले फेरि पनि दृढतापूर्वक इन्कार गरेँ । यता कुनै कामधन्दा नभईबसेका पतिका लागि यस्ताे लाेभ्याउँदाे र राम्राे आय हुने व्यवस्था कुन पाे पत्नी छाेड्न लगाउन चाहन्थिन् होला । त्यसैले उर्मिलाले पनि धेरै जोड गरिन् । तर मैले आफ्नाे इमानले नदिने, आफ्नो योग्यताले नपुग्ने भनी उनलाई पनि सम्झाएँ । उनी मानिन् । पछि श्याम गोयन्काले मलाई “कान्तिपुर” दैनिकको सम्पादकीय लगायत काम हेरिदिने गरी सल्लाहकारको पदमा नियुक्त गरे । मैले त्यो प्रस्ताव स्वीकार गरेँ । तर मेराे प्रवेश त्यहाँ स्थापित भइसकेका कांग्रेसी र विभिन्न “वामवृत्त”का केही पत्रकारहरूलाई रुचेन छ र, तिनले मेरा खुट्टा तान्न थाले । तथापि त्यहाँका जिवेन्द्र सिम्खडा, नारद भारद्वाज, विजय कुमार घिमिरे आदिका हार्दिक सहयाेग- सहानूभूतिलाई म आज पनि नसम्झिरहन सक्दिन ।

मैले काम शुरु गरेँ र श्याम गोयन्कालाई आफूप्रति जनाइएको विश्वासका लागि धन्यवाद दिदै आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने वचन दिएँ ।

२०४९ सालकाे कुरा हो । अखबारमा प्रकाशन हुनुभन्दा अघिको जिम्मेवारीपूर्ण तयारी काम चलिरहेको थियो । आफैँले तय गरेकाे बिहान ८ बजे गएर राती १०-११ बजे घर फर्किने गरी गरिने काम मेरा लागि रोचक र चूनौतीपूर्ण दुवै प्रकारको भइरहेको थियो । आफ्नाे काम र व्यवहारबाट आफूप्रति अघि पूर्वाग्रह राख्ने कतिपय शँकालु एवं निन्दकहरुलाई तटस्थ बनाउन सके पछि त, मैले त्यतापट्टि सोच्न छाडेँ । श्याम गोयन्काको यस दूरदृष्टियुक्त कार्यबाट सामाजिक रूपान्तरणमा उल्लेखनीय भूमिका रहने महत्व बुझेर त्यसअनुसारको एउटा अखबार- प्रतिष्ठानको विकासमा सघाउनुलाई नै आफ्नो कर्तव्य ठानेँ । श्याम पनि मलाई निक्कै आदरसम्मान गरी “बुबा” नै भनेर सम्बोधन गर्थे । अखबारका सम्पादकलाई म उनको प्रतिद्वन्द्वी होइन भनेर चित्त बुझाउने र व्यवहार गर्ने मेरो चेष्टा “विफल” भएता पनि मबाट “कान्तिपुर”का लागि आवश्यक पर्ने प्रुफ रीडर, न्यूज रिपोर्टर, सब- एडिटरहरू आदिको नियुक्तिप्रति उनले विरोध जनाएनन् । ओैपचारिक सम्पादक कम चलाख थिएनन्– काम राम्ररी भयो भने उनी सम्पादक, उनले नै स्वाभाविकरूपले प्रशंसा पाउने भइहाले, पछि काम बिग्रन गयो भने अरविन्द रिमालले गरेको नियुक्ति भनेर पन्छिन पाइने !

नयाँ नियुक्ति पाउनेहरूलाई मैले उनीहरू प्रवेश गरेको संस्थाको मानमर्यादामा चोट नपुऱ्याइकन काम गर्नु भन्नुभन्दा अरु के “उपदेश” दिन सक्थ्यें र ? तर धेरैले पछिपछिसम्म पनि पूरै जिम्मेदारी र इमान्दारीपूर्वक काम गरेको देख्दा र पहिले मलाई अनि केही महीनापछि श्याम गोयन्कालाई नै हटाइसकेपछि दिल्लीमा “सोभियत भूमि” पत्रिकामा मपछि काम गरेका सुदर्शन देवकोटा तथा काठमाडौंँ पुराना पत्रकार मित्र कृष्णमुरारि भण्डारीलगायत तिनीहरूमध्ये धेरैजना यथावत रहेको थाहा पाउँदा मलाई आनन्द हुन्थ्यो ।

सम्युक्त साझेदारीमा “कान्तिपुर” चल्न थालेपछि मलाई नै पहिलो तारो बनाएर हटाइयो । यसमा नयाँ साझेदारहरूलाई सम्पादक र नेपाली कांग्रेसपक्षका एक राजनीतिक टीकाकार तथा त्यतिबेला मसँगै “कान्तिपुर”मा काम गर्ने एकजना सहायक सम्पादकले सघाए । यो देख्दा अबको दोस्रो तारो श्याम गोयन्का नै बन्नेबारे मलाई सन्देह रहेन । रकमी साझेदारहरूले श्याम गोयन्कसामु नै मेरो अगाडि स्वेच्छापूर्वकको राजीनामा वा खोसुवा पूर्जीको प्रस्ताव राखे । मैले पछिल्लो विकल्प रोजेँ र मुद्दा लड्ने मनशाय बताएँ । श्यामले मलाई त्यस्तो नगर्न र स्वेच्छामा राजीनामा गर्न अनुरोध गरे । उनको त्यतिबेलाको दयनीय अवस्थाले उनीमाथि परेको दवावलाई स्पष्टसँग बताउँदथ्याे । मैले आफ्नो असन्तोषका अभिव्यक्तिहरु जनाउँदै “स्वेच्छापूर्वक राजीनामा” दिएँ । यसपछि स्वयं श्याम गोयन्कालाई सिध्याउन आफ्ना हतियारहरूमा साँध लगाउन लागिपरिसकेका अनुमान गर्न गाह्राे परेन ! यसप्रकारले संस्थापक साझेदारलाई सडकमा फ्यालिदिँदा पनि उनैले नियुक्त गरेका पत्रकार, कर्मचारीहरूको त कुरै छाडौं, स्वयं उनका सहपाठी मित्र र अन्य “विश्वासपात्रहरू”ले “चूँ”सम्म पनि आपत्ति गरेनन् । यसरी मलाई हटाइएको केही समयपछि “कान्तिपुर”बाट त्यसको संस्थापन गर्ने प्रमुख व्यक्तिलाई नै हटाएर अनुपयुक्त मानिसहरूको हातमा पूरै प्रकाशन पर्‍याे । त्यस्तो नहुँदो हो त नया प्रबन्धकहरूले ती दुवै प्रकाशनहरूको नाम मुन्तिर “संस्थापक श्याम गोयन्का” भन्ने शब्द राखेर तिनले आफ्नै मान बढाउन सक्ने थिएनन् र ?

“कान्तिपुर”मा काम गर्दा मैले एउटा नौलो कुरा थाहा पाएँ । धेरैजना मप्रति पूर्वाग्रहपीडित रहेछन् । म त्यहाँ काम गर्दाकै बेलाको कुरा हो, दिल्लीमा शाही नेपाल वायुसेवा निगममा कार्यरत मेरो छोरा सूरज रिमाललाई अज्ञात मानिसहरूले भगाएर लगे । विश्वभरीकै अखबारहरूले त्यस घटना र नाटकीयरूपको उसको छुटकाराको खबर छापे । “कान्तिपुर”ले पनि छाप्यो । रिमाल “कान्तिपुर”को सल्लाहकारको छोरा पनि भएको खबर “कान्तिपुर”ले छाप्ने ऑट गरेन, त्यस्तो गर्दा मेरो मान बढ्ने थियो भनेर होला । मेरो परिचय पाएपछि दिल्लीका विभिन्न दैनिकका पत्रकारहरूले मकहाँ आएर सहानुभूति प्रकट गरे र छोरा रिहा भएपछि फोनबाट बधाई दिए ।

तर छोरा र उसको पूरै परिवारलाई दिल्लीबाट काठमाडौं फिर्ता ल्याएर म अफिस पुग्दा नयाँ प्रबन्धकहरू, सम्पादक र धेरै कर्मचारी पत्रकारहरूबाट मैले न त सहानुभूतिका, न बधाईका शब्दहरू पाएँ । ओहो कस्तो निष्ठुरता ! मेरो छोराको खबर सुन्नासाथ उर्मिला बेहाेश भई ढलिन् । मलाई त नियतिले अर्कै काम सुम्पेकाे थियाे । श्याम गाेयन्का रुँदै मलाई हवाइअड्डासम्म छाड्न आएका थिए । दिल्लीका आफ्ना मित्रहरूलाई मेरो मद्दत गर्न उनले खबर पठाए । काठमाडौँ फर्केपछि अति नै प्रसन्न भई मसंग छाती मिलाए ।

के कारणले गर्दा यस्तो गुणवान एवं करुणाशील व्यक्ति विफल भएको ? करुणाशील पनि कत्तिको भने मेरो छोरा दिल्लीबाट फर्केपछि पढाइमा लाखापाखा लाग्ने अवस्थामा परेका मेरो नाति सौरभ र नातिनी श्वेतालाई श्यामले नै आफूले खोलेको नामी शेफर्ड इन्टरनेशनल स्कूलमा दुईदुई वर्षसम्म निशुल्क पढ्ने सुविधा प्रदान गरे।

मेरो सद्गुरुदेवले भन्नुभएको छ: “भाग्यले शरीर, भीड एवं धन जुटाउँदछ अनि भाग्यले दिने कुरा सुविधा र अवसर हो । आफ्नो जीवनको परीक्षण सजगताका साथ आफैँले गर्नुपर्छ ।” श्याम गोयन्कालाई उनको भाग्यले प्रशस्त सुविधा र अवसर दिएको हो । तर धैर्य एवं सजगकतासँग आफ्नो जीवनको परीक्षण गर्न उनले जानेनन् । मैले उनको घरमा आफ्ना एक ज्योतिषी मित्र झापाली लेखनाथ कोइरालालाई लिएर गएर उनको चिना हेराउँदा ज्योतिषी नै डराए– उनीजस्तो ग्रहदशा बिग्रेको मानिस कमै छन् भनेर । तर धैर्यता र आफ्नो गोपनीयता कायम राखेर काम गरे ग्रहदशा बिस्तारैबिस्तारै हट्ने कुरामा उनलाई विश्वस्त गराउँदागराउँदै पनि उनले न धैर्ययता लिए, न त आफ्नो व्यापारिक कमजोरी तथा रहस्य साझदार भइटाेपलेका प्रतिद्वन्दीहरूकै सामुन्ने व्यक्त गर्न छाडे । अन्ततः उनी आफ्नै मारवाडी जातिको साझेदारको छिर्केमा परेर नराम्ररी पछारिए । नत्र, काठमाडौंको मारवाडी समाज किन श्याम गोयन्काको मद्दत गर्न, “कान्तिपुर” र “काठमाडौं पोष्ट” विज्ञापन नपाएर प्रकाशन नै धाैधाैमा पर्दा, अघि सरेन ? यो मलाई षड्यन्त्र मिसिएको रहस्य नै लागेको छ ।

यहुदी उद्योगपति वा काराेवारीले जस्तै आफ्नाे काम अघि बढाउन कुनै जातीय उद्यमीलाई सहयाेगकाे रूपमा सहयाेग गर्न पछि नपर्नेहरुमा मारवाडी बेपारीहरुकाे गणना हुनेगर्छ ! आफ्नाे समुदायबाट कुनै बौद्धिक व्यक्ति वा प्रतिष्ठानको उन्नयन त्यसका लागि असहय भएको भनेर नै त्यसले त्यस्ताे गरेकाे भने, प्रवन्धक बाेर्ड बदलिएपछि त्यही समुदाय त्यही प्रकाशनलाई विज्ञापन ख्वाउँदाख्वाउँदा ढम्मरढूस बनाउन कसरी अघि बढ्यो र बढिरहेछ ? किन कुनै खेतान, रौनियार, अग्रवाल, दुग्गड, गोल्छा आदिले त्यतिवेला सहयोगको हात नबढाएको ? यो प्रश्न उनीहरूप्रति
लक्षित छ । त्यसपछिमात्र, केही नलागेर श्याम गोयन्का साझेदारी गर्न पुगेका थिए जो यथार्थतः उनको व्यापारिक आत्महत्यासरह थियो ।

रमाइलाे कुरा पनि कस्ताे भने, मेरो र श्यामको विरुद्ध षड्यन्त्रमा लागेका सम्पादक, सहायक सम्पादकलाई कालान्तरमा प्रबन्धकहरूले अखबारबाट निकाल्न कुनै धक मानेनन् ।

यी दुबै प्रकाशनहरू नेपालमा निजी क्षेत्रको पत्रकारितालाई ठोस संस्थागत स्वरूप दिने प्रशंसनीय ध्येयले स्थापना गरिएका थिए । तर आज २०६०-६१ को समयमा त तिनीहरूको भूमिका एकदम बेग्लै भएको देखिन्छ ।

करिब दुई वर्षपछि फेरि श्याम गोयन्काले मलाई बोलाएर कुनै पाक्षिकको प्रकाशनको कुरा गरे । मेरो पनि उनीप्रति स्नेह र सहानुभूति थियो । मैले स्वीकार गरें र सम्पादकको हैसियतले नयाँ काममा जुटें । यसबीच उनी आर्थिकरूपले केही उठेका देखिन्थे । “विश्वमित्र” पाक्षिकको कार्यालय दरबारमार्गस्थित एकजना नाम चलेको राणा परिवारको घरमा थियो । यसपटक कार्यदल स्यानो थियो । कांग्रेसी र वाम विचारवालालाई लिएर उक्त प्रकाशनको कार्य चलाउन थालेंँ । चाँडै नै “विश्वमित्र” प्रतिष्ठित एवं निष्पक्ष तथा गम्भीर पत्रिकाको रूपमा चर्चित भयो । “मधुपर्क” जस्तो स्तरीय पत्रिकामा कामगर्नेहरूले समेत सह्राना गर्ने “विश्वमित्र” यसपटक पनि श्याम गोयेन्काको अधैर्यताले गर्दा नै डुब्यो यद्यपि त्यसमा कुनै प्रतिद्वन्द्वी थिएनन् । त्यही अधैर्यता, “स्यानो” पत्रिकाबाट चित्त नबझेर ठूलो अखबारमा लाग्ने उनको अधैर्यताले नै गर्दा उनी आफ्ना इष्टमित्रहरूको घरघराना समेत हानीनोक्सानीमा पार्न पुगे । उनी बदनाम नै भए । तर “विश्वमित्र”को अवसानकाे लागि चाहिँ उनकै घर- परिवारका पुरुष सदस्यहरू तथा उनका विश्वासी “कारिन्दाहरू” बढी जिम्मेदार भएको सुनियो ।

याे त भयाे, २०४९ सालकाे घटना २०६२ सालमा प्रकाशित हुँदाकाे वर्णन ।

केही महीनाअघि श्याम गाेयन्का आफैँले आफ्ना कुरा राखे, अन्नपूर्ण अनलाइन नेटमा हाे क्यारे, उनकाे सहृदयताकाे फेरि परिचय पायाे, नेपाली समाजले । त्यसमा उनले आफू काम गर्दाका प्रत्येकजसाे व्यक्तिप्रति समुचित मानसम्मान जनाए । फलस्वरूप, उनले पनि कुनै राजनीतिक नेता वा राजनीतिज्ञले पनि ईर्ष्या गर्नै पर्ने आभार- सम्झना- स्नेह पाए ।

आफ्नाे लामाे भनाईमा उनले आफ्नाे प्रकाशनकाे अस्वाभाविक अवसान प्रधानमन्त्रीबाट गिरिजाप्रसाद काेइराला बाहिरिनुलाई दिएर उनी “कान्तिपुर”काे सही हितैषी भएकाे पनि उल्लेख गरे । मलाई यसमा कति मात्र “कैफियत” जनाउनु छ भने यहाँ पनि उनीमा अनुचितताप्रति पनि सद्भाव तथा सहृदयताकाे विलक्षण प्रदर्शन पाइन्छ ।

एक पटककाे कुरा हाे, गणेशमान सिँहले नेपाली काङ्ग्रेसमा वैचारिक तथा सङ्गठनात्मक शुद्धता अभियान चलाउँदा उनकाे विचारले समुचित तवरमा अखबारकाे पहिलाे पानामा प्रमुख स्थान पाउने गरी उनका वक्तव्य छाप्ने भनी मैले हस्ताक्षर गरेर ११ राति घर फर्केँ । भाेलिपल्ट बिहान मैले साे वक्तव्य रहस्यात्मक “कू” मा परी सानाे बक्स समाचारमा सीमित भएकाे पाउँदा स्वतन्त्र अखबार त त्यतिबेलै, राजीब उपाध्यायले झण्डै २५ वर्षपछि नाम दिएका cabals र cartels काे फन्दामा पारिसकेका रहेछ भन्ने निष्कर्षमा पुग्न आज मलाई गाह्राे पर्दैन ।

बिचरा श्याम ! उनलाई सरकारी सहयाेग दिने आश्वासनकाे आडमा उनैकाे अखबारलाई त्यसभित्रका निहित स्वार्थी तत्त्व, vested interestedले आफ्नाे भित्री काममा लगाउन थालिसकेका रहेछन् । यस प्रकारले म त सल्लाहकार मात्र ! मेराे काम सल्लाह दिनेमै सीमित भएकाे जनाइएकाे मैले बुझेँ । कुरालाई झनै स्पष्टसँग भन्दा, पूराका पूरा उद्योग- कलकारखानालाई “निजीकरण गर्ने” नाममा ग्वाम्म हसुर्नसक्ने सरकारका प्रधानले आफूले साँच्चै चाहेकाे भए, निजी क्षेत्रकाे अद्वितीय प्रकाशनलाई ऋण सापटीकै रूपमा भए पनि सहयाेग जुटाइदिन नसक्ने थिएनन् । तर उनीहरु जस्ता “प्रजातन्त्रवादी”काे “स्वतन्त्र अभिव्यक्ति”, “वाक स्वतन्त्रता” काे धर्म-सँस्कार भनेकाे उनीहरुकाे मात्र स्वार्थसिद्धिमा सीमित रहने तथ्य श्याम गाेयन्काले बुझेनन् ! त्यस्ताे नहुँदाे हाे त, आज राजनीतिकसहित प्राय सम्पूर्ण समाजकाे यस्ताे विकृति हुने थिएन ।

तथापि, “कान्तिपुर”मा निजी क्षेत्रमा निहित ध्येय- उद्देश्यलाई उन्मूलन गरी पारिवारिक हैकम स्थापित गर्न दिनमा मुख्यत:, एक मात्र, जिम्मेवार तत्त्व बिचरा श्यामकै समुदायका “भाइ-बन्धुहरु” नै भएकाे तथ्य अकाट्य छ, र रहिरहनेछ ।

अन्त्यमा जय नेपालकाे अभिवादन !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button