
प्रकाशजी, अचेल तपार्ईं समाचार किन पढ्नुहुन्न ?
श्रोताहरुसित भेटका क्षण
प्रकाशप्रसाद उपाध्याय
रेडियो प्रसारणका श्रोताहरुले उद्घोषक-समाचारवाचकहरुलाई टेलिभिजनका उद्घोषक-समाचारवाचकहरुलाई देखेसरह देख्न पाउँदैनन् । यसो हुँदा उनीहरुलाई आफ्नो कार्यक्रमका उद्घोषक-समाचारवाचकहरुप्रति एउटा जिज्ञासा हुने गर्दछ । र, उनीहरु मौका पर्दा रेडियो स्टेशनमा आइ उनीहरुलाई भेटने चाहना राख्दछन् । हाम्रो कार्यक्रमका अनेक श्रोताहरु दिल्ली आउने क्रममा कार्यक्रमको प्रसारण तरिका हेर्न र उद्घोषक-समाचारवाचकहरुलाई भेट्न आउने गर्दथे ।
एकदिन बिहानीको उद्घोषणाको ड्यूटी सकेर कोठामा पसेको मात्रै थिएँ । तल्लो तलामा रहेको स्वागत कक्षबाट फोन आयो । कोही भेट्न आएको सन्देश पाएपछि तल ओर्लिएँ । एकजना अपरिचित व्यक्ति सोफामा बसेर मलाई कुर्दै हुनुहुन्थ्यो । ‘भन्नोस्, म नै हुँ प्रकाशप्रसाद, के–कति कामले आउनुभयो ?’ भन्देै मैले उहाँलाई अभिवादन गरें । उहाँले आफूलाई हाम्रो कार्यक्रमको एकजना श्रोता भएको र बिहान मेरो उद्घोषणा सुनेर मलाई भेट्ने चाहना राखेर आएको बताउनुभयो । स्वागत कक्षमा बसेर धेरै बेर कुरा गर्नु उपयुक्त नठानेर मैले ‘जाउँ न एक कप चिया खाऊँ’ भन्दै उहाँलाई चमेनागृहतिर लगें । ती श्रोताले आफ्नो नाउँ श्यामजी पाण्डे रहेको, दाङबाट आएको, रेडियो मेकानिक रहेको र यसै सिलसिलामा आफू कहिले अलिगढ त कहिले दिल्ली आउने गरेको हुँदा यसपालि मलाई भेट्न र रेडियो स्टेशन पनि हेर्न आएको बताउनुभयो । हँसिला मिजासका पाण्डेजीले चिया खाँदै म उनको परिकल्पना भन्दा छुट्टै देखिएको बताउन पनि सङ्कोच मान्नु भएन । जस्तै प्रकाशप्रसाद भनेपछि म बिहारीजस्तो धोती–कुर्ता लाएको, भुँडी पुक्क निस्केको र पानले मुख भरिएको आदि हुनुपर्ने हो, तर मलाई त्यस रुपमा नपाउँदा उहाँलाई धेरै खुशी लाग्यो अरे ! चियासित बिहानको खाजा आदि खाई, स्टुडियो देखाई उहाँलाई बिदा गरेंं, र म पुनः काममा व्यस्त भएँ । यसपछि श्यामजी पाण्डेको हरेक दिल्ली यात्रामा हुने हाम्रो भेटबाट हामीबीच निकटताको भाव उत्पन्न हुँदै गयो । पछि थाहा पाएँ कामविशेषले उहाँ राजबिराज जानु हुँदा हाम्रो घर पनि पुग्नुभएको र बाबालाई भेट्नुभएको कुरा ।
यसको अतिरिक्त सेवाकालमा अनेक रुपमा थरिथरिका श्रोताहरुलाई भेट्ने अवसर पाइयो । दिल्लीमा मात्र होईन काठमाडौंको यात्रा होस् कि घर जाँदा आउँदा रेलको यात्रा । कोही न कोहीसित भेट हुने । काठमाडौंको यात्राकालमा कामनाका प्रतिनिधि भेटवार्ता लिन आएका उल्लेख गरिसकेको छु । एक अर्को अवसरमा काठमाडौंमा एक कार्यक्रममा पुगेको थिएँ । एकजना सज्जनसित परिचय हुँदा उहाँले सोध्नुभयो–‘प्रकाशजी, एउटा कुरा मैले बुझ्न सकिनँ । तपाईं कहिले प्रकाशप्रसाद भन्दै त कहिले हरिप्रसादको नाउँले अनि कहिले शालिग्राम शर्माको नाउँबाट किन समाचार पढ्नुहुन्छ ?’ हाम्रो स्वर एकसमान भएर वा समाचारवाचनको शैलीमा समानता भएको अनुभूुतिले होला उनले यो प्रश्न गरेका होलान् । जबकि मैले यस किसिमको अनुभव गर्न सकेको थिईनँ । यस अघि कसैले यस किसिमको प्रश्न पनि सोधेको थिएन । तर उनको यस प्रश्नबाट मलाई हाँसो उठ्यो । भनें– मैले यसो गर्नाको कुनै कारण छैन किनभने हामी तीनैजना बेग्लाबेग्लै व्यक्ति हौं र हरिप्रसादज्यू एवम् शालिग्राम शर्माज्यू त मेरा अग्रज हुनुहुन्छ । ‘ए हो र ? तर तपाईंहरुको स्वरमा कति समानता रहेछ’ भन्दै उहाँले आफ्नो जिज्ञासा शान्त गर्नुभयो ।
यो त काठमाडौं यात्राको अवसरको कुरा हो । दिल्लीमा प्रवासीज्यूको निवासमा एक पार्टीमा डा. जयनारायण गिरीसित भेट भयो । कुराकानी हुँदै गर्दा उहाँले सोध्नुभयो– ‘प्रकाशजी, अचेल तपार्ईं समाचार किन पढ्नुहुन्न ? समाचार दर्शन भने तपाईंले प्रस्तुत गरिराख्नुभएको पाउँछु ।’ उहाँको यस प्रश्नबाट मलाई खुशी लाग्यो । यस जिज्ञासाभित्र उहाँ कार्यक्रमको एक नियमित र गम्भीर श्रोता रहेको पनि मलाई अनुभव भएर आयो । जबाफमा मैले भनें– ‘अचेल समाचारको प्रसारण समाचार प्रभागद्वारा गरिन्छ । हाम्रो प्रभाग र यो प्रभाग बेग्लाबेग्लै हुन् । समाचारदर्शन चाहिँ हाम्रो प्रभागको साप्ताहिक कार्यक्रम हो ।’ यति भनेपछि हामीमाझ अन्य कुराहरु हुन थाले ।
सेवाकालमा काठमाडौं व्यक्तिगत कारणहरुले पनि आउने गर्दथें । एकपल्ट कामविशेषले एक पत्रिकाका सम्पादक मणिराज उपाध्यायलाई भेट्न गएँ । उहाँ पनि नेपाली कार्यक्रमको नियमित श्रोता हुनुहुँदो रहेछ । प्रकाशप्रसाद भन्दै मैले समाचारवाचन गर्दथें । यस नाउँले गर्दा म कुनै बिहारी रहेको धारणा उहाँले पनि बनाउनुभएको रहेछ । तर मेरा उच्चारण र शैलीमा उहाँले एउटा स्वच्छता पाइराख्नुभएको थियो । भेटघाटको यस क्रममा उहाँले बाबुको घर कहाँ पर्दछ भनी सोध्नुभयो । मैले सप्तरीको आफ्नो गाउँको नाउँ बताउँदा, ‘ए बाबु त नेपाली हुनुहुँदो रहेछ, म त बिहारी भएर पनि कति सफा नेपाली बोलेको भन्दै आश्चर्य मान्दै थिएँ ।’ उहाँको यो प्रतिक्रिया सुनेर मलाई कार्यक्रमको लोकप्रियताको पनि ज्ञान भएर आयो ।
तर घर आउने वा बिदा सकेर फर्कने क्रममा रेलमा सहयात्रीहरुले गर्ने कुराकानी र उनीहरुका प्रश्न भने बेलाबखत उराठलाग्दा हुन्थे । एकपल्ट म बिहारको रामनगर हुँदै सपरिवार वीरगंज आउँदै थिएँ । साथमा दिदी पनि हुनुहुन्थ्यो । नरकटियागञ्जमा अर्को रेल समात्नु पथ्र्यो । त्यहाँ रेलमा बसेपछि कुराकानी हुँदै गर्दा एकजना सहयात्रीले सोधी हाले– ‘कता जाँदै हुनुहुन्छ ? घर कहाँ हो ? आदि ।’ रेल यात्राकालमा यस्ता प्रश्नहरुको जवाफ दिंदा दिंदा मलाई दिक्क लागिसकेको थियो । यसर्थ म चुप्प नै बसें । तर दिदीले भन्नुभयोे– ‘हामी वीरगञ्ज जाँदैछौं । यी मेरा भाई र बुहारी चाहिँ अगाडि राजबिराजसम्म जाने । दिल्लीबाट आएका ।’ दिल्लीको नाउँ के सुनें उनमा अर्को जिज्ञासा जागेर आयो । सोध्न थाले– ‘दिल्लीमा के गर्नुहुन्छ ?’ दिदीले जवाफ दिंदै भन्नुभयोे– ‘अल इण्डिया रेडियोको नेपाली कार्यक्रममा काम गर्दछन् ।’ के नाउँ प-यो ? उनले पुनः प्रश्न तेर्साए । दिदीले भन्नुभयोे– ‘प्रकाशप्रसाद ।’
‘ए प्रकाशप्रसाद तपाईं नै हो ? रेडियोबाट आउने स्वर सुन्दा त यस्तो दुब्लो पातलो मानिस रहेको लाग्नु हुन्न ।’ धन्य, उनले तलब सोधेनन् । नत्र तलब सोध्ने र बाबुआमालाई कत्तिको सहयोग गर्ने गरेको जस्ता प्रश्नहरु तेर्साउनेहरु पनि मैले भेटेको छु ।

सेवानिवृत्त भएर स्वदेश फर्कने क्रममा त झन अनौठो अनुभव भएर आयो । माओवादी आन्दोलन उत्कर्षमा थियो । मेरो घरायसी सामानको ट्रक दिल्लीबाट आइरहेको थियो । भन्सारबाट ट्रक छुटाएर आउन थाल्दा बाटोमा ट्रक रोक्ने, सोधपूछ गर्ने आदि काम हुन्थ्यो । पथलैया नाघेपछि एक ठाउँमा सुरक्षा कर्मचारीले ड्राइभरलाई ट्रक रोक्न संकेत गरे । उनीहरुका तजबीज बमोजिम काम गर्नुपथ्र्यो । एक ठाउँमा सोधपूछको क्रममा एकजना सुरक्षा कर्मचारीले ट्रकमा के हो ? कताबाट आएको ? आदि इत्यादि प्रश्न गरे । म सेवाबाट आवकाश पाएर घर फर्कन थालेको र ट्रकमा घरायसी सामानहरु भएको बताएँ । अनि उनले म सेवारत भएको कार्यालय, मैले पाउने पेन्सनको राशि आदिका सम्बन्धमा पनि सोध्ने आवश्यकता ठाने । तर जब मैले म करारको सेवामा रहेकोले पेन्सन नपाउने कुरा बताएँ त उनले ‘तपाईं अल इण्डिया रेडियोमा समाचारवाचक हुनुहुँदो रहेछ । समाचार कसरी पढ्नु हुन्छ बताउनुहोस् त ’ भने । आफूलाई काठमाण्डौं पुग्ने हतार भएकोले मैले पनि घाँटी सफा गरें । देशको बर्तमान स्थितिलाई सम्झंदै, सुरक्षा जाँच गराइरहेको घटनालाई समाचारको प्रमुख शिर्षक बनाउँदै र सुरक्षा कर्मचारीको कार्यकुशलता र इमानदारिताको तारिफ गर्दै समाचार पढेको अभिनय गरें । यसपछि उनले ‘ल जानोस्’ भन्दै ट्रक चलाउने अनुमति दिए ।
सन् १९६३–६४ तिरको एउटा घटनालाई समाचारको प्रभावकारिता र कार्यक्रमको लोकप्रियताको रुपमा हेर्न सकिन्छ । जाडोका दिनहरु थिए । कोठाको सरसफाई हुन लागेकोले हामी अफिस बाहिर घाम ताप्दै उभ्भेका थियौं । २–३ जना अपरिचित व्यक्तिहरु कोठाभित्र पस्न खोज्नुभयो । हामीले सोध्यौं– ‘तपाईहरु को ? कसलाई खोज्नुभएको हो ?’ उहाँहरुमध्ये एकजनाले भन्नुभयो– ‘म बी.पी. शर्मा । हामी काठमाडौंबाट आएका । प्रकाशप्रसादजीलाई भेट्नुपर्ने थियो ।’ मेरा सुपरिवेक्षक शंकर लाल मस्करा त्यहीं हुनुहुन्थ्यो । मतर्फ संकेत गर्दै भन्नुभयो– ‘यिनी नै हुन् प्रकाशप्रसाद ।’ अनि मैले सोधें– ‘किन खोज्नुभएको मलाई ? भन्नोस् के गर्नसक्छु म ?’ उहाँले भन्नुभयो– ‘हामी अमेरिकी दूतावास, काठमाडौंमा काम गर्छौं । केही अँग्रेजी फिलिममा नेपाली आवाज समावेश गर्नुपर्ने छ । तपाईंको सहयोग चाहिएकोले आएको ।’ मेरा सुपरिवेक्षकले भने– ‘यहाँ प्रकाशभन्दा पनि वरिष्ठ स्टाफ छन् ।’ उहाँले भन्नुभयो– ‘होइन्, हामी उहाँकै स्वर लिने निर्णय गरेर आएको । उहाँको मिल्दैन भने, बरु फर्कन्छौं ।’ अनि मैले भनें– ‘यसो हो भने तपाईंहरुले केही दिन कुर्नु पर्ने हुन्छ । म नेपाली नागरिक भएकोले विभागीय अनुमति नलिई यो काम गर्न सक्तिन् ।’ उहाँहरुले ‘हुन्छ’ भन्नुभएपछि मैले विभागीय अनुमतिका लागि निवेदन दिएँ र अनुमति पाएपछि उक्त फिलिममा मेरो स्वर समावेश गरियो ।
यसपछि भारत सरकारको फिलिम डिभिजनद्वारा पनि मेरो स्वर समावेश गर्दै केही वृत्तचित्रहरु तयार पारियो । जुन सम्भवतः भारतीय दूतावासद्धारा काठमाडौंमा प्रदर्शित गरिए ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Thanks nepal namchha.