घाटोः व्यापार मरु, ढेवा मरु

ब्राह्मणपुत्रको लकडाउन डायरी–६२

भरत शर्मा
कभरमोडलः मिना सिङ्गक

असारको मध्यान्तर । ‘असार १५ मा दही चिउरा, साउन १५ मा खीर’ । अब असारसँगै नेपालीको घर–आगँनमा विभिन्न पर्वहरु शुरु हुन थालेको छ । पर्व मनाउने भनेको खाने नै हो ।

आजदेखि लकडाउन १० प्रतिशत मात्र बाँकी राखेर शहरभित्रका पसलहरु सबै खुले । मलहरु पनि विहान ११ देखि बेलुका ६ बजेसम्म खुल्ने थाले । होइन, आज मलको के अवस्था रहेछ भनेर न्यूरोड र सुन्धारा क्षेत्रका मलहरु एक चक्कर लगाएँ । बजार खुलेको थियो, व्यापारीहरु व्यापार गर्न तयार थिए । तर, ग्राहक नपाएपछि व्यापारीहरु आफ्नै पसलको अनुहार हेरेर बसेका थिए ।

बर्षायाम व्यापारको समय पनि होइन । त्यसमाथि पनि प्रशासनको लकडाउन जारी रहेको बेला ग्राहक आउने कुरा पनि भएन । अत्यावश्यक खरिददारीबाहेक शहरका मानिस अब ग्राहक नहुने अवस्था छ । न्यूरोडका मोवाइल र ल्यापटप पसलमा भने विगतको जस्तै भीड थियो ।

लकडाउनले गर्दा शहरभित्र बस्नेहरुको प्राणप्रिय मित्र भनेको मोवाइल र ल्यापटप नै भएको छ । अहिले घर–घरमा अनलाइन कक्षा सञ्चालन हुन थालेपछि मोवाइल माग बढेको हो, सहजैं अनुमान लगाउन सकिन्छ ।

सिभिल मलमा एकजना व्यापारी फोनमा भन्दै थिए, ‘ब्यापार मरु, ढेवा मरु’ । सायद घरबाट श्रीमतीले फोन गरेर केही सामान मगाएको हुनुपर्छ । उनी झर्कंदै थिए ‘मरु, मरु’ ।
एकछिन टक्क अडिएर उनको भाषा सुने । काठमाडौंमा बसे पनि नेपाल भाषा सिकिनँ, बोेलिनँ र बोलेको पनि केही बुझ्दिन । वास्तममा नेपाल भाषा काठमाडौं उपत्यकाको मौलिक भाषा हो । काठमाडौं बसेको २० बर्ष हुँदा पनि २० वटा नेवारी शब्दको अर्थ मलाई थाहा छैन ।

‘व्यापार मरु, ढेवा मरु’, यसको अर्थ के रहेछ भनेर मेरो कार्यालय अगाडिका मेरा नेवार समुदायका व्यापारी मित्रलाई सोधे, ‘उनले पहिले अंग्रेजीमा अर्थ लगाए, नो विजनेश, नो मनी । त्यसपछि नेपाली भाषामा भने, व्यापार पनि छैन, पैसा पनि छैन ।

यो त अहिले आम नेपालीको समस्या हो । मित्रले भने, ‘तपाईंलाई आज लकडाउन डायरीको विषय भयो । म निकै हाँसे, कसरी लेख्ने यो विषयमा केही जानकारी दिनुस् न भन्दा उनी दुःखका कथा सुनाउँदै थिए ।

‘व्यापार नभएको दुई महिना भयो । घर खर्च, छोरीको पढाई खर्च अनि अरु थुप्रै खर्च तर गोजीमा दाम छैन’, उनले भने, ‘व्यापार पनि मरु, खल्तीमा ढेवा पनि मरु ।’
मलमा बसेर व्यापार गर्नेहरुको साझा कथा हो यो ।

‘लकडाउन भएको ६२ औं दिनमा पसल खोल्न आएको । गणेशको बाहन मुसोले पसलका सामानमा धावा बोलेको रहेछ’, मित्र भन्दै थिए, म कति अभागी ! एकातिर महामारी अर्कोतिर मुसो आतङ्क ।’

‘अब मल खुल्यो, घरमालिकले भाडा चाहियो भनेर आउने होला । कताबाट खोजेर दिने, के गर्ने होला सोच्न सकेको छैन । लकडाउनले हाम्रो जिन्दगीमा ‘मरु–मरु’ बनाइदिएको छ’, उनले थपे ।

शहरको मौसम पनि सफा भएको दिन, भोलिबाट पानी पर्ने भविष्यवाणी भएको छ ।

आज व्यापारीको मनोविज्ञानको अध्ययन गरेर लेख्ने हो भन्ने सोच्दै भोटेबहालमा रहेका विजुली पसलेहरुको अवस्था के रहेछ भनेर फेरि चक्कर मारेँ ।

विजुली पसलेहरुको अनुहारमा बत्ती नभएको अँध्यारो देखेँ । सँधै झिलिमिली हुने उनीहरुको अनुहारमा कुनै चमक थिएन । व्यापार नभएरै त्यसो भएको होला भन्ने सोच्दै थिएँ । एकजना व्यापारीले टेलिफोनमा भने, ‘व्यापार मरु, ढेवा मरु ।’

‘आज म किन एउटै शब्दको पछि लाग्दै छु ?’, आफैले आफैलाई प्रश्न गरेँ, ‘यो शब्द किन मेरो कान र मनमा गुन्जिरहेको छ ?’

सम्पादकले तीन दिनदेखि भन्नुभएको छ, ‘अहिले शेयर बजारमा लाग्ने मानिस करिव ३५ लाख बढी छन् । तपाईं पनि पछिल्लो समयमा सेयर बजारको बारेमा कुरा गर्नुहुन्छ । अब तपाईले सेयर बजारको कथा लेख्नुस् ।’

दुई बर्ष भयो, सेयर बजारमा प्रवेश गरेको मेरो अनुभवात्मक लेख पाठकले रुचाउने गरी कसरी लेख्ने होला भनेर चिन्तन, मनन, अध्ययन गर्दैछु ।

‘सेयर बजारमा ब्राह्मणपुत्र’, यो थिममा लेख्नका लागि ‘एङ्गल’ पाएको छु । त्यसका लागि तयारी पनि गर्दैछु ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button