
महामारी मारमा म
मेरो पसल
शकुन्तला देवकोटा
२०५७ साल फागुननदेखि ठमेलमा ट्रेकिङ इकुपमेन्ट पसल सुरु गरियो । थोरै लगानी, सानो पसल । बाहिर भाडा महँगो । अलि गाह्रो हुन्छ कि भन्ने लागेर गल्लीभित्र ठाउँ खोजियो । आफन्तहरुको पूर्ण सहयोगमा पसल राम्रै चल्न थाल्यो ।
चैत, बैशाख विदेशी घुम्न आउने सिजनै रहेछ । त्यसपछि लगानी बढाउने कि भन्ने सल्लाह हुँदै थियो । त्यस बर्षकै जेठ महिनामा राजदरबार घटना भयो । सुरक्षामा प्रश्न उठ्यो । फेरि टुरिष्ट कम । व्यापारमा घाटा । जनयुद्ध जारी थियो, त्यसमाथि रितिक रोशन कान्ड अनि २०६२-३ को जनआन्दोलन । पर्यटन व्यवसाय ओरालो लाग्यो । धैर्यसाथ कुर्नुबाहेक अर्को विकल्प थिएन ।
जब देशमा शान्ति सम्झौता भयो, पर्यटन केही उकासियो । आशालाग्दो आम्दानी । चम्किएको व्यापार । अन्त खासै आँखा नलाग्ने । सजिलोसँग चल्न थाल्यो दैनिकी ।
२०७२ बैशाख १२ को विनाशकारी भुकम्प । प्रकृतिले दिएको ठुलो चोट । धन सम्पत्ति केही होइन रहेछ भन्ने मानसिकता बोकेर धेरै दिनसम्म बन्द गरियो पसल ।
विदेशी हेर्न आउने पुरानो मठ मन्दिर। धरहरा सबै संरचना भत्कियो । बनाउन कति समय लाग्ने हो ? कस्ले, कहिले बनाउला र विदेशी आउला भन्ने लाग्थ्यो । तर, उल्टो भयो । भत्किएको संरचना हेर्न टन्नै विदेशी तथा स्वदेशी आएको पाइयो । फेरि व्यापार राम्रै हुन थाल्यो ।
विगत दुई बर्षदेखि विश्वमा नै फैलिएको महामारी कोभिड-१९ सबै क्षेत्रलाई पारेको असर त्यसमा पनि विशेष गरी टुरिजम व्यवसायीलाई थला पारेको अवस्थामा हामी स्वत थला परेका छौं । तर पनि फेरि राम्रो दिन कुरिरहेका छौं र कुरिरहने छौ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



