
प्रतिभाः मण्डलाकी म र आमा
प्रिय बालसाथी ! तिमीहरु कथा लेख । कविता लेख । निबन्ध लेख । र, अरु थुप्रै विधामा मन लागेको लेख । चित्र पनि कोर । त्यसमा रंग पनि भर । नेपालनाम्चा तिमीहरुको प्रतिभा पोख्ने ठाउँ हो । नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है । अंकलको इमेल ठेगाना nepalnamcha@gmail.com हो ।
अग्रिमा प्रधान चित्रकला, नृत्य अनि कविता लेखनमा पनि विशेष रूचि राख्छिन् । काठमाडौंको डल्लुस्थित स्वर्णिम स्कुलमा कक्षा ८ को अन्तिम परीक्षाको तयारीमा रहेकी उनी पत्रपत्रिका, युट्युव, मोबाइल, प्रकृति आदि जतातिर भए पनि मन लोभ्याउने दृश्य देख्नासाथ कपीमा उतार्छिन् ।
‘निकै आकर्षक हुन्छन् उनका चित्र’, शिक्षक हरिप्रसाद गौतमले भने, ‘रूची चित्रमा बढी, नृत्य पनि उस्तै, पढाइ पनि राम्रो ।’
अब अग्रिमाले उतारेको चित्र र कवितातर्फ लागौँ । यस्तै खालका उनका अन्य चित्र र कविताहरु नेपालनाम्चामा क्रमशः पस्कनेछौँ ।
कविता: मण्डलाकी म र आमा
आमा तिम्ले सहन सक्ने शक्ति कहाँबाट पायौ
आफू भित्रभित्रै रोई मलाई हाँस्न सिकायौ !
मेरा लागि नर्स भयौ, सल्लाहकार र साथी भयौ
मेरा लागि दुखपीडा सबै सह्यौ ।
जब मेरो कामले तिम्रो मुखमा खुसी ल्याउँछ
त्यति बेला मेरो मनमा अनगिन्ती खुसी छाउँछ
नौ महिना कोखमा राखी अमूल्य यो जीवन दियौ
जन्माएर सबैभन्दा खुसी तिम्ले मलाई दियौ ।
छैन शब्द बयान गर्ने तिम्रो माया ममतालाई
कति माया गर्छ्यौ मलाई सधै आफ्नो मुटु जलाई
आमा शब्द कति मीठो, अझ मीठो तिम्रो माया
छोडी जाने छैन कतै सजाउनेछु हृदयमा ।
तिम्रा प्यारा अनि राम्रा सकारात्मक विचार अझै
प्रेरणा भै रहनेछन् मेरो मनमा सधै सधैं
दिन त म के सक्छु र आमा यसको बदलामा
तिम्रो माया सजाएँ है चित्रको यो मण्डलामा
यो चित्रकी म हुँ छोरी अनि अर्की मेरी आमा !!


