
के होइनन् ‘मधुवने’ नवराज ?
श्रोताको माया
नदी भट्टराई
‘साहिँली रिमाई चौँरी गाई …
झर्यो रिमाई मधुवनैमा !’
‘हरेक शुक्रबार बिहान दश बजेको समाचारपछि … र सिधा प्रसारण प्रत्येक आइतबार राती दश बजेको समाचारपछि कार्यक्रम मधुवन । … तपाईँहरूको दुःखसुखको साथी म नवराज लम्साल ।’
रेडियो नेपालको यो कार्यक्रम सुन्न विद्यालय छुट्टी हुँदा मात्रै पाइन्थ्यो त्यो पनि बाख्रा चराउन चाँडै बेँसी झर्नुपर्थ्यो । सुन्न नभ्याउँदा भने सन्तोष रेडियो नेटको झोलामा हालेर करीब ४५ मिनटको बाटो खेतमा (राते वा गहिरी) पुगेर बाख्रालाई त्यो बाँझो खेतमा छोडिन्थ्यो । बाख्रो आलीमा पलाएका घोड्टाप्रेमा मिहिन पाराले दाँत गाडेर चर्न व्यस्त हुँन्थे । आफू कटेरोको टाँडमा परालमाथि परालकै सिरानी हालेर उत्तानो सुतिन्थ्यो र रेडियोको एरियललाई कटेरोको भँगेरे भाटोमा अड्याएर मधुवन सुनिन्थ्यो । चारैतिरबाट चिलाउने र शिरीषको फूलको रङ्गीविरङ्गी रङ आँखाभरि हुन्थे । जङ्गली हावा आउथे र शीतलतासँगै मधुवन साँच्चै जङ्गलमा गुञ्जन्थ्यो र अर्को आनन्द थपिन्थ्यो । रेडियोमा बजेका गीत र नवराज लम्सालको स्रष्टासम्वाद सुन्दासुन्दै भुसुक्कै निदाइन्थ्यो… । व्यूँझदा त अर्कै कार्यक्रम पो बजिरहेको हुन्थ्यो । हतपत उठेर बाख्राहरू हेर्दा अघाएर अग्ला काँल्लाले पारेको छायाँमुनि सपरिवार निदाइरहेका हुन्थे । चारवटा माउ चारवटा पाठा (बोका) दुईवटा पाठी र तीनवटा खसी । त्यसैगरी आइतबार राती ठीक १०.०० शुरु हुने मधुवन सुन्न हिउँदको दिनमा निक्कै कठिन हुन्थ्यो । ओछ्यानमा नै उँगिन्थ्यो तैपनि ती आवाजले तानिरहने भएकाले साढे नौ बजे आसपास नै सबै कर्म सकेर सन्तोष रेडियोको केन्द्रीय प्रसारणस्थल (हाम्रो लागि) एउटा टेवललाई बनाएर दाजुभाइ दुवैतिर ओछ्यानमा बसेर हातमा पुस्तक बोकेर पढ्ने बहानामा बस्थ्यौँ तर ध्यान भने ती आवाजहरूमा केन्द्रित हुन्थे। आमाले भन्नुहुन्थ्यो- ‘नानी हो ! अब रेडियो मार (बन्द गर), भोलि समयमा उठ्दैनौँ ।’ बिहान पाँच बजे उठ्दा निन्द्रामा, कक्षा आठको गणित शिक्षकको पढाइ र नामसालिङ मा. वि. पुग्ने बाटोको दूरी, बेलुकीको कार्यक्रम सुन्दै गर्दाको अवस्थाको अनुभूतिमय तन्द्रा तथा बिहानी आनन्दको निन्द्राको सम्झना धमिलिएर एकैपटक गहिरी खेतमा बाँधेका एक हल गोरु (लाले र तिल्के) र राते खेतमा बाँधेका दुई लैना गाईहरूको खोलेको भाँडोको सम्झना आउँथ्यो ।
मधुवन र बालापन
आहा ! ती दिनका कर्म र सम्झना साँच्चै मधुवन हुन्थ्यो । प्रतीकात्मक मधु र बिम्बात्मक वन ‘मधुवन’ । नाम र नाम जोडिएर बन्ने द्वन्द्व समासबाट बनेको शब्द मधुवनलाई नौलो दायित्वबोध बोकेका व्यक्ति ‘नव’ श्रोता र दर्शकका अगाडि जोडिएर उपसर्ग बनेपनि, र राज्यको कार्यभार भन्ने अर्थमा ‘राज’ पछाडि थपिएर प्रत्यय बनेपनि शब्दकोषको जुनै अर्थले अर्थ्याएपनि नवराज लम्साल नवराज लम्साल नै हुन् त्यो बेला र छन् अहिले पनि । समयको अन्तरालसँगै रेडियो नेपाल र मधुवन, नवराज लम्साल , प्रविधि (facebook) र सृजनशील सन्दर्भ आदिको त्रिकोणात्मक सम्बन्धको प्रभावको कारण वहाँसँगको सान्निग्ध्यता बाक्लिँदै गएको हो । यसै क्रममा सूर्योदय नगरपालिकामा अवस्थित एउटा रेडियो बुद्धवाणी एफएम (९५.७ मेगाहर्ज) स्थापनार्थ वहाँकै बाहुलीबाट समुद्घाटन गर्ने सुअवसर प्राप्त भयो र वि सं २०७४ साल पौष १६ आइतबारका दिन ठीक एघार बजे फिक्कल मा. वि. को तल्लो भवनको बाहिरपट्टि वहाँसँगै अतिथिको रूपमा आफूलाई पाएको साक्षात प्रमाणको अनुभव छ । यी तिनै समयका उमेर र समयका विहानी अनुराग हुन् मेरा लागि जुन अहिले अझ छिप्पिएर कोमल, फराकिलो, उदार तथा आत्मीय भएको छ यदि नवराज लम्सालका ती जादूमय शव्दशक्तिले निर्माण गरेको कार्यक्रम मधुवन थिएनन् भने ती गाईबस्तु, गोठाले जीवन, कटेरो, सन्तोष रेडियो र बालापनको कर्महरूको विवरण आज लेखाइ वा विषयवस्तु बन्दैनथे होलान् । धन्य छ ती सब चिज र गतिशील समयलाई । तर अहिले मैले बुझेको वा बुझ्नै नसकेको समय भने फरक रहेछ
…
समयसँगै समयका रूप बदलिए, प्रविधि फेरिए, समाजको आवरण फेरिए तर अवधारणा फेरिएन । नैसर्गिक अधिकार पाएको उल्लासमा पन्छीझैँ स्वतन्त्रता आए तर नियन्त्रण भएन । बहुदलीय प्रणालीमा रमायौँ मात्र तर औचित्य बुझ्दैबुझेनौँ र उही प्रजातन्त्रको उपहास गर्यौँ । स्थिर राज्यसरकार बनाउन नसकेर बहुदलीय शब्दको परिभाषाको खिल्ली उडायौँ । शिक्षित त भयौँ तर आत्मनिर्भर हुन सकेनौँ । कृषिप्रधान देशको नागरिक त भयौँ तर खेतबारी बाँझो राखेर स्वाभिमानको कुरा गर्दै स्वाभिमान नै बेच्न अरब जान बाध्य भयौँ । भौतिक विकास भए तर आवश्यकता महसुस भएन । अवसर धेरै आए तर जीवन्त भएन । अहिले पनि स्थानीय सरकारमा मेरो भोट र पसिना गएको छ । तर म शून्य छु, अनुभूति शून्य छन् । आज पनि म सम्झन्छु- महेन्द्ररत्न बहुमुखी क्याम्पस पढ्न जाँदा बाटामा भेटेका त्यो बेलाका (२०६६) ती लामा बाजेको एकपाखे घर, नाक ठोकिँने त्यो महावीरको उकालोमा तीर्खाको राप, उनका परिवारले रातमा दृष्टिगोचर गरेका चन्द्रमारूपी धिपधिपे टुकी, मैले त्यो उकाली काट्दा पिएको उनकी नातिनी डोल्माले माईखोलाकै छेउबाट जर्क्यानमा बोकेको पानी, जीर्णोद्वार घरमा प्राकृतिक विपत्तिबाट बाँच्न छाइएको सालिम्बोको छाप्रो र उसले छोडिसकेको आफ्नो धर्म, हिउँदमा निदाउनुअघि ती परिवारले देख्ने गरेका सपनाका अनेकन तारामण्डल आदि आदि । के का लागि साँचेका होलान् ती परिवारले बाँकी जीवनका जीजिविषाहरू ? तर सम्झन्छु ती हाम्रा आत्मगौरबले मागेको परिवर्तन र सङ्घीय बागडोरले बाँडेको आस्वासन कहाँ भेट भएको थियो ? सिँहदरवारको गेटमा वा ती प्रतिनिधि लामा बाजेका जीवनका धमिला रङहरूमा ! मैले आजभोलि पनि समाजमा शासितहरूद्वारा शासकको भाट प्रबृत्ति वा देवत्वकरण उल्लेख नगरी बिहानबेलुकी बाँचेको परिवेश र समय देखेको/बुझेको छैन । के चाहिँ बस्न सक्ला मानवीय हृदयको कुना भएर निशङ्कोच समाज परिवर्तनको नाममा वा भावनाको नाममा मभित्र बसेको त्यै मधुवनको गुणात्मक र लयात्मक प्रभाव लाहाछाप भै बसेझैँ ? मधुवन तिनै झुप्रा झाप्रीले आफ्नो वाणी ठानेको प्रतिनिधि स्वर हो । आज पनि ती स्निग्ध , सौम्य र मनोहर लाग्ने ह्रदयभित्रको चारुझैँ मधुवन उही कञ्चन र निर्मल भएर आउछ बालापनको नजानिदो खेतबारी र गोठाले स्वर्गमा ।
त्यसैले यी सन्दर्भ मैले साहित्यकारको केन्द्रीयतामा सञ्चार, साहित्य र सङ्गीतका त्रिवेणी डा. नवराज लम्साललाई बनाएँ । कसले भन्छ समय र समयको वाकशक्ति भविश्यवेत्ता हुँदैन भनेर ? यो त्यो बेलाको अमीट छाप बसेको मधुवन शब्द र आवाजको कर्णप्रियताभित्र, स्रष्टा र द्रष्टाको सृजनाको गुणात्मकता पहिचान गर्ने लम्सालका ती तेस्रो लोचन वहाँसँगकै अन्तर्लयमा नमिसिँदो हो त म जस्तो दुरदराजको सतही पाठकको हृदय यतिखेर पनि चञ्चल र ऊर्जाशील हुनेथिएन होला र आज मैले त्यो समयको नवराज लम्साललाई वहाँकै विद्वत्ता साक्षी राखेर सगर्व ‘आदरणीय दाजु नवराज लम्साल !’भन्ने आत्मीयता पनि पाउनेथिइन होला । तर पनि मैले गरेको खास गुनासो समय, शासन र सत्ताको पोल्टामा हुर्किएको सृजनाको प्रभाव र सृजनशील व्यक्तिको उदारता मात्र होइन, आफू त्यो देशको हुनु र देश हुनु पनि हो । माटोको कण, चेतनाको बलेँसी र बागडोरको चौतर्फी फाँटमा उठेको संभावना र हिमवत खण्डमा उठेको मन्दराचल पर्वत हाम्रै हुन् । सृजनाको सञ्जीवनीले सिँचेको फुटकर र बृहत् अन्नले नै समृद्ध बन्ने हुन् देश पनि । अनतः हात्तीले उसको स्वभाव र शरीर मात्र ल्याउने हो, ठूलो परिमाणको परिवर्तन ल्याउन त हात्तीको प्रयोगविधि र सामग्री पहिचान गर्न नसकेर पो हाम्रो नेतृत्व पछि परेका हुन् कि !
…
सृजना झिल्का मात्रै भए पनि आगो हो । आगोले नै सेकिने हुन् देशका सर्दी र देखाउने हुन् उज्यालोको संकेत । यतिखेर आगोभन्दा कम छैनन् देवकोटाको ‘साँढे’ र ‘प्रभूजी भेडो बनाऊ !’, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ तथा डाः नवराज लम्सालका धरा’ महाकाव्यका हरफ, श्लोक र सर्गहरूमा उठेका देशका सवालका सन्दर्भहरू । कालीदासले टुप्पातिर बसेर फेद काट्नुको पनि सृजनाको मूल फुट्ने संकेत नै रहेछ । महाकवित्व पनि त्यही वृक्ष र कर्मले बनायो । पूर्वीय र पाश्चात्यमा अलौकिक महाकाव्यहरू क्रमशः त्रेतायुगको प्रतिनिधित्व गर्ने बाल्मीकिको रामायण र द्वापरयुगको प्रतिनिधित्व गर्ने व्यासको महाभारत तथा आफूभन्दा पूर्वका वीरगाथालाई समेटिएको होमरको इलियड र ओसिडी पनि समय बदल्नकै लागि लेखिएको ईश्वरीय आत्मा हुन् । भाषानुवाद परिषद्मा जागिर खाँदा त्यो विराम (अलौकिक शक्ति) देवकोटाको सुलोचना (दश दिने महाकाव्यमा) लेखनमा पनि नसरेको कहाँ हो र ? मेरो सतही अध्ययन क्षमताले भ्याएसम्म जीवनको पचासौँ वसन्तको गणितमा करीब दुई दर्जन कवितासङ्ग्रह, (करीब छसय चवालीस वटा फुटकर कविता) दर्जन खण्डकाव्य, अप्रकाशितसमेत गरेर नौवटा महाकाव्य , निबन्ध , कथा , नाटक , उपन्यास , अनुवाद र समालोचना गरेर अतुल योगदान सुम्पिए नेपाली वाङ्मयलाई तैपनि अति स्वाभिमानी भएकै कारण वि सं २०२१ सालको हुलाक टिकटमा तस्वीर र २०२३ सालको त्रिभुवन पुरस्कार र महाकवि पद भन्दा बढी केही पाए जस्तो लाग्दैन ।

पुरस्कारका पूजारी शास्त्रीय धारका प्रवर्तक कविशिरोमणि लेखनाथ पौड्यालझैँ बन्न नसक्नु उनको आशक्तिविहीन लेखाइ र चाकरी र चाप्लुसीको चङ्गुलमा नफस्नु नै हो । आज म देवकोटाकै आदर्शको दर्पणमा आफ्नो आकृति जबरजस्ती खोज्ने प्रयास गरिरहेको छु । त्यसैले यो समयकै खेल र समयकै सन्दर्भ रहेछ । मेरो उमेरक्षमता र अध्ययनक्षमताले बुझेको देवकोटा मेरा लागि एक आदर्श पात्र थिए र यति भन्न बाध्य भएँ । अनुकरण र अनुशरणको कित्ताबाट प्रवृत्तिगत गुणको हिसाबले डाः नवराज लम्साललाई वर्तमान समयमा धेरैले आदर्श पात्रका रूपमा पढीसिथ्याएर स्वीकारेका छन् । तर म त्यो विद्यार्थी हूँ जसले सतही रूपमा मात्र भए पनि वहाँलाई चिन्ने र पछ्याउने कोसिस गरिरहेको छु । सायद ! अबको मेरो पुस्ताका साहित्यिक बाटोको नक्साङ्कन नवराज लम्सालहरूले नै गरिनुपर्छ । कुनै सृजनशील आकाश उदात्त र शान्त भएको हेर्नु छ भने त्यो निलो साहित्यिक पृष्ठभूमिमा नवराज लम्सालका अद्वितीय मोहनी रुचाउनेहरूको भीड पनि सीमातीत छन्। वहाँका कृतिहरू सबै पढ्न पाएको छैन तर पनि एक असल र बौद्धिक सार्वजनिक साहित्यस्रष्टा हुन् । सृजनामा युवा हस्तान्तरणको अभियन्ता हुन् । साहित्यको रङ पहिचान गरेर साहित्यको पदचाप पहिल्याउने इच्छुक (कर नगरी) व्यक्तिहरूलाई चिन्ताका श्लोक, हरफ, अनुच्छेद, पाठ, व्याख्या र विवरण आदिको बाटो छोडी चिन्तन मात्र लेख ! यदि लेख्छौ भने- भनेर सही मार्गनिर्देशन गर्ने व्यक्ति हुन् नवराज लम्साल । साहित्यमा उदासिनता होइन, ऊर्जा लेख । हारेको रोदन होइन, जितको पहाड लेख । खहरे होइन, बरु सानो भएपनि जरुवा र नदी लेख । आशक्ति र लालची होइन, निष्काम कर्म लेख । पीँडा होइन, पीँडाको मल्हम लेख । कविता होइन, कवित्व लेख । विरालो छोपेर अब कविकर्म नगर, समयको आलोक वा औँसीको धर्म लेख । शब्दमा होइन त्यसको भावमा लेख । मह नलेख, महको गुणात्मकता आदि लेख भन्ने चिन्तनमूलक अभिव्यक्तिका मूल खाँबो हुन् । परम्परागत शैलीभन्दा विल्कुल फरक किसिमका विश्लेषणात्मक चेतनाका समालोचक हुन् । एउटै कित्ताका चारवटा व्यक्तित्व हुन् । (सञ्चार, साहित्य सङ्गीत र कलासंस्कृति) कविताको लघु रूपमा फुटकर कविता, गीत र गजलको गोलो र बाटुलो ढुङ्गो हुन् । रेडियो नेपालका सुर्खेत प्रसारण केन्द्रबाट २०५१ साल बैशाख २१ गतेबाट प्रसारणयात्रा शुरु गरेका लम्साल बीबीसी नेपाली सेवाका पूर्व कलासम्वाददाता पनि हुन् ।
धार्मिक, साहित्यिक, राजनैतिक, साँस्कृतिक, समसामयिक, समाचारमूलक र बैकल्पिक कार्यक्रमलगायत प्रत्यक्ष प्रसारण आदि भन्नु पनि रेडियो नेपाल र नवराज लम्साल हुन् । गाउँबस्तीदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमासमेत आफ्नो सृजनशील मलामी कमाएका स्रष्टा र द्रष्टा लम्साल बहुविषयको क्षेत्रबाट सम्मानित र पुरस्कृत हुँदै आएका छन् । हालै मात्र महालक्ष्मी साहित्यिक पुरस्कार २०७७ र रेडियो नेपालमा कार्यरत भएको छव्वीस वर्ष दश महिना पुगेको समयमा तारिणीप्रसाद पुस्कार र नेपाली चलचित्र पत्रकारिता सम्मान जस्ता अनगिन्ती सम्मान र पुरस्कारबाट सम्मानित एवम् पुरस्कृत भएका छन् र हुँदै आएका छन् । असङ्ख्य साहित्यिक र गैरसाहित्यिक संघसंस्थामा आवद्ध लम्साल रेडियो नेपालभित्रबाटै बग्ने सप्तकोशी हुन् । सञ्चार र साहित्यलाई केन्द्रीयता बनाई यसैमा निथ्रुक्क भिजेर बौद्धिकता र भावनाका सन्तुलन कायम राख्न सफल लम्साल व्यक्ति थप डाः नवराज लम्साल पनि हुन् । रेडियो नेपालका कुशल समाचारवाचक तथा कार्यक्रम सञ्चालक हुन् र वि सं २०५४ सालदेखि निरन्तर प्रसारण भइरहेको लोकप्रिय कार्यक्रम ‘मधुवन’ का त नायक नै हुन् जसले त्यो बेलादेखि अहिलेसम्म उमेरगत क्षमताको साँस्कृतिक चेतना अभिबृद्धि, कला र जातीय आत्मगौरबले स्वीकारेको स्वतन्त्र अभिव्यक्ति, स्वाधीन र पराधीन हुनुमा माटोको सुगन्ध, लोकजनजीवनले स्वीकारेको भाषासंस्कृतिको जगेर्ना, संरक्षण र सम्बर्द्धन आदि बारेको चर्चापरिचर्चासमेतको उजागर गरेको छ/ पाइन्छ। अहिलेलाई कविताका बृहत् रूपका त्रिवेणी हुन् (कर्ण, धरा र अग्नि) असङ्ख्य कालजयी गीतका रचनाकार र करीब सयवटाभन्दा माथि त नेपाली चलचित्रमा समेत गीत लेखेका छन् अथवा तीनसयको हाराहारीको शब्दको रचनाकार (गीतकार) हुन् । ‘विकासको सन्देश बोकी …’, “मकै भुट्ने बूढी आमा…’, ‘आगोको राप जीवन … ‘, ‘रात ढलिसकेछ …’, ‘सम्मान गरौँ देशलाई…’, ‘झर्नाझैँ झर्दै आऊ…’, ‘खुर्पेटोमा खौर्पा राखी…’ आदि लोकआधुनिक, आधुनिक, सेलो, गजल र चलचित्रमा समेत आफ्ना अनगिन्ती कालजयी शब्दहरू दिएर नेपाली साङ्गीतिक आकाशलाई फराकिलो तुल्याएका छन् । संस्कृत भाषाविषयका आचार्य हुन् र संस्कार र संस्कृतिका अध्येता, विश्लेषक र संरक्षक हुन् । रेडियो नेपालमा छव्वीसौँ वसन्त रेडियोकै माइक बोकेर साहित्य र सञ्चारको माध्यमबाट कुनाकन्दरामा दविएका आवाज बुलन्द गर्दै संस्कृति र संस्कारलाई जोडी हिड्ने एक अथक यात्री पनि हुन् । मूलतः देश पढेर देश नै लेख्ने एक सफल महाकाव्यकार पनि हुन् नवराज लम्साल । वर्तमान अवस्थाका समाचार महाशाखा प्रमुख हुन् । हालसम्म मेरा सतही अध्धययन फेल खाएनन् भने तीन महाकाव्य, तीन कवितासङ्ग्रह र दुई गीतसङ्ग्रह गरी जम्मा आठवटा सृजनशील सन्तानका साथ स्वाभिमानी र स्वाभलम्वी स्रष्ट्रा हुन् नवराज लम्साल ।
नेपाली साहित्यमा मेरो पिढीँको सृजनाउन्मुख व्यक्तिहरूले वहाँलाई एक सफल काव्यसाधकको रूपमा नै हेर्नुपर्दछ भन्ने मेरो निजी विचार पनि हो । अथवा ‘काव्यशास्त्र विनोदेन कालो गच्छति धीमताम्, व्यसनेन च मूर्खाणां निन्द्रया कलहे न वा’ भन्ने निष्काम कर्मप्रति उन्मुख यीश्रीमद्भागवत गीताका श्लोकको पहिलो हरफको अर्थसँग वहाँको जीवन बितिरहेको पाइन्छ र यसरी नै बितिरहोस् पनि भन्ने कामना !
…
हुनत नेपाली साहित्यमा कविहरूको उपस्थिति अत्यन्तै सघन रहेको छ । प्रायः धेरै स्रष्टाहरूका कविता समसामयिक नै पनि छन् तर समसामयिक भएर पनि यूगीन हुनु थप महत्वपूर्ण रहेछ । ‘समयको सम्बोधन’ यही विशेषताको कविता हो । मृत्यु चराचर जगत्मा अन्तिम सत्य हो । मृत्यु परास्त गर्न सत्य युग पर्खनुपर्ला कि अलौकिक समय ! फुट्कर कविता रूपात्मक भन्दा पनि गुणात्मक भएर जीवन्त बन्दोरहेछ, जसले समयलाई पनि झापड हान्न सकोस् । संसारको रीतले नै एउटा परम सत्य दिएको छ हामीलाई । यो धर्तीमा आउनु र जानुको कृयात्मक अभिनय मात्र हो मान्छे । खास जीवन कुनै कैफियत (भूलचुक) नै नभएको आत्मासहितको पाहुनारूपी उच्च प्राणी हो ! कोही भूलचुकमा पर्छभने पनि त्यो प्रकृया हो, आदत हो, स्वभाव हो र साधनाको तरलता मात्र हो नत्र खाँट्टी प्राणी मानव नै हुन् जसले मृत्युको नाममा चित्रगुप्तको नाम सुन्न पनि सक्नुपर्छ र भोग्नु त छँदैछ । मान्छेले पद, प्रतिष्ठा र वैभव संकलन गर्न मृत्यु बिर्सन्छ र कालभन्दा पहिले निहु बनेर आएको महामारीलाई अवसर ठानेर धमिलो पानीमा माछा मार्ने जधन्य कर्म नेतृत्व पङ्तिबाट हुनु र भेडोरूपी जनतालाई उही दीक्षित गराउने कर्मको घोर आपत्ति छ कविको समयको सम्बोधनमा । जिउँदो मान्छेले शाश्वत सत्यलाई राम्रो अध्ययन नगरिकन झुटो वैराग्यको पछि लाग्नु कायरता हो ।
वैराग्य त सात्विक र सत्य हुनुपर्छ जुन प्रगतिको ऊर्जा पनि मानिन्छ । त्यसैले हामीले आफ्नै मुटुलाई मृत्युको तालाचावी सुम्पिएर आफै मरेको संभावनाको हल्ला अनावश्यक गछौँ भन्ने दार्शनिक केन्द्रीय भाव भेटिन्छ यो कवितामा । फुटकर कविता भएर पनि विषयवस्तुको सघन उपस्थितिमा सुनियोजित नभै स्वस्फुर्त आएका बिम्ब-प्रतीक प्रशस्तै भेटिन्छन् रसात्मकतासँगै भावको पोयाहरू आफै बाटिएका छन् । आलङ्कारिक भएर पनि अत्यन्तै सूक्तिमय, सरल शव्दशक्तिले निर्माण भएका वाक्यगठनले गर्दा कविता थप लालीत्यमय लाग्छ । समय भनेको केवल सेकेण्ड मिनटदेखि कल्प मात्रै होइनन् यसलाई सुचारु बनाउने मानवीय चिन्तनको बिम्बात्मक यन्त्र पनि हो । यसैमाथिको दार्शनिक चिन्तनमूलक नियन्त्रण हो ‘समयको सम्बोधन’ भन्ने मेरो सतही बुझाइ रहेको छ।
…
प्रतीक्षा अग्निकाे छ । अग्रिम शुभकामना दाजु !
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



