अङ्ग्रेजी साहित्य पढाउने प्रिय गुरुआमा राधा म्याम

कविता पन्थी

सानो, छरितो चिटिक्कको जिउडाल, हमेशा चिटिक्क परेको आफ्नो सानो फुलबारी सम्हाल्न व्यस्त हुन्छ । आफ्नी निकट सहयोगी सीताको सहयोगले यो फूलबारी सबै सिजनमा ढकमक्क हुन्छ । त्यो फुलबारी चिरपरिचित राधा म्यामको हो । उनलाई यहाँ फुलिरहेका रङ्गीचङ्गी फूल आफ्ना प्यारा विद्यार्थी जस्ता लाग्छन् । एकआपसमा फरक फरक तर निकै प्रिय । साहित्यकी अध्येता राधा फूलबारीका फूलहरूकी जसरी प्रिय पालक हुन्, त्यस्तै उनी आफ्ना विद्यार्थीकी प्रिय गुरुआमा पनि ।

कलेज जीवनमा आफूलाई अङ्ग्रेजी साहित्य पढाउने म्यामबाट प्रभावित राधा गुरुङले त्यतिबेला नै निश्चय गरिन्, म पनि शिक्षक बन्छु । लाहुरे गुरुङ परिवारकी छोरी राधालाई शिक्षक बन्न चाहि सहज थिएन । उनको परिवारमा कोही पनि यो पेशामा थिएनन् । परिवारको मन्जुरी थिएन । तर उनलाई लाग्यो, म शिक्षक बन्नुपर्छ ।

‌भारतको देहरादूनमा बसिरहेकी राधा नेपाल आइन् । नेपाल आएपछि उनको इच्छा पूरा भयो । सम्पूर्ण शिक्षा लिने काम भारतमै भयो । देहरादूनबाट स्कुले पढाइ सकेपछि राजकीय महाविद्यालय कुमाउ युनिभर्सिटी रानीखेतबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी राधा म्याम यस क्षेत्रको अङ्ग्रेजी भाषा, साहित्यको क्षेत्रमा अब्बल नाम हो ।

‘अहिले त म एकदमै खुसी र सन्तुष्ट छु । यो पेशाले मलाई सम्मान दिएको छ । आफुले पढाएका विद्यार्थीहरुले सम्झदा झन् खुशी लाग्छ’, उनले बताइन्, ‘यो पेशा भनेको नदी पार गराउने माझीसँग तुलना गर्न मिल्छ ।’ आफुले यस्तै माझी बनेर हजारौ विद्यार्थीलाई तारिसकेको आफु भने जहाँको तहीँ रहेको तर त्यो निकै गौरवपूर्ण रहेको उनले बताइन् ।

‌एक शिक्षकको लागि विद्यार्थीहरु र उनीहरूको प्रगति भन्दा ठुलो सम्पत्ति अरु केही हुन सक्दैन भन्ने राधा म्यामका विद्यार्थीहरु विभिन्न पेशा व्यवसायमा र विभिन्न स्थानमा पुगेका छन् । यस क्षेत्रमा राधा म्याम भनेपछि उनलाई नचिन्ने कमै होलान् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अवस्थित राममणि बहुमुखी क्याम्पसमा उनले पढाउन लागेको २०४५ सालदेखि हो ।

‘धेरै वर्ष भयो मैले पढाउने काम गर्न लागेको । म संस्थापक शिक्षककै रुपमा यहाँ आए । अहिलेसम्म निरन्तररुपमा यही संस्थामा आबद्ध छु । बिचमा विभिन्न अरु शैक्षिक प्रतिष्ठानसँग पनि जोडिएर काम गरेँ, अहिले मेरो आवद्धता यही मात्र छ । लिटिल प्याराडाइज र पद्मज्योतिजस्ता शैक्षिक संस्थाको स्थापना पनि गरेँ ।’

नमुना इङ्गलिस बोर्डिङ्ग स्कुलमा प्रबन्ध निर्देशकको रुपमा पनि काम गरेको अनुभव उनीसँग छ । विद्यालय व्यवस्थापन भन्दा पनि अध्यापनमै रमाइलो मान्छु उनी आफ्नो शिक्षण सिकाइप्रतिको लगाव प्रकट गर्दै भन्छिन् ।

‘सबभन्दा खुशी लाग्ने कुरा नै पढाउनु हो । म विभिन्न स्थानमा घुम्न मन पराउँछु । मलाई फुल मन पर्छ ।’ पढाउने अतिरिक्त फुलबारीमा काम गर्न र जनावरसँग समय बिताउन रुचि राख्ने राधा प्राणी अधिकारकी पक्षधर हुन् । बलि दिने नाममा होस् वा विभिन्न काममा प्रयोग गर्ने र अशक्त बनेपछि सडकमा छाडिदिने कुराप्रति गम्भीर आपत्ति छ उनको । जीवनमा यो क्षेत्रमा केही गर्न पाए हुन्थ्यो जस्तो पनि लागेको छ ।

जीवन जिउने कला राम्रोसँग बुझेकी राधालाई आफ्नो जिन्दगीदेखि कुनै गुनासो छैन । कहिले कसैका कुराले, कहिले कसैका व्यवहारले दुखी बनाए पनि त्यो निकै क्षणिक हुन्छ । किन अरुका कुरामा दुखी बन्ने, आफ्नो मनको चाबी आफैंसँग हुनुपर्दैन उनी प्रतिप्रश्न गर्छिन् ।

अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका मङ्गलापुरमा आफ्ना श्रीमान् थमनबहादुर गुरुङसँगै बस्दै आएकी राधा गुरुङ धेरैकी प्रेरणा स्रोत पनि हुन् ।

‘मलाई राधा म्यामले मलाई आइ ए मा पढ्दा पढाउनुभयो । त्यतिबेला अङ्ग्रेजी साहित्यमा विद्यार्थीहरु निकै कमजोर हुन्थे । उहाँले विद्यार्थीका कमी कमजोरीहरु हटाउन उत्प्रेरित गर्नुहुन्थ्यो’, उहाँका विद्यार्थी मुक्तिनाथ गैह्रे भन्छन्, ‘बाहिर उहाँसँग भेट नहुँदै राधा म्याम एकदम कडा हुनुहुन्छ भन्ने एकप्रकारको इमेज मनमा थियो तर उहाँले पढाउन थालेपछि त्यस्तो लागेन । उहाँ विद्यार्थीलाई धेरै माया गरेर, भावना बुझेर पढाउन सक्ने मान्छे हो ।’

‌’राधा म्यामको सिकाउने शैलीबाट म निकै प्रभावित छु, गाह्रो कुरालाई पनि निकै सहज तरिकाले बुझाउनुहुन्छ, म पनि उहाँजस्तै प्रभावकारी शिक्षक बन्ने सोचेकी छु’, उनकी विद्यार्थी समीक्षा ज्ञवाली भन्छिन् ।

‌विभिन्न क्षेत्रबाट अवसर आउँदा पनि कतै नलागी लामो समयदेखि शिक्षा प्रदान गर्न प्रतिबद्ध राधा म्याम शिक्षा क्षेत्रमा आफैमा महत्वपूर्ण नाम हो, सम्मानित नाम हो, यस्ता शिक्षासेवीलाई राज्यले पनि मुल्याङ्कन गर्नु जरुरी देखिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button