समुन्द्रको छालले हुत्याउँदा ताली बजाउने माधव गुरु

ब्राम्हणपुत्रको लकडाउन डायरी – १४
भरत शर्मा

पशुपतिनाथ, मुक्तिनाथ र विश्वनाथपछि मेरो नियमित प्रस्तुति ‘ब्राम्हणपुत्रको लकडाउन डायरी’मार्फत् ‘नेपालनाम्चा’का पाठकलाई जगन्नाथतिर लैजाँदैछु ।

चार नाथहरु मध्येका एक जगन्नाथ । एकपटक पुग्नै पर्ने धाम । नेपाल र भारतबीच पटक–पटक धार्मिक सम्बन्धको कुरा गर्दा पशुपतिनाथ, विश्वनाथ, मुक्तिनाथ र जगन्नाथ जोडिएर आउने गर्दछन् । जगन्नाथ मन्दिरमा पूजा गरिने शालिग्राम नेपालको गण्डकी नदी अर्थात् मुक्तिनाथ क्षेत्रबाट लगिएको छ । हरेक दिन जगन्नाथमा शालिग्रामका पूजा गरिन्छ ।

सन् २००८ तिर पहिलोपटक जगन्नाथ मन्दिर पुग्दा त्यहाँको प्रस्तर ढुङ्गामा कुँदेर बनाएको मन्दिरको दर्शन र समुन्द्रको पाखामा बसेर छालसँग हेलिनुको आनन्द आहा ! त्यसपछि त्यस्तै आनन्द बटुल्न कति पटक जगन्नाथ पुगियो, त्यो चाहिँ भुलेँ ।

भारतको उडिसा राज्यमा पर्ने जगन्नाथ जानका लागि अलि बढी समय छुट्याउन पर्ने भएर जगन्नाथको यात्रा कम भएको हो । बीरगन्जबाट रेल चढेर कोलकत्ता हुँदै जगन्नाथ पुगिन्छ । रेलमा बीरगन्जदेखि कोलकत्ता पुग्न नै करिव २० घण्टा, कोलकत्ताबाट जगन्नाथ पुरी जान ८ घण्टाको समय चाहिन्छ ।

हवाई मार्गबाट जगन्नाथ जान पनि लामो दुरी तय गर्नुपर्छ । काठमाडौं दिल्ली हुँदै दिल्लीबाट उडिसाको राजधानी भुवनेश्वर जानु पर्छ । भुवनेश्वर विमानस्थलदेखि फेरि ६० किलोमिटर सडक मार्गपछि पुगिने जगन्नाथ मन्दिरमा रेल र हवाई मार्ग दुवैबाट पुगेको अनुभवले भन्छ, जीवनमा एकपटक समय निकालेर जगन्नाथका क्षेत्र पुग्नु चाहिँ पर्छ है ।

जगन्नाथको अर्थ हो जगतका स्वामी । सनातनीहरुले भगवान श्रीकृष्ण नगरीलाई नै जगन्नाथ पुरी भन्ने गर्दछन् । जगन्नाथमा हरेक बर्ष रथयात्रा गरिन्छ । त्यसमा जगन्नाथ, अनि दाजु बलभद्र र बहिनी सुभद्राका तीनवटै मूर्ति बनाएर रथयात्रा गर्ने चलन छ ।

पशुपतिनाथमा पनि जगन्नाथ मन्दिरको स्वरुप रहेको छ । मन्दिरको मुल ढोकाबाट नन्दी रहेको जगन्नाथ मन्दिरको सानो स्वरुप छ । भनिन्छ, पशुपतिनाथको चार मुखमध्ये पूर्वतिरको मुख ‘तत्पुरुष’लाई जगन्नाथको स्वरुप मानिन्छ । जगन्नाथलाई विष्णुको प्रतीक मानिन्छ भने बलभद्रलाई शेषनाग र सुभद्रालाई देवीको मानेर पुजिन्छ ।

जगन्नाथ मन्दिरमा नेपालका राजालाई सबैभन्दा उच्च सम्मान र स्थान दिइएको छ । राजाका लागि भनेर छुटै आसन बनाइएको छ । जगन्नाथ पुरी नरेश, नेपाल नरेश र गोर्बद्वन मठ पुरीका शंकराचार्यको अलग–अलग स्थान, मान र सम्मान गरिन्छ ।

अहिले पनि पुरी नरेशलाई उडिसा सरकारले मन्दिर ब्यबस्थापन र साँस्कृतिक अधिकार दिएको छ । अहिले पनि त्यहाँ पुरी नरेश र गोर्बद्वन मठ पुरीका शंकराचार्यको निर्देशन लागू हुन्छ । अहिले गोर्वद्वन मठ पुरीमा ४६ औं शंकराचार्य निश्चलानन्द सरस्वती छन् ।

जगन्नाथ यात्राको अर्को मजा भनेको समुन्द्रको दर्शन हो । बंगालको खाडी हुँदै गएको समुन्द्रको एक भाग पुरीमा देखिन्छ । लाखौं स्वदेशी र विदेशी पर्यटक समुन्द्रमा छालमा तैरिन जगन्नाथको यात्रामा जाने गर्दछन् ।

प्रा.डा माधव भट्टराईको साथमा म धेरै पटक जगन्नाथ गएको छु । हामीलाई समुन्द्रको छालले हुत्याउँदा ताली बजाउने पात्र हुन् उनी । हरेक पटक जगन्नाथ जाँदा पहिले समुन्द्रको दर्शन र छालमा खेल खेलेपछिमात्र मन्दिर दर्शन गर्ने गरेका थियौं ।

समुन्द्रमा रमाउने अर्का पात्र धर्मराज बराल । बराल अहिले पत्रकारिता छोडेर पोखरातिर योग, ध्यान, आश्रम र गुरुकुल बनाउने अभियानमा खटिएका छन् । ‘जगन्नाथ से मुक्तिनाथ यात्रा’ अभियान नै चलाएका बराल पोखराबासी हुन् । कोलकत्तामा रहेका नेपालीहरुलाई संगठित गर्दै, नेपाल र कोलकताका साहित्यकार र पत्रकारलाई भेला गराउने काममा पनि लागेका बराल जगन्नाथमा पनि कुदिरहन्छन् ।

महामारीले रोकिदिएर मात्र हो नत्र एकपटक जगन्नाथ मन्दिर र समुन्द्रको छालमा तैरने मन थियो । आज जगन्नाथलाई सम्झदै गर्दा समुन्द्रको छालले पाखामा हुत्याएका ती क्षणहरुको याद कसरी भुल्ने ?

जगन्नाथ यात्रासँगै कोलकत्ताबाट नजिक पर्ने गंगासागर पनि अर्को तीर्थ हो । भनिन्छ, ‘सबै तीर्थ बारबार गंगासागर एक बार ।’ हाम्रै हिमालयबाट बग्दै–बग्दै जाने नदीहरुको अन्तिम स्थान भनेको गंगासागर हो । शास्त्रीय वचन मानेर होला अहिलेसम्म गंगासागर एकपटक मात्र पुगेको छु । दोस्रो पटक यात्री लिएर जाने अवसर पनि प्राप्त भएको छैन ।

सुरेन्द्र थापाको टोलीसँग गंगासागर जाने मौका मिलेको थियो । अहो ! गंगासागरको यात्रा निकै कठिन रहेछ । पहिले सडक मार्गबाट तीनघण्टा, त्यसपछि समुन्द्रमा नाउबाट, त्यसपछि सडक यात्राबाट पुगिने गंगासागरबाट । छेउमा रहेका कपिल मन्दिरको दर्शनले पनि मन आनन्द हुने तीर्थ हो, गंगासागर ।

भारतको काशीमा अध्ययन गरे पनि सनातन धर्मप्रतिको आस्था, धर्म किन, कसका लागि र धर्म कसका लागि आदि दार्शनिक चिन्तन गर्ने अवसर जगन्नाथको गोबद्र्वन मठ पुरीबाट पाएको हुँ । मठका शंकचारार्य निश्चलानन्द सरस्वतीले दिएका हरेक प्रवचन र एकसाताको प्रशिक्षणबाट अध्यात्म र जीवन बीचको अन्तरगहिराईमा पुग्ने अवसर पाएको छु । मठ र शंकराचार्यको आशीर्वाद दिलाउने कामको अगुवाईका लागि मित्र धर्मराज बराललाई साधुवाद भन्न छुटाउनु हुँदैन ।
जगन्नाथ यात्रा नगरेको तीन बर्ष भयो । काशी, मुक्तिनाथ नगएको दुई बर्ष भयो । पशुपतिनाथ नगएको १५ दिन भयो ।

प्रकृति पनि रिसाएकी छन् हिजोआज । बिहान घाम लागेजस्तो, दिउसो बर्षा, साँझतिर फेरि घाम भुल्किने यस्तो मौसमलाई ‘दुर्दिन’ भनिन्छ । प्रा.डा माधव भट्टराईले बुधबार साँझ टेलिफोनमा भन्नुभयो, ‘बाबु करिव दुई हप्तादेखिको मौसमको अध्ययन गर्दा समय ‘दुर्दिन’ जस्तो छ ।’ ‘त्यसैले अहिलेको समय भनेको अध्यात्म साधना, घरभित्रको काम गरेर दिन–रात कटाउनु नैं उत्तम समय हो’, उनले भने ।

राष्ट्रिय धर्मसभाका अध्यक्ष समेत रहेका आध्यामिक अध्येता भट्टराईले भनेको कुरालाई मनन गरौं । केही हप्ता घरभित्र बसौं । त्यसैमा हामी सबैको कल्याण छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button