जाडो जित्न चीनमा नेपाली भरत साइकलमा सरर

जाडोविरुद्ध साइकल यात्रा

भरत शर्मा

चीन पहिलो पटक यात्रा गरेको सन् २००४ मा । त्यसपछि पनि पटक पटक गरी पाँचपटक घुमफिर यात्रापछि सन् २०१९ देखि चीनको विश्वविद्यालयमा अध्यापनरत छु । हाल युनान प्रान्तको एकसय तीन बर्ष पुरानो युनान विश्वविद्यालयमा कार्यरत छु । युुनानको राजधानी खुमनिङको विश्वविद्यालय परिसरमा छेउमा चिनियाँले बनाएको ३२ तले घरको १३ तलामा बसेर चिनियाँ चिसोको अनुुभव गर्दैछु ।

शनिबारको मौसम मापन संख्या ‘तीन डिग्री’ । घरबाट बाहिरको दृश्य पनि धुमिल, घाम लाग्ला जस्तो तर घाम देखिने छाँटकाँट छैन । हाम्रो शनिबारको साइकल यात्रा स्थगित भयो ।

प्राध्यापक डा वाङ चुङ्ले विच्याटमा खबर लेखे, भाइ, साहै चिसो, आजको साइकल यात्रा खारेज गरौं । साइकल यात्रामा हाम्रा सहकर्मी प्राध्यापकहरु पनि चिसोको कारण नजाने भएपछि यस्तो खबर आयो होला भनेर सम्झे ।

मैले टेलिफोन गरेर भनेँ, ‘आज त खारेज गरौं, तपाईले भनेको कुरामा म सहमत भएँ, तर भोलि चाहिँ हामी चिसो–जाडोविरुद्ध साइकला यात्रा गर्नुपर्छ ।’

मेरो यो बोलीमा जोश, जाँगर, उत्साह थियो, उक्लदो उमेरका प्राध्यापक वाङले भोलि हेर्रौं भनेर हाम्रो वातचीत सक्यौं ।

आइतबार विहान उठेपछि आकाशतिर हेरेर मौसम के रहेछ भनेर बुझेको तर मौसममा सुधारको छाँटकाँट देखिएन ।

के हो, आज आइतबार पनि मौसममा सुधार हुने संकेत देखिएन त ? जाडो पनि त्यतिकै छ । विहानको भातभान्सा तयारी गरियो । आज धान्य पूर्णिमा पूजा पाठ आदि सकेर चिनियाँ समय अनुसार ११ बजे ब्राह्मण भोजन गरियो । एउटै घरको भवनमा बस्ने, युनान विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा विद्यावारिधी गरिरहेका नेपाल सरकारका उपसचिव मदन खड्का भन्दै थिए । होइन सर, के हो खुमनिङगको चिसोले हामीलाई के गर्न खोजेको हो ? दुई दिन भयो घरभित्र थुनियो जस्तो भयौ त ? चिसो जाडो यति छ, घरभित्र बस्दा यति जाडो, बाहिर के होला ?

मौसम यस्तै छ, चिसो कडा हुँदैछ, अनि तपाई आज साइकल यात्रामा जाने हो कि होइन ? हाइकमाण्डबाट के खबर आएको छ ? किनकी तपाइँ प्राध्यापक साइकल क्लबका सदस्यहरुले बोलाउनुभयो भने, झरी, बादल, बर्षा केही नभनी जानुहुन्छ । आजको योजना के छ ?

म त जाडोविरुद्ध साइकल यात्रा गर्न चाहन्छु । म जान पनि सक्छु भनेपछि मदनजी आफनै कोठातिर लागे ।

नभन्दैं १२ः १० मा प्राध्यापक साइकल क्लबका संयोजक डा वागचुङकोे फोन आयो ।

आज के गर्ने ? चिसो पनि छ, जाडो पनि छ, तर हावा चलेको छैन, ल भन्नुस साइकल यात्रा के गर्ने ? आजको यात्रामा तपाई र म मात्र भयौं ? मेरो मुखबाट उही शब्द निस्कियो, आज हामी जाडोविरुद्ध साइकल यात्रा गर्नुपर्छ । हामी २ः३० बजे भेट्ने अनि बेलुका ६ बजेसम्म जाडोविरुद्ध साइकल यात्रा गर्ने हो । मैले उच्च स्वरमा भनेँ ।

त्यसभन्दा अघि म मेरा बेइजिङगमा रहेका दुई पत्रकार भित्र चेतनाथ आचार्य र लक्ष्मी लम्सालसँग म्यासेन्जरकलमा गफिदै थिएँ । हामी तीन जना चीन बसाई, नेपाल यात्रा र नेपाल चीन सम्बन्धका आयामबारे बेलाबेला छलफल गरिरहन्छौं ।

सनातन शास्त्रले भनेको छ, ‘वादे वादे जायते तत्वबोध’ । कुनै कुराको तत्व निकाल्नका लागि सहकर्मी मित्रहरुसँग वातचीत गर्दा कहिलेकाही राम्रो र गुण कुरा आउँछन् त्यसैले हिजोआज म केही यस्ता मित्रहरुसँग शास्त्रको आदेशअनुसार छलफलमा सहभागी हुने विषयमा चर्चा गर्न रमाउँछु ।

मित्रहरुसँग कुरा छोट्याएँ, नेपालबाट पनि फोनका घण्टी बज्दै थियो, समयमा हामीले तोकेको स्थानमा पुग्नु पर्ने भएकाले साइकल निकाले । घरबाट बाहिर निस्कँदा हातमा लगाएको पञ्जाले पनि काम गर्दैन जस्तो चिसो थियो, शरीरमा त अलि बाक्लैैं कपडा लगाएको थिए । शरीर तातो बनाउन साइकलको स्पिट चाहिँ ध्यू खाएको बल निकालेर सकेसम्म कुँदाउन थाले । चिसोको कारण होला, साइकल कुँदाउने लिकका सडकमा कोही थिएनन् । सडक सुनसान थियो, केही मोटर, कारहरु कुदे पनि आइतबार खुमनिङगको म बसेको सडकतिर साइकल कुँदेको देखिएन ।

तोकिएको समयभन्दा म तीन मिनेट ढिलो भएर तोकिएको स्थानमा पुगेँ । प्रा डा वाङ पुगिसकेका रहेछन्, अलिकति ढिलो भयो नि भन्न खोज्दै थिए, मुव, मुब भनेर म अगाडि बढेँ, उनी पछि पछि दौडन थाले, विगतका दिनजस्तै आज हाम्रो साइकल हिँडने बाटोमा साइकलयात्री र मानिसहरु थिएनन् । त्यसैले हामी ‘मनमौजी’ शैलीमा निकै छिटो कुँदायौं । साइकलको ‘स्पिड’ यति थियो कि आज म आफै अच्चिमित भएँ । यतिको बल कहाँबाट आएको होला थाहा भएन ।

मेरो मनमा एउटै प्रश्न थियो, जाडो जाडो भनेर घरभित्र बस्नु भन्दा यो शरीरलाई तह लगाउन जाडोविरुद्ध साइकल यात्रा हो आज भनेर त्यही प्रश्न र त्यसको उत्तर खोज्दै मेरो साइकलको ‘स्पिड’ बढी भएको रहेछ । हाम्रो रुट चाहिँ पुरानौं थियोे, तालको छेउँ, अनि फूलबजार । पुरानो र चिनेजानेको बाटो भएकाले म अघि अघि मात्र भएँ । यति दौडिएछु प्राध्यापक वाङले मलाई भेटाउन सकेनन् । अनि हाम्रो गतव्यको अन्ततिर शौच गर्ने स्थान सार्वजनिक शौचालयको विसौनौंमा आएर महिले पर्खे, पाँच मिनेटपछि आएका प्राध्यापक वाङले भने, आज तपाईको पारा के हो, कति बलियो भएको तपाई, के खानुभएको थियो ?

मैले भनेँ, आजको मेरो साइकल यात्रा जाडोविरुद्ध हो । त्यसैले मलाई कहाँ कसरी के बल आयो थाहा भएन तर धेरै दौडिए हैं, भन्दै माफी मागेँ, प्राध्यापक डा वाङले भने, केही छैन, तर तपाई बलियो हुनुभयो जस्तो लाग्यो । खानामा त सामान्य दालभात, तरकारी जागिर चिनियाँ सरकारी पाराको छ भनेर हाँसिमजाक गरेँ ।

हामी साइकल यात्राबाट जुन स्थानमा आरामा गरेर बस्दै थियौं, घाम झुलुक्क झुल्केको देखियो । अहो, घाम, घाम देखियो भन्दै घामतिर गएर यो साताको शैक्षिक कार्यक्रमबारे गफ गर्ने मुडमा थियौं, तर घामको पार लागेपछि अब कुरा होइन, यात्रा गरौं, साइकल विस्तारै चलाउने, घाम ताप्ने भन्दै खुल्ला सडकमा एकै लाइनमा दुवैजना घामको महिमा बारेमा चर्चा गर्दै यात्रा गरिरहेका थियौं, घाम फेरि पिलिक्कै हरायो ।

जाडो, जाडो भनेर घर भित्र बस्ने हामी चिनियाँ र नेपाली आज खुमनिङको चिसो मौसममा पनि जाडोविरुद्ध साइकल यात्रामा सहभागी भयौं ।

साँझको ५ः ३५ भएको थियो । म बस्ने घर नजिकैंको सडकमा पुग्यौं । म तिर तिर लागे, तर प्राध्यापक डा वाङको निवास मेरो निवासबाट १२ किमी टाढा छ । उनी घरतिर लागे, म पनि जाडोविरुद्ध साइकल यात्रा गरिएको खुसियालीमा घर भित्र पसे ।

यस्तो चिसो मौसममा साइकल यात्रा गर्ने मेरो सहकर्मी ब्राह्मण मित्रलाई चिसोको उपचार ‘सरप्राइज’ दिनुपर्छ भन्दै मदन खडकाजीले २० मिनेट समय लगाएर ‘मिक्स भेजिटेबल सुप’ तयार गरेर राखेको रहेछन् । हेर्नुस र्है, तपाईलाई चिसोले समाउन सक्छ त्यसैले एउटा रातो खुसार्नी समेत राखेर सुप बनाएको छु । भोजनालयको पकवानशास्त्रमा जाँगर कम भएका मित्रले बनाएको सुपको सेवन र जाडो विरुद्धको साइकल यात्राले दिन निकै फूर्तिलो भएको महसुस भयो ।

नेपालसँग हिमाल र नदीले जोडिएको छिमेकी मुलुक चीन बसाइ र यात्राका क्रममा देखेका, भोगेका र लेख्नै पर्ने अनेक विषयमा अब हरेक १५ दिनमा यस्तै अनुुभव र अनुुभूति नेपालनाम्चाका पाठकहरु समक्ष लेख्ने वाचा बाँधेको छु ।

नाम्चा सम्पादक महोदय, मिजासिला तर अलि कडा र निर्देशन दिने खालका छन् । उनका हरेक म ब्राह्मणपुत्रलाई आशीर्वाद जस्तो लाग्छ, किन हो कुन्नी ? आगामी दिनमा लेखमार्फत हामी बाँकी चर्चा गरौंला ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button