लण्डन: छ महिनासम्म घामको दर्शन नहुने देशमा यस्तै त हो नि
अनुभव श्रृङ्खला
सरिता शर्मा शैली
नोभेम्बर २००६, काठमाडौंबाट लण्डन जाँदै थिए म पहिलो पटक। मनमा केहि उत्साह, केहि कौतुहलता अनि केहि डरकाे समिश्रण रहेको थियो। तर डरलाई सकेसम्म दबाएर राखेकी थिएँ। किनकी अलिकति पनि कमजोर देखिना साथ यो मौका गुमाउनु पर्ने स्थिती आउन सकथ्यो। हुन त भिसा अक्टोबर महिनाको दोश्रो सातामा नै लागि सकेको थियो पासपोर्टमा। त्यो भिसा लगाउनका लागि कति मेहनत गर्नु परेको थियो। पढाइ छोडेको धेरै वर्षपछि फेरि IELTS को तयारी गरेर, सोल्टी होटलमा गएर Reading, Writing र listening को परीक्षा दिएर अनि लाजिम्पाटस्थित होटल Ambassador मा गएर मौखिक परीक्षा दिएर आफ्नो क्षमता देखाउनु परेको थियो।
त्यसपछि बेलायतको राजदुतावासमा गएर अन्तरवार्ता दिन गएका हामी पाँच जना शिक्षकमध्ये दुई जनालाई मात्र जान पाउने अनुमति अर्थात भिसा मिलेको थियो। त्यत्रो मेहनत गरेर अनि पैसा खर्च गरेर जान पाउने अबस्था आउँदा पनि खै के के कुराले मन दोधारमा परिरहेको थियो। खासगरी घर ब्यवहारकाे तनावले गर्दा पनि हवाइजहाजको टिकट लिन अलमल गरिरहेकी थिएँ। पेशाले म शिक्षक भएकाे लगभग पन्ध्र पुगिसकेको थियो भने आफैंले स्थापना गरेर स्कूल चलाउन थालेकाे पनि एक दशक भइसकेको थियो। कक्षा तीनदेखि आफ्नै स्कूलमा पढेर एसएलसी पास गरेकोे छोरो पनि अहिले उच्च मावि तहको विद्यार्थी भइसकेको थियो। मैले टिकट लिन अलमल गरेकोे देखेर एकदिन बाबुले सोध्यो “मामु, हजुर कहिलेकाे फ्लाईटमा जाने ? उता कक्षा सुरु हुने मिति आइसक्यो। किन ढिला गर्नु भएको?”
“खै बाबु मलाई त अलि दुविधा भइरहेको छ म गएपछि घर व्यवहार अस्तव्यस्त हुने हो कि भनेर। अनि खाना बनाउने, तिमीहरूको हेरविचार गर्ने आदि इत्यादि।” मैले अन्योलपूर्ण भावमा भनेँ। मेरो कुरा सुनिसकेपछि किशोर अवस्थामा रहेको मेरो छोरोले शान्त मुद्रामा भन्यो “मामु, किन यति धेरै चिन्ता लिनुभएको ? हजुरले केवल स्कूलको व्यवस्थापन गर्ने काम गर्नुहोस्। घरको व्यवस्थापन हामी गर्छौ। यसरी चिन्ता नलिनुहोस्, उता कक्षा सुरु हुने मिति आइसक्यो, अब ढुक्क भएर टिकट लिएर जानुहोस्। अब रह्यो म गलत संगतमा पर्छु कि भन्ने हजुरको चिन्ता, हेर्नुस् मामु, म बिग्रने भए हजुर यहि भएकै बेलामा पनि त बिग्रन सक्थेँ नि, अभिभावक साथमा हुँदा हुदै पनि बिग्रिएका पनि त छन् नि, छैनन र? मलाई राम्ररी थाहा छ कि के गर्नु हुन्छ अनि के गर्नु हुँदैन भनेर। त्यसैले निश्चिन्त भएर जानुहोस् अनि आफ्नो पढाइमा ध्यान दिनुहोस्”, उसले मलाई अभिभावकले झैं सम्झायो । “ओहो !मेरो सानो छोरो कति समझदार भइसकेछ।” अब म ढुक्क महसुस गर्न थालेको थिए।
यसपछि मेरो लण्डन उड्ने दिन पक्का भयाे। काठमाण्डौबाट उड्ने म समेत गरी तीन जना थियौ साथमा। परिवारसँग बिदाबारी भएर काठमाडौबाट बनारस र दिल्ली ट्रान्जिट गर्दै अर्को दिन बिहान लण्डनको हिथ्रो अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरियो। करीब सत्र अठार घण्टा जतिको यात्रा थियो यो। यति लामो हवाइयात्रा पहिलो पटक थियो मेरो। यस् अघि बैङ्ककसम्मको मात्र हवाईयात्रा गरेकी म एकै पटक लण्डन पुग्दा थकान महसुस गर्दै साथ साथै उत्साह र कौतुहलता मिश्रित महसुस गर्दै थिएँ। एअरपोर्टमा हाम्रो कलेजका प्रतिनिधि उपस्थित भइसकेका रहेछन् हामीलाई स्वागत् गर्नका लागि। अनि हाम्रो लागि निवासको व्यवस्था पूर्वि लण्डनको Eastham भन्ने ठाउँमा गरिएको रहेछ। हिथरोदेखि हाम्रो निवास सम्मको कारको यात्रामा बाटोमा हेर्दै गइयो। अहिलेसम्म केवल किताबमा पढेका र सुनेका ठाउँहरू आफ्ना आँखाले प्रत्यक्ष देख्न पाउँदा कहिले काहीँ त सपनामा छु कि विपनामा छु जस्तो पनि लाग्दै थियो। Westminster bridge वेस्ट मिनिस्टर पुल, Big Ben बिग बेन, parliyament house संसद भवन आदिआदि हेर्दै जाँदा निवासस्थानसम्म पुगेको पत्तै भएन।
केहि दिनपछि कक्षा सुरु भयो। धेरै जसो कलेजहरूमा पढाइ हप्ताको दुई दिन मात्र हुने रहेछ। बाँकी दिन काम गर्ने गर्दा रहेछन् हामी जस्ता बिदेशी विद्यार्थीहरु। हाम्रो समूह पनि अपवाद हुने कुरै भएन। नेपालको एक सय चालीस रुपैयाँको एक पाउण्ड हुने देशमा आफूले लिएर गएको पैसा दिनदिनै खर्च हुदै गएको थियो सबैको। हरेक हप्ता तिर्नु पर्ने घर भाडा, रेल र बसको लागि ट्राभल कार्ड, फोनकाे रिचार्ज, खाना खर्च आदि इत्यादि। विस्तारै हाम्राे खल्ती हलुको हुँदै गएको थियो। अब सबै जना कामको खोजीमा घुम्न थालियो। नेपालबाट गएका हामीमध्ये कोहि उमेर र अनुभवले पाका थियौँ भने कोहि भर्खर बाह्र कक्षा सकेर आएका पनि थिए। काम खोज्ने क्रममा ती साना भाइबहिनी लाई त्यति गारो भएन। किनकि उमेर, योग्यता र अनुभव कम भएकाले उनीहरु जता जस्तो काममा पनि लाग्न थालेका थिए। तर हामी उमेर, योग्यता र अनुभवले खारिएकालाई भने जस्तो पायो त्यस्तो काम गर्न मन नलाग्ने रहेछ। अलि दिन त हामी नेपालमा आफूले गरी आएको क्षेत्र सँग मिल्दजुल्दो कामको खोजीमा लागियो। तर दिन बित्दै जाँदा बुझ्दै गइयो कि सुरुवातका दिनमा त नेपालको योग्यता र अनुभवलाई केही समयको लागि सुटकेशमा थन्काएर हिँड्नु पर्ने रहेछ। अनि बिस्तारै जहाँ जहाँ जे जे काम पायो गर्ने अनि त्यो भन्दा अलि राम्रो काम पाएपछि पुरानो छोड्ने, नयाँ गर्ने क्रम जारी रह्यो। नेपालमा म यस्ताे थिएँ, यस्ताे गर्थें, मलाई यतिले मान सम्मान गर्ने गर्थे आदि इत्यादि सम्झना आउँदा भने अलि कस्तो कस्तो लाग्दो रहेछ। तर जब ‘यो नेपाल होइन, बेलायत हो। मेरो जे छ त्यो त नेपालमा छ। यहाँ त मैंले नयाँ सुरुवात गर्नु पर्छ’ भन्ने भाव आउँथ्यो तब फेरि काममा जागर चल्न थाल्थ्यो। तीन वर्षकाे बेलायतका बसाइमा धेरै थरीका कामको र अन्य अनुभव बटुल्ने मौका मिल्यो। तिनै काम गर्ने क्रममा बटुलेका केहि अनुभवहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेकोे छु। उस्तै काम गर्दा पनि व्यक्ति अनुसार फरक फरक अनुभव र दृष्टिकोण हुन सक्छ। त्यसैले अरूले त्यो समय र परिस्थितिमा कस्तो महसूस गर्ने गर्छन् त्यो त म भन्न सक्दिनँ। यहाँ चाहिँ मेरो अनुभव व्यक्त गर्ने प्रयास गरेकी छु।
सर्वप्रथम त काम खोज्नका लागि व्यक्तिगत विवरण अर्थात् बायोडाटा तयार गर्नु आवश्यक थियो। त्यति बेलासम्म मसँग ल्यापटप थिएन। नेपालमा छँदा आफ्नो स्कूल थियो, त्यहाँ कुनै पनि टाइपिङ सम्बन्धि कार्य भएमा कम्पुटर शिक्षकले वाअन्य कसैले गर्ने गर्थे। घरमा भए छोराले गरिदिन्थ्यो ‘मामुको टाइपिङ स्पिड स्लो छ, म गरिदिन्छु’ भन्दै। अब यहाँ त कम्पुटर शिक्षक दिपक सर थिएनन् न त बाबु नै थियो। त्यसैले एउटा इन्टरनेट क्याफेमा गएर जसोतसो आफैंले गरेँ, आफ्ना सबै विवरण खुलाएर। त्यसपछि केहि प्रति फोटोकपी गरेर जॉब भ्याकेन्सी हेर्दै ठाउँ ठाउँमा दिन थालें। अनि कहिलकाहीं हिँडडुल गर्दा गर्दै पनि कतै कतै पसेर कुरा गर्न थाले। यसो गर्दा कतिपय ठाउँमा बायोडाटा हेरेपछि मलाई हेर्थे अनि पछि खबर गर्नेछौँ भन्ने जबाफ दिने गर्थे। यसै क्रममा एकदिन एउटा स्कूलमा छिरे, केहि बेरको कुराकानी पछी अहिलेलाई पार्ट टाइम ट्यूसन कक्षा दिने कुरा गरे साथै मेरो अंग्रेजी बोल्ने तरिकामा धेरै सुधार गर्नु पर्ने सल्लाह पनि दिए। निकै खुशी लाग्यो, काम सुरु भयो तर हप्ताको केहि घण्टाको कामकाे कमाइले बेलायतको महङ्गी धान्न नसक्ने देखियो।
त्यसपछि अरु काम पनि खोज्न सुरू गरेँ। साथै केहि पहिला आएका साथीहरुले भने, ‘बायोडाटा पनि दुई तीन किसिमको बनाउनु, आफ्नो सबै अनुभव सबैमा नखुलाउने। जहाँ जस्तो किसिमको काम छ त्यहाँ त्यसकै अनुसारको अनुभव देखाउनु’। अनि त्यसै गरें। यो फर्मूला अलि काम लाग्यो। यताउती काम गर्दै गएपछि बेलायतमा काम गरेकोे अनुभव छ भन्न पनि पाइयो।
एक समय म Fulham Broadway नजिकै एउटा कार कम्पनीको मार्केटिङ्ग शाखामा काम गर्ने गर्थे। त्यहि बीचमा म एक महिनाको लागि नेपाल आए बिदा लिएर। बिदा सकेर नेपालबाट फर्कँदा उपहार स्वरुप केहि चिनो लिएर गाएको थिए। लण्डन फर्केर अफिस जाँदा मैले नेपाल चिनाउने केहि उपहार लिएर गए। कम्पनीका मालिक मिस्टर क्यारी तथा अन्य कर्मचारी सबै त्यहि थिए । सबैको उपस्थितिमा मैंले त्यो उपहार लिएर आएको बताए। साढे छ फिट अग्ला मिस्टर क्यारी त नेपाल झल्काउने त्यो उपहार देख्ने वित्तिकै यति खुशी भए कि “Wow ! Thank you Sarita” भन्दै गम्लङ्ग अङ्गालो हाल्न आइपुगे । अनायास भएको उनको यो प्रतिक्रियाले म त लाजले रातो पिरो भए, कान र गाला रातो र तातो भयो, केहि बोल्नै नसक्ने भएँ। मेरो अवस्था देखेर सबै अलमल्ल परे। धन्न त्यहाँ एकजना भारतीय मूलकी कर्मचारी थिइन् र उनैले भनिन् ” नेपालकाे संस्कृतिमा धन्यबाद दिन नमस्ते गरिन्छ”। अनि त मिस्टर क्यारीले माफि माग्दै”नमष्टे नमाष्टे” भन्न थाले। साँस्कृतिक भिन्नता भन्ने कुरा पनि गजबको हुँदो रहेछ। कतिपय ठाउँमा र देशमा मलाई यस्ताे परेको छ । कसैले खुशी भएर अङ्गालो हाल्न आउँदा वा हात मिलाउन खोज्दा अलिकति पछि हटेर दुई हात जोडी नमस्कार गरेकी छु धेरै पटक। यो मेरो बानी भनौँ कि पछौटे सोंच भनौँ, खै के भनौं?
दोश्रो प्रशंग, केयर सेन्टरमा काम गर्दाको। पैसा कमाउनु पर्ने बाध्यताले गर्दा केहि समय बुढा बुढीहरू बस्ने सरकारी आश्रममा पनि काम गर्न पुगेँ। तर त्यहाँ भित्री मन देखि खुसी भने थिइन। हरेक दिन काम गर्न जाँदा आज अन्तिम दिन हो भोलि देखि आउँदिन भन्ने सोच्ने गर्थें । म कहाँ शिक्षण पेशा गर्ने मान्छे, आफैले त्यति सम्म व्यवस्था गरिसकेको मान्छे यहाँ कहाँ फस्न आइपुगेछु जस्तो लाग्ने गर्थ्यो। तर बिस्तारै अरु कर्मचारी हरुसँगकाे कुरा सुन्दै जाँदा कोहि भन्थे ‘ म पुलिस अफिसर थिए मेरो देशमा, कोहि भन्थे म म सरकारी अफिसर थिएँ , एउटी भन्दै थिई म कलाकार थिएँ, कोहि भन्थे डाक्टर थिएँ । तिनीहरू नेपाली थिएनन्, सबै बिदेशी थिए। तिनीहरूका कुरा सुन्दै गएपछि भने मैले पनि चित्त बुझाउन थालेकी थिएँ, यो काम यहाँ बसुन्जेल गर्ने त हो नी, नेपाल फर्केपछि त मेरो आफ्नै काम छँदै छ नी भनेर। त्यो केयर सेन्टरमा बस्ने वृद्वृवृद्द्धाहरूकाे आआफ्नै कथा हुने रहेछ, बिस्तारै ती कथाहरू पनि लेख्दै जानेछु। अहिलेलाई चाहिँ आफ्नै कथा लेख्दै छु।
आज भन्दा डेड दशकअघि उमेरले तीन दशक कटिसके पछि बिदेश गएर सङ्घर्षको मैदानमा होमिएकी म, नेपालमा छँदा पूरै नेपाली पाराको जीवन बिताइरहेकी सुरू सुरूमा त धेरै कुराहरूले चकित पर्थेँ। बाटो काट्दा होस् कि लाइन बस्दा होस्, किनमेल गर्दा होस् कि कलेज जाँदा। पार्कमा घुम्दै गर्दा आफैं बत्ती बल्ने र निभ्ने गरेकोे देखेर पनि छक्क परेकी छु। एक दिन सङ्गै अफिसमा काम गर्ने सहकर्मीले सोधिन् तिम्रा कतिजना बच्चाहरु छन् ? मैले यतिजना छन् भने पछि सोध्छे “तिम्राे बिहे भयो?” म रिसाएको देखेर उसले भनी ‘हेर, बच्चा त मेरा पनि छन्, तर मेरो बिहे भएको छैन,’ “। त्यबेलादेखि थाहा भयो यस्ताे कुरा सामान्य रहेछ त्यतातिर। पछि अरु धेरै देशहरु पुगेपछि त अझ धेरै कुराहरु थाहा हुदै गयो। कामकै क्रममा म एक समय ‘फिश एण्ड चिप्स’ बनाएर बेच्ने पसलमा पनि काम गर्न पुगेँ। त्यहाँ आउने केहि ग्राहक म नेपालकाे भन्ने थाहा पाएर खुसी हुन्थे अनि कसैकसैले आफू पनि नेपाल पुगेको वा जाने ईच्छा रहेको बताउथे। तिमीले सगरमाथा चडेको छ? भन्दै सोध्थे कसै कसैले त। एउटी नियमित ग्राहक थिइन्, अफिसबाट फर्कदा माछा र आलु तरेको लिएर जान्थिन्। एकदिन उनी निकै खुशी हुदै आइन् र भनिन् “आज म धेरैं खुसी छु। तिमीलाई थाहा छ, आज मेरो आमाको बिहे भयो नि।” म छक्क परेको देखेर भनिन् ‘मेरी आमा एक्लो हुँदा मलाई उनको चिन्ता थियो। अब उनले साथी पाइन्, त्यसैले म खुशी छु “। तिम्री आमा कति वर्षकी छन्? कसैले सोध्यो “। “उनी बैसठ्ठी वर्षकी छन्, । अब उनी पनि खुशी अनि हामी पनि खुशी” उनी भन्दै थिइन्।
लण्डनको चिसो- 2008 काे फेब्रुअरी महिना थियो। लण्डन बसाईका क्रममा बिर्सन नसक्ने यो एउटा अनुभव। केयर सेन्टरमा मेरो रातीको काम थियो। Wemley रङ्गशाला नजिकै रहेको मेरो निवास स्थानबाट Fulham Broadway नजिकै रहेको कार्यस्थल पुग्नु पर्ने थियो। लण्डनका सडकमा गुड्ने राता बसहरु मध्ये आफूलाई गन्तव्यमा पुर्याउने एउटा बस चडेर झ्यालपट्टिको सिटमा गएर बसेँ। बेलायतको जाडोलाई ध्यानमा राखेर बनाएका घर हुन् की यातायातका साधन, जताततै न्यानो तातो गराउने सिस्टम जडान गरिएको हुँदो रहेछ। बस भित्रको न्यानो वातावरणमा बसेर म बाहिर हेर्दै गए। कपास झरे जस्तो गरी बिस्तारै हिउ पर्न थाल्यो। म रमाइलो मानेर हेर्दै थिएँ। उत्रने ठाउँ आयो। ओर्लेर आफ्नो कर्यथलोतिर लागे। भित्र जाडोको कुनै अनुभव हुँदैनथ्यो। राति पनि झ्यालबाट हेर्दा हिउँ परिरहेको देखिन्थ्यो। “आहा कति रमाइलो” ।
पहिलो पटक त्यसरी हिउँ परिरहेको देख्दै थिएँ। बिहान आठ बजे कामको सिफ्ट पूरा हुन्थो। दिवा समयका कर्मचारी आएपछि हामी रात्रिकालीन कर्मचारीले छुट्टी पाउँथ्यौ। तर त्यो दिन कोहि पनि आइपुगेका थिएनन् । बुझ्दै जाँदा त हिउँको सतह बढादै गएर पूरै शहरको यातायातका साधनहरु गुड्न नसकने अवस्था भइसकेको रहेछ। सडक मार्ग देखि रेल सेवासमेत अवरुद्ध भएको रहेछ। आधा दिन बितेपछि नजिकै घर हुने केहि स्टाफ आइपुगे। बेलुकी सम्ममा अलिअलि यातायात सेवा सुरू भयो। बसबाट ओर्लेर अलिकति हिँड्नु पर्ने थियो। घर पुग्दा सम्म मेरो हालत यस्ताे भइसकेको थियो की हिउँले मेरा हात गोडा सबै झर्ने भए अब जस्तो भइसकेको थियो। यसरी, मेरो हिउँ हेर्ने धोको पूरा भइसकेको थियो। एक दिन परेको हिँउ पग्लिन अर्को सातदिन लाग्ने रहेछ फेरि। आकाशमा घाम लागे पो हिउँ पग्लिन्थ्यो। घामको दर्शन छ महिनासम्म नहुने देशमा यस्तै त हो नि। त्यति लामो समय बस्दा पनि पूर्व पश्चिम छुट्टयाउन मलाई सधैँ कठिन।
हुन त यो लेख पढ्दै गर्दा हजुरहरु लाई लाग्न सक्छ कि यति ससाना र सामान्य कुरा पनि कें लेखेको हाेला। अहिले त म आफैलाई पनि यस्तै लाग्छ के लेखेको हाेला मैंले। तर सबै कुरा देखें भोगे पछि सामान्य लाग्ने रहेछ। पहिलो पटक देख्दा भोग्दा भने अलि अनौठो नै लागेको थियो त्यसैले लेखेको।
मेरा अनुभवहरु कस्तो लाग्यो हजुरहरुलाई? केहि प्रतिक्रिया पाऊ है। अनि लेखन शैलीका बारेमा तथा अन्य विविध विषयमा पनि सुझाव पाएमा झन् धेरै आभारी हुने छु। अब फेरि अर्काे लेखमा भेटौँला है!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)