वीणा पौड्यालका प्रश्नमा नेपाली संस्कृतिबारे गौतमवज्र बज्राचार्यका अनगिन्ती रोचक उत्तरहरु

नेपाली इतिहास र संस्कृतिको क्षेत्रमा लामो समयदेखि अध्ययन, अनुसन्धान, प्रकाशन र प्रवचन गर्दै आइराख्नुभएको मुर्धन्य व्यक्तित्व हो गौतमबज्र बज्राचार्य । काठमाण्डू, महाबौध्दमा जन्मिएर हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आउनु भएको बज्राचार्यसँग २०७८ जेष्ठ २३ र असार १ गते बिहानको समयमा टेलिफोन वार्ता गरेर यो अन्तरवार्ता तयार पारिएको हो । उहाँको प्रकाशित पुस्तक, लेख र सामाजिक संजालमा राखिएका सामाग्रीहरुको आधारमा पनि प्रश्नहरु सोधिएका छन् ।

न्यूयोर्क, म्यानहटनस्थित रुविन कला संग्रहालयमा गेष्ट क्यूरेटरको रुपमा चार बर्ष छ महिनासम्म कार्यरत रहँदा गौतमको योगदान विशिष्ट छ । नेपाली कला र संस्कृतिको विविध पक्षमा रुबिन संग्रहालयमा उहाँले दिनुभएको बिशेष लेक्चरहरु प्रकाशित छन् । अमेरिका भ्रमणमा गएको बेला मैले न्यूयोर्कस्थित रुबिन कला संग्रहालयको अध्ययन, अवलोकन गर्ने मौका पाएको थिएँ । रुबिन कला संग्रहालयको बोर्सियर लेखेर त्यस संग्रहालयप्रति मानिसको रुची बढाउने कार्यमा गौतमबज्र बज्राचार्यको महत्वपूर्ण योगदान छ। रूबिन म्युजियम अफ आर्टमा विभिन्न माध्यमबाट लगिएका नेपाली कला कृति, पौभाचित्रहरु प्रदर्शन गरिएका छन् । त्यहाँ प्रदर्शित केहि पौभाचित्र र मूर्तिहरुको अध्ययन, अवलोकन गर्न अमेरिकाका विभिन्न भागबाट मानिसहरु आउने गरेका छन् ।

गौतमजीले वेद र संस्कृत साहित्यमा उल्लेख भएको वर्षा ऋतुको वर्णनलाई कलाकृतिमा प्रस्तुत गरिएको विषयमाथि राम्ररी प्रकाश पार्नुभएको छ । उहाँले कीर्तिमुख र बहुह्री गाइको प्रस्तर मूर्तिबारे प्रवचन र लेखहरुद्वारा धेरै महत्वपूर्ण कुराहरु प्रकाशमा ल्याउनु भएको छ । बज्राचार्यज्यूले म्हपूजालाई गाइको भ्रूण पूजाको रुपमा लिएर २८३ दिनपछि गाइजात्रामा शिशु गाइ जन्मेको बिषयमा शोधमूलक लेखहरु प्रकाशित गर्नु भएको छ ।

वैदिक आर्यहरुले गाईलाई लक्ष्मीको रुपमा स्वीकार गरेर सम्मानपूर्वक आमाको स्थानमा राखेका थिए । लिच्छबि र मल्लकाल पनि गाइलाई सम्मान गर्ने, पालन गर्ने र पूजा गर्ने कार्यले निरन्तरता पाएको थियो ।

प्रा.डा. वीणा पौड्याल

प्रश्नः काठमाण्डूमा जन्मिएर अमेरिकालाई आफ्नो कार्यथलो बनाउनु भएको यहाको बाल्यकाल, बाल सखाहरु, पाठशाला र गुरुगरुको बारेको स्मरण कृपया बताइदिनुस् ।
उत्तरः हाम्रो बुवा दिब्यबज्र बज्राचार्यको संस्कृत भाषाप्रति विशेष श्रध्दा र लगाब थियो । काठमाण्डूको महाबौध्द टोलस्थित हामी बस्ने घर र बगैंचाको घरमा दुइ वटा स्कूल एकैपल्ट चलेका थिए । मेरा काका धनबज्र म भन्दा १० दश बर्षले जेठा हुन् । धनबज्र काकासँग म जता पनि घुम्न जान्थेँ । उहाँले महात्मा गान्धी, जवाहरलाल नेहरूको परिवारबारे भन्नु भएका कुराहरु म सारै चाख मानेर सुन्थेँ । काका धनबज्रले इतिहास र संस्कृतिका विविध कुराहरु बताउनु हुन्थ्यो, मलाई ती कुराहरु सारै मन पर्थ्यो ।

हाम्रो हजुरबुवा दुर्गाबज्र बज्राचार्यलाई संस्कृतभन्दा अंग्रेजी भाषाको शिक्षामा विश्वास थियो । त्यसैले धनबज्र काकालाई अंग्रेज़ी माध्यमको स्कूलमा भर्ना गरिएको थियो । हाम्रो बुवालाई संस्कृत भाषाको शिक्षामा विश्वास थियो । उहाँले आफ्नो भाइ धनबज्रलाई अंग्रेजी स्कूलबाट झिकेर संस्कृत माध्यमबाट पठनपाठन हुने नयराज गुरुको संस्कृत पाठशालामा भर्ना गर्नु भयो । धनबज्र अरुहरुलाई नयाँ नयाँ कुरा सिकाउन सारै मन पराउनु हुन्थ्यो । मैले धनबज्र काकाबाट धेरै कुरा सिकेको छु । मेरो सबैभन्दा ठूलो गुरु धनबज्र काका नै हो ।

मेरा साथीहरुमध्य मोहनसँग मेरो कुरा सारै मिल्दथ्यो । मोहन नयराजपन्तका मामाका छोरा हुन् । उनलाई संस्कृत पढाउनैको लागि नयराज पन्तले पाठशाला खोलेका हुन तर मोहनलाई संस्कृत पढन मन पर्दैनथ्यो ।

मोहन संस्कृत पढन नपरोस् भनेर भागी भागी हिँड्थे । २०७७ सालमा अस्सी बर्ष पुगेपछि मोहन बिते । म काठमांडू गएको बेला उनीसँग सधै भेट हुन्थ्यो । (आफ्नो मिल्ने साथी मोहनको बारेमा कुरा गर्दा गौतमबज्र बज्राचार्यज्यू भावुक हुनुभयो)

बीणाजी, तपाईले मेरा गुरुहरुको बारेमा पनि सोध्नु भएको थियो । मेरा छ जना गुरुहरु हुनुहुन्थ्यो ।

१. मेरा पिताजी दिब्य बज्राचार्य २. गुरु नयराज पन्त ३. काका धनबज्र बज्राचार्य ४. प्रतापदित्यपाल ५. माइकल वीजर ६. मेरो पीएचडीका शोधनिर्देशक विलसन ।

नेपालका केहि मानिसले मेरी स्लसरलार्इ पनि मेरो गुरु ठान्दछन्, तर हैन । महेशराज पन्तमार्फत मैले मेरी स्लसरलाई चिनेको हो । मैले र महेशराज पन्तले मेरी स्लसरलाई नेपालको इतिहास, संस्कृति, कला र वास्तुकलाको बारेमा विस्तृत रुपमा जानकारी दिएका थियो ।

प्रश्नः वि. सं २०३३ मा प्रकाशित यहाँको पुस्तक हनूमानढोका राजदरबारको लेखनको प्रेरणा र आवश्यकता के थियो ?
उत्तरः श्री ५ वीरेन्द्र सरकारको पालामा नारायणहिटी राजदरबारमा प्रत्येक शुक्रबार विशेष भेटघाट कार्यक्रम हुन्थ्यो । विभिन्न राजदूतावासका राजदूत र अन्य विशिष्ट पाहुनाहरुको अनौपचारिक भेटघाट र प्रवचन कार्यक्रम हुने गर्दथ्यो । अमेरिकाबाट नेपाली कलाको इतिहास, संस्कृतिबारे अध्ययन गर्न मेरी स्लसर काठमांडू आएको बेला राजदरबार जाने मौका पाइन् । त्यहाँ उनले नेपाली कला, वास्तुकलाबारे राजपरिवारका सदस्यलाई व्याख्या गर्ने क्रममा आफू संगै म गौतमबज्र बज्राचार्यलाई पनि लिएर गइन् । मेरी स्लसरसंगै नारायणहिटी दरबार २–३ पल्ट जाँदा हनुमानढोका क्षेत्रको कला वास्तुकलाबारे मैले बोलेँ, त्यहि बेला वीरेन्द्र सरकारले हनुमानढोका राजदरवारबारे केहि लेख्ने निर्देशन बक्सियो, त्यसैके उपज हो हनूमानढोका राजदरबार पुस्तक । मेरा धेरै साथीहरुले मद्दत गरेक थिए । वि. सं. २०१० सालतिर नै मैले साथीहरुसँग मिलेर हनूमानढोका क्षेत्रको अध्ययन गर्ने काम शुरु गरेको थिएँ । त्यसबेला अनुसन्धान गर्ने मानिसलाई हौसला दिने, चाहिदो सुविधा दिने चलन थिएन । यही प्रसंगमा त्रिविविको नेपाल र एशियाली अध्ययन संस्थानजस्ता उच्च संस्थाबाट हनुमानढोका दरवारको सम्बन्धमा अध्ययन र अन्वेषण गर्ने जुन मौका मैले पाएँ, त्यो मेरो लागि अविस्मरणीय बन्यो । राजा श्री ५ वीरेन्द्रका निजी सचिव प्रा नारायणप्रसाद श्रेष्ठ, मेरा सहपाठी ऐश्वर्यधर शर्मा, महेशराज पन्त र मित्र हेमराज शाक्यले मलाई धेरै मद्दत गरे ।

प्रश्नः जलशयन नारायण (बूढानीलकन्ठ)को मूर्तिमा बालपुजारीले केशरीले श्रृंगार्दै गरेको फोटो सामाजिक संजालमा पोष्ट गरेर यहाँले प्राचीन मूर्तिहरुको संरक्षणको प्रश्न उठाउनु भएको छ, जुन सारै प्रशंसनीय र अत्यावश्यक छ । कृपया, नेपाली मूर्तिको संरक्षनबारे केहि बताइदिनुस् न ।
उत्तरः प्राचीन मूर्तिहरु हामीहरुले संरक्षण गर्न नजानेर चोइटिदै, खिइदै र विदेश पलायन भएर घट्दै छन् । ढुगांका मूर्तिमा केमिकल मिसाइएका रातो, पहेलो रंगले पूजा गर्दा, सजाउँदा, त्यसले मूर्ति खिइदैजान्छ । मेरी स्लसर र मैले मिलेर शयन विष्णु बूढानीलकण्ठको बारेमा एउटा अनुसन्धान मूलकलेख प्रकाशित गरेका थियौँ तर हामीले विष्णुको मुकुटमा भएको कीर्तिमुखबारे अध्ययन गर्न पाएनौँ । त्यसमा दुख लागेको छ । ढुंगाको शिवलिङ्ग र शयनमूर्तिमा कोश, कवच चढाएर संरक्षण गर्ने चलन हाम्रो प्राचीन चलन राम्रो हो तर यसले निरन्तरता पाउन सकेन । लिच्छविकालका ढुँगे मूर्तिको सग्लो नाक देख्नै पाइदैन । बूढानीलकण्ठ मूर्तिको नाक सुलुत्त छ । नाक नभाँचिएको १–२ वटा मूर्तिमध्ये यो एउटा हो । यस मूर्तिको संरक्षण आवश्यक छ ।

प्रश्नः हाम्रा देवीदेवताका मूर्तिहरु मा देवी चामुण्डाबाहेक दुब्लो, ख्याउटो ,करंग देखिने गरेर बनाइएका मूर्तिहरु देखिदैनन्, त्यसको कारण के होला ?
उत्तरः हो, एकदम राम्रो विश्लेषण गर्नुभयो । नेपाल र भारतको कला, वास्तुकला राम्ररी जान्न के बनाइदैन, के देखाइदैन, त्यो पनि बुझनु पर्छ ।नेपालका कलाकारले लडाइको दृश्य, शिकारको दृश्य, मृत्यु दर्शाउन चाहदैनन् । तपस्या गरेर छातीमा करंग देखिएको बुध्दको मूर्ति नेपाली कलाकारले बनाउन रुचाउदैनन् । दुब्लो र महापरिनिर्वाणको दृश्यभन्दा बुध्द जन्म, ज्ञान प्राप्ती र ध्यानमा बसेका शाक्यमुनिको चित्र र मूर्तिहरु नेपालमा बनेका छन् । गान्धार कलामा जस्तो दुब्लो, ख्याउटे बुध्दको चित्रण नेपालमा गरिदैन । खाइलाग्दो, पुष्ट शरीर, घाँटीमा तीनवटा कम्बु ग्रीब देखाउने प्रचलन नेपालमा छ । पहिलोपल्ट मैले नै पुष्टी प्राण भन्ने शब्द र भाव प्रयोग गरेर नेपाली कलाको ब्याख्या गरेको छु । नेपाली कलामा मोटो पुष्ट शरीरलाई दर्शाउने पुष्ट प्राणको परम्परा लिच्छविकालदेखि आजसम्म चलेको छ । स्वयम्भू र अन्य क्षेत्रमा स्थानक मुद्रामा बसेका शाक्यमुनी बुध्दको घाँटीमा तीनवटा धर्को, कम्बु ग्रीब पुष्ट शरीरमा देखिने एउटा लक्षण हो । हामीकहाँ शुभ हेरेपछि शुभ नै हुने विश्वास गरिन्छ, त्यसैले पूर्ण कलश, मोटो घाटो मान्छे, फलेको वृक्ष बनाउने चलन चल्यो । घरको दैलोमा पनि पूर्ण घट, फूल ,र विशेष अवसरमा दहि र केरा पनि राख्ने चलन छ ।

प्रश्नः गौतमजी, यहाले मनसुनबारे लेख्ने, प्रवचन दिने कार्य लामो समयदेखि गर्दै आउनु भएको छ । यहाँको उच्चशिक्षा (पीएचडी)को क्षेत्र पनि मनसूनसँगै सम्बन्धित थियो । Hymns and Rain Babies शीर्षकमा यहाँले शोध गरेको हो ?
उत्तरः हो, वेदको अध्ययन गरेर मैले त्यहाँ वर्णन भएको ऋतु, मनसूनबारे केहि थाहा पाएँ । मलाई संस्कृत भाषाको ज्ञान भएकोले अध्ययन गर्न सजीलो भयो , ‘Frog Hymns and Rain Babies’ भ्यागुतोको गीत र पानीको सन्तानबारे मैले शोध गरेँ । विश्वका प्राचीन साहित्यमा ऋग्वेदसँगै जेन अवेस्नाताको नाम आउँछ। दुवै ग्रन्थमा धेरै कुरामा समानता पनि पाइन्छ तर अवेस्तामा मनसूनको कुरा छैन । मैले नै होला पहिलोपल्ट ऋग्वेदमा आउने मनसूनको बारेमा चर्चा गरेको । वेदमा वर्णन गरिएको ऋतु, मनसूनको प्रभाव नेपाली कलामा प्रशस्त परेको छ । मनसूनको प्रभाव गोवर्धन पूजा र गाइजात्रा पर्वमा देख्न सकिन्छ । मैले त्यहि बिषयका बारेमा लेखेको छु, त्यसैलाई उजागर गरेको छु । मलाई सधै खट्केको बिषय के छ भने संस्कृत भाषा, साहित्य पढ्नेहरुले कलाको इतिहासमा रुचि राखेनन् । संस्कृत भाषामा ज्ञान भएकाहरुले कलाको अध्ययन गरेको भए धेरै नयाँ विषय उजागर हुन्थे ।

प्रश्नः बज्राचार्यज्यू यहाँले नेपाल, यूरोप र अमेरिकाका विद्वानहरुसँग सत्संग, काम गर्ने मौका पाउनु भयो । यहाँको अनुभवमा विदेशीहरुमा हाम्रो धर्म, दर्शन, प्राचीन इतिहास, संस्कृति, संस्कृत भाषाप्रतिको लगाव र ज्ञान कस्तो छ ?
उत्तरः शुरुमा मलाई विदेशीहरुको संस्कृत भाषा र नेपाल र भारतको रहनसहन, कलाकृतिको लगाव सतही जस्तो लाग्दथ्यो । विदेशीहरुलाई हाम्रो स्थानीय भाषा, प्राचीन संस्कृत भाषा र प्राचीन लिपिहरुको गहिरो ज्ञान नभएकोले उनीहरु ग़लत इतिहास प्रभाव गरिरहेका छन् भन्ने ठम्याइ थियो । हाम्रा गुरु नयराज पन्तले हामीलाई शिक्षा दिने क्रममा विदेशीहरुलाई विभिन्न बिषयमा गाली गर्नु हुन्थ्यो । मलाई पनि गुरुको शिक्षाको प्रभाव परेको थियो । तर मैले विदेशमा जति पनि विदेशी विद्वानहरुलाई भेटेँ, उहाँहरुको काम गर्ने शैली देखेँ, त्यसबाट म सारै प्रभावित भएको छु । अधिकाशं विदेशी विद्वानहरुको कार्य गर्ने शैली सारै प्रशंसनीय छ । उनीहरुको लेख, पुस्तक गहिरो अध्ययनको प्रतिफल हो । मैले बल्ल बुझेँ विदेशीहरुको अनुसन्धान विधि, सामग्री संकलन गर्ने विधि, स्थलगत अध्ययन सबै नै सिससिलावद्ध ढंगको हुँदोरहेछ । केहि विदेशी इतिहासकार, अनुसन्धानकर्ताहरुले सतही अनुसन्धान गरेर तथ्यहीन इतिहास प्रकाशमा ल्याएका छन् तर अधिकांश विदेशी लेखकहरुका लेख, पुस्तक, रिसर्च स्तरिय, पठनयोग्य, गहिरो अध्ययनपश्चात प्रकाशित पाइन्छ ।

वीणाजी, म तपाईहरुलाई एउटा रोचक प्रसंग भन्छू,F B J Kuiper ले संस्कृत भाषाको नाटकबारे सारै राम्रो ग्रन्थ प्रकाशित गर्नु भएको छ । Varuna and Vidusaka शिर्षकको पुस्तकमा लेखक Kuiper ले वैदिक देवता वरुण कसरी बिदूषकमा परिणत भए भनेर ब्याख्या गरेका छन् । यस पुस्तकले मेरो ज्ञानको ढोका खोल्यो । झुसिलकीरा क्रमश पुतली हुँदै जाने क्रमको उदाहरणसहित कूपरले यस पुस्तकमा रूपान्तरणलार्इ सारै राम्रोसंग ब्याख्या गरेका छन् । चालिस बर्ष पहिले मैले पचास डलर हालेर कूपरको किताब किनेको थिएँ । त्यो बेला पचास डलर मेरो लागि ठूलै रकम थियो । तर त्यस पुस्तकले मेरो ज्ञानको ढोका खोलिदियो । मलाई धेरै कुरा प्रष्ट भयो । कुनै कुरा जान्न त्यसको श्रोत पत्ता लगाउनु पर्दछ, बिना श्रोत लेख्ने कार्य गर्दा इतिहास कथा जस्तो हुन्छ ।

प्रश्नः यहाले संस्कृत भाषामा रचना गरेका कविता सामाजिक संजालमा पोष्ट गरेको भेट्दा सारै रमाईलो लाग्यो । गौतमजी, यहाँका संस्कृत भाषामा लेखिएका कविताहरु प्रकाशित भएका छन् ?
उत्तरः हो, मेरा संस्कृत भाषामा लेखिएका कविताहरु प्रकाशित छन् ।सामाजिक संजालमा मैले पोष्ट गरेको मोनालिसा बारेको कविता धेरैले मनपराए । Department of South Asian Studies, University of Wisconsin, Madison मा म संस्कृत पढाउँथे । त्यहिबेला ‘अयि मोनालिसे’ शिर्षकको कविता मैले संस्कृत भाषामा लेखेको थिएँ ।

‘सा पीनोन्ने तिमत्पयोधरयुगा यक्षी कुरन्गेक्षणा
साचीतोरण संस्थिता प्रतिदिशं ब्यापारयन्ती दृशम्’

प्रश्नः हिन्दू र वौद्ध दुवै धर्ममा पीपल रुखको ठूलो महत्व छ । हिन्दूहरुको परम्परा र धर्म दर्शनबाट प्रभावित भएर वौौद्धहरुले त्यहि अनुकरण गर्दै पीपलको सम्मान गरेको हो ?
उत्तरः सारै राम्रो प्रश्न गर्नुभयो । हो, दुवै हिन्दू र वुद्ध धर्ममा पीपलको ठुलो महत्व छ । दुवै धर्मका अनुयायीहरु पीपल वृक्षलाइ देवताको रुपमा पूजा गर्छन् । बर्षाद शुरु हुनुभन्दा अघि पीपलको रुख सुकेको जस्तै हुन्छ, पानी पर्नासाथ पलाउन थाल्छ । त्यसैले वैदिक साहित्यमा साउन महिनालाई पीपलको महिना (अश्वत्थ) भनिएको छ । बर्षा ऋतुको प्रतिकको रुपमा पीपल महत्वपूर्ण बन्यो । वैदिक समयभन्दा प्राचीन मानिएको सिन्धु सभ्यताको कलाकृतिमा पीपलको बोट जताततै देखिन्छ । ऋतु संस्कृतिको यो कुरा वैदिक आर्यहरुले दक्षिण एशियामा आएपछि मात्रै सिकेको हो । किनभने पीपलको बोट हिन्दू कुशदेखि पश्चिममा अफ्गानिस्तान, इरान आदि देशमा पलाउँदैनन् । गुप्तकालभन्दा पहिले नै अश्वमेध यज्ञजस्तो वैदिक परम्परा हराइसकेको थियो । तर पीपलको महिमा बढ्दै गयो, कहिल्यै बिर्सिएन । ऋतु संस्कृतिसंग सम्बन्ध राख्ने यस्ता उदाहरण अरु धेरै छन् ।

प्रश्नः गौतमजी यहाँले बेला बेलामा संस्कृत पाठशालाको कुरा उठाउनु हुन्छ । के आज पनि गुरुकुल शिक्षा, संस्कृत पाठशाला संचालन गर्न सम्भव छ ?
उत्तरः गुरु नयराज पन्तका छोरा, चेलाहरुले चाहे भने संस्कृत पाठशाला चल्थ्यो र आज पनि चल्छ । गुरु नयराज पन्तका छोरा महेशराज पन्तले चाहेको भए संशोधन मण्डल र पूर्णिमा पत्रिका जस्तै पाठशाला चल्दथ्यो ।पाठशाला चलाउदा खट्नु भने पर्छ । दिन रात भन्न पाइँदैन, त्यसैले संस्कृत पाठशालाप्रति मानिसको आकर्षण भएन । मलाई सधैँ यो विषय खड्किरहन्छ ।

प्रश्नः काठमाण्डू उपत्यकाको विभिन्न ठाउँमा प्रस्तरका गाई र बाच्छाका मूर्तिहरु देखिन्छन् । कुन प्रयोजनले बनाइएका होलान् ?
उत्तरः वेदमा गौ पूजन र गौ धनको बारेमा प्रशस्त वर्णन छ । मल्लकालमा काठमाण्डू उपत्यकामा विभिन्न ठाउँमा गाइलाई चर्न गौचरण छोडिन्थ्यो । तर बिडम्बना आज गौचरणहरु मासिँदै गए । गाईको उपासना गर्ने चलन सत्रौं शताब्दीसम्म पनि बिर्सिइसकेको थिएन । मखन टोलमा बस्ने एक व्यक्तिले स्वयम्भू नजिकै आजको छाउनीको चौरसँगै गोग्रास (गाइलाई घाँस खुवाउन) को लागि गौचर दान दिएको वर्णन कुदिएको सानो शिलापत्र अहिले पाटन संग्रहालयमा सुरक्षित छ । त्यो शिलापत्रको शिरोभागमा अंशुवर्माले कामदोही भनेर नाम राखेको बाछोसहितको बहुह्री गाईको मूर्ति चित्रित गरी शिवलिंगसँग गाईको सम्बन्ध देखाइएको छ । तर बहुह्री गाईलाई पूजा गर्ने पुरानो चलनको शैवधर्मसँग कुनै सम्बन्ध थिएन । बाच्छा, बाच्छीसहितको बहुह्री गाईको प्राचीन प्रस्तर मूर्ति उपत्यकामा धेरै ठाउँमा पाइएका छन् । ती मूर्तिहरु मन्दिर वरिपरी राखिनुको सट्टा गाई चराउन भनेर आफूले दान गरेको गौचरणको आसपासमा राखिएका थिए । गौचरण मासिदै गएकाले आजभोलि धेरैजसो बहुह्री गाईका मूर्तिहरु खुला रुपमा सडक छेउछाउ असुरक्षित रहेको देखिन्छन् । यसबारे विस्तृत अध्ययन गर्न बाँकी रहे पनि अहिलेसम्म प्राप्त सामग्रीको आधारमा स्पष्टसँग भन्न सकिन्छ, बहुह्री गाइको सम्बन्ध कुनै धर्मसँग थिएन, गाई चराउने हरियो चौरसँग थियो । लिच्छविकाल अगाडिका गोपालहरु दुध धेरै दिने बहुह्री गाईलाई सम्मान गर्थे । जमीनभित्र रहेको चिल्लो ढुँगाको मूर्तिलाइ घाँस र झारपात उब्जाइदिने देवताको रुपमा पूजा गर्थे । संस्कृत परम्पराको आगमनपछि बहुह्री कामदोहीका रुपमा, जमीनभित्रको देवता शिवलिंगको रुपमा परिवर्तित भयो र गोपालराज वंशावलीमा वर्णित बहुह्री गाई र पशुपतिको कथा बन्यो ।

प्रश्नः प्राचीन मूर्तिहरुको संरक्षण कसरी गर्न सकिन्छ ?
उत्तरः हाम्रो प्राचीन परम्परामा मूर्ति पूजनसँग संरक्षण गर्ने पध्दति पनि जोडिएको छ । प्राचीनकालका शिवलिंगमा धातुको कोश, गरुडासनमूर्तिमा कवच चढाएर धर्म र मूर्तिको संरक्षण दुर्व कार्य सम्पन्न गरिन्थ्यो । शिवपुरीको फेदमा स्थित विष्णुको शयन मूर्तिलाई धातुको कवचद्वारा संरक्षण गर्न सकिन्छ ।

हाम्रा धेरै कलाकृतिहरु विभिन्न माध्यमबाट विदेशमा पुगेका छन् । विभिन्न संग्रहालय, व्यक्तिहरुको घर र रेष्टुराहरु नेपाली मूर्ति र पौवा चित्रहरुद्वारा सजिएका छन् । चोरिएर विदेश पुगेका कलाकृति आफ्नो भनेर कुनै पनि देशले प्रमाणसहित दावी गर्नसक्छ । यसको लागि अन्तर्राष्ट्रीय नियम कानून नै छ । तर प्रमाण पेश गर्न सकिएन भने ती सामानमा आफ्नो हकदावी चल्दैन । हाम्रो देशका कला कृतिका प्रमाण पुगेको फोटाहरु भएका विभिन्न सामाग्रीहरु विदेशबाट फर्किएका छन् । स्थानीय व्यक्तिहरु नै आफ्ना क्षेत्रका मूर्त, अमूर्त सम्पदा संरक्षणमा लाग्नु पर्छ । नेपालमा नयाँ पुस्ताका केहि कलाकारहरु धातुको प्रयोगले पातलो कवचहरु र मूर्तिहरु बनाउन सक्तछन् । बूढानीलकण्ठको शयन बिष्णुको मूर्ति संरक्षण गर्न त्यस्तै धातुको कवच तयार गरेर चढाउन सकिन्छ । यसले प्रस्तर मूर्तिलाई खिइनबाट जोगाउँछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button