अरुको स्वाभिमान बचाउन लड्दै नेपाली

सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक, हालः लिमासोल, साइप्रस

स्वदेशमा
मौलाएकोको बेरोजगारी रोग
नातावादको बाछिटाले नछोएपछि
उनीहरु
अभावको दवाब खेप्नु खेपेर
मान्छेजस्तै देखिने
बाठ्ठो मान्छेले देखाएको प्रलोभनमा फसेर
उ मात्रै होईन उ जस्तै
सयौं नेपाली आमाको छोराहरु
खटेर डटेर लडिरहेका छन्
युक्रेन र रसीयाको सिमानामा
पाकिस्तान र भारति तनावग्रस्त क्षेत्र
काश्मिरी हिमाली भुभागमा
वीरताको इतिहास बनाएको
बहादुर पुर्खाको
वीरताको गाथा गाउँदै
ईमानदारपुर्वक
बैमानीहरुको इशारामा
लडेर ढल्दैछ,
अरुको स्वाभिमानको खातिर नेपाली सपूत लड्दै छ ।

परदेशी आकाश मनसुनको बादलले होइन
मानव निर्मित
बमबारुदको धुवाँले ढाक्दैछ
आकाश रोएर झरी होइन
आफ्नाहरु गुमाएका वियोगमा
धेरै आँखाहरु
मनसुनको आकाश बनेर बर्सिदैछ
बुडो बाआमाको बुडो आँखाबाट बर्सेको
पुरानो हुँदै गएको जीवनको आँशु
चाउरिएको गालाको खोल्चाखोल्ची भरेर, बगेर
भुँईको माटो भिजाउँदै छ
जुन भुँइको माटोमा गुमाएको आफ्नो छोरो खेल्थ्यो
निकट विगतमा
अनुभुतिमा बाँचेका यादहरु
पराई मुलुकमा लडेको बेवारिसे लासले
खोजेको साथहरु
उनका आफ्नाहरुले बगाएको रगत
गुराँस बनेर प्रत्येक बर्ष फुलिरहन्छन्
घरहरुको जग हल्लिए,
उनीहरु अरुको लागि लडे अनि ढले
बाँचेका आफ्नाहरुको मुटुकलेजोमा खिल परे
अरुको स्वाभिमानको निम्ति उनी बेस्सरी लडे

त्यो लडाइँ
जुन लडाइँहरुमा लड्नु
अनाहकमा जीवनलाई बिसर्जन गर्नु
आमाको काख रित्याउनु
बाको सपनाहरू टुटाउनु
अधुरो मीठो सपनाहरू देख्दै गर्दा
छोडी गएको जीवन संगिनिको सिंउँदो उजाड पार्नु
ठूलो मान्छे बनाउने धोको बोकेको
सानो छोरालाई
सानै उमेरमा टुहुरा बन्नु
देश हाँक्ने ड्राइभरहरुको निम्ति
अफ्ठ्यारोको कुरा हुनु पर्ने थियो
लज्जास्पद चुनौती सम्झनुपर्ने हो
तर, बिडम्बना
आफ्ना मान्छेहरु अरुको देशमा निर्यात गरेर
आउने रेमिटेन्समा रमेका सरकारलाई
के हुन्थ्यो चुनौती ?
के हुन्थ्यो र अफसोच
जे हुनु त आफ्नाहरुलाई भएको छ
जजस्ले आफ्नाहरु गुमाएका छन्
उनीहरु अरुको स्वाभिमान बचाउन खुब लडे ।

आफ्नो देशको सिमानामा लडेको भए
आफ्नो देशको स्वाभिमान निम्ति ढलेको भए
जंगेले गाडेको सिमा स्तम्भलाई
जहाँको तहिँ रहन दिएको भए
धेरै भोलिपर्सिहरुले
पटकपटक पढ्न मन लाग्ने इतिहास लेख्थ्यो होला
तर, आज उनीहरु
रात जस्तै अँध्यारो दिनहरुमा
आफ्नाहरुको नजरबाट धेरै टाढा
अपरिचित समुद्र किनारको बालुवालाई
सिरानी बनाउँदै
निराशाका टुक्राहरु निल्दै
मर्नु मरिसके बाँचेकाहरुले
देश फर्कन बिन्ती बिसाउँदा
धम्की र चेतावनी खेप्दै
अनिश्चित भविष्यको लागि
अरुको स्वाभिमानको निम्ति डटेर लड्दै छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button