किन नागपञ्चमी मनाइन्छ ? खास कारण बुझ्नलाई पढ्नुहोला

सुरक्षा र पर्यावरणको सन्देश बोकेको नागपञ्चमी

प्रा.डा. वीणा पौड्याल

साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथीमा विधिपूर्वक नागहरुको पूजा गरिन्छ । हिन्दूधर्मावलम्वीहरु नागलाई पञ्चमी तिथीका स्वामी मान्दछन् । यसै तिथीमा अष्ट नागको नामसहित प्रतिमा, चित्र र निराकार स्वरुपको पूजा गर्ने र रेखाचित्र राख्ने प्रचलन छ ।

नागहरुमा पानी पार्ने शक्ति भएको विश्वासले गर्दा वर्षाकालमै नागपूजा गरिन्छ । नागपञ्चमी (नागर पञ्चमी) को दिनमा नागको मूर्तिहरुमा दूध र दहीले स्नान गराउने र अर्पण गर्ने परंंम्परा छ । सर्पलाई गहना स्वरुप प्रयोग गर्ने शिवको ऋषेश्वर स्वरुपलाई पनि यसै दिन स्मरण र पूजन गरिन्छ । घरभित्र सर्प नपसुन् भनेर मूल ढोकाको माथिल्लो भागमा अष्ट नाग र कालीयदमन चित्र टाँसिन्छ । कागजमा नागको चित्र लेख्नु पूर्व ढोकाको दुवैपट्टि गोबरले नाग लेख्नु पर्ने उल्लेख भएको पाइन्छ । तेहौँ शताब्दी अर्थात् सन् १२६०–१२७१ को हेमाद्री चतुर्वर्गचिन्तामणिमा ‘हे राजा, श्रावण महीनाको शुक्लपक्षमा ढोकाको दुबैपट्टि गोबरले नाग लेख्नुपर्छ । हे वीर, दही, दुबोको मुन्टा, कुश, चन्दन, पूmल र उपहारले ब्राम्हणहरूलाई सन्तुष्ट पारेर पूजा गर्नुपर्छ । त्यो दिन यहाँ भक्तिपूर्वक जसले नागको पूजा गर्छन्; तिनीहरूलाई कहीँबाट पनि सर्पको डर हुँदैन’ भन्ने उल्लेख छ । घरको बाहिर खेतबारी वा इनारको नजीकै नागको लागि थलो छुट्ट्याएर पूजा गर्ने चलन पनि काठमाडौं उपत्यका, पहाड र तराईमा देखिन्छ ।

साउन र कार्तिक शुक्ल चतुर्थीका दिन अष्टनागको नाम स्मरण गर्दै व्रत बस्ने बिधान पनि छ । पुराणहरुमा उल्लेख भएका अष्टनागका नामहरु फरक–फरक छन् । वासुकि, तक्षक, कालिय, मणिभद्र, धृतराष्ट्र, ऐरावत, कर्कोटक र धनञ्जयको उल्लेख भविष्यपुराणमा छ । यसै क्रममा अनन्त (शेष), वासुकि, तक्षक, कर्कोटक, पद्म, महापद्म, शंखपाल र कुलिकको नाम पनि आउँछ । मूर्ति र चित्र स्वरुपको निर्माण र पूजा मल्लकालमा व्यापक थियो । काठमाडौं, पाटन र भक्तपुरका दरबार भित्रका ढुङ्गेधाराहरुमा जोडी नाग, नागीन र अष्टनागका सारै सुन्दर मानव स्वरुपका मूर्तिहरु छन् ।

वैदिक समयदेखि पूजा प्राप्त गरेका नागलाई श्रीकृष्णले विशेष महत्व दिएका छन् । गीताको विभूति योगमा उनी नागहरु मध्ये शेष (अनन्त) र सर्पमा वासुकि भएको उल्लेख छ । अर्ध देवता (डेमी गड) को रुपमा नागदेवताको पूजा र कथा श्रवण नेपाल र भारतका विभिन्न भूभागमा प्रचलन छ । घसे्रर हिड्ने विषालु लामकीरोको पुच्छर तीखो र नागको ढुटो हुन्छ भन्ने विश्वासमा पूजा नागले पाउँदछन् । नागले आफ्नो स्वरुप परिवर्तन गर्न सक्छन् । नाग मानिसको स्वरुपमा आएर विभिन्न कामहरु गरेको किंवदन्तीको प्रचलन हामीकहाँ छ । महाभारतमा ऋषि कश्यप र उनकी पत्नी कदू्रका सन्तान नागहरुको तपस्या, सर्वज्ञय र संरक्षणबारे विस्तृत वर्णन छ । कश्यप ऋषिकै दोस्रो पत्नी विनताका छोरा पक्षीराज गरुडसँग नागहरुको शत्रुताबारे पनि महाभारतमा उल्लेख छ । वास्तुशास्त्र अनुसार धारा, इनार, कुवा, स्तूप, मन्दिर, मठ, घर, दरबारको सुरक्षाको लागि नागको प्रतिमा निर्माण गर्ने विधान छ । मन्दिर र पोखरीको वरिपरी नागको बटारिएको शरीर अग्र भागमा मानिसको स्वरुपमा नाग र नागीनको कम्मर सम्मको वा शिरको आकृति दर्शाउने प्रचलन छ ।

काठमाण्डौं उपत्यकामा मल्लकालमा बनेका दरबारक्षेत्रका विभिन्न पोखरीहरुमा काठका खम्बालाई नागको शरीरको रुपमा बनाएर त्यसमाथि नाग फणा स्थापना गरिएका छन् । नाग पञ्चमीको दिनमा त्यस्ता प्रतिमाहरुमा माथि सम्मै पुगेर जल, दुध, दही चढाएर पूजा अर्पण गरिन्छ । अष्टनागको धातु वा प्रस्तरको मूर्तिमा हज्जारौँ शिर बनाइन्छ । भगवान् शिवको घाँटी, कान, पाखुरा नाडी र कम्मरमा नाग गहनाको रुपमा लगाइएको देखाइन्छ । समुद्र मन्थनबाट निस्किएको कालकूट विष पिउन सक्ने शिव आफ्नो शरीरको विभिन्न भागमा विषालु नाग पनि धारण गरेर शिवले काललाई निम्त्याउने कार्यलाई व्यङ्गय गरेका त छैनन् ? हनूमानढोका दरबार भित्र सुन्दर (सुन्दरी) चोकमा प्रस्तरको कालीयनागको भव्य मूर्ति छ । राजा प्रतापमल्लले साकोना (लाजिम्पाट) बाट यस कालीयदमनको मूर्ति जतनसात बोकाएर हनूमानढोका दरबारमा स्थापना गरेका हुन् । ठूलो प्रस्तरलाई काटेर, छाटेर बनाइएको यो कालीयदमनको मूर्ति सरल तर भव्य छ । पुराणको कथालाई सजीव रुपमा यस मूर्तिमा झल्काइएको छ । सम्पूर्ण मूर्तिफलकमा नागहरुको शरीर गुडुल्किएको छ, बीचमा मानव आकृति र क्रुर अनुहारको भावभङ्गीसहित कालीय नागलाई प्रस्तुत गरिएको छ । पाँचवटा नागको फणाले कालीयनागलाई छत्रको काम गरेको दुइटा सुन्दर छ । यस मूर्तिको सबैभन्दा अब्वल पक्ष बालकृष्णको सजीव प्रस्तुति हो । बालकृष्णको दाया पाउ कालीय नागको पाखुरामा र देवे्र पाउ नागको बिरको मुकुट माथि राखिएको छ । दायाँ हातमा प्रहार गर्ने असत्रको रुपमा पटयाइएको कपडा र बायाँ हात नाग फणाको एउटा टाउकोमा राखेर बालकृष्णले शरीरको सन्तुलन मिलाएको भाव स्वभाविक छ । छ–सात वर्षको बालकको जस्तो हात, खुट्टा, गाला र पेट बनाएर कसाकारले शरीर विज्ञानको ज्ञान भएको प्रमाणित गरेका छन् । बालक कृष्णको दैवी स्वरुप देखाउन शिरको पृष्ठ भागमा सुन्दर प्रभामण्डल बनाइएको छ ।

यमुना नदीको पानी कालीय नागले विषम बनाएकोले बालकृष्णले उमेरमा सानो भए पनि कालीयलाई वसमा गरेर फणा माथि नाचेको भाव नै प्रस्तर मूर्तिमा दर्शाइएको छ । पाटन वगलामुखी मन्दिरको पूर्वपट्टिको पाटोमा नागराजाको (४१ गुणन ३०) नापको प्रस्तर मूर्ति छ । मल्लकालमा कुनै भव्य मन्दिर भित्र स्थापित यो नागदेवताको मूर्ति आज खुल्ला आकाश मुनी त्यसै छ । एघारवटा नागको शरीरलाई आसन र शिरलाई छत्रको रुपमा राखेर अर्धपर्यङ्ग आसनमा नागराज बसेका छन् । नेपालका अधिकांश मूर्ति जस्तै यस नागराजाको मूर्तिमा पनि कम्मरभन्दा माथि नाङ्गो र तल्लो भागमा धोति लगाइएको छ । नागमणिको चमत्कारबारे धार्मिक र साहित्यिक ग्रन्थमा उल्लेख पाइन्छ । नागको मणि किनबेच गर्दा भएको अपराधिक घटनाको समाचार पनि बेला बेला पत्रपत्रिकामा छापिएका छन् । वगलामुखीको नागराजको निधारमा पनि मणि जटीएको थियो तर अहिले त्यो छैन । गरगहना लगाएको नागराजको यत्रो ठूलो मूर्ति अन्त देखिएको छैन ।

हाम्रो धार्मिक ग्रन्थमा वर्णन भए अनुसार नागहरु बितल, सुतल र पाताल लोकमा बस्दछन् । उनीहरुको थलोमा मानिसहरुले अतिक्रमण गरेपछि रिसले डस्दा मृत्यु हुने गरेकोले त्यसैबाट बच्न सुरक्षित हुन, सचेत हुन नाग पूजा गरिएको हो । महाभारतका नायक अर्जुनका नाति परीक्षितको मृत्यु सर्पले डसेर भएको थियो । परिक्षितका छोरा जनमेजयले आफ्ना बाबुको मृत्युको बदला लिन सर्वयज्ञको आयोजना गरे । यत्रकुण्डमा सयौँ सर्पहरु डढेर मरे । सर्पजातिलाई बताउन वासुकि नागले विभिन्न प्रयत्न गरे । उनले आफ्नी बहिनी जटत्कारुको विवाह जटत्कारु नामकै ऋषि सँग गरेका थिए । जरत्कारु मुनी र जटत्कारु नागकन्याको छोरो आस्तीकद्वारा नागवंशको रक्षा हुने भविष्यवाणी ब्रम्हाले गरेका थिए । त्यसैले वासुकी नागले आफ्नो जातिको विनाश रोक्न सबै व्यवस्था मिलाएका थिए । यज्ञ प्रारम्भ हुने बित्तिकै आस्तीक त्यहीं थलोमा पुगेर जनर्मजयको प्रशंसा गर्न थाले । प्रशंसाले खुसी भएका राजाले जे मागे पनि दिने वाचा गरे । वासुकि नागका भान्जा आस्तीकले सर्प होमिने यज्ञ तुरुन्तै बन्द गर्ने वरदान मागे । राजालाई मन नभए पनि वाचा पुरा गर्नै पर्ने भयो । सर्प यज्ञ रोकियो सर्पहरु बाँचे । आस्तीकले आफ्नो आमा जरत्कारु र मामा वासकि नागलाई यज्ञ स्थलको सबै कुरो भने । प्रसन्न भएका नागहरुले आस्तीकलाई वर प्रदान गरे । शास्त्रमा उल्लेख भए अनुसार साउनको पञ्चमी तिथीमा वासुकि, शेष (अनन्त) नागसँग ब्रम्हाले संवाद गरेको हुनाले प्रत्येक वर्ष त्यही दिन नागको चित्र कोरेर पूजा गरिन्छ ।

सर्पले टोकेर आफन्तको मृत्यु भएमा त्यस व्यक्तिलाई सदगति प्रदान गर्न पञ्चमीकै दिन पारेर पोता फणा भएको नागको प्रतिमा निर्माण गरेर पूजा गर्ने विधानको वर्णन भविष्य पुराणमा छ । मूलढोकाको माथि वा दायाँ बायाँ दुवैतिर नाग टाँसेर पूजा गरेमा त्यस घरका कसैलाई नागले नडस्ने विश्वास गरिन्छ । मन्दिर, विहारका ढोका, झ्याल र खम्बाका माथि निर्माण गरिने तोरणका विषयवस्तु, गरुड, नाग, क्षेपु सबैले पाताललोक, पृथ्वी र आकाश तत्वलाई सांकेतिक रुपमा दर्शाएको पुराणहरुको लेखकसँगै यसलाई गरुड र नागजातिको शत्रुतासँग पनि जोडियो । छेपु टौदहको कर्कोटक नाग र पशुपति मन्दिर परिसरमा रहेको वासुकि नागको प्रसंग पनि पानी सँगै जोडिएको छ ।

महाभारतमा अर्जुनले नागजातिकी कन्या उलूपीसँग विवाह सम्बन्ध गाँसेको उल्लेख छ । बौद्ध दर्शनमा पनि नागलाई संरक्षकको रुपमा स्वीकार गरिएको छ । शाक्यमुनी बुद्ध र पञ्च बुद्धमध्येका अमोघसिद्धिलाई फणा फिजाएर नागले संरक्षण गरेको वर्णन बौद्ध ग्रन्थहरुमा छ । काठमाडौंका स्तूपहरुमा उत्तरतर्फ अभय मुद्रामा बस्ने अमोघसिद्धिलाई नागले फणा फिजाएर रक्षा गरेको दर्शाइन्छ । जैन धर्मावलम्बीहरुको तीर्थङ्करलाई पनि सर्पले फणा फैलाएर घाम पानी रोकेको वर्णन पाइन्छ ।

प्रकृतिमा भएका भुसुनादेखि विशाल हात्तीसम्मको भूमिका आ–आफ्नो ठाउँमा महत्वपूर्ण छ । पृथ्वीमा भएका विष, काँडा तीखा दाँतधारी जीवहरु सबैको आ–आफ्नो कार्यले पर्यावरणको चक्रलाई गति प्रदान गरेको छ । जीवनको हरेक पलमा हामी सुरक्षित हुनुपर्दछ, त्यसैले विष भएको सर्पसँग बच्ने शिक्षा नागपञ्चमीमा टाँस्ने चित्रले दिएको छ । हाम्रा पर्वहरु धार्मिक पृष्ठभूमिमा उत्पत्ति भए पनि यसको विकास गर्न सामाजिक पक्षसँग जोडिएको छ । वास्तु शास्त्रमा भूमिमा पूजा गर्दा वास्तु नागको पूजा गर्ने विधान छ । वास्तुपुरुषको पूजामा नागको काखीमुनि पारेर जमीन खनेर जग हालिन्छ । निर्माण कार्य गर्दा जमीनका प्रकृति, पानीको प्रवाह सबैको अध्ययन हुनु पर्दछ । वैज्ञानिक प्रविधिको विकास नभैसकेको बेला जमीन भास्सीएर घर भत्किनबाट जोगाउन नाग पूजाद्वारा हाम्रा पूर्खाले अलौकिक विषयलाई लौकिक जीवनसँग जोड्न खोजेको देखिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button