‘काँठेबस्ती’ छेउको टोल अर्थात् ‘पासपोर्ट-भीसा नगर’

यस कथाका घटना, परिवेश तथा पात्रहरू काल्पनिक हुन् । यदि कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुने छ । -लेखक

कथाः नक्कली सुख

सागर ‘मणि’ थापा
कीर्तिपुर नपा–७, चोभार ओपी

काठमाडौँ सहर । सहरबाहिरको एउटा ‘काँठेबस्ती’ । त्यसै बस्तीको दक्षिणछेउमा अवस्थित छ, एउटा टोल । अचेल उक्त टोललाई ‘पासपोर्ट-भीसा नगर’ नामकरण गरिएको छ । केही वर्षपहिले यहाँ गोबर बास्ना आउँथ्यो । तर अहिले मानव–मलको दुर्गन्ध आउँछ ।

पहिले पहिले त ग्रामबासीहरू दङ्ग, फुरूङ्ग परेका थिए । नगरबासी हुन पाइयो नि त । विकासको मूल नै फुट्ला भन्ने आशा नि । तर जब नगरपालिकाले विकासको नाममा बढ्ता ‘कर’ असुल्न थाल्यो, तबदेखि नगरबासीहरूको टाउको दुख्न सुुरू भयो ।

विकासको नाममा जमिनहरू विनाश भए । अन्ततः बस्तीका मानिसहरूले भन्न थाले, ‘छिः यस्तो देशमा पनि बस्छन् ! न त विकास छ । न त रोजगार नै पाइन्छ ।’

नभन्दै टोलका युवाहरू धमाधम परदेश जान थाले । बहाना त उच्च शिक्षाकै हो तर विदेश गएपछि स्वदेशको मायै नलाग्ने । हुँदाहुँदा हरेक घरका युवाहरू रित्तिएलान् जस्तो भैसकेको छ ।

प्रमिलाका आमा, बाबा पनि अमेरिका जाने मिति आइपुग्यो । त्यो पनि सधैँँका लागि । प्रमिला चिन्तित देखिन्थिन् । ‘सुटकेस’ मा सामानहरू नअटेर हैरान भइरहेकी थिइन् । तीन दिदी,बहिनीमध्ये जेठीको परिवार जापानमा बस्छन् । अनि माहिलीको अष्ट्रेलियामा ।

चाडबाडमा माइती आउने चेली प्रमिला मात्र हुन् । अब त माइती भनेर विदेशै धाउनु पर्ने स्थिति आएको थियो ! अघिल्लो वर्ष नेपाल आएका बेला ईश्वरले वचन दिएका थिए, प्रमिलाका श्रीमान्लाई पनि अमेरिका झिकाउँछु भनेर । पहिले जुवाइँलाई तान्ने भएका थिए अनि बहिनीलाई ।

प्रमिलाका श्रीमान् जगदीश्वरले ससुरालीको त्यो ‘अफर’ लाई सरासर लत्याइदिए । आफ्नो वचन पूरा गर्न नपाएकोमा ईश्वर जुवाइँप्रति रुष्ठ भएका थिए । कहिलेकाहीँ अमेरिकाबाटै ‘भिडियो कल’ मा मुखको तीतो पोख्छन् अभैm पनि ।

सामान मिलाउँदै गर्दा जगदीश्वर पनि आइपुगे । उनी आफ्नै मोटर हाँकेर आएका हुन् । उनी आपूm विदेशमा बस्न नचाहे पनि परिआएको कर्तव्यलाई पूरा गर्न कहिल्यै पछि हट्दैनथे । मनभित्र त अग्निको ज्वाला थियो नै । किनकि ससुराली खलक परदेशतिर पलायन हुँदै गए ।

तथापि, टोलबासीहरूसँग भने धाक जमाएर भनिदिन्थे, ‘मजत्तिको भाग्यमानी को नै छ र ? ससुराली नै युरोप र अमेरिका भनेपछि कुरै सक्किगो ! चाडबाडको दक्षिणा पनि डलर आउँछ । त्यसलाई नेपाली रूपैयाँमा ‘कन्भर्ट’ गर्दा सयगुणा हुन्छ !’

त जगदीश्वरले सुटकेसलाई उचाल्दै अन्दाज लगाए, ‘मेरो विचारमा यसमा अभैm बढी सामान छ प्रमिला । केही सामान त झिक्नै पर्ला ।’

‘के झिक्नु, के नझिक्नु ।’

चिन्तित मुद्रामा प्रमिलाले भनिन्, ‘सात पटक हाल्ने र निकाल्ने गरिसक्यौँ । सरकारले पनि के नियम बनाएको होला । कमसेकम पचास किलोग्राम तौलसम्म त लान दिनुपर्छ नि ।’

प्रमिलाका बा–आमाका लागि त्यो नौलो घटना पनि त होइन । एक पटक जापान पुगेर आए । दुई पटक अष्ट्रेलिया । अनि अमेरिका नै पनि दुई पटक गैसकेका हुन् । यो तेस्रो पटक तथा अन्तिम पटक नै मान्नुपर्ने भयो सम्भवतः ।

त्यही भएर लान मिल्ने सामानको बारेमा उनीहरूलाई राम्रोसँग थाहा थियो । सासूआमाको एक जिज्ञासाको बदलामा जुवाइँले हाकाहाकी भनिदिए, ‘अब नेपाल नफर्किने नै गरी अमेरिका जाने भैसकेपछि सुटकेसमा सामान अटेन भनेर किन चिन्ता ममी ? ‘कार्गो जहाज’ मा पठाए भैहाल्छ नि । अनि त गुन्दु्रक र मस्यौराको के कुरा भो र । खाट र दराज पनि जान्छन् उतै ।’

सासूआमाले केही भन्नलाई मुख आँ मात्र गरेकी थिइन् । ससुरा बाले ‘ओभरटेक’ गरिहाले । उनी हुन्, कल्याणबहादुर । तत्कालीन शाही नेपाली सेनाका सुवेदार । उनी जुवाइँको त्यति ‘भाउ’ राख्दैनथे । यो त उही बेलादेखिको समस्या हो ।

एक त लोकसेवा नपढेका र सरकारी नोकरी नगरेका । अर्को, विदेश जान अनिच्छुक रहेका । त्यस्ता ससुराका यस्ता जुवाइँ । उनलाई ससुराली,घरको भनेपछि एक चिम्टी माटो पनि चाहिएको छैन । उनले ससुराली परिवारलाई स्पष्टसँग भनिदिएका थिए, ‘हजुरहरूले कुनै चिन्ता मान्नु पर्दैन । म यो घरबाट उठेको भाडा र जग्गाको कमाइको रकम उतै पठाइदिन्छु ।’

थोरै असन्तुष्टि पोख्दै प्रमिलाले भनेकी थिइन्, ‘कस्तो कुरा गरेको तपाईँले ! ममी, ड्याडीले हामीलाई नै राख्न अनुमति दिनुभएको छ त ।’

‘तिमी किन जान्ने भएकी ?’

पत्नीको कुरा भुइँमा खस्न नपाउँदै पतिले सम्झाए, ‘तिमीलाई पैसाको जति आवश्यकता छ, त्योभन्दा बढी अमेरिकामा ममी, ड्याडीलाई हुनेछ प्रमिला । फेरि उता जेठान दाइले अर्को जग्गा पनि किन्ने रे भनेको कुरा पनि सुनिएकै छ । हामीलाई हाम्रै सम्पत्तिले पुगेको छ भने माइतीको लोभ किन गछ्र्यौ भन त ?’

‘भो भो । देशकै एक नमुना जुवाइँसँग कुरा गरेर जित्न सकिन्न !’

अहिले त ससुरा बाले मज्जैले भनेका हुन्, ‘मेरा कान्छा जुवाइँजस्ता स्वाभिमानी नेता भैदिएका भए यो देश कस्तो हुँदो हो ? न त यहाँ युवाहरू बेरोजगारको दलदलमा फस्ने थिए । न त भासिने थिए परदेश नै । तर गर्ने के ? जनताले सोचेको जस्तो नहुने रहेछ ।’

प्रमिलाले आमाका आँसु पुछिदिँदै स्वस्थ्य टिप्पणी गरिन्, ‘विवाह गरेर पराईको घरमा दिँदा त मन बुझाउनुभयो । अमेरिका जान लाग्नुहुँदा किन रुनुहुन्छ ममी ? हामी यहाँ सुखपूर्वक बसिहाल्छौँ नि । किन पीर लिनुहुन्छ व्यर्थैमा ?’

बाबाले पनि मनको भावना व्यक्त गरे, ‘मलाई त उतिबेलै ईश्वरलाई विदेश पठाउन मन थिएन । तर उसको उज्ज्वल भविश्यको कारण नपठाई सुखै पाइनँ । हुँदाहुँदा आज यसरी यहाँ भएकी एउटी छोरीसँग बिदा मागेर जाँदैछौँ । तर केही छैन छोरी । तेरा पतिले नमाने पनि मेरी नातिनीले त मान्ली ।’

बाबा–आमालाई हिँड्न हतार भइसकेको थियो । तर अनेक मान्छेले अनेक टिप्पणी गरेर बियाँलो पार्दै थिए । त्यही भएर जगदीश्वरले गाडी चढाएर लगिहाले ।

करिब दस–बाह्र घण्टाको ‘ट्रान्जिट’ स्थलको कष्ठ भोग्दै कल्याण र मखमलीको तीन दिने हवाईजहाजको यात्रा अमेरिकाको एक एयरपोर्टमा पुगेर टुङ्गियो ।

पहिलो पटक अमेरिकाको जमिनमा टेक्दा भूतपूर्व सुवेदार र उनकी पत्नी हेरेको हे¥यै भएका थिए । वास्तवमै स्वर्ग पुगेको अनुभूति भएको थियो त्यतिबेला । जापान र अष्ट्रेलियासमेत भ्रमण गरिसकेपछि चाहिँ ठीकठीकै लाग्न थाल्यो ।

त बाबा, आमालाई ‘पिकअप’ गर्न छोरा ईश्वर आएका रहेछन् । पहिलो पटक विदेशी भूमिमा भेट गर्दा ईश्वरले बाबा, आमालाई साष्टाङ्ग दण्डवत् गरेका थिए । त्यतिखेर लागेको थियो, परदेशमा भए पनि छोराको नेपाली सँस्कार जस्तोको तस्तै रहेछ ।

तर यस पटक नमस्कारसमेत गरेनन् । उनीहरूलाई भित्रभित्रै नरमाइलो लाग्यो । ईश्वरले बाबा, आमाका सामान गाडीमा ‘लोड’ गरे । उनीहरूलाई पनि चढाएर गाडी हाँके । केही घण्टापछि घरमा पु¥याएर गाडीलाई विश्राम दिए । ईश्वरका ममी, ड्याडी थकाइले लखतरान थिए ।

आपूmहरूलाई दिइएको कोठा हेरिसकेपछि बाबा, आमाको मन खिन्न भयो । कल्याणबहादुरले पत्नीसँग चिन्ता व्यक्त गरे, ‘हेर् बूढी ! हाम्रो ईश्वरले त पहिलो गाँसमै ढुङ्गा लगाइदियो ! नेपालमा हुँदा जे सोचेको थिएँ, यहाँ त ठ्याक्कै उल्टो पाएँ । कोठाहरू त धेरै नै रहेछन् नि । तर हामीलाई चाहिँ यस्तो…!’

भूतपूर्व सुवेदारनीले मन बुझाइन्, ‘हेर बूढा ! छोरालाई नराम्रो नठान । खास कुरा के हो, भोलि ईश्वरले भनिहाल्छ नि । हाम्रो लागि ‘लजिङ्ग,फुडिङ्ग’ को राम्रो व्यवस्था हुनेछ ।’

राति सुत्ने बेलामा अपराजिताले दिक्दारी पोखिन्, ‘ओहो ईश्वर ! कत्ति कराइराख्या भन्या ! तिमीले जेजे भनेर तिम्रा ममी, ड्याडीलाई यहाँ ल्यायौ, ती ती कुराहरू पु¥याउनै पर्छ भन्ने के छ र । घर, जग्गा र गाडीको ‘किस्ता’ तिर्दा तिर्दा हैरान भइसक्यौँ हामी ।’

‘तर तिमीले मेरा ममी, ड्याडीलाई पूर्ण भरोसा दिलाउनुपर्छ अपराजिता !’

ईश्वरले स्वार्थान्ध हुँदै भने, ‘केही हप्तासम्म उनीहरूलाई सुइँको समेत नदिई राख्नुपर्छ । हामीले तीनओटा कोठाहरू भाडामा लगाएको कुरा थाहा दिनु हुँदैन है । नेपालमा भएको सबै सम्पत्ति बेचेर हाम्रो हातमा पार्नुपर्छ । त्यसपछि भव्य बङ्गलामा सर्नुपर्छ ।’

केही दिनपछि ममीले सोधिन्, ‘अनि नातिनीहरू त घरमा छैनन् नि छोरा । कहाँ राखेका छौ ?’

छोराले जवाफमा भने, ‘ए टेस्टिना र बेस्टिनाको कुरा गरेकी तिमीले ? उनीहरूलाई त मामाघरमा…।’

उनी सत्य कुरा बताउनबाट चुके किनकि उनकी पत्नीले चिमोटेर वाक्य पूरा गर्न दिइनन् । त्यसपछि आपैmले भूmटो वयान दिइन्, ‘दुवै छोरीहरू ‘बोडर्स’ गरिएका छन् मम् ।’

‘धेत् ! यस्तो पनि गर्ने हो ।’

ड्याडीले हप्काएको लवजमा भने, ‘बच्चाहरूलाई त बाबुआमाको काखमा राखेर पो हुर्काउनुपर्छ छोरा, बुहारी हो । अनाथजस्तो बनाएर ‘बोडर्स’ गर्ने हो त । अब हामी आइहाल्यौँ । घरैमा ल्याओ । अनि नातिनीहरूको नाम त सुनिता र मनिता पो थियो । फेरि यो टेष्टिना र बेष्टिना कसले राखेको ?’

बुहारीले हाँस्दै भनिन्, ‘यो नेपाल हैन नि ड्याड् । हाम्रो अमेरिकामा त यस्तै यस्तै ‘नेम पपुलर’ छन् । ठीकै छ नि त । हजुरहरू सुनिता र मनिता नै पुकार्न सक्नुहुन्छ । तर छोरीहरूलाई मन चाहिँ पर्छ कि पर्दैन, त्यो उनीहरूमै ‘डिपेन्ड’ गर्छ ।’

दिउँसो घरमा ममी र ड्याडी मात्र हुन्थे । छोरा र बुहारी आ,आफ्नै व्यापारमा व्यस्त रहन्थे । ती दुवैको पेट्रोल पम्प थियो । तर एकार्कोबाट धेरै टाढा । अतः उनीहरूलाई फुर्सद एकदमै कम हुने गर्दथ्यो ।

केही महिनापछि बेष्टिना र टेष्टिनालाई घरमा ल्याए । टेष्टिनालाई हजुरआमाले हुर्काएकी थिइन् । त्यही भएर तिनीले अलिअलि नेपाली भाषा पनि बोल्दथिन् अनि हजुरआमासँग झ्याम्मिन्थिन् पनि । तर बेष्टिना नेपाली भाषा न त बुझ्दथिन् । न त बोल्न नै सक्थिन् ।

बेष्टिनालाई हजुरबा र हजुरआमाले रत्याउन सकेनन् । खुवाउन खोज्दा ‘नो’ रे । तर आपैm ‘फ्रिज’ को खानेकुरा खाने । ‘जङ्क फुड’ मात्र रुचाउने । त्यसैगरी डुलाउन खोज्दा पनि ‘नो’ रे । पढाउन र खेलाउन खोज्दा पनि नाइँ भनेर मुन्टो हल्लाइदिने ।

मायाले बोकेर लिन खोज्दा पनि नमान्ने । त्यही भएर भूतपूर्व सुवेदार,सुवेदारनी हैरान थिए । छोरा र बुहारीलाई सम्झाउन खोज्दा हाँसेर उडाइदिन्थे ।

एक रात प्रमिला र जगदीश्वरसँग ‘भिडियो कल’ मा कुरा भयो । ममी, ड्याडीको कोठाको रूप देख्नासाथ प्रमिला आत्तिइन् । तब तिनीले सोधिन्, ‘त्यस्तो कोठा दिएका दाइ र भाउजूले ? हजुरहरूले नेपालमा सोचेजस्तो त्यहाँ बिलकुलै सजिलो छैनजस्तो छ !’

ड्याडीले वास्तविकतालाई ढाकछोप गर्दै जवाफ दिए, ‘सानो घर भएपछि केही कुरामा ‘कम्प्रमाइज’ गर्नुपर्छ नि छोरी । तिम्रो दाइले धेरै जग्गा भएको नयाँ घर किन्ने भनेको छ अनि ठूलो ‘रूम’ पाइहालिन्छ नि । बरु त्यहाँको घर,जग्गा खरिद गर्ने मानिस खोज्दै गर छोरी ।’

‘मैले त पहिल्यै थाहा पाइसकेको थिएँ बुबा !’

जुवाइँ जगदीश्वरले जेठानको कटु आलोचना गरे, ‘ईश्वर दाइलाई ममी, ड्याडी चाहिएको भए पो । उहाँलाई त हजुरहरूको काम र यहाँको घर, जग्गाको दाम मात्र चाहिएको छ बुबा । त्यही भएर मैले यहीँ रहनुहुँदा हजुरहरूको सहमति,पत्र तयार पार्न लगाएको थिएँ । चिन्ता मान्न पर्दैन । ग्राहक पाइन्छ ।’

अर्को दिन त्यो खबर अपराजिताको कानमा प¥यो । तिनीले आलोचना गरिन्, ‘सिटिङ्ग रूम’ खाली हुँदाहुँदै किन हजुरहरूको ‘बेड रूम’ बाट ‘भिडियो कल’ गर्नुभएको ड्याड् ?’

‘तर जे भयो, त्यो ‘गुड’ भयो ।’

नुहाएको कपाल पुछ्दै आएका छोराले कूटनीतिक भाषा बोले, ‘ममी, ड्याडीको साँघुरो कोठा देखेपछि प्रमिला माइती घरको जायजेथा बेचेर पठाउन हतारिन्छे नि ! त्यसपछि त ठूलो घरमा बस्ने तिम्रो सपना पूरा भैहाल्छ नि डार्लिङ्ग !’ घरको सबै काममा बूढाबूढी जोतिन्थे । त्यसो त जेठी नातिनी जन्मेकी बेलामा करिब चार वर्ष जोतिएकै हुन् । नेपालमै रहँदा पनि त बुहारीले ढलेको सिन्को उठाएकी होइनन् ।

अपराजिताले सासू र ससुरालाई सुख दिइनन् । वास्तवमा उनीहरूलाई त ‘सर्भेन्ट्स’ बनाएर राखेकी थिइन् ।

वर्षौँ बित्यो…।

कल्याणबहादुरका नातिनीहरू कलेज पढ्ने उमेरका भए । बढी स्वतन्त्र भए । परिवारका सबै सदस्यहरू एउटै छतमुनि त बस्छन् तर भावना मर्दै गइरहेको छ । विचार र मत विभाजन हुँदै गइरहेको छ । कहिले ‘बर्थ डे प्रोग्राम’ आउँछ । कहिले ‘म्यारिज एन्निभर्सरी’ ।

कुनै रेष्टुरेन्टमा कार्यक्रम हुँदैन । घरैमा हुन्छ । बूढाबूढीलाई वास्तविक सुख छैन । मापसे गरेका ईश्वरको मुखबाट आदर्श वचन पनि बग्दै जान्छ, ‘हेर ममी ! हाम्रो अमेरिकामा कुनै पनि कामलाई सानो या ठूलो मानिदैन र काम नगरी बस्ने चलन पनि छैन । पैसा प्रशस्त कमाइन्छ तर फुर्सद एकदमै कम हुन्छ । त्यही भएर त हामीसँग कार, बङ्गला, पैसा सबैथोक छ ममी ।’

‘अनि हामी नेपाल कहिले जान्छौँ त छोरा ?’

ममीले गुनासो गरिहालिन्, ‘के हामी यस घरमा ‘केयर गिभर’ भएरै बस्नुपर्ने हो ? मलाई त यहाँ बस्न मन लागेन छोरा । तिमीहरू काम,काम,काम मात्र भन्छौ । हामी बूढाबूढीलाई कतै घुमाउन लैजाने हैन ।’

बुहारीले कूटनीतिक पारामा भनिन्, ‘हजुरले चिन्तै गर्नै पर्दैन नि ममी । हामी छौँ नि । यत्रो बङ्गलामा बस्न पाउनुभएकै छ । भनेजस्तो खान र लाउन पाउनुभएकै छ । हजुरहरूलाई पनि त एउटा मोटर दिएका छौँ । जानोस् न घुम्न ।’

एक रातको कुरा हो…।

कल्याणले ईश्वरसँग तीव्र असन्तुष्टि पोखे, ‘यो घरमा बन्दी जीवन कति दिनसम्म बिताउनु पर्ने हो हामीले ? मलाई पनि कुनै काम खोजिदिनु प¥यो । नत्र भने म नेपाल नै फर्किन्छु ।’

‘नेपालमा के नै बाँकी छ र, को नै छ र जानलाई ड्याडी ?’

छोराले सम्झाएभैmँ गरे, ‘यो अमेरिका हो ड्याडी । यहाँको सुख, सुविधा भोग्न छाडेर कहाँ नेपाल फर्किने घुर्की लगाएको तपाईँले । अब सजिलो हुन्न । घरमै ‘टाइम पास’ हुन्छ नि । यो बुढेसकालमा यहाँ कसले काम दिन्छ र ?’

छोराको बोलीमा लोली मिलाउँदै ममीले भनिन्, ‘हाम्रो छोराको कुरा पनि सही नै हो सुवेदार साहब ! हजुरले ओखती र उपचार पाइरहनुभएकै छ । छोरा,बुहारीले कमाएकै छन् । यो उमेरमा तपाईँलाई किन अरूको नोकरी गर्न प¥यो ?’

पतिले अभैm चित्त बुझाएनन् र टिप्पणी गरे, ‘तर यो त नक्कली सुख रहेछ बूढी ! हामीले नेपालमा जे सोचेका थियौँ, यहाँ आएपछि ठ्याक्कै उल्टो भयो ! हामीले सोचेको अमेरिका यस्तो थिएन बूढी । आइ हेट अमेरिका !’

‘बट् उइ लभ एमेरिका ग्राण्ड पा…!’

रक्सी लागेर ढुनमुनिदै आइपुगेकी टेष्टिनाले कुरा काटिदिइन्, ‘उइ लाइक एमेरिका । किनभने हामी…।’

तिनी केके फलाक्ने सुरमा थिइन् तर उनका ड्याडीले हत्त न पत्त अर्को कोठातिर पठाइदिए । सुवेदारनी बूढी निकै भावुक भइन् र रुन थालिन् । उनका पति भने आँसु पुछिदिँदै थिए । त्यही बेलामा ढोकामा आइपुगेकी बुहारीले ठ्याक्कै उल्टो सोचिन् र अमर्यादित उद्गार पोखिन्, ‘हेर हेर ! लाज पचेकी बूढी ! मेरा विरूद्धमा मेरो लाग्नेलाई भड्काउन लागेकी !’

‘अपरा ! यो कस्तो लाञ्छना लगाउँदै छ्यौ तिमी !’

हत्त न पत्त उठेर गई ईश्वरले पत्नीलाई लम्की र झम्की गर्दै हकारे, ‘आफ्नै सासूको चरित्रमाथि दाग लगाउन खोज्ने कस्ती बुहारी हौ तिमी ? के म त्यस्तो बेकुप छु जसले ममीका नचाहिने कुरा सुनेर तिमीमाथि अन्याय गरूँ ?’

अपराजिताले पनि मापसे गरेकी रहिछन् । तब पड्किन थालिन्, ‘आइ नो भेरि वेल मिस्टर नटरबरलाल ! मलाई राम्रोसँग थाहा छ, तिमी कस्ता छौ भनेर ! मल्लिकासँग कस्तो लीला चल्थ्यो, त्यो थाहा छ । अनि रन्जनासँग पनि कस्तो ‘रिलेसन’ रहेछ, त्यो पनि पाँच वर्षअघि थाहा पाएकी हुँ ।’

ड्याडीले आश्चर्य मान्दै सोधे, ‘यो सब के हो छोरा ?’

छोराले झर्केर उत्तर दिए, ‘यस्ती बोक्सीको पनि कुरा पत्याउनु !’

रात धेरै बितिसकेको थियो । भोलिको घाम नझुल्किँदै काममा जानु थियो । त्यही भएर छोराले ममी, ड्याडीलाई उनीहरूको कोठातिर पठाइदिए । आपूm पनि पत्नीलाई लिएर शयन कक्षभित्र पसे । एकै ओछ्यानमा सुतेपछि दुवै शान्त भए ।

अन्ततः प्रमिलाले बाबा–आमालाई नेपालै फर्काइन् । यहाँ एयरपोर्टमा भेट हुनासाथ रूवाबासी चल्यो । बाबा–आमाका नयनबाट आँसु रोकिएनन् । उनीहरूले जुवाइँसँग माफी मागे । उदार मनका जुवाइँले विगतको घटनालाई एक खराब सपना सम्झेर बिर्सिदिए ।

जे होस्, कान्छी छोरीको घरमा आएपछि बाबा, आमाले चैनको सास फेर्न पाए । यतिन्जेलसम्ममा जगदीश्वरले कृषि र पशुपालन व्यवसायमा ठूलै क्रान्ति गरिसकेका छन् । उनको गाडीको व्यवसाय पनि त छ । काठमाडौँदेखि हेटौँडा र वीरगञ्जसम्म उनका मात्र नौओटा ‘सूमो जिप’ गुड्दै आएका छन् ।

जगदीश्वर एक ज्वलन्त उदाहरण बनेका छन्, आफ्नो समाजको अनि नगरको । स्वदेशमै बसेर पनि राम्रो कमाइ गर्ने एक कर्मशील व्यक्तित्व बनेका छन् उनी । उनलाई विदेशको नक्कली सुख चाहिएको छैन । स्वदेशकै सक्कली सुखमा रमाइरहेका छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button