
के तपाईंको बच्चालाई भर्चुअल अटिजम त भएको छैन ?
कल्पना तिमल्सेना पोखरेल
शिवपुरी जाने भनी घरबाट निस्केका हामी बीचबाटोमा पुगेपछि साथीको फोन आउँछ, ‘शङ्ख पार्कमा बस्दै गर्नु, म पन्ध्र मिनेटमा त्यहाँ आउँछु ।’
नभन्दै एकै छिनमा मेरो श्रीमानको साथीहरु तीनजना र सानी छोरी आइपुग्नु हुन्छ । हामी एकै छिन् त्यही बस्यौं । साथीहरुले म्याट ल्याउनुभएको रहेछ । बस्न सजिलो भयो । छोरीलाई खेल्न एउटा बल र ब्याटमेन्टन पनि ल्याउनुभएको रहेछ । हामीले पनि छोराछोरीको पन्ध्र दिनको जाडो विदा तर कतै निस्कने मौका नै पाएको थिएन । छोराहरू रमाउँछन् भनेर एउटा बलचाहिँ गाडीमा राखेका थियौँ । कतै ठाउँ पाएमा छोराहरुसँग खेलेर रमाइलो गर्ने सोचमा थियौं । त्यसैले हामीले पनि बल निकाल्यौं । छोराहरुलाई खेल्न दियौं तर त्यहाँको संरक्षकले यहाँ बच्चालाई खेल्न नदिनु भने र उता पर खेल्ने ठाउँ छ भनेर देखाए । हामी त बच्चासँग खेल्न रमाउन गएका । त्यतै जाने, हामी गएर बस्छौं, बच्चाहरु खेल्छन् भनेर त्यस व्यक्तिले देखाएको ठाउँतिर गयौँ ।
त्यहाँ त ४–५ वर्षका बच्चाले खेल्ने स्लाइडर मात्र थियो । धुलो कति भने साध्य छैन । तल न दुबो रोपेको छ, न कार्पेट । बच्चा खेल्ने ठाउँ रे हरे भन्दै हामी फर्कियौँ । साह्रै दुख लाग्यो ।
बालबालिका देशका कर्णधार । भविष्यको देशको उन्नति बालबालिकाको समृद्धि र सक्षमतामा निर्भर हुन्छ । हामी बसेर छलफल गर्यौ । बालबालिकाका लागि भने केही व्यवस्था कँही पनि छैन, नजिकै कतै लगेर घुम्न रमाउन कतै ठाउँ छैन । आमाबुबासँगै जाँदा मन्दिर अथवा अन्य पिकनिक स्पट र रिसोर्टहरुमा कतै बालबालिकाका लागि भनेर केहि पनि खेल्ने रमाउने ठाउँ हुँदैन ।
आमाबुबा साथीसँग गफ गर्न, खान, हिँड्न र घुम्नमा रमाउँदै गर्दा बच्चा निराश भएका हुन्छन् । बालबालिका त उमेरअनुसारको खेल्ने कुराको व्यवस्था भएको ठाउँमा मात्र रमाउँछन् । ठूला व्यक्ति त दिनभर गफ गरेर पनि बिताउन सक्छन् तर बालबालिकाहरुलाई यो सम्भव छैन । त्यहाँ पनि बालबालिकालाई फोन दिएर भुलाएर राख्नु पर्छ । त्यसैले आजकालका बालबालिकाहरुलाई घरबाट बाहिर निकाल्नै मुस्किल हुन्छ । बालबालिका नयाँ–नयाँ प्रविधि र इन्टरनेटको प्रयोगबाट घरमै बस्न रुचाउने, कसैसँग बोल्न मन नपराउने, साथी कम बनाउने तथा एकोहोरो स्वभावका हुन थालेका देखिन्छन् ।
घरमै बस्ने विद्युतीय साधन अत्याधिक चलाउने गरेर अहिले बालबालिकामा भर्चुअल अटिजमको समस्या बढ्दो छ । तीन वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई अत्याधिक मात्रामा टिभि, कम्प्युटर, मोबाइलको अगाडि राख्दा यस्तो समस्या हुने गर्दछ । शिक्षा र आधुनिकतासँगै कसरी सजिलो हुन्छ भनेर विकल्पहरू खोज्ने गरिएको पाइन्छ । आर्थिक जोहो गर्न बुबाआमा दुवैको जागिर हुने छोराछोरी हेर्ने मान्छे नहुने जसले गर्दा मोबाइलमा अनेक रंगीन चित्र, कार्टुन हेरेर बच्चा भुलाउने प्रवृत्तिले गर्दा बालबालिकाको मानसिक अवस्था र सामाजिक जीवनमा नकारात्मक अवस्था सिर्जना भएको छ ।

एकदिन हामी पाँचवटी साथी भेट्ने । रमाइलो गर्ने भनेर गोदावरी गयौँ । हामी महिलाको साथमा बच्चा त हुन्छन् नै । साथमा सबैले छोराछोरी ल्याएका थिए । धेरैपछि भेटेका साथी हामीले धेरै सुखदुःखका गफ गर्यौ । साथी सरलाको भोगाई अलि फरक थियो । उनी भन्छिन्, ‘अरु त मलाई सबै ठिकै छ, यो छोराको चाहिँ सधै पिर हुने भो साथी ।’
श्रीमानको जागिरमात्र थियो घरको आम्दानी भनेको । हाम्रो घर धान्न मुस्किल थियो । त्यो दिन सम्झिंदा पनि कहाली लाग्छ । बिहे गरेको ऋण, बस्नका लागि बनाको एउटा सानो झुप्रोको त्यसको ऋण, सासु बिरामी भएर उपचार गरेर लागेको ऋण अनि अफिस जाँदा सवारी चाहियो नै । एउटा मोटरसाइकल थियो ।त्यो पनि किस्तामा निकालेका थियौँ । ऋणै ऋणको भार । त्यसमा पनि बच्चा । लालनपालनको समस्या । सार्है नै गारो थियो । बाध्यताले मैले काम गर्न जानेपर्ने भयो । जेनतेन सानोतिनो नोकरी पाएँ । अब बच्चा ? बच्चाको पीर भयो मलाई । छोरालाई के गर्ने ? अफिसमा नमिल्ने, घरमा छोडौं त कसलाई छोडम् ? सासुसँग छोराको हेरदेख गर्नका लागि अनुरोध गरेँ । जवाफमा छोराको कमाइ जति सबै मुठ्याएकी छेस् त, मेरो छोरो समेत अर्कै पारिस्, सबै पैसा तँलाई नै दिन्छ, तेरो ब्यवहार तँ आफै गर् भन्नुभयो । बिरामी पर्दा आउने, उपचार गराउने र फेरि जाने गर्नुहुन्थ्यो सासुआमा । अनि घरमा भएको बेलामा पनि मलाई बिहान बेलुकाको खाना, दिउँसोको खाजा र चिया खान दिन आइपुग्नु अन्त जे काम गरे पनि गर भन्ने जवाफ हुन्थ्यो । सासुबाट पनि आशै मर्यो । बाध्यताले गर्दा मैले घरमा ताल्चा लगाएर दिनभरि लाइ पुग्नेगरी चार्ज गरेर मोबाइल दिएर काममा जान सुरु गरेँ । घर खर्च र श्रीमानको आर्थिक भार कम गर्न त सघाएँ तर छोरालाई भर्चुअल अटिजमको शिकार बनाएछु । पछि डाक्टर कहाँ गएपछि थाहा पाएँ । सधैँ एउटै भिडियो हेर्ने, सुतेर खेलौना खेल्ने, कुद्ने–दौड्ने नगर्ने, धेरै नबोल्ने, दोहोरो कुराकानी नगर्ने, आँखामा आँखा जुधाएर हेरेर गफ नगर्ने, लाज–घिन नलाग्ने अत्याधिक रिसाउने आदि जीवन व्यवहार देखाउँदै जान थाल्यो । ३ वर्षको उमेरमा स्कुल राखिदिएँ, लेख्न–पढ्न साह्रै मुस्किल भयो उसलाई । बल्लबल्ल अक्षर लेख्ने र चिन्ने भयो, त्यो पनि युकेजी मा पुगेपछि । अहिले कक्षा पाँचमा पुगिसक्यो । यस्ता लक्षण अझै पनि छन् । पढाइ नर्मल बालबालिका जस्तो छैन मेरो छोरोको । पछि के गरेर खाला भनेर सारै दुख लाग्छ । एक खालको मानसिक अपाङ्गजस्तै भयो मेरो छोरो ।
सरलाले यसरी दुःख पोख्दै थिइन् । हामी सबै साथीका आँखाबाट आँसुका धारा झरेका थिए ।
वास्तवमै बालबालिकाहरुका लागि शारीरिक, मानसिक, समाजिक, भावनात्मक र संवेगात्मक विकासका निमित्त सरकारको भूमिका फितलो देखिन्छ । हाम्रो स्थानीयस्तरमा बालबालिकाका लागि भनेर एउटा खेलकुद कार्यक्रम मात्र गरेको थाहा पाइएको छ । अरु के हुन्छ केही थाहा छैन, सायद छैन होला । बालबालिकाहरूका लागि प्रत्येक वडामा कम्तिमा एक निःशुल्क शिशु स्याहार केन्द्र हुनुपर्दछ, त्यहाँ छोडेर महिलाहरुले आफ्नो कामकाजमा जान सकून् । कामकाजका लागि छोराछोरी बाधक नबनोस् भनेर । बिहान–बेलुका खेल्नका निमित्त उमेर अनुसारका छुट्याइएका खेलमैदानहरु हुनुपर्दछ, जसले बालबालिकाको शारीरिक, सामाजिक, मानसिक र संवेगात्मक विकासका लागि ठुलो भूमिका खेल्दछ । एक बाल पुस्तकालय पनि हुनुपर्दछ । यसले बालबालिकाको बौद्धिक स्तर अभिवृद्धि गर्ने ठुलो भूमिका खेल्दछ । आफ्ना हक अधिकारको उपयोगका निमित्त बालक्लव स्थापना गरी कुरिती, कुसंस्कार र आफ्नो अधिकार प्राप्त गर्न सघाउने खालका कार्यक्रमहरु प्रत्येक हप्ता गरिनुपर्दछ । साथै बालमैत्री बजार सञ्चालन गरी बालबालिका रमाउने स्थान सिर्जना गरिनुपर्छ ।
अहिले तराइका बालबालिकाहरू शीतलहरका मारमा परेका छन्, आफ्नो शरीर ढाक्नलाई लुगा छैन । बाबाआमासँग किनिदिने पैसा छैनm गरिब छन् । बालबालिकाहरूको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य त जन्मसिद्ध अधिकार हो । यसको व्यवस्था राज्यले गर्नुपर्दछ । तर त्यहाँका स्थानीय सरकारले किन व्यवस्था नगरेको होला ? सम्पूर्ण बालअधिकार तथा बालसंरक्षणसँग सम्बन्धित सरोकारवालाहरुलाई मेरो आग्रह छ, यस्ता कुराहरुमा तत्काल ध्यान जाओस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)