नेपालबाट आमाले ढाँटिन्, कतारबाट छोराले ढाँट्यो

फुटबल विश्वकप हेर्न अक्षरकर्मी कमल ढकाल कतार पुगे तर उनले फुटबल मात्र हेरेनन्, त्यहाँ उनले जे देखे, भोगे, तिनलाई नेपालनाम्चामा नियमित लेख्दैछन्, कतार कथा । पहिलो श्रृंखलामा उनले कतारबाट नेपालको मार्मिक तस्विर प्रकट गरेका छन् । -सं

कमल ढकाल
दोहा, कतार

उहाँले सोध्नुभयो, ‘कथा के हो ?’

मैले भनेँ, ‘कथा यो हो ।’

र, यसरी सुरु गरेँ कथा भन्नः

कतारको धुपबाट तपाईं धेरै दिनपछि आमालाई फोन गर्दै हुनुहुन्छ ।

तपाई यहाँ कतारमा हुनुुहन्छ । तपाईको आमा नेपालको कुनै दुरगाउँमा हुनुहुन्छ । आमालाई तपाईले फोन गर्नुभयो र सोध्नुभयो, ‘आमा, के छ हालखवर ?’

आमाले भन्नुभयो, ‘ठिक छ बाबु, राम्रो छ ।’

खासमा आमाको हालत ठिक हुँदैन । आमाको ढाड दुःखिरहेको हुनसक्छ (बोल्दाबोल्दै मैले मेरै आमालाई सम्झेर भनेको थिएँ) । आमालाई बिसन्चो हुनसक्छ ।

तर छोराले फोन गरेपछि त्यत्ति टाढादेखि फोन गरेको छ भनेर जबरजस्ती आमा हाँस्नु हुन्छ र भन्नुहुन्छ, ‘ठिक छ ।’

र, आमा कपाल मिलाउनु हुन्छ ।

जबरजस्ती हाँसेको आमा देखेर तपाई सोध्नु हुनेछ, ‘के हो आमा, तपाईलाई ठिक छैन कि क्या हो ?’

आमाले फेरि मुख अझै च्याँत्दै दाँत देखाउँदै भन्नुहुन्छ, ‘मलाई एकदम ठिक छ, बाबु तिमीलाई कस्तो छ ?’

छोराको मनमा दुःख लागिरहेको हुन्छ, न आमालाई ठिक पो छैन कि ? त्यति नै बेला आमाले सोध्नु हुन्छ, ‘तिमीलाई कस्तो छ बाबुराजा ?’

तपाईको शरीर कामले गलेको हुन्छ । बाहिर धुप हुन्छ । हाकिमले गाली गरेको हुनसक्छ । पैसा नआएको हुनसक्छ । अनेक समस्याले घेरिएको हुनुहुन्छ । फ्रेस हुन र आर्शिवाद लिन आमालाई फोन गरेको हुनुहुन्छ । आमालाई सबै व्यथा लुकाउँदै तपाई भन्नुहुन्छ, ‘मलाई ठिक छ आमा ।’

खासमा तपाईलाई पनि यता ठिक हुँदैन ।

यहि कथा तपाई हरेकको फरक हुन सक्दछ । कतिले कत्ति बर्षदेखि आमालाई फोन नगरेको हुनसक्छ । श्रीमतीलाई मात्र फोन गरेको हुनसक्छ । श्रीमती र आमालाई गरेको फरक व्यवहारले तपाईको मनमा भुँईचालो गएको हुनसक्छ । र, अनेक हुन सक्छ ।

कथा यहि हो । यसलाई मिलाएर लेखे कथा हुन्छ ।

एशियन स्टार रेष्टुरेन्ट, दोहा, कतारमा बेलुकीको ७ बजिरहेको थियो । गाडीहरु सनन गुडिरहेका थिए । भित्र नेपालीहरु मात्र थिए । म त एक छिन घरमै भए जस्तै भएँ । भाषामा कस्तो चुम्बकिय शक्ति हुँदो रहेछ । मन र मुटु जोड्ने चुम्बक त भाषा रहेछ । म खुशी थिएँ । उहाँहरु खुशी हुनुहुन्थ्यो ।

कतारको दोहा फुटवल सिटी भएको थियो । जहितहिँ फुटवल, अनि झण्डा, खेलाडीका फोटा र विभिन्न देशका झण्डाले शहर सिँगारिएको थियो ।

9

त्यहि समयमा कतारमैत्री समाज, प्रवासी नेपाली कतार र नेप्लीज एक्प्याट ग्रुप कतारको आयोजनामा यो कार्यक्रम भइराखेको थियो, सिर्जनात्मक लेखन प्रशिक्षण । प्रशिक्षक म आफै थिएँ । लामो समय घोष्ट राइटिङ नेपालले नेपालमा चलाएको प्रशिक्षण कार्यक्रमको निरन्तरता थियो त्यो, थियो नेपालबाहिर पहिलो पटक ।

प्रवासमा बसेर कसरी लेखन तिखार्न सकिन्छ भन्नेमा बोल्ने र मौका मिले लेखाउने भन्ने आयोजकको योजना थियो ।

स्वागत, आसन ग्रहण र केही बोलचाल गर्दैमा समय घर्कदै गयो । आ–आफ्नो काम छाडेर रातको नौ बजेसम्म त्यो प्रशिक्षण चल्यो । ३० बर्षदेखि कतारमा बसेका डाक्टर देवकाजी डंगोल, कतारमैत्री समाजका अध्यक्ष प्रो रमजान अलि मियाँ, नेपाली दुतावासका द्वितिय सेक्रेटरी प्रविण भटराई, नेप्लीज एक्प्याट ग्रुपका अम्बिका पौडेल अतिथि र बिशेष अतिथि हुनुहुन्थ्यो भने चिफ गेस्ट म आफैलाई बनाउनु भएको थियो ।

साहित्य र लेखनमा रुचि भएका थुप्रै साथीहरु रातको नौ बजेसम्म एकोहोरो बसिरहनु भएको थियो ।

समाजसेवी तथा विश्व साइकलयात्री यासिन मामा, पत्रकार एवम लेखक दाङ घर भै कतारमा रहनु भएको दीपजंग शाह ठकुरी, स्याङ्जा घर भै कतारमा पत्रकारिता गरिरहनु भएका ढाकाराम पौडेल (अर्जुन), बुद्धिप्रसाद भण्डारी, पन्जाव, दिल्ली, झापा हुँदै हाल कतारमा रहेका योगेन्द्र कार्की, भक्तपुर घर भै कतारमा १५ बर्षदेखि रहनुभएका लक्ष्मी सन्दर, गीत संगीतका पारखी कास्कीका रोशनजी, लमजुङ घर भै कतार बस्ने कल्याण थापा, रिजन शाही, गोरखा घर भै कतारमा रहेका सुनिल न्यौपाने, रुपा कोइराला, ५ सय बढी आर्टिकल लेख्ने गोरखा घर भै कतारमा रहने सुरेश भट्ट, नर्सिङ पेशामा संलग्न सरीता भण्डारी पौडेल, म्याग्दीेका तिलु शर्मा पौडेल, पर्वत फलेबासका सन्तोष क्षेत्री, विमल परियार, स्याङ्जा घर भएका भेषराज पराजुली, सानागाउँ, ललितपुरका रफिक मियाँलगायतले प्रश्न राख्नु भएको थियो । कार्यक्रममा एक सयभन्दा बढी हुनुहुन्थ्यो ।

उहाँहरुले अगाडिका दिनमा लेखनको लागि केही सिकेको भन्नुभयो । आफ्नो लेखनकला पूर्ण विस्तार हुने भन्दै नलेखिएका कुरा लेखिने बताउँदा म खुशी थिएँ ।

मलाई भने उहाँहरुलाई लेखाउने समय नभएकोमा थकथक लागिरह्यो । लेखाएर त्यसलाई त्यहिँ माझ्न पाए अझै कस्तो हुन्थ्यो भन्ने लागिरहयो । नेपाली भूमिबाट गएर त्यहाँ कार्यक्रम गरेर अनि लेख्ने हुटहुटी जगाएर आएकोमा लेखनकुन्जको तर्फबाट खुशी थिएँ ।

उहाँहरुलाई त्यहाँ भेट्दा म स्वदेशमै भए झैँ लागेको थियो । नेपालका विविध जिल्लाका मान्छे भेटदा मलाई सिंगो नेपाल कतारमा भेटे झैं लागेको थियो । उहाँहरुले सम्मान र मायाको चिनो पनि दिनुभयो । उहाँहरुको माया, प्रेम, सदभाव, हार्दिकता, सम्मान र मानले म मगमग मगमगाएको थिएँ ।

अहिले पनि उहाँहरु सबैप्रति मेरो प्रेम, धन्यवाद, आभार र कृतज्ञता छ ।

डिसेम्बर ३, २०२२

काठमाडौमा चिसो सुरु हुँदै थियो । म तातो खोज्न कतार जाँदै थिए । त्यो कतारको तातो मलाई मात्र हैन, संसारलाई लागेको थियो । कारण कतारमा फुटबल विश्वकप भैरहेको थियो । ग्राउन्ड तातेको थियो ।

सधैँ म एक हैन, दुई भएर विदेश भ्रमण गर्दथेँ । कहिले श्रीमती–छोरी, कहिले भाइ, कहिले आमासँग । तर यसपाला भने एक्लै थिएँ । छोटो जीवनको लामो सम्झना गर्ने भनेर भाइ विमललाई पहिल्यै भनेको थिएँ । भाइहरुसँगको सम्झना मनमा राखिराख्न चाहन्थेँ । फुटबललाई देख्न हेर्न चाहन्थेँ ।

एक्लै हिँडदा सुटकेसको झ्याउँ हुने । ह्यान्ड क्यारी बोकेर सुटकेश गुडाउँदै हिँड्दाको गाह्रो फिल गरेँ । सुटकेशले मभन्दा पहिले इमिग्रेसन क्रस गरिसकेको थियो । म पनि दोहाको इमिग्रेसन क्रस गरेर बाहिरिएँ ।

बाहिरिँदा रातको ३ बजेको थियो ।

हाम्रो राष्ट्रिय ध्वजावाहकको बदनामी र बेइमानी त्यहाँ लागेकोले म ढीला पुगेको थिएँ ।

मलाई लिन एयरपोर्ट आउने मेरा मित्र ‘मैले देखेको कतार’का लेखक रमजान अलिमियाँले रातभर सुत्न नपाएको दुःखले मलाई दुःख भैरहेको थियो ।

बिहानको ६ बजे म इमिग्रेसन क्रस गर्दै जीवनमा पहिलोपल्ट कतारको दोहा आईपुगेँको थिएँ ।

क्रमशः

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button