
जब बालकथाका पात्र बोल्ने संग्रहालय पुगेँ

प्रा.डा. वीणा पौड्याल
संग्रहालय मनोरञ्जनको साथै र ज्ञान प्राप्त गर्ने अनौपचारिक शिक्षाको केन्द्र हो । मानवसभ्यताका समग्र विषयलाई अभिव्यक्त गर्ने भएकाले संग्रहालयमा प्रदर्शित वस्तुहरुलाई एउटा मौन प्राध्यापक पनि भनिन्छ, जसले अतित र वर्तमानलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । संग्रहालयका बदलिंदो परिभाषासंगै यस विषयको प्राज्ञिक क्षेत्रमा व्यापकता आएको देखिन्छ । शिक्षासँग जोडेर स–साना विद्यार्थीहरुलाई ज्ञान प्रदान गर्न सकिने भएकाले युनेस्कोले पनि शिक्षा र संग्रहालयको सम्बन्धलाई विशेष जोड दिएको देखिन्छ । विश्वमा विभिन्न रोचक विषयका संग्रहालयहरु छन् । संग्रहालय पुरातात्विक वस्तुहरु संग्रह र प्रदर्शन गर्ने थलो मात्र हैन कि जुनसुकै रोचक वस्तुहरुलाई संग्रहालयमा प्रदर्शन गर्न सकिन्छ भन्ने अवधारणाले मान्यता पाउँदै गएको छ ।
विश्वमा बालपुस्तकका काल्पनिक पात्रहरुलाई केन्द्रमा राखेर खोलिएका संग्रहालयहरु पनि छन् । त्यसै प्रकारको एउटा संग्रहालयमा पुग्ने अवसर प्राप्त भयो । विश्वमा स्थापना गरिएका संग्रहालयहरु मध्ये सबैभन्दा धेरै संग्रहालय भएको देशमा संयुक्त राज्य अमेरिका पर्दछ । विश्वभरी नै खोलिएका ५५००० संग्रहालयहरु मध्ये अमेरिकामा भएको तथ्य आईएलएमएसद्वारा सन् २०१८ मा प्रकाशित तथ्यांकमा छ । पेरिस, वेइजिङ, न्यूर्योक, भ्याटिकन सि.टी., वासिङ्टन डि.सी., लण्डनलगायत शहरहरुमा संग्रहालयहरु स्थापना गरिएका छन् । प्राचीन र आधुनिक चित्र, मूर्ति, मुद्रा, हातहतियार, लुगा, गरगहना, पोशाक, हुलाक, टिकट, जुत्तामोजा, विभिन्न पशु्पञ्छि, पुतली, सांस्कृतिक सामाग्री, विशेष प्रविधिद्धारा संरक्षित मानव लाश, साइकल, मोटर साईकल, गाडी, जहाज, हवाइजहाज, हेलीकप्टर, रेल, बग्गी, रिक्सा, टेम्पो, विविन्न खेलौना, पुस्तक, खेलसामग्री आदि प्रदर्शनी गरिएका संग्रहालयहरु विश्वमा जताततै खुलेका छन् । यस लेखमा भने अमेरिकाका बाल पुस्तकका लेखकका काल्पनिक पात्रहरुलाई जीवन्त बनाएर खोलिएको संग्रहालयको चर्चा गरिंदैछ ।
थियोडर गेजल्स (१९०४–१९९१)
अमेरिकाको म्यासाच्युसेटस स्प्रिङफिलड्स मा १९०४ मार्च २ मा जन्मिएका थियोडर गेजल्स । उनी राजनैतिक कार्टुन चित्रकार, कवि, स्क्रिप्टलेखक, फिल्मनिर्माता, बालपुस्तक लेखक र एनिमेटरका रुपमा परिचित छन् । उनले सन् १९३१ मा द पकेट बुक अफ बोनर्स र सन् १९५७ मा द क्याट इन द ह्याट नामका पुस्तकहरु प्रकाशित गराए जुन अत्यन्त चर्चित भयो । डा. सुसका नाममा परिचित गेजल्स उनी चिकित्सक वा विद्यावारिधि गरेका डा. भने होइनन् । डा. सुसको साथ लिसिङ उपनामबाट पनि उनका पुस्तक प्रकाशित छन् । उनी चित्रकार पनि हुन् । यिनले केही बालपुस्तकहरुमा चित्रहरु पनि कोरेका छन् । यिनका पाँच दर्जन भन्दा बढी पुस्तकहरु मध्ये केही पुस्तकहरु विश्वका २०–२१ भाषामा उल्था भएका छन् । यिनका २–३ वटा बालपुस्तकहरु हरेक वर्ष सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा पर्छन् ।
द क्याट इन द ह्याट
सन् २००३ मा द क्याट इन द ह्याट पुस्तक कथामा सिनेमा र टेलीभिजन र भिडिओ गेम पनि बन्यो । जसलाई धेरै जनाले रुचाए । मनोरञ्जनात्मक, सरल र शिक्षाप्रद विषयवस्तु भएकाले साना केटाकेटीले डा. सुसको द क्याट इन द ह्याट खुबै मन पराए । मानव पशु आकृतिको समिश्रण गरेर डा सुुसले द क्याट इन द ह्याट पुस्तकमा विचित्र पात्रको कल्पना गरेका छन् । मसिनो, अग्लो, शरीर भएको बिरालोको घाँटीमा रातो बो र टाइ टाउकोमा लगाएको, रातोसेतो धस्रो कोरिएको टोपीले अमेरिकाको झझल्को दिन्छ । पानी परिरहेको चिसो दिनमा दिदी स्याली र भाई झ्यालबाट बाहिर दृश्यावलोकन गरिरहेको वर्णन बाट यस पुस्तकको सुरुवात भएको छ ।
दिदी स्याली र भाइ आफ्नी आमा घर बाहिर गएको बेला पानी परिरहेको हेरेर बसिराखेका थिए । त्यहीबेला रातो बो टाइ र रातोसेतो धस्रो भएको टोपी लगाएको बिरालो आएर केटाकेटीलाई मनोरञ्जन दिन विविन्न खेलहरु देखाएको घटना कथामा वर्णन छ । बिरालोले कोठाको ठूलो शिशामा र अन्य छरपष्ट भएका सामानलाई हातमा सन्तुलन राख्दै रमाईलो गरेको चित्रण पुस्तकमा गरिएको छ । थोरै शब्दहरु भएको र लयबद्ध ढंगले बारम्बार दोहोर्याएर सम्झन सक्ने भएकाले सर्वाधिक रुचाईएको र विक्री हुने बालपुस्तकको सूचिमा यो पुस्तक पर्छ । २००१ देखि आजसम्म यो पुस्तकको विक्रीमा कमि आएको छैन । यो पुस्तकको विषववस्तुलाई आधार बनाएर बनाइएका फिल्म, भिडिओ गेम, र टिभी कार्यक्रम सबैले सफलता प्राप्त गरेका छन् । रमाईलो ढंगले मनोरञ्जन गर्दै नयाँनयाँ शब्दहरु सिक्दै पढ्न सकिन्छ भन्ने अवधारणा दिन सफल भएकाले डा सुसको यो पुस्तक विश्वभरका बालबालिकाले सर्वाधिक रुचाईएको पुस्तकमा पर्दछ ।
स्प्रिङफिल्ड संग्रहालय
स्प्रिङफिल्ड संग्रहालय अन्तर्गत पाँचवटा प्रमुख संग्रहालयहरु छन् । जसमध्ये धेरै बच्चाहरुको रोजाईमा डा. सुसको अदभुत संसार पर्दछ । यो संग्रहालयभित्र बच्चा लिएर पसेपछि बारम्बार बाफरे बाफ शब्द उच्चारण गर्न मन लाग्छ । डा. सुसका बालपुस्तकहरुका पात्रहरुमध्ये केहीलाई चित्र, केहीलाई मूर्ति र खेलहरुको माध्यमबाट यस संग्रहालयमा भेट्न सकिन्छ । ती मानव र पशुपंछीका रुपमा त्यहाँ प्रस्तुत छन् ।
संग्रहालयको सबैभन्दा तल्लो वेसमेण्टमा बच्चाबच्चीलाई मनोरञ्जन गर्नका लागि रंग लगाउँने, चित्र कोर्ने कागज काटेर विभिन्न आकृति दिने, टाँस्ने आदि व्यवस्था छ । संग्रहालयको पहिलो तलामा ३ वटा कोठामा डा. सुसका बाल्यकाल देखिका स्मरणहरु प्रदर्शन गरिएका छन् । चश्मा, टोपी, सोफासेट, चिठीपत्रहरु, उनले चित्रकोर्दा प्रयोग गरेका विभिन्न कलम, सिसाकलम उनले सानो बच्चाबेलामा बुट लगाएर खिचेको फोटो उनी बसेको वेतको मेच, उनको परिवारका चित्रहरु, त्यही कोठाको भित्तामा पारिवारिक वंशवृक्षको रोखाचित्र, आकर्षक ढंगले कोरिएको छ । डा. सुस र उनका पुस्तकका पात्रहरुलाई संग्रहालयमा भेट्न, छुन र खेल्न पनि पाईन्छ । पुस्तकका पात्रहरुलाई संग्रहालयमा प्रदर्शन गरेर स्थान दिएको देख्दा सारै आनन्द र रमाइलो लाग्छ । डा. सुसको सर्वाधिक विक्री भएको पुस्तक द क्याट इन द ह्याटका प्रमुख पात्र, विरालोको करिव सात फिट अग्लो राम्रा, प्लाष्टिकका मूर्तिहरु कोठामा सजाइएका छन् । कोठाको भित्तामा बनाईएको र्याकमा डा सुसका बालपुस्तकहरु सजाएर राखिएको छ । पुस्तक पढ्ने वा हेड फोन लगाएर सुन्ने व्यवस्था छ ।
एरटल द टटल
डा. सुसको अर्को प्रशिद्ध पुस्तक एरटल द टटल को आकृति संग्रहालय भित्र र बाहिर (डा. सुस नेस्नल मेमोरियल स्कल्पचर गार्डेन) वगैंचामा राखिएको छ । संग्रहालय भित्र र बाहिर, विशेष प्रकारको रंगीन प्लाष्टिकद्वारा बनाईएका आकृतिहरु राखिएका छन् । कथामा वर्णन गरिएको जस्तै माहोल बनाउँन पोखरीको बीचमा कछुवाको आकृति राखिएको छ । एउटा कछुवा माथि अर्को गर्दै आठ नौ वटा कछुवाको चाँगमाथि उभिएको कछुवाको राजाको आकृति बनाईएको छ । एरटल द टरटल नामक पुस्तकमा वर्णन गरे अनुसार एउटा पोखरीमा भएको कछुवाले अन्य कछुवालाई शासन गरेर सबैभन्दा माथि उभिएको देखाईएको छ । त्यस कछुवाले राजा हुँ भन्दै सबैभन्दा माथि बस्न खोज्दा सबैभन्दा तल भार थाम्ने टरटल म्याकले मुखबाट आवाज निकाल्दै सन्तुलन विगारे पछि सबैभन्दा माथि उभिएको कछुवा राजा तल भुईमा खसेको कथाको चित्रण यसमा गरिएको छ । यसरी यस संग्रहालयमा डा. सुसले लेखेका र चित्र बनाएका पुस्तकका पात्रहरुलाई विभिन्न रुपमा भेट्न सकिन्छ ।
प्रचुर मात्रामा खानेकुरा भएको ए्उटा रमणीय पोखरीमा थुप्रै कछुवाहरुलाई नेतृत्व दिंदै एरटल रमाएर बसेको थियो । पोखरीको एउटा ढुंगामा राजा भएर बसेर शासन गर्न पाउँदा दंग परेको एरटलको इक्षा आकाँक्षा बढ्दै जाँदा चन्द्रमाभन्दा माथि पुग्ने रहर लागेको वर्णन पुस्तकमा छ । अरुको बुइ चढेर माथि पुगेर बारम्बार दृ्श्यावलोकन गर्न खोज्दा लडेको विषयवस्तुलाई यस संग्रहालयका चित्र र मूर्तिहरुमा दर्शाइएको छ । रंगीन प्लाष्टिकको कछुवाको आकृति स्थायी रुपले स्थापना गरिएकै ठाउँमा केटाकेटीलाई खेल्न कछुवाका थुप्रै प्रतिकृतिहरु राखिएका छन् । पुस्तकमा उल्लेख गरिए जस्तै बच्चाहरुले एउटा माथि अर्को कछुवा राखेर चाँग लगाउँदै खेल्छन् । संग्रहालय भित्र प्लाष्टिक र बाहिर वगैंचामा धातुको मैन पगाल्ने विधिद्धारा मूर्ति निमांण गर्ने विधिलाई गरिएको छ ।
अमेरिकाको म्यासाच्युसेट राज्य अन्तर्गत स्प्रिङफिल्डमा ख्ुलेको यस संग्रहालयमा पुस्तकका पात्रहरुलाई भेट्दा, चित्र र मूर्तिहरु देख्दा आफ्नो देशमा पनि पुस्तकका पात्रहरुको संग्रहालय खोल्न पाए हुन्थ्यो भन्ने भावको अनुभूति भयो । हाम्रो देशमा मुनामदन, सुम्निमा, सोमदत्त, मालतिमंगले शान्ति र कान्ति, मुकुन्द इन्दिरा लगायतका पात्रहरुलाई संग्रहालयको रुपमा स्थापना गर्न सकिन्छ । द एमेजिङ वल्र्ड अफ डा. सुसको संग्रहालयमा बच्चाहरु गएर पढेको, चित्र बनाएको, हेडफोन लगाएर सुनेको, सामन्य ज्ञान प्राप्त गर्दै खेलेको र संग्रहालयको चमेनागृहमा खाएको दृश्य मनभरी छ । संग्रहालयको बाहिर खुला चौरमा डा सुस नेस्नल मेमोरियल स्कल्पचर गार्डेन छ । त्यस गार्डेनमा धातुका विविन्न मूर्तिहरु छन् । लेखक डा सुस मेचमा बसेका छन् । टेबलमा स्केच गर्ने, काट्ने, नाप्ने टेपहरु छन् । उनको वरिपरी पुस्तकका पात्रहरुलाई जीवन्त रुपमा चित्रण गरिएका छन् । डा सुससँगै टाउकोमा अग्लो टोपी लगाएर पूर्ण कदको पशुमानवाकृतिको विरालोको मूर्ति छ । डा. सुसको यस विरालो चिटिक्क परेको फूर्तिलो छ । शरीर हात खुट्टा मानिसको जस्तै र खुट्टा र पुच्छर विरालोको जस्तो भएकाले यसको आकृति आकर्षक छ । घाँटीका लगाएको बो टाई र टाउकोमा लगाएको अग्लो टोपीले विरालोलाई विशेष पहिचान दिएको छ । ठूलो आकारमा हात्ती, जरायो, विरालो २ जना ठाडो कपाल कोरेका केटाकेटी र झण्डै सातफिट अग्लो पुस्तक र त्यसको ठीक अगाडि एउटा मेच राखेर आगन्तुकलाई फोटो खिच्न सजिलो बनाइएको छ । पुस्तकको छेउमा पुस्तकका नायक खलनायकका धातुका मूर्तिहरु छन् । यी धातुका मूर्तिहरु कसरी ढालिन्छन भनेर सम्पूर्ण विधि संग्रहालयको एउटा कोठमा देखाईएको छ । मैन पगाल्ने विधिद्धारा बनाइएका यी मूर्तिहरु विभिन्न बालपुस्तकका पात्रहरु हुन् । पुस्तकका पात्रहरुलाई जीवन्त बनाएर खोलिएको संग्रहालय अवलोकन गरेर आफ्नो देशमा पनि यस्तै खोल्ने प्रकृतिको संग्रहालय स्थापना गर्ने विचार लिएर फर्केको छु ।
डा. सुसकी सौतेनी छोरीले हवाईबाट कला र मूर्तिकला विषयमा मास्टर डिग्री हाँसिल गरेपछि त्यसलाई प्रयोग गरेर विभिन्न ठाउँमा मूर्तिहरु डिजाइन गरिन् । डा सुस नेस्नल मेमोरियल स्कल्पचर गार्डेनमा रहेको डा. सुसको मूर्ति टेवल र र द क्याट इन ह्याटको निमार्ण डाइमण्डकेटसले गरेकी हुन् । लार्कक्रो र लिगेरी डा्इमण्ड दिदीबहिनीले यस संग्रहालयलाई डा. सुसका महत्वपूर्ण सामग्रीहरु उपहार दिएका छन् । जीवनीलाई आधार मानेर एउटा संग्रहालय खोल्न परिवारका सदस्यहरुको ठूलो योगदान हुन्छ भन्ने तथ्यको लागि यो ज्वलन्त उदाहरण हो ।
नेपालमा शिक्षा र संग्रहालयको सम्बन्ध हुन सकेको छैल । बालशिक्षालाई प्रभावकारी बनाउँन संग्रहालयले प्रभावकारी भूमिका खेल्दछ । पुस्तकमा वर्णन गरिएका विविन्न विषयवस्तुलाई संग्रहालयमा देख्न पाउँदा शिक्षक र बालबालिका दुवैलाई फाइदा हुन्छ । संग्रहालयले पनि विद्यालयहरुसंग सहकार्य गरेर यस्ता शैक्षिक गतिविधि गर्न आवश्यक छ । यसप्रकारको गतिविधिले संग्रहालयको महत्व र भूमिकाको प्रचार हुन्छ । विद्यालयमै पनि स्थानीय जनजिबन झल्कने खालको संग्रहालय स्थापना गर्न सकिन्छ । यस्तो कार्य गर्न थोरैमामा अतिरिक्त खर्च गरे पुग्छ । जिल्ला शिक्षा कार्यलय, स्थानीय नगरपालिका, गाउँपालिका र विद्यालय व्यवस्थापन समितिबाट यस किसिमका कार्यलाई अगाडि बढाउन सकिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)