मरुभूमिको तातो बतासमा रगतपसिनाले दुखान्त कथा लेख्दैछु

म परदेशी

सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक, हालः लिमासोल, साइप्रस

मन मौन छ,
भावना भक्कानिँदै दुखेर,
आँखाको डिल रसिलो पार्दै,
आँशुको रुप लिएर
अधरको बाटो हुँदै
तप तप चुहिरहेको छ,
नाबालक बच्चाको कलिलो हत्केलामा
सँगै उभिएको अर्धाङ्गिनी
अर्ध बेहोसी
बुढ्यौलीले छोपेको बाआमा
मसिनो स्वरमा
आशिर्वाद दिँदै,
के के भनेर फतफताउँदै,
बाह्रा पास गरेर अमेरिकी डिभी भरेर
भाग्यको अग्निपरिक्षा कुर्दै गरेको बहिनी
आगामी दुई–चार बर्षको तिहार
एकै फेर
खादा–माला लगाएर मनाउँदै
मलाई विदाई गर्दैछ
म परदेशी ।

डुबेको घामसँगै
जागेको रातको सन्नाटा चिर्दै
बोईङ चढेर
टाढाको बस्तीमा
आधुनिक दास बन्न
एक हुल युवाको भिडमा
म हराउँदै–हराउँदै, टाढा–टाढा जाँदैछु
चाहनाको मलामी बनेर
रहरको दाहसंस्कार गर्दैं,
थुप्रै आफ्ना र आफन्तको प्रेमलाई
मनको सन्दुकमा
सन्जिवनी बुटीलाई जसरी
सुरक्षित गरेर
टाढा–टाढा जाँदैछु
म परदेशी ।

नियतिको शिकार बनेर
मान्छे निर्यात गर्ने प्राईभेट कम्पनीमा
ऋण गरेर बुझाएको पैसामा
आफुले आफैलाई बेचिरहँदा
मेरो परिचय हरियो पासपोर्ट
विदेशी एयरपोर्टको अध्यागमनमा
ओल्टाईपल्टाई
बिगार्दै गरेको अफिसरको मुखाकृतिले
सगरमाथा झुक्दै बुद्धको शान्तित्वमा
केही रेक्टरको भुँईचालो पछिको
परकम्पन गयो कि ?
म नियमले होइन, नियतिले बनेको
म एक परदेशी ।

आशाको त्यान्द्रोमा
भरोसाको जुईनोले कसेर
मरुभूमिको तातो बतासमा
रगतपसिनाले दुखान्त कथा लेख्दैछु,
सँगै गएको साथी
रातो बाकसमा बन्द भएर फर्केको देख्दा
चिरा परेको मनभित्रको
घाइते मुटुलाई दुखाउँदै
यादको रोटीमा
सम्झनाको तिऊन मिसाउँदै
आँसु पिउँदै, हाँसो भुल्दै
सुनसान रातहरुमा तड्पिनु विवश
म दुखी परदेशी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button