नेपाल आउन हतार नगरिस्यो, अमेरिकै बसिस्यो

मन्जुकिरण

एकाबिहानै फोनको घण्टीले रामहरिको आँखा खुल्छ । पक्कै कान्छो छोरा राकेशको फोन भनेर खुशी हुँदै फ़ोन उठाउँछन् ।

छोरोः हेलो बुवा ढोग गरेँ ।

रामहरिः भाग्यमानी भएस् बाबु !

छोरोः सबै कुशलमंगल नै छ नि ? आमाको घुँडाको समस्या कस्तो छ अहिले ?

रामहरिः अब त्यो समस्या बाचुन्जेललाई हो बाबु ! जति औषधि उपचार गर्दा पनि ठीक भएन क्यारे ! यस्तै हो, चलिरहेकै छ जसोतसो । अनि तेरो सुना, के छ तेरो ? दशैंमा मिलाएर आउँछु भनेको पनि ६ वर्ष भईसक्यो तर तेरो दशैं आएन बाबु ।

छोरोः यसपाली चै सविनासँग सल्लाह गरेर जसरी पनि आउँछु बुवा । बरु छेउछाउमा सविना छिन् भने पाउँ न । उसलाई फोन गरेको लाग्दै लागेन ।

राकेशः हेलो सविना, आराम छौ ?

सविनाः हजुर म त आराम नै छु । हजुरलाई पो कस्तो छ ? फोन गर्दा पनि उठ्दैन, काममा व्यस्त भएर होला ।

राकेशः हो नि, बिहान ७ बजे हिँड्यो, आउँदा यति बेला हुन्छ अनि कसरी उठ्नु त फ़ोन ? अनि सुन न, अब हाम्रो कति जति होला बाँकी ? २–४ महिनामा सकिने रैछ भने यसपाली दशैंमा यहाँ छोड़ेर आउनु पर्ला ।

सविनाः ३५ जति (३५ लाख रुपियाँ) होला । अनि के भनिसेको हजुरले आउने रे ? हजुर अमेरिका गएपछि अमेरिकाको इज्जत राख्न भए पनि छोराछोरीलाई राम्रै स्कूलमा हालेको छु । फेरि घर खर्च, तिरोतारो सबै बाँकी छ । २–४ वर्ष त आउने कुरा नसोचिस्यो हजुरले । बरु मिलेमा मलाई पनि उतै बोलाइस्यो । म पनि होस्टेमा हैंसे गरौंला ।

राकेशः (३५ लाख सुन्ने बित्तिकै होस उड़छ उसको, अलि ठुलो स्वरमा) ३५ लाख अझै ? ल त ल म विचार गर्छु अझै । अहिलेलाई बाई !

ससुराः (फोन राखेपछि अचम्म मान्दै) कुन पैसाको कुरा गरेको सविना राकेशले ?

सविनाः के को हुनु नि बुवा अमेरिका जाँदाको ऋणको नि ! कहिले सकिने भएन यो ऋणको बोझ पनि ।

ठाडो जावाफ दिएर फत्फताउँदै भान्सा छिर्छे सविना ।

विगतमा फर्किन्छन् रामहरि । सरकारी स्कूलको जागिरे । २ छोरा २ छोरी गरेर ६ जनाको परिवार । दुःख गरेरै भए पनि प्राइभेट स्कूलमा पढाएका थिए सबै सन्तानलाई, बेलामा लगानी गरे भविष्यमा फल पाइने आशले । दुईटी छोरीलाई राम्रो कुटुम्ब फ़ेला पारेर बिहे गरिदिए केही वर्षअघि । जेठा छोराको १० वर्षअघि नै सवारी दुर्घटनामा मृत्यु भइसकेको थियो । कान्छो छोरा राकेश पनि प्राइभेट कम्पनीको जागीरे । राम्रो थियो आम्दानी पनि । धनी घरकी छोरी सविनालाई आफ्नै मर्जीले विहे गरेर ल्याएको थियो । १ छोरा र १ छोरीको बाउ थियो सविन ।

एक दिन अफिसबाट खुशी हुँदै आएर कम्पनीले उसलाई २ महिने ट्रेनिङमा अमेरिका पठाउन लागेको बतायो । घरका सबै खुशी । २ महिनापछि फर्केर आउने वाचासहित विदाबारी भयो राकेश । फर्केर आउने दिन नजिक हुँदा नै राकेशले फोन गरेर अफिसबाट २ बर्षे बेतलवी बिदा पाएकोले अझ २ वर्ष उतै बस्ने र कमाएको पैसा मुद्दती खातामा राख्न पाए घर खर्चको लागि सजिलो हुने कुरा बतायो । हामीले पनि नाई भन्न सकेनौं ।

विगत ६ बर्षदेखि राकेशले सविनाको खातामा पैसा पठाइरहेको छ । सविनाले त्यो पैसा कता कता लगानी गरी ? के केमा खर्च गरी । त्यो उही जानोस् । मैले थाहा पाए अनुसार राकेशको टिकटसहित सबै खर्च कम्पनीले नै बेहोरेको थियो । आज आएर अमेरिका जाँदाको ऋण भन्छे सविना ? रामहरिले बुझ्न सकेन कुराको जड् ।

एक दिन अचानक एकजना आफन्त सविनालाई खोज्दै घर आइपुग्छन् । सविना घरमै थिई । रामहरिले आफन्तसँग आउनुको कारण सोध्छन् ।

के हुनु काका ? थोरै लगानीमा धेरै प्रतिफल भनेर सविना भाउजुले ढुकुटीमा पैसा हाल्न लगाउनु भयो । आफू त डूब्नु भयो भयो, मलाई समेत डुबाउनु भयो, मीठी कुरा गरेर । त्यै पैसा अलिअलि भए पनि पाइन्थ्यो कि भनेर आको नि । जहिले आए पनि भेट हुने हैन क्यारे ।

यो कुरा सुनेर छाँगाबाट खसे झैं हुन्छन् । एकोहोरो भएर टोलाइरहन्छन् रामहरि ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button