तिर्सनाकै पोखरीमा तपस्वी ऋषि विश्वामित्र निर्लज्ज फसे

तिर्सना

टंकमणि अधिकारी

बैँस फक्रेपछि
लालायित हुन्छन् आँखाहरू
अधरको मुस्कान चेपेर
उत्ताउलिएर झुलेका बाह्रमासे परेलीहरू
निचोरिरहन्छन् जिन्दगीका तरङ्गहरू
कल्पनाको काँटी कसेर
तिर्सनाको घोडा कुदाइरहन्छन् मान्छेहरू
रित्तो पोखरीमा
चुर्लुम्म जिन्दगी डुबाएर
सपनाको
खट्प्वालमा आँखा गाड्छन् मान्छेहरू ।

तिर्सनाको रागमा
बलेको राँको जब रन्किएर उफ्रिन्छ
अनि बगैंचाका पुतलीहरू
अखण्ड दीपशिखा चुम्न पुग्दछन्
तिर्सनाको डढेलोले
पोलेका परेलीका कोइलाहरू
वर्षाउन सक्तैनन् नयनामृत आँशुहरू
तिर्सनाकै पोखरीमा
तपस्वी ऋषि विश्वामित्र निर्लज्ज फसे
राज्य तिर्सनाले
दुर्योधनहरूको स्वर्णिम हस्तिनापुर बगायो ।

तिर्सनाका तरवारहरू
आधुनिक
वादशाहहरूको गला रेट्नसक्छन्
वर्तमानका जहरिला मिसाइलहरू
निर्माणकर्ता
स्वयंका लागि समेत घातक हुनसक्छन्
बन्द गर हतियारका होडहरू
छाडेर तिर्सनाका भेलहरू
वर्षाओ प्रेमका मानवतावादी फूलहरू
निभ्नुपर्छ तिर्सनाका डढेलोहरू
खुल्नुपर्छ मानवताका नयनका परेलीहरू
छोड जिन्दगी एउटा पात हो
झरेपछि बगाउँछ समयले
उम्रेपछि झर्नै पर्छ स्वयं
तिर्सनामा
किन लालायित हुन्छन् पातहरू ?
बन्द गर
हारजीतका होडहरू
उडाइदेऊ पिँजडाका निश्छल चराहरू ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button