जब मलाई भुइँचालोले छुन्छ, डगमगाउन पर्ने अवस्था तिम्रो आउँछ

प्रज्ञा अर्याल

म पर्वत बनेर ठिङ्ग उभिदिँदा
तिमीले नदी समान बग्ने अवसर पायौ
म चट्टानरूपी पत्थर बनिदिँदा
तिमीले हवासरी उड्ने मौका पायौ ।

मैले मनभरी चाहनाका पोखरी जमाइदिँदा
तिमीले माछा जसरी पौडन पाएका छौ
म ओडारभित्र गुम्सिदिँदा
तिमीले पंख फैलाउन पाएका छौ ।

म गाई बनिरहँदा
तिमी सिंह बन्न पाएका छौ
म खुड्किलो बानिदिँदा
तिमी शिखर चढ्ने भएका छौ ।

जब मलाई भुइँचालोले छुन्छ
डगमगाउन पर्ने अवस्था तिम्रो आउँछ
जब मेरो जरा काटिन्छ
पहिरो तिमीमाथि खस्न सक्छ ।

चाहनाका पोखरीहरू जब पग्लन्छ
पश्चातापले तिमीलाई डुबाउन सक्छ
पर्वत जब भासिन थाल्छ
घरबार तिम्रो मासिन सक्छ ।

ओडारभित्र बसी हेर
आफ्नो पंख काटी हेर
पोल्यो भने पश्चातापले
आत्था भन्ने साहस गर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button