जब बुवाले अंगालोमा कस्नुभयो, मेरो मुटुको धड्कन जोडसँग धड्किरहेको थियो

सत्यकथा

रितु शाक्य

मलाई स्मरण भएको पल मेरी आमाको काखमा खेल्दै गरेको मेरो वाल्यावस्था जहाँ मैले आफ्नो बुवालाई वास्तवमै चिन्ने अवसर मिलेन । दुई तल्ले घर भुइँ तल्लामा चार कोठा जहाँ बहालमा बस्ने मान्छे थिए । माथिल्लो तल्लामा म र आमा बस्ने गर्थ्यौ ।

महिनाको एक–दुई पटक एक दुई दिनको लागि बुवा आउनु हुन्थ्यो, बसेर जानु हुन्थ्यो । मलाई हेर्नु पनि हुन्नथ्यो । लाग्थ्यो, नचाहेको सन्तान हुँ म सायद । आमासँग खै के के कुरामा भनाभन हुन्थ्यो, आमा सधैँ रुनु हुन्थ्यो । म सानै थिएँ । मेरी आमा कान्छी श्रीमती हुनु हँदोरहेछ । त्यसैले हामीलाई छुट्टै घरमा राखिएको रहेछ ।

मैले जिन्दगीमा बुवाको माया कहिले पाइनँ । म विद्यालय जाँदा सबका बुवाले लिन, राख्न आउनुहुन्थ्यो । आमालाई कतिचोटी भन्थेँ पनि, ‘बुवा किन हामीसँग बस्नु हुन्न ?’

आमा सम्झाउनु हुन्थ्यो, ‘बुवाको काम छ, त्यसैले ।’

आयस्रोतको नाममा त्यो घरको भाडा मात्रै थियो । बुवाले कहिले पनि आमालाई खर्च दिनु भएन । ‘सिंगै घर दिएको छु’ भनी अभिमान गर्नु हुन्थ्यो । आमा जसोतसो घर सम्हालेर बस्नुभएको थियो ।

दिनहरु बित्दै थिए । आमा मेरो चिन्ता लिनु हुन्थ्यो । सधैँ मलाई ‘धेरै पढ्नु पर्छ, ठुलो मान्छे बन्नु पर्छ’ भन्नु हुन्थ्यो । सानै भए पनि आमाका दुखलाई बुझ्न सक्थेँ । त्यसैले आमालाई भन्थेँ, ‘आमा ! भोलिपर्सि म ठुलो भएपछि धेरै कमाउँछु अनि आमालाई खुशी राख्छु ।’ मेरो कुरा सुनेर आमा आँखाबाट बरर आँशु खसाल्नुहुन्थ्यो । म मेरा कलिला हातले आशु पुछिदिन्थेँ ।

दिनहरु बित्दै जाँदा मैले एसएलसी पास गरेँ । प्लस टू को लागि कलेज भर्ना पनि भएँ ।

एक दिन आमा बजार जानु भएको थियो । म घरमै खाना पकाउँदै थिएँ, ढोकामा घन्टी बज्यो । मैले आमा हुनु होला भन्ने सोचेर ढोका खोल्न गएँ । बुवा आउनु भएको रहेछ । मैले उहाँको लागि चिया नास्ता बनाइदिएँ । त्यो बेलामा पहिलो पल्ट होला, उहाँले मलाई राम्ररी हेर्नु भएको । त्यो दिन उहाँले मेरो पढाईको बारेमा पनि सोध्नु भो । म मनमनै खुशी थिएँ ।

त्यो दिनदेखि बुवा केहि दिन बिराएर आउन थाल्नु भयो । हामी आमाछोरी धेरै खुशी थियौँ । बिस्तारै बुवा मेरो कोठामा आएर मसँग बोल्न थाल्नु भो । एक्कासी बुवामा आएको परिवर्तन हामीले बुझ्न सकेनौं । एक दिन आमा कामले बाहिर जानु हुँदा बुवा घर आउनु भयो । त्यो दिन बुवा मेरो कोठामा आएर बस्नु भयो । बिस्तारै उहाँले मेरा हात समाउनु भयो र सँगै बसाउनु भयो । उहाँले मलाई अनौठो तरिकाले हेर्नुभो । बिस्तारै मेरा पिठ्युँ सुम्सुमाउनु भयो । मलाई अलि असहज अनुभूति हुँदैथ्यो । बिस्तारै उहाँले मलाई अंगालोमा कस्दै गर्दा म डराएँ अनि त्यहाँबाट निस्केँ । डरले मेरो मुटुको धड्कन जोडसँग धड्किरहेको थियो । त्यतिकैमा आमा आउनु भयो, मलाई अलि राहत भयो । तर त्यो सिलसिला त्यही रोकिएन । आमा नभएको मौका छोपेर बुवा बारम्बार आउन थाल्नु भयो । म विभिन्न बहाना गरेर घरबाट निस्कन्थेँ । आमा आउनु भएपछि सँगै घर जान्थेँ । बुवा मसँग धेरै रिसाउनु भयो । मलाई ‘कोसँग भेट्न जान्छेस्’ भनेर गाली गर्नु भयो । आमालाई पनि कराउनु भयो, ‘यसको चालामाला ठिक छैन, यसलाई घरबाट निस्कन नदिनु ।’

म चुपचाप डरले काँप्दै कोठामा जान्थें । यस्तो कुरा मैले आमालाई भन्न पनि सकेको थिइनँ । बिस्तारै मभित्र डर र त्रासको मात्रा बढेर मलाई डिप्रेसन कहिले भयो थाहै भएन । रातभर निद्रा नलाग्ने, छिनछिनमा तर्सिने समस्या हुन थाल्यो । यसले गर्दा म बिस्तारै बिरामी हुँदै गएँ । आमाले मलाई डाक्टरकहाँ लानुभयो । त्यहाँबाट मलाई निद्रा आउने दवाई खुवाइयो । बुवाले मलाई बारबार धम्काउनु हुन्थ्यो एक्लै हुँदा । आमाले मलाई त्यसपछि एकछिन पनि एक्लै छोड्नु भएन ।

मेरो भाग्य भनौँ या भगवानले मेरो बिन्ती सुनेको भनौँ, बुवाको विदेशमा ट्रान्सफर भएछ ५ वर्षको लागि । म त धेरै खुसी थिएँ । बुवा जानुअगाडि आमालाई चेतावनी दिएर जानु भो, ‘यसले कसैसँग संगत गरे राम्रो हुँदैन ।’

बुवा गइसकेपछि मैले हिम्मत गरेर आमालाई सब घटना वृतान्त सुनाएँ । आमा धेरै रुनुभयो । मसँग क्षमा माग्नुभयो र भन्नुभयो कि उहाँको कारणले मलाई यस्तो भयो । खासमा आमाको के दोष थियो र ? बुवासँग आमाले साँचो प्रेम गर्नुभएको थियो ।

समयले कोल्टो फेर्‍यो । मेरो एकजना हितैषी मित्रको सहयोगमा म सद्गुरुको आश्रममा पुगेँ । त्यहाँ बसेर मैले धेरै अध्यात्मका ज्ञान सिकेँ । ध्यान, योगका विविध कक्षामा भाग लिएँ । धेरै राम्रा व्यक्तित्वहरुसँग भेटेँ । त्यो सिलसिला १ बर्ष पुरै चल्यो । त्यसबाट मैले जिन्दगीको धेरै कुराहरु बुझ्न सक्ने भएँ ।

मुख्य त मैले बुझेको जानेको कुरा, समय, काल र परिस्थिति जे जस्तो किन नहोस्, यदि आफ्नो मनस्थिति ठिक छ भने सब ठिक हुन्छ । मैले आफ्नो मनास्थितिलाई कम्जोर गरेको कारणले म हेपिन पुगेको रहेछु । मैले सानैदेखि धेरै अपेक्षा गरेकोले दुख पाएको रहेछु । अरुको भरमा बाँच्ने मेरो कमजोरीपन रहेछ । अन्यायविरुद्ध बोल्न नसक्नु मेरो आफ्नो कमजोरी रहेछ । फेरि मैले गलत गर्नेलाई आफु कमजोर बनेर हौसला दिएको रहेछु । मैले अरुलाई गलत भन्ठानेको थिएँ तर गलत म स्वयम रहेछु । अरुलाई माफी दिएपछि बल्ल आफ्नो स्वतन्त्रताको ढोका खुल्ने कुरा पत्ता लगाएँ । सबमा ईश्वर रहेछन्, प्रारब्धको कर्म अनुसारको फल मैले पाएको रहेछु र बुवा त केवल मेरो कर्म कटाउने मध्यम बन्नुभएको रहेछ । जस्तो घटना भयो, त्यो मलाई नै बलियो बनाउनको लागि पो रहेछ । यी सब ज्ञान सिकेपछि मैले संकल्प लिएँ कि अब म आफुलाई यति शक्तिशाली बनाउँछु कि कसैले मेरो रौँ पनि हल्लाउन नसकोस् । मैले विविध तालिम लिएँ आत्मनिर्भर बन्ने । त्यसमा भरपुर मेहनत गरेर आफुलाई एउटा गहन पदमा स्थापित गरेँ ।

संकल्प शक्ति पाएपछि असम्भव भन्ने केहि हुँदो रहेनछ । त्यसपछि मेरो सानोदेखिको लक्ष्य पूर्ण भएको छ । बुवासँग सम्पूर्ण नाता तोडेर आज हामी आमा छोरी एउटा नयाँ शुद्द, स्वतन्त्र, खुसी, शान्त र आनन्दित जीवनयापन गर्दैछौं । समय परिवर्तनशील छ । केहि पनि कुरा स्थाई हुँदैन । समय सबैको सधैँ एकनास हुँदैन । हामीले जीवनमा हार खानु भनेको आत्महत्या गर्नु बराबर हुन्छ । आफुलाई सधैँ अग्रसर राख्नु पर्छ जे जस्तो परिस्थितिमा पनि ।

परिस्थिति जे जस्तो भए पनि मनस्थिति बलियो भयो भने बदलाव सम्भव छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button