विदेश भ्रमणका रमाइला ५६ दिन गौण भए

चित्रबहादुर के सी तिमिल्सिना ‘अकेला’

१७ साउन २०७९ शुक्ल पन्चमी तिथि अर्थात् ०२ अगष्ट, ०२२ हाम्रो अष्टिनदेखि डालस तिरको सवार टेस्ला कारबाट हुँदैछ । निकोपर्सी (०६ अगष्ट, २०२२ मा) मेरी उनी पद्मावती के सी अष्ट्रेलीया जाँदै छिन् । त्यसैले आज मंगलवार ‘मंगले च पूर्वे गमने च लाभ’ संझना आई हाल्यो । यो भौतिक शरीर पाताल लोकतिर पुग्दा पनि त्यो आँफू जन्मेको थात्थलो र संस्कार पटक्कै बिर्संदैन ! कर्मानुसारको जात निर्माण भएको इतिहास छ, असल कर्म गरे ब्रह्मत्व बढ्ने सल्लाह दिंदै गरेको पुरानो भई सक्यो । यस्तै घुमाई फिराईका क्रममा मानव सृष्टिमा दुई जात मात्र मानेको अनुभव संचय छ । यस्ता खाले उठ बसका बीचमा पनि नेपाल आमाको लाम्टो चुसेको भएर होला उनको भारा तिर्ने यो मति फिरेको अनुभूति हुन्छ । कतै लामो समय यात्रामा निस्कन लाग्यो कि साइतमा पन्चामृत सुर्काउनु पर्ने याद आईहाल्छ ! गरौं के ? जय शम्भु ।

पन्चामृत- दुध दही घ्यू मह चिनीको मिश्रण गरी तयार गरियो । यात्राका- प्रमुख पद्मा म्याडम् र साथमा छोरा-ओशु बिक्रम क्षेत्री, उनका साथी प्रायुश पोखरेल र मैले मंगलाचरण गरें पन्चामृत चारै जनाले ग्रहण गर्यौं । टेस्ला कारले हामीलाई पर्खेको थियो । दिउँसो ४.१९ बजे घरबाट बाहिरियौं । आजको हाम्रो प्रस्थान- 12220 Hunters Chase Dr., Apt 9202 Austin, TX 78729 बाट शुरु भई गन्तव्य स्थान 1337 Meadow Creek Dr, Apt 294 Dallas, Irving, Tx 75038 US भतिजी मोनाली केसीको बसाईसम्म थियो । कारको TPS ले screen मा गन्तव्यमा पुग्न १७५ माईल ( २८७.५ /२८८ कि मि हुन्छ क्यारे) बाटो र समय ३.३७ घण्टा लाग्ने देखाई रहेको थियो ।सबै जना कारमा बसियो अनि तातो बाटो तताइयो । तर, कारले सितलता प्रदान गरेर आफ्नो कर्तव्य निर्वाह गरेकै थियो !

करिब ८०-१०० माइल प्रति घण्टा कारको गति थियो । त्यो कुदाईमा यी दुई मर्मत संभारमा परी सीसाको बर्को ओढी बसेका दुई नेत्रले बटुलेका दृष्यहरु बरु एक मुखले छुट्पुट गरी बताउन सक्ला ! तर, यी दुई हातले जस्ताको त्यस्तै व्याख्या गरी उतार्न सक्ने लागेको छैन । तैपनि यसमा चासो राख्ने कोही पाठक हुनु भए कतिसंम पढ्दा चित्त बुझाउन सक्ला त्यो यो पंक्तिकारको प्रतिक्षाको बिषय नै रह्यो ! यहाँ गड्यउला सरी देखिने यी चाक्ला बाटालाई पनि भ्याई नभ्याई छ ! कतै औद्योगिक क्षेत्र र स्वास्थ्य केन्द्र कतै उर्वरा भूमि छिचोल्दै गर्दा डालस सहर को डाउन टाउनका गगनचम्वी भवनहरु देखिन थाले । केही क्षणमा हामी डाउन टाउन नजिक पुग्यौं । ती गगनचुम्बी भवनका फेंदमा जेलिएका थिए चाक्ला व्यस्त बाटाहरु !

हामी निश्चित ठेगानामा पुग्दा साँझको ७.४० बजेको थियो । उत्तर टैक्सासको डालस सहर अर्बिन (Irving) भन्ने ठाँउ हाम्रा भतिजी मोनाली के सी जसले आजको गाँस बासको व्यबस्था गरी राखेकी थिइन् त्यहाँ पुग्यौं । हाम्रो सवारी टेस्ला कार ! जो बाटो देखाउँदै कुद्छ, गन्तव्य कता हो बुझ्छ र त्यहींसम्म पुग्छ आश्चर्य छ ! बाहिर तिर चरम गर्मी, कोठामा सितल थियो ! ओशु र प्रायुश आजै राती ९.०० बजे अष्टिन फर्किने निधो गरे । उनीहरु बेलुकिको खाना खाएर फर्के पछि त्यहाँको मोटा-मोटी जानकारी मोनाली के सी मार्फत लिंदै आजको बेली विस्तार बिट यहीं मारियो ।

०३ अगष्ट ०२२, आज भतिज सुजन के सी ले हामीलाई आफ्नो घरसम्म लैजान आउँदै थिए ।उनी आउनु पूर्व हामीले भारतीय बापु जी महात्मा गान्धीको मूर्ति राखिएको स्थल देख्यौं ।जुन स्थान अमेरिकी तेश्रो राष्ट्रपति Thomas Jefferson Park को नामले प्रसिद्ध थियो । त्यसै स्थानमा भारतीय मुलका नागरिकले Thomas Jefferson को मूर्ति हटाएर ०२ अक्टुवर, २०१४ मा गान्धीको मूर्ति सजाएर गान्धी मेमोरियल पार्क बनाएका रहेछन् । यसबाट बुझ्न सरल हुन्छ कि भारतीयहरुले त्यहाँ नेर कति प्रभुत्व जमाएका रहेछन् ! त्यहाँ भारतीय र नेपाली हिन्दुहरु प्रशस्त बसोबास गरेको पनि पाइयो। त्यता वरपर नजर घुमाउँदा लाग्यो हाम्रो सगरमाथाको पानी पिएर होला कत्रो हिम्मत ? गान्धी मेमोरियल पार्क निर्माण गरी छाडेछन् । करिब १४ बर्ष त्यहाँ बिताएका हाम्रा भतिज सुमन के सीले पनि यही कुरा थप पुष्टी गरी सुनाए । पेशाले उनी व्यवसायी, हल्का पेय पदार्थ लगायत सामानका ४/५ वटा पसल डालसमा छन् । हाल उनी 106 Drake Ln Garland 75043 -8902 Dallas,Tx मा जीवन संगिनी श्रद्धा क्षेत्रीकासाथ स्थायी रुपमा वासोबास गरी बसेका छन् ।

०४ अगष्ट, ०२२, सबेरै खानपिन पछि Hickory Bend Trl, McKinney,Tx 75051-6697 हाम्रा मित्र दुर्गा/ इन्दु आले निवास ३५ मिनटको ड्राइभमा पुग्यौं ।उनी पूर्ण नेपाली संस्कारमा जमेर बसेको देखियो । छोरा निर्मल आले/ बुहारी काजोल मातन्छे (आले) छोरी सोनु आले पाँच जनाको सुन्दर परिवार ! निर्मल अमेरिकी सेना निवृत्त हुन् भने काजोल इन्जिनीयर सबै आ-आफ्नो काममा व्यस्त छन् ।उनीहरुले एक ‘51 Rain Bow Indian Grill’ नामक रेष्टुराँ पनि सन्चालन गरेका छन् । हामीलाई त्यहाँका स्वादिष्ट परिकार चाख्ने अवसर मिल्यो ।हाम्रै नेपाली भाइहरुको जमघट छ । कोही पुग्नु हुने भएमा यो पंक्तिकारले भनेका कुरामा पूर्ण सत्यता पाउनु हुनेछ सुस्वागतम् !

०५ अगस्त ०२२ मेरो निमित्त थोरै पट्यार लाग्दो हुन गैरहेको अवस्था थियो । निर्मल / काजोल बिहान ७ बजे काममा गई सकेका हुन्थे ।आज शुक्रबार दुबै जना ८ बजेसंम किन ? मेरो प्रश्नमा दुबैले हामीसंगै (अंकल/अण्टी) घुम्न जाने भनेर काममा छुट्टि लिएका भन्ने उत्तर आयो । किनभने भोली पद्मा अण्टी अष्ट्रेलीया जानु हुनेछ ! डालसको डाउन टाउन नजिक पर्ने Hyatt Regency Dallas ले निर्माण गरेको Dallas Reunion District नामक Tower चढेर हेर्ने भने पछि धन्यवाद सुम्पिहाल्यौं ! खानपिन पछि करिब ४० मिनटको नै ड्राइभमा त्यहाँ पुग्यौं । टावर चढ्न कति थियो टिकट ? पत्तो पाउन सक्ने हाम्रो हैसियत रहेन ! खै कतिको गतिमा चढियो, ती गगनचुम्बी भनिएका भवनहरु भन्दा माथि पुगिएछ ! झट्ट याद आयो HongKong, Tokyo, Boston, New York र Toronto का ती Towers जो चढी सकिएका थिए । त्यहाँ बाट चारैतिर अटूट नियाल्यौं । अमेरिकी ३५ औं राष्ट्रपति John F Kennedy को हत्यास्थान स्पष्ट देख्न सकिन्छ । George Bush र JF Kennedy बढी नाम लिइने सहरमा पर्छ डालस । यो टावर खुला रहने समय बिहान १० देखि बेलुकी १० बजेसंम रहेछ । हामीलाई त २ घण्टा नै पर्याप्त भयो । त्यहीं बाट हेर्दा मलाई लाग्यो ती बाटाहरु ! कतै बफायर बाँटामा राखिएका चाउमिन जस्तै ! अनि सहरको नामै फेर्दिउँ फेर्दिउँ लाग्यो, चाउमिन सहर डालस ! साँझको ०६ बज्यो, हामी फर्कियौ McKinney को बासमा ।

०६ अगस्त ०२२ पद्माले लैजाने लगेज ५० र ६० पाउण्ड थियो । तयार गरी आफ्नो नित्यकर्म सकेर खाना खायौं । दुर्गा भाइ र इन्दु आले बिदाईका सामाग्री बनाउँदै रहेछन् ! निर्मलको निशान कारमा (घरमा जनही कार छन्) सामान लोड गरी सकेपछि दुर्गा दम्पतिले टीका खादा लगाई बिदाई गर्दाको क्षण अलि भावुक बन्न पुगियो ! उनी तेश्रो पटक जाँदै गर्दा यो यात्रा बिशेष किसिमको रह्यो । पहिलो पटक सन २०१८ फेब्रुअरी पहिलो हप्तामा जाँदा संगै भैयो ! दोश्रो पटक म यतै उनी उतै नेपालमा हुंदा फोन संपर्कले बिदाई गरियो । यस पटक स्वदेशबाट संगै बिदेशमा आएका बुढा बुढी छुट्टिएर बिदेशै बिदेश भएका हामी मात्र हौं जस्तो लाग्यो । Mckenney बाट Dallas Airport सम्म ४० मिनटको बाटो काटेको पत्तै भएन । निर्मल/ काजोल संगै काउण्टर पुगेर पद्माको बोर्डिंग पास लिई सकेपछि उनीहरु अष्टिन साथीकोमा गए । त्यत्तिमै हामी संगै बस्ने समय तुरिएछ ! १४/१५ मिनटको बसाई पश्चात समयको निश्चितताले सुरक्षा जाँच कक्ष जान उनलाई वाध्य गरायो । उनी लामबद्ध बनेर भित्र सुरक्षा जाँच कक्षमा प्रवेश गरी सकेपछि… यस पटकका हाम्रा विदेश भ्रमणका रमाइला क्षणका ५६ दिनहरु नै गौण भई दिए …!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button