
डरः त्यो कालो रातमा म एक्ली किशोरी
सानियाँ कँडेल
अनकन्टार अन्धकारमा हिँडिरहेकी मेरो साथमा एउटा टुकी पनि थिएन । अझ बिना साथी हिँड्नुपर्दा आफ्नो त हंशले नै ठाउँ छोडिसकेको थियो । उसै त अँध्यारो, अझ त्यसमाथिको सन्नाटालाई पचाउने सकभर जमर्को गर्दै छामछाम छुमछुम गर्दै मेरा पाइलाहरू अघि बढिरहेका थिए ।
अझ अहिलेको यो देशको अवस्था पनि ठीक छैन, अहँ, ठीकै छैन ! कति बेला कहाँ कसलाई के हुने हो कसैलाई ज्ञात पनि त छैन । नारीको सम्मान र कदर गर्न नजानेको यो देशमा हालको त्यो समयमा कसरी निर्धक्क हिँड्न सक्थेँ र म ? पढाईका निमित्त विद्यालय गएकी छोरी भरे सकुशल फर्किन्छे कि नाई भनेर चिन्तनमा बसिरहनुभएकी मेरी आमालाई समय आएपछि सबै ठीक हुन्छ आमा चिन्ता नलिनुहोस् भनेर सान्त्वना दिएर हिँडेकी हुँदा त्यही कुराको स्मरण गर्दै मेरा पाइलाहरू जोसिएका थिए ।
अहिलेको यो देशको अवस्था कस्तो छ ? थाहा छ नि, जताततै बलात्कारका घटनाहरू घटिरहेछन् । बाहिरको कुरा त परै जाओस्, आफ्नै घरभित्र पनि सुरक्षित छैनौ हामी । सत्तरी वर्षका बुढा बाजेले आफ्नै नातिनीको बलात्कार गरे रे । अझ तीन महिनाकी नाबालिकालाई पनि नछोडेको कुरा सुन्दा त मन भारी अनि तन पनि गरूङ्गो बनाएर ल्याउँछ । त्यति हुँदा पनि कानून मूक छ । हैट कति कठोर मुटु रहेछ ।
ती सम्पूर्ण कुराहरूलाई दिमागमा खेलाउँदै गर्दा कतिबेला त्यो दर्द एवम् तितो सत्यता थेग्न नसकेर आँसु खस्न पुगेछ होसै भएन । त्यसै समयमा पछाडिबाट एउटा मोटरसाइकल आएको आभास मैले गरेँ । लौ मार्यो, त्यस्तो सुनसान ठाउँ छ एक्लै छु, अन्तिम दिन नै सोचेर तपतप आँसु चुहाउँदै लुग्लुग् कामिरहेका ती पैताला सुस्त सुस्त अगाडि सार्ने प्रयत्न मैले गरेँ ।
‘नानी, ए नानी’, चिनेजानेकै स्वर पछाडिबाट आयो । हत्तपत्त पछाडि फर्केर हेरेको त दाइ आउनुभएको रहेछ । त्यस्तो रात्रीको याममा पनि झलमल्ल घाम लागेको जस्तो भयो, हर्ष र खुशीले बादललाई छुन पुगेछन्, फुरूङ्ग भएको मन नाच्न थालेछ । बल्ल चैनको लिमो स्वास फेरेँ ।
‘के हो, यस्तो बाटो छ, एक्लै हिँडेकी छेस्, भरे तलमाथि केही भइहाल्यो भने के हुन्छ ? सोचेकी छेस् तैँले ? उता आमाको रोएर आधा ज्यान भइसक्यो’, गाली गर्न पनि थाल्नुभयो दाइले । आफ्नै गल्ति हुनाले एक शब्द चुक्क पनि नबोली सुनेर मात्र बसिरहेँ । अब त्यस्तै हो, विद्यालयमा फोन लिएर जाने कुरा पनि भएन । कसैसँग मागेर फोन गर्ने पनि होसै भएनछ । त्यो गल्ती भएकै हो ।
‘घरमा गएसी जानेको छु मैले तलाई, अहिलेलाई आइज बस्’, दाजूको कुरा खाएर पछि गएर बसेपछि सुकुन मिल्यो बल्ल ।
हम् ! त्यो दिन मेरा निम्ति कहालिलाग्दो बन्न पुगेको छ । जबजब त्यो स्मरण गर्न पुग्छु आङ् जिरिङ्ग हुन पुग्छ ।
यो किन लेखेकी छु मैले थाहा छ ? म भाग्यवानी रहिछु र केही भएन । नत्र अधिकांश हामी नेपाली चेलीहरू यस्तै बेलामा बलात्कृत हुन पुग्छौँ । गाह्रो छ हामी चेलीलाई आजाद भएर फक्रन पनि ।
तिमीलाई हामीले हाम्रै हितका निमित्त चुनेका हौँ सरकार, किन मूक बस्छौ ? धेरै नै मौन बसिसक्यौ । अब निदाएका ती आँखा खोल्ने बेला पनि भयो । निर्मला जस्ता अन्य धेरै नारी एवम् दिदीबहिनीका निम्ति तिमीले हाम्रो कुरा सुन्नै पर्छ । सुरक्षा र न्याय देऊ सरकार हामीलाई । सुरक्षा देऊ हामीलाई । न्याय देऊ उनीलाई सरकार । न्याय देऊ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

