
जेन अस्टिन, जसको लेखनबारे कसैलाई थाहै थिएन
सुशीला शर्मा
ईंग्ल्यान्डको स्टिभेन्टेनमा जन्मेकी थिईन जेन अस्टिन । यिनका पिता जर्ज अस्टिन स्थानीय चर्चका रेक्टर थिए । जेन अस्टिनले आफ्नो पढाई आफ्नो बाबुबाटै सिकिन् । त्यस बखतको समयमा महिला विद्यालय गएर अध्ययन गर्ने उतिसारो चलन थिएन् । परिवारमा आठ सन्तानमध्ये सातौ सन्तान जेन अस्टिन आफ्नो सम्पूर्ण जीवन आफ्ना आमाबाबुसँग नै बसिन् । उनको परिवार मध्यम बर्गीय थियो र परिवारका सबैजना शिक्षित थिए ।
जेन अस्टिनले जम्मा ६ वटा उपन्यास लेखिन् र उनका ती उपन्यासमध्ये ५ वटा कृतिमा युवतीहरुकै कथानक भूमिका थियो । ती मध्ये पनि उनको उपन्यास ईम्माले समाजमा फरक अवधारणा ल्यायो । जेन अस्टिन र उनकी बहिनी क्यासेन्ड्राले घरमा नै शिक्षा हाँसिल गरेक थिए तर छोटो समय उनीहरुले अबे स्कूलमा पनि बिताए । जेन अस्टिनको आफ्ना दिदीबहिनीहरुसँग घनिष्ठ सम्बन्ध थियो र उनकी बहिनी क्यासेन्ड्राको बीच मित्रबत सम्बन्ध पनि थियो । जेन र क्यासेन्ड्रा दुबै दिदिबहिनी अविवाहित नै बसे । यद्धपि उनीहरुलाई विवाहको प्रस्ताव नआएको भने होइन । सायद उपयुक्त जीवनसाथी पाउन मुस्किल भएकोले या सामाजिक बर्गको कारणले सामाजिक बर्गको कारणले जेन अस्टिनको समयमा १० देखि ३५ प्रतिशत मानिसहरु जस्टिनको समयमा अविवाहित नै रहन्थे भनिन्छ । तर जेनलाई अविवाहित जीवनमा कुनै गुनासो थिएन । लोग्ने साथमा नहुँदा उनले अझ स्वतन्त्रतापूर्वक आफ्नो लेखनमा सक्रिय रहन पाइन् ।
जेन अस्टिनले आफ्नो किशोरावस्थादेखि नै कथा लेख्न शुरु गरिन् । उनले आफ्नो पहिलो उपन्यास बीस वर्षभन्दा कम उमेरमै लेखिभ्याईन् । २५ वर्षको उमेरमा अस्टिनले तीनवटा उपन्यास लेखिसकेकी थिईन् । तर अस्टिनको पहिलो उपन्यास सेन्स एण्ड सेन्सिविलिटी (१८११) सम्म पनि प्रकाशित भएको थिएन् । जेन अस्टिनका अधिकाँस लेखनहरु बेनाम प्रकाशित हुन्थे । उनको परिवारबाहेक कमैलाई मात्र उनको लेखनबारे जानकारी थियो । अठारौं शताब्दीको मध्यतिर महिलाहरुको आम्दानीको श्रोत पुस्तक प्रकाशन पनि हुन्थ्यो । जेनले पनि आम्दानीको लागि यो कार्य गरिन् । उनको कृति “प्राइड एण्ड प्रेजुडिस” अत्यधिक चर्चित भयो, जुन कृतिले जेन अस्टिनको बेनाम लेखनको अन्त गरिदियो । यिनको उपन्यास मेन्सफिल्डपार्क त्यति चलेन । यिनले जीवनको उत्तराद्र्धतिर “एम्मा” लेखिन भने स्वास्थ्य समस्याहरु झेल्दै यिनले आफ्नो अन्तिम उपन्यास “परसुएसन” लेखिन ।
त्यतिबेला र्इंग्ल्याण्डको सामाजिक परिवेश स्तरिकृत थियो । वर्ग बिभाजन, पारिवारिक सम्बन्ध र सम्पतिमा निहित थियो । जेन अस्टिन आफ्ना लेखनमा प्रायः उच्च वर्गीय मान्यता र पूर्वाग्रहहरुको आलोचना गर्छिन् । यिनले व्यक्तिको आन्तरिक असलपन, गुण र बाह्य भौतिक सम्पन्नताको उल्लेख गर्छिन् । यिनले चित्रण गरेको ईंग्ल्याण्ड एउटा सामाजिक गतिशिलता सिमित र वर्ग विभाजन बलियो भएको समाज थियो । जस्टिन धेरै अवस्थामा यथार्यवादी हुन् ।
सामाजिक रुपले विभाजन गरिएका लैङ्गिक अवधारणाहरु अस्टिनको लेखनमा पनि समावेश छन् । जब जवान पुरुषहरुको लागि सामाजिक प्रगति सेना, चर्च वा कानूनमा राखिएको थियो । महिलाहरुको लागि आत्म सुधारको मुख्य विधि धनको अधिग्रहण थियो र यो सफल विवाहमार्फत (लोग्नेको सम्पतिको हक) मात्रै प्राप्त हुन सक्थ्यो । अठारौं शताब्दीको प्रारम्भमा भन्दा मध्यतिरका युवतीहरुलाई आफ्नो पति छनौट गर्ने धेरै स्वतन्त्रता भए पनि व्यवहारिक र विचारहरुका कारणले उनीहरुका विकल्पहरुलाई सिमित गरिदिन्थ्यो । यी पक्षहरु जेन अस्टिनको लेखनमा पनि पाई्न्छ ।
आलोचकहरुले अक्सर अस्टिनलाई सिमित संसारको चित्रण गरेको आरोप पनि लगाउँछन् । उनीहरुका अनुसार एक पादरीको छोरी भएर चर्चमा ओहोर दोहोर गर्दा पक्कै यिनले निम्न वर्गीय मानिसहरु देखेकै हुनुपर्छ । यद्यपि यिनले आफ्नो संसारको बारेमा मात्र लेखिन् । उनले वर्गको रुपमा मध्यम वर्ग र उच्च वर्गलाई मात्र उल्लेख किन गरिन होलिन् ? हुन त निम्न वर्गका मानिसहरु सामान्यतया सेवकहरु, दासहरुको अवस्थामा हुन्थे र उच्च बर्गका मालिकहरुसँग नतमस्तक नै रहन्थे । यो उनीहरुको बाध्यता थियो । यो अज्ञानता या चासो नहुनु अस्टिनको लेखनको असफलताको रुपमा मानिन्छ तर यो असफलता त्यो बेलाको प्रायः सबै अंग्रेजी समाजमा देखिन्छ ।
अस्टिनको सन् १८१७ मा ४२ वर्षको उमेरमा मृत्यु भयो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)