सोल्टी होटलमा रूसीमित्र बेनुखलाई सुनाइएको दारुण ठट्टा !

अरविन्द रिमाल

२०३३ सालको एक साँझ ! ओलेग बेनुख र ऊ काठमाडौंको सोल्टी होटलको कक्टेल लाउन्जको एउटा कुनामा बसेर ह्विस्की खाइरहेका थिए ।

आज २०७९ सालकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा घाेर अशान्त समयमा ऊ किन त्यति अघिकाे कुरा सम्झरहेछ, ऊ आफैँ जान्दैन ।

ऊ दिल्लीमा काम गर्दा उसका सम्पादक रहेका बेनुख केही दिनको निजी भ्रमणमा काठमाडौँ आएका थिए । आफू आइपुगेकै दिनको साँझ उनको फोन आएको थियो : ‘अँ, अमारिलजी, म तपाईँको निम्तामान्न काठमाडौं आइपुगेको छु है, सम्झनुभयो ? अहिलेलाई म यहीँ साेभियत दूतावासमा तपाईँका हामिककाे साैजन्यबाट बसेकाे छु ।’

उनको खास शैलीको बोलीबाट उसले उनलाई चिनी हाल्याे । उनकाे आगमनमा आनन्दको आश्चर्य पनि मान्याे । साँच्चै, उसले उनलाई एकपटक काठमाडौंको भ्रमण गर्न बोलाएको सम्झ्याे ।

उनी र आफ्नाे हामिकलाई भोलिपल्ट साँझ नै आफूकहाँ खाना खान बोलायाे, उसले । उनी आए, साेभियत दूतावासकाे सूचना विभागकाे त्यतिबेला डाइरेक्टर यूरी लिसेन्काे पनि सँगै आए ।

बेनुख रुसी र लिसेन्काे उक्राइनी जातियता !

उसले आफ्नो पूरै परिवारसँग परिचय गरायाे, आमाबुवासँग पनि भेट गरायाे । उसकाे घरकाे वातावारणबाट, विशेष गरी बुबाकाे गाम्भीर्य व्यक्तित्व र आमाकाे बाेली व्यवहारबाट, छाेराछाेरीहरुकाे सुशीलताकरबाट बेनुख बहुतै प्रसन्न भए । आफूलाई दिल्लीमा उनले दिएका आदरसम्मान र मायाको गुनलाई उसले यसरी परिवारिक परिचय गराई केही चुकाउन पाएकोमा उसलाई साह्रै खुशी लागिरहेको बताउँदा बेनुख पनि भावुक भए । यसैबीच काठमाडौंँमा उसका सहयोगीद्वय शिवप्रसाद उपाध्याय तथा सुदर्शन देवकोटालाई पनि भेट्दा बेनुख बडो प्रसन्न भए ।

त्यतिबेलाकाे नामी मध्यमवर्गीय पेय रुसलान भाेद्का र खुकुरी रमसहितकाे खानाबाट पाहुना सबै प्रसन्न भए, अतिथिसत्कार गर्न पाउँदा उसकी पत्नी मधु त झनै प्रसन्न !

त्यसैको भोलिपल्टको साँझको कुरा हो, यो । उनले उसलाई फिर्ती रात्रीभोजका लागि सोल्टीमा निम्त्याए । लिसेन्काे कुनै जरुरी काममा परेर आउन सकेन छन् ।

दिल्लीका सम्झनाहरू, उनका नयाँ कामहरू, उसकाे वर्तमान जीवनचर्या, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति, यी सबैबारे उनीहरुले मन्दप्रकाश भएको कोठाको झन् मधुरो बत्तीको उज्यालोमा विस्तारै चर्चा गर्दै गए । खाना खाएपछि र कफी पिइरहँदा बेनुखले उसलाई केही ठट्टा सुनाउन भने । ऊ दिल्लीमा राजनीतिक होस् वा सामाजिक होस्, त्यस्ता ठट्टा सुनाउद्थ्याे र उनले पनि त्यस्ता ठट्टा सुनेका थिए । त्यही सम्झना भएकोले होला, उनले उसलाई ठट्टा सुनाउन आग्रह गरेका । ३-४-पेग ह्विस्कीले आफ्नो काम उसकाे मगजमा रमाइलोसँग गरिरहेको थियो । उसलाई सहसा रुसीमूलका अमेरिकी नागरिक पीटर उस्तिनोभले आफ्नै निर्देशनमा आफू नै प्रमुख भूमिका खेलेको चर्चित फिलिम ‘कन्कोर्डिया’को सम्झना भयो । त्यो अन्तर्राष्ट्रिय राजनीतिमा दुई महाशक्तिराष्ट्र अमेरिका र सोभियत रुसको व्यवहारबारे अत्यन्त तीक्ष्ण व्यङ्ग्य गरिएको अत्यन्त रमाइलाे फिलिम थियो । तर त्यो फिलिममा र उसकाे ठट्टामा मिल्न गएको एउटै कुरा के थियो भने उस्तिनाेभकाे ओैपन्यासिक देश ‘कन्कोर्डिया’ र उसकाे देश नेपाल संयुक्त राष्ट्रसंघका सदस्यहरूको नामावलीमा वर्णानुक्रमअनुसार अंकित नभएर ‘अनुसूची’मा पो राखिन पुगेका थिए, बस् । अरु ठट्टालाई उसले आफैँले त्यहीँ नै बसी रमाई- रमाई यसरी प्रस्तुत गर्‍याे: ‘संयुक्त राष्ट्रसंघका सदस्य- देशहरू आ-आफ्नो राष्ट्रिय, साँस्कृतिक- धार्मिक एवं राजनीतिक विशेषताहरूलाई त्यस विश्व संस्थाकाे बडापत्रबमाेजिम विश्वबन्धुत्वको भाव र ध्येयअनुकूल बनाउँदै गइरहेका छन् । पूरै ल्याटिन अमेरिकामा पहिलेका छापामार तथा गृहयुद्धहरू राष्ट्रिय मेलमिलापको आधारमा अन्त्य भई सबै शक्तिहरू राष्ट्रिय मूलधारको राजनीतिमा संलग्न भइसकेका छन् । त्यहाँ अब ‘मुनराे डक्ट्रिन’ आफैँ विलय भएर गएकाे थियाे । इजरायल र प्यालेस्टाइनबीच शान्ति सन्धि भई जेरुसेलममा आफ्नो राजधानी भएको स्वतन्त्र प्यालेस्टाइनी राज्य पनि स्थापित भइसकेको छ । राष्ट्रसंघ अब सही अर्थमा संसारमा कुनै पनि, कतै पनि र कसैको पनि शत्रु देश नभएको विश्व संगठन भएको निकै वर्ष भइसकेको थियाे ।

‘एकदिनको कुरा हो, भारत, जर्मनी, जापान, ब्राजील, अस्ट्रेलिया र दक्षिण अफ्रिका गणराज्य पनि स्थायी सदस्य राष्ट्र भइसकेका सुरक्षा परिषद्‌काे नियमित बैठकमा पहिलेका विकासोन्मुख मुलुकहरूमध्येका पनि अल्प- विकसित देशहरूको प्रशंसनीय उत्तराेत्तर प्रगतिबारे समीक्षा बैठक चलिरहेको थियो । यसैबीच परिषद्‌मा सोभियत संघका स्थायी प्रतिनिधि मिष्टर ओलेग बेनुखले एक्कासी आफ्नो नेपाली मित्रलाई र उसले नेपाल भ्रमण गर्न आउन गरेको विशेष अनुरोधलाई सम्झे ।’ उसले यसरी ठट्टा शुरु गर्नासाथ बेनुखले मधुर मुस्कान गर्दै ‘ओहाे, अमारिलजी!
तपाईँ पनि । मलाई जोकर बनाउने ठट्टा त होइन, यो ?’ भनेर उसलाई राेके। उसले उनलाई गम्भीरतापूर्वक ठट्टा सुन्न भन्याे ! उनी पनि साँच्चि नै गम्भीर भए ।

उनीहरुबीच कुराकानी अङ्ग्रेजीमै भएका थिए।

‘मिष्टर बेनुख काठमाडौं आए, उनको मित्रले त्यहाँका विभिन्न क्षेत्रहरूका मानिसहरूसँग उनको भेटघाट, कुराकानी गराए, उपत्यकाका रोचक स्थलहरू हेर्न- घुम्न लगे, पोखरा र लुम्बिनीको पनि भ्रमण गराए । आफ्नो बसाई आनन्ददायी र भ्रमण रोचक भएता पनि मिष्टर बेनुखलाई समग्रमा नेपाल अहिले पनि कताकता बाटो बिराएकै स्थितिमा भएको र यहाँ केही मौलिक कुरामा गडबड भएको लागेकाे रहेछ । तर, उनले आफ्नो मनभित्रको नरमाइलो कुरालाई शिष्टाचारका कारण आफ्ना मित्रसँग बाँड्न चाहेका रहेनछन् । उनको नेपाली मित्रलाई आफ्ना पहिलेका सम्पादक र वर्तमान विश्व राजनीतिज्ञ केबाट एवम् किन दुःखी भएका रहेछन् भन्ने कुरा बुझ्न गाह्राे परेन । उसले पनि आफ्नो विचारका सम्बन्धमा अतिथिलाई क्यै बताएनन् । काठमाडौँको राम्रो हावापानी, चारैतिरका मनोहारी डाँडाहरू र सहृदयी मित्रहरूको आतिथ्यले यहाँ अरु केही दिन बस्ने इच्छा हुँदाहुँदै पनि बेनुख नेपाल भ्रमणबाट आफूलाई परेको छट्पटाहट् सुरक्षा परिषद्का सदस्य सहयोगीहरूलाई शीघ्र नै बताउन चाहेर र नेपालको समस्या कसरी छिट्टै समाधान गर्न सकिएला भन्ने व्यग्रता लिँदै न्यूयोर्क फर्के ।

‘सोभियत संघका स्थायी प्रतिनिधिको विशेष अनुरोधमा नेपालकै विषयलाई लिएर संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाइयो । त्यस्तो आपतकालीनसरहको बैठक नबाेलाइएकाे पनि वर्षौं भइसकेको थियो । त्यसैले अरु सदस्य- प्रतिनिधिहरू कौतूहल र गम्भीरता लिएर बैठकमा आए । मिष्टर ओलेग बेनुखले नेपालमा राजनीतिक, धार्मिक र जातिय आदि कुनै अपवाद नहुदाँनहुँदै पनि विकासपथले अग्रगति नलिएको, कतिपय क्षेत्रमा अवनति नै भएको कुरा नेपालका विशेषज्ञहरूले नै स्वीकार गरेका र आफूलाई बाह्य दृष्टिबाट त धेरै कुरा सामान्य देखिएको तर आधारभूतरूपमा कहींँ न कहींँ निक्कै त्रुटि भएको लागेको विचार व्यक्त गरे । निष्कर्षमा, उनले त्यहाँको समग्र स्थितिको अवलोकन-अध्ययन गरी त्यस दुःखी देशलाई विश्वका त्यस्तै अन्य मुलुकहरूको समकक्षमा छिट्टै ल्याउन सकिने उपाय बताउन एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने विशेष आग्रह गरे । परिषद्का अरु सदस्यहरू पनि साँच्चै पत्याउन नसकिने यस्तो कुरा सुन्नुपर्दा छक्क परे । उनीहरूमध्ये कतिपयलाई यो देश विश्वको कुन भागमा पर्दोरहेछ भन्ने पनि तत्काल जानकारी नभएकोले उनीहरूले संयुक्त राष्ट्रसंघको सदस्य देशहरूको नामावली पुस्तक आफैँले हेर्न चाहे । तर पुस्तकमा नेपालको नाम वर्णानुक्रमअनुसार नपाउँदा उनीहरूले मिष्टर बेनुख कुन काल्पनिक देशको शयर गरेर आएका होलान् भनेर व्यङ्ग्य पनि गरे । परिषद्को कार्यकारी सचिवले सम्भवतः त्यो देशको नाम नामावली पुस्तिकाको अनुसूचीमा छ कि भनेर सुझाए । नभन्दै `नेपाल’ भन्ने संयुक्त राष्ट्रसंघको सदस्य देशको नाम कुनै कारणवश अनुसूचीमा
परेको रहेछ ।

सुरक्षा परिषद्‌को छलफलको क्रममा आफ्नोतर्फबाट हुन गएको त्यस्ता राजनीतिक एवं प्राविधिक त्रुटिका लागि खेद प्रकट गर्दै परिषदले नेपालमा शीघ्रातिशीघ्र उच्चस्तरीय अध्ययन एवं परामर्शदात्री दल पठाउने र सो दलले काठमाडौं पुगेपछिको १५ दिनभित्र लिखित प्रतिवेदन पनि प्रस्तुत गर्नुपर्ने निणर्य गर्‍याे ।

अध्ययनदल काठमाडौँ पनि आइपुग्यो । उपत्यकाभित्र प्रवेश गर्नासाथ हवाइजहाजबाट देखिने मनमुग्धकारी हरियालीबाट लठ्ठिएका दलका सदस्यहरू हवाईअड्डाको औपचारिकता सकेर मोटरगाडीद्वारा आफ्नो पाँचतारे होटलको सुइटमा पुग्दा आफूले बाटोमा गरेको सर्सर्ति अध्ययनबाटै समस्या समाधानका उपाय पत्ता लगाउन क्यै गाह्राे नपर्ने मनस्थितिमा पुगे ।

फलस्वरूप,अध्ययनदलका सदस्यहरू विश्रामको पनि वास्ता नगरी भोलिपल्टदेखि नै काममा जुटे । धेरै कुरा आफूहरुले पहिले नै ठम्याए सरह मिल्यो, उनीहरूले काम बढीमा ८/९ दिनमा सकिने र बाँकी समय नेपालभित्र खुब घुमघाम गर्ने अठोट पनि गरे । तर ८ दिन बित्दा त अघिका सहज समाधानका विचारहरू वास्तविकतासँग मेल खाएनन् र समस्याको जरो र चुरो जटिल हुँदै गए । आएकाे तेह्राैँ दिन दलले न्यूयोकमा समयावधि बढाउन अनुरोध गर्‍याे । राष्ट्रसंघका महासचिवले जिल परेर आफ्नो आश्चर्य अन्य सदस्यहरूसँग पनि बाँडे । यता, दोस्रो समयावधि पनि सकियो, त्यसै गरी तेस्रो र चौथो पनि सकियो तर यता नेपालको राजनीतिक -आर्थिक अधोगतिका कारण ठम्याउन दल असमर्थ नै भइरहेको थियो । यता काममा सफतला हात नलागे पनि यहाँको बसाइँबाट उनीहरू बडाे आनन्द लिइरहेका थिए । झन् यहाँका मानिसहरूलाई त धाराको पाइपमा यदाकदा ढलको फोहर मिसिएको पानी खानुपर्ने बाध्यता छ अनि जलस्रोतको माम्लामा विश्वको दोस्रो अर्थात् ब्राजिलपछिको सुसमृद्ध रहेकाे भनिने देशका मानिसहरू आफ्ना नदीहरूमाथि सुरक्षा परिषद् सदस्य रहेको छिमेकी राष्ट्रको प्रभुत्वका कारण ‘जलहीन’ जस्तै स्थितिमा छन् । तर पनि उनीहरू सरकारलाई पानी नआउने धाराको लागि पनि वर्षेनीजसो बढ्दो रकम तिरेकोतिर्‍यै हुन्छन् भन्ने कुरा उनीहरूलाई थाहा हुँदाे हाे त आफ्नाे साेख र सुविधाकाे हकमा उनीहरु आफू स्वर्गमै भएकाेजस्ताे लाग्दाे होला ।

राष्ट्रसंघ प्रधानकार्यालयमा सधैँ आफ्नै खाले जोतानमा पर्नुपर्ने काम र हरदिनको दौडधूप, त्यो तनाव आदिलाई सम्झदा अध्ययन- दलका सदस्यहरूलाई नेपाल छोड्नै मन लागेन । जेहोस्, १५ दिनका लागि आएको दल १५-१५ महिनासम्म पनि समस्याका र समाधानका उपायहरूको त के कुरा तिनका कारणहरू नै पनि छुट्याउन असमर्थ भई फर्के । आफ्नो प्रतिवेदनमा पाँच सदस्यीय अध्ययनदलले सर्वसम्मतिबाट आफ्नो यो ठहर प्रस्तुत गर्‍याे: ‘संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले हाम्रो अध्ययनदललाई नेपालका समस्याका सम्बन्धमा अध्ययन गरी उचित समाधानहरू सुझाउनका लागि दिएको जिम्मेवारीअनुसार हाम्रो आफ्नैतर्फबाट र नेपाली सहकर्मीहरूका प्रसंशनीय सहयोगबाट पनि हामीले अथक प्रयास गर्‍याैँ ।

फलस्वरूप हामी नेपाललाई यथास्थितिमा छाड्नु नै सबभन्दा बुद्धिमत्तापूर्ण कार्य र उपयुक्त निर्णय हुने व्यहोरा जानकारी गराउने निष्कर्षमा आएका छौँ । यस सिलसिलामा हाम्रा भावी सन्ततीहरूले आफू कुन धरातलबाट उठेर हालको प्रगतिको उचाईमा आइपुग्न सकेको हो, त्यस कुराको व्यावहारिक दृष्टान्त जान्न चाहेमा त्यस्तो दृष्टान्त वर्तमान समयको नेपालभन्दा उपयुक्त मुलुक विश्वमा अन्यत्र कहींँ पनि पाइने छैन भन्ने थप व्यहोरा पनि निवेदन गर्न चाहन्छौं । पुस्तक तथा दस्ताबेजले सधैँ यथार्थ कुरा बताउन नसक्ने भन्ने स्वाभाविक शंका उठेमा वा उठाइएमा, त्यसकाे समुचित समाधानका लागि पनि यति कामकुरा हुन अनिवार्य ठान्दछाैँ । संक्षेपमा निवेदन गर्नुपर्दा, समाधानमा पनि समस्याहरू खोजी हिड्ने र राजनीतिमा पोलिटिक्स गरेर खाली ठगीखाने चलन नै यहाँस्थित कतिपय प्रबल विश्वसंस्थाहरुका अधिकारीहरुकाे पुठमा यहाँको राजनीतिक- बाैद्धिक समाजको विशेषता रहेकाे लाग्याे । यिनै कुरा यस देशको वर्तमान अविकसित अवस्थाका मूल कारण रहेछन् भन्ने हामीलाई लागेको छ ।’

‘सुरक्षा परिषद्का सदस्यहरू पनि यो प्रतिवेदन सुनिसकेपछि बडो सदाशयका साथ `कस्तो अनौठो, त्यस्तो पनि हुँदोरहेछ’ भन्दै आ-आफ्नो ठाउँबाट उठेर गए । परिषद्को त्यस महिनाका अध्यक्ष मिष्टर ओलेग बेनुखचाहिं त्यो देशको भ्रमण र त्यहाँ बिताएको रमाइलो दिनहरू सम्झदै निकै समय टोलाएकोटोलायै भएर बसे ।’

उसले निकै समय लिएर यो ठट्टा सुनायाे । बेनुखले आँखा रसिलो पार्दै ‘अमारिलजी, यो ठट्टा हुनसक्ला, आफ्नै देशबारे, सांच्चि नै, यो जस्तो दारुण ठट्टा अर्को हुन सक्तैन । यस्तो अर्कोपटक अरु कसैलाई पनि नसुनाउनु होला ।’ यति भनेर यहाँका बेनुख पनि त्यसपछि धेरैबेर चुप लागे ।

पोलपोट नरसंहारकारी शासनबाट मुक्त भएको देश कम्बोडियासँग सन् १९८३ अर्थात् २०३८ सालमा ऐक्यबद्धता जनाउन उ नोमपेन्हमा एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई भियतनामकाे राजधानी हनाेईमा केही दिन बसेर मास्काे फर्केर आउँदा उसले ओलेग बेनुखलाई मास्कोमा नोभोस्ती समाचार समितिको प्रधानकार्यालयमा भेट्न चाह्याे । उनी बिरामी परेर र साथै काममा केही असन्तोषका कारण घरै बसेका रहेछन् । तर उसकाे सन्देश पुग्ने बितिकै उही प्रसन्न मुद्रामा उसलाई भेट्न आए । यतिका वर्षपछि पनि उसले सम्झना राखेकोमा धेरै नै खुशी भए । आफू दिल्लीमा हाकिम छँदा ‘साेवियत भूमि’ हिन्दी सँस्करणका अनुवादक र अहिले मास्काे प्रगति प्रकाशन गृहमा कार्यरत् सुरेन्द्र कुमार पनि साथै आएकाे पाउँदा झन प्रसन्न भए । अनि त्यो दारुण ठट्टा पनि उसले बिर्स्याे हाेला नि त भनेर सोधे । कस्ताे गहीराे असर परेकाे रहेछ, उनमा, उनकाे मित्रकाे देश नेपालबारेमा ! उसले पनि त्यति बेला मुस्कुराउँदै कसैलाई नभनेको बतायाे । आज त्यो सबैलाई बताइरहेछ, किन ? ऊ आफैँ जान्दैन ! २०३३ सालकाे त्याे ठट्टा उसकाे आफ्नाे पुस्तक ‘१९९७ सालदेखि २०१७ साल– एक अवलाेकन’मा संलग्न गर्न लेखिएकाे २०६१ सालमा आइपुग्दा झन् कस्तो हुन्थ्यो होला कल्पना गर्दा मात्र पनि आँग नै जिरिङ्ग हुन्छ, उसकाे ।

अनि, यो दारुण ठट्टालाई क्यै गरी २०६१ सालमा सुनाउनु परे उसले थप्नुपर्ने कुरा के हुन्थ्यो होला ? गम्भीरतापूर्वक सोच्दा त्यो यही हुन्थ्यो होला अर्थात् ‘हाम्रो प्रतिनिधिमण्डल के पनि निष्कर्षमा आइपुगेको छ भने यहाँ रहेका अन्तर्राष्ट्रिय संघ -संस्थाका प्रतिनिधिहरू र तिनकै आर्थिक- बौद्धिक हण्डी खाएर चलेका गैर – सरकारी संघहरूले नेपाली राजनीतिक क्षेत्रहरूको सत्ताहानथापलाई प्रत्यक्षतवरले प्रोत्साहन गर्ने तथा जातीय द्वेष- कलह-घृणा चर्काएर देशकै विखण्डन दक्षिणी विदेशीलाई जथाभावीसँग नागरिकता दिने- गर्ने काण्डहरु चरम चुलीमा पुगेका रहेछन् । साथै, तिनीहरू यस मुलुकको संवैधानिक राजतन्त्रात्मक संसदीय प्रजातान्त्रिक प्रणालीलाई नै विस्थापित गर्न सघाउँदा पनि रहेछन् । यसप्रकार तिनीहरू राष्ट्रसंघ प्रधान कार्यालयलाई मिथ्यापूर्ण प्रतिवेदन दिँदै आफूहरूचाहिँ पहिलापहिलाका उपनिवेशवादी स्वामीहरूको जस्तै सोखसयल एवम् विलासी- ऐयासी जिन्दगी बिताउनमै उद्यत रहेछन् । तसर्थ, नेपाल देश `विफल राज्य´ रहन जानाका प्रमुख कारणहरूमध्ये यी पनि हुन् भन्ने व्यहोराको जानकारी गराउँछौँ ।’

यो व्यङ्ग्य देशप्रति होइन कि देशलाई आज त झन यस्तो दुर्गतिमा पुऱ्याउने शासकहरूका कर्तुतहरुविरुद्ध लक्ष्यित भएकोले नै आज २०७९ सालमा यहाँ यस प्रकारले दोहोर्‍याउँदा के थप्न बाध्य हुनेछ भने: ‘नेपाल यति खेर अघिअघिकाे प्रचलित विशेषणअनुसारकाे ‘failed state’काे शास्त्रीय नमूना भएकाे छ ! अझ, यस्ताे अराजक, नियमकानूनविहीन, मठाधिशीय राजनीतिक गठबन्धनद्वारा परिचालित शासनतन्त्रकाे विशेषतामा एउटा, अन्यत्र कहीँ नभएकाे, अद्वितीय, विशेषता थपिएकाे छ, जुनकि संसदीय शासव्यवस्थामा प्रधानमन्त्रीकाे अकाट्य भनिने विशेषाधिकार अदालती कू´ द्वारा विस्थापितभईपरमादेशीय शासनव्यवस्था´ लागू हुनजानू हाे ।’

अन्तमा, ‘सुन्नेलाई सुनकाे माला, भन्नेलाई फूलकाे माला, याे कथा बैकुण्ठ जाला’ भन्ने पुरानाे चलन दाेहाेर्‍याउँदै सबैमा जय नेपालकाे अभिवादन !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button