मेक्सिकोेको गाउँमा नेपाली महिलाले देखेको महिला संस्थाको काम

प्रतिभा सुवेदी
संस्थापक अध्यक्ष, नारी चेतना केन्द्र नेपाल

आर्थिक कारोवारका लागि वचत समूह र वचत तथा ऋण सहकारी निर्माण गरी स्थानीय तहमा आय आर्जनका कामलाई संस्थागत हिसावमा संचालन गर्नेमा नारी चेतना सहकारी संस्थाहरु छन् । हिजो केन्द्रीय तहबाट भएका कामहरु आज स्थानीय तहमा ग्रामीण महिलाहरुले संचालन गरेका उदाहरणहरु छन् । देशविदेशबाट हामीलाई भेट्न र कार्यक्रम हेर्न विकासमा संलग्न विभिन्न तहका मानिसहरु आउँछन् ।

मेक्सिकोे सम्मेलनमा पनि महिलाहरुलाई संगठित गर्ने वैचारिक छलफलपछि हामी महिलाका संस्था हेर्न गयौँ ।

शहरबाट बसमा जाँदा तीन घन्टा जति पर गाउँमा महिलाहरुका संस्थाको काम हेर्न गयौँ । त्यहाँ पनि वचत ऋण समूह रहेछ । व्यवस्थापन समितिका महिलाहरुसँग कुरा भए । त्यहाँ सरकारले व्यक्तिगत वचत गर्न भने स्वीकृत दिएको रहेनछ । अनुदान भने लिन सक्दा रहेछन् ।

गाउँ घुम्दा जताततै थरीथरी सिउडीका बोटहरु । भुईँमा राता कमिलाका ताँतीहरु । त्यहाँ माटो त मलिलो थिएन । महिलाहरुले आय आर्जनका लागि नेपालमा पाईने अल्लो जस्तो विरुवाबाट भान्साको टेबलमा राख्ने म्याट, ब्याग, कि रिङ, नुहाउँदा जिउ सफा गर्ने जालोहरु बनाई भनौँ हातबाट निर्मित सामान विदेश निर्यात गर्दा रहेछन् । यात्रा मेक्सिकोेका ग्रामीण महिलाहरुले गर्ने कामहरु र गाउँले जीवन हेर्ने मौका भयो ।

अर्को विषयचाहिँ कसरी खतरा मोलेर युवाहरु अमेरिका जाँदा रहेछन् भन्ने पनि अवलोकन गर्ने अवसर मिल्यो । नदीमा हाम्फालेर त्यो तरेर सिमाना कटेर जानु भनेको ज्यान जोखिममा पार्नु हो । युवा पुस्ता लुकिछिपी नदी पार गरेर ज्यान हत्केलामा हालेर अमेरिकासँग जोडिएको भाग टेक्सस रहेछ, जहाँ सिमानामा पर्खाल लगाएको भए पनि पर्खाल नाघेर अमेरिकाको टेक्सस राज्य पट्टी हामफाल्ने रहेछन् ।

कार्यक्रम पुरा गरेर नेपाल फर्केपछि हामीले हाम्रो विचार आदानप्रदान गर्न कन्फ्रेन्स कलबाट मिटिङमा भाग लिन पर्दथियो । मचाहिँं बिहानको समयमा भाग लिन मन पराउथेँ । अनि मलाई अर्ली पर्सन भन्थे पश्चिमा साथीहरुले । त्यो भनेको बिहान सबेरै उठ्ने बानी भएको भनेको रहेछ ।

प्रविधिको विकासले टाढा टाढा भएको साथीभाईहरुको विचार सुन्न मिटिङ हुन्थ्यो । अन्य देशका संस्थाहरुले पनि आफ्नो काममा यो संकलित फण्डबाट पैसा सापट लिएर विकासमा लगाउने र फिर्ता गर्ने शैलीलाई दिगो शैली भनेर मन पराए । भारतीयलगायत ती विभिन्न देशका संस्थाले अमेरिकी विकास संस्थाबाट ऋण लिन सफल भए । तर हाम्रो परिवेशमा चाहिं शून्य व्याजमा पनि ऋण लिन सम्भव भएन । हाम्रो नेपाली परिवेश भिन्न थियो । बाह््य ऋण लिन सहज थिएन । धेरै जटिल भएकाले हामीले नलिने विचार राख्यौँ । अर्को विषय, हामीले महिलाहरुका बचत ऋण समूहहरुलाई २५ सौँ वर्षदेखि महिला सहकारीमा रुपान्तरण गरेर आत्मनिर्भरतातर्फ उन्मुख गराउने कार्य गरेका छौँ । खुशीको विषयचाहिं हाम्रो किसिमको नेपाली कामबाट नै सिकेर उनीहरुले यो वुएन भिवर फन्डको स्थापना गरेका थिए ।

सामाजिक न्यायका लागि जुटेका (फिलेनथ्रोपी नेटवर्क) संस्थाहरु धेरै अमेरिकामा रहेछन् । त्यस्तै द जेन्डर एन्ड ग्लोवल ग्रान्ट मेकिङ इनिसिएटिभमा संलग्न व्यक्तिहरु सन् १९१० मा अमेरिकाको विभिन्न स्थानमा विचार विमर्शमा सरिक भएका थिए । त्यस्तै सानफ्रान्सिस्कोमा भएको कार्यक्रममा म पनि निम्त्याइएको थिएँ । कसरी भने म संलग्न संस्था नारी चेतना केन्द्रको कामबाट प्रभावित भई मद्धत गर्ने र हामीलाई अन्य संस्थाहरुसगं परिचय गराउनमा थाउजेन्ड करेन्टस्का निर्देशक राजसभिनी वंशालीको ठूलो भूमिका छ ।

त्यो समय विभिन्न किसिमका कार्यक्रमहरु थिए । पहिलो थियो, महिला पुरुष समविकास सम्वन्धी कार्यशाला जसमा गैरसरकारी संस्थामा निर्णयक तहमा भएका महिलाहरुको सहभागिता थियो । नेपालीमा चाहिं म र रीता थापाले भाग लिएका थियौँ । एक अर्काको अनुभव आदानप्रदान गर्दा हामी सबैजसो महिलाहरु मध्ये भेदभावको शिकार नभएको कोहि पनि रहेनछौँ । ती पश्चिमा महिलाहरु ज्यादै फूर्तिला, सुन्दर र शिक्षाले दिक्षित थिए । हन त हामी त्यहाँ सहभागी भएका दुई नेपाली महिलाहरु पनि कम त थिएनौँ । कार्यशालाको शुरुमा नै हामीहरु को हौँ, के गर्दछौँ, किन गर्दछौँ र हाम्रो जीवनबारे परिचयात्मक कार्यक्रम भयो ।

ती शिक्षा र सुविधा पाएका महिलाहरु वा उनीहरुका परिवारका महिला सदस्यहरुलाई परेको हिंसा र त्यसको आघातका कारण यो महिला पुरुष समविकासका कार्यमा लागेका रहेछन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button