
काफल पाक्यो कोइलीको कथा
चरा चर्चा-३
जय भण्डारी
काफल चरी गाउन थाल्यो-
‘काफल पाक्यो काफल पाक्यो’
चैत लाग्यो, काफल पाक्यो वनमा लटरम्म
केमा टिपुँ भनँ, धोती छैन टोपी छैन मसँग अहिलेसम्म
चुच्चो लगाई निलिदिन्छु, भोक मेटिदिन्छ
काफल पाक्यो, काफल पाक्यो भनी गाउँदै हिँड्छ
‘काफल पाक्यो, काफल पाक्यो’ ।
माथिको कविताले ‘काफल पाक्यो कोइली’बारे केही बताउँदै छ । ‘काफल पाक्यो कोइली’ वसन्त तथा गृष्मकालीन आगन्तुक प्रजातिको चरा हो । आकारमा पनि कुक्कु कोइलीजस्तै देखिने यो काफल पाक्यो कोइलीको पेटमा काला र सेता तेर्सा धर्का प्रष्ट देखिन्छन् ।
यो समुन्द्र सतहदेखि लगभग २१०० मिटरसम्मको उचाइमा रहेका वनपाखा र खेतबारी नजिकका पातैपात भएका रुखका हाँगाहरुमा आहारा खोज्न र बस्न मनपराउँछ । यो लजालु स्वभावको भएकोले यसलाई सहजै देख्न भने सकिदैन । तर, यसले तिखो स्वरमा बोल्ने गाउने काफल पाक्यो, काफल पाक्यो गीत भने प्रष्ट सुन्न सकिन्छ । यसले अरुको गुँडमा भएको फुल खाइदिन्छ र आप्mनो एउटा फुल पारेर छोड्छ ।
गृष्मकाल सकिएपछि काफल पाक्यो कोइलीले जाडो छल्ने योजना बनाउँछ । जाडो छल्न दक्षिण भारत र दक्षिणपूर्वी एशियाका देशहरुको उष्ण क्षेत्रतिर लाग्छ, अर्को साल आउने वाचा गर्दै ।




