आमा आकाशमा हराएकी छैनन् साथी, उनी स्वयं आकाश भइन्

केशव दाहाल

३८ बर्ष अगाडिको कुरा हो ।

०३९ सालतिरको । मंसिर महिना हुनुपर्छ । त्यो दिन आकाशमा ताँमा रंगको बादल लागेको थियो । मेरो गाँउमाथि । थामडाँडाको काखमा सिमसिम पानी पर्दैथियो । घर नजिकै, पयौंको रुख चिसो सिरेटोसँग नाच्दै थियो । र, पश्चिम क्षितिजको डिलमा उभिएर सुर्यदेव सुस्केरा हाल्दैथियो । त्यहि साँझ गाँउमा एकजना युवक मर्यो । जो मलाई कान्छा भनेर बोलाउँथ्यो । उसको अनुहार तारेभिर जस्तो सपाट थियो । दाँत निकै ठुला र पहेला थिए । आँखा थिए सुख्खा ईनारजस्ता । उदास । उराठ ।

उसको मृत्युले म निकै दुःखी भएँ । भावुकताबस् मैले आमालाई भने– ‘आमा म मृत्युको कथा लेख्छु ।’ मेरो कुरा सुनेर अचम्म मान्दै आमाले भनिन्– ‘मृत्युको कथा लेख्न त आँशुको मसी पो चाहिन्छ छोरा । कहाँबाट ल्याउछस् आँशुको मसी ?’

दुर्भाग्य, मसँग आँशुको मसी थिएन ।

त्यसको केहि बर्षपछि मेरो दाइ वेपत्ता भयो । यो ०४२ साल फागुनको कुरा हो । मान्छेहरु भन्थे, ‘ऊ मभन्दा सुन्दर थियो । अग्लो र गोरो । हाँस्दा उसको दाहिने गालामा सानो खोपिल्टो पथ्र्यो ।’ मेरो दाइ आकाशमा उड्ने सिमलको भुवा हराएजस्तै हरायो । अथवा ताराहरु उज्यालोमा लुकेजस्तै कतै लुक्यो । ऊ चन्द्रमा बादलसंग छेलिएजस्तै हामीबाट छेलियो । वा शीतको थोपा प्रकाशमा बिलाए जस्तै ऊ धर्तीमा विलायो । उसलाई हामीले आकास पाताल खोज्यौं । यत्रतत्र । वाना, धुपु, खाँदबारी, दिंला, चैनपुर, आँखीभुई, चानुवा । गुँडबाट हराएको जुरेलीको बचेरो जस्तो ऊ कता उड्यो कता ? ऊसँग त्यसपछि कहिल्यै हाम्रो भेट भएन ।

ऊ शुन्यमा शुन्यसरी बिलायो ।

खासमा म दाइको छाँया जस्तै थिएँ । मलाई उसका अनेक रहस्यहरु थाहा थियो । मलाई उसकी प्रेमिकाबारे थाहा थियो । मलाई उसको चोरऔलामा लुकेर बसेको फुस्रो कोठिबारे थाहा थियो । ऊ कहिलेकाँहि सयपत्री चुरोटको सर्को लाउँथ्यो, जो मलाईमात्र थाहा थियो । ऊ बाआमालाई छलेर उसकी प्रेमिकालाई चिठी लेख्थ्यो, त्यो पनि मलाई थाहा थियो । खासमा म उसका केहि भुमिगत कमरेडहरु पनि चिन्थेँ । तर दुर्भाग्य, उसले आफ्नै छाँयाजस्तो मलाई समेत छल्यो र एकदिन सुटुक्क हरायो ।

ऊ हाराएपछिका उदास दिनहरुमा म सोच्ने गर्थें– हराएको दाइलाई सम्वोधन गरेर एउटा कथा लेखौं । मेरी आमाले आफ्ना रसिला आँखाले आकाशतिर हेर्दै मलाई भनिन्– ‘हराएका मान्छेहरु फेरि फर्किन्छन् छोरा । तेरो दाजु पनि पक्कै आउने छ । उसलाई नबिर्सनु र उसको नाममा मृत्युको कथा कहिल्यै नलेख्नु’ ।

कथाका बारेमा मेरी आमाका धारणाहरु निकै अलग र रोचक थिए । र, मृत्युका बारेमा पनि आमा हामीभन्दा अलग सोच्थिन् । किनभने, उनी आमा थिईन् ।

आमाहरु मृत्युका बारेमा अरुभन्दा निश्चय नै अलग सोच्ने गर्छन् ।
हाम्रो परिवारमा मृत्युको लिला चल्दै गयो ।

मानौ बुढा रुखहरु ढल्दै गए । पहेँला पातहरु झर्दै गए । शीतका थोपाहरु धर्तीमा विलाएजस्तो मेरो आफन्तहरु माटोको कणकणमा विलाउदै गएँ । मलाई लाग्थ्यो– मान्छे स्वयं असिनाको डल्लो हो, जो हुनहुनाउँदै आँधीसँगै आँउछ र निमेसभरमा पग्लिएर जान्छ ।

प्रियजनहरुको मृत्युमा म निकै दुःखित हुन्थेँ । वैराग्य आउँथ्यो । जीवनका अनेकौं रहस्यहरु सम्झेर छाती भारी हुन्थ्यो । बुबा जब मलामीबाट फर्किन्थे, लाग्थ्यो– उनी स्वयं मेरो चिता जलाएर फर्किएका हुन् । मेरो मनोभाव बुझेर आमा सम्झाउँथिन्– ‘मृत्यु सत्य हो छोरा । सत्यसँग के को डर ।’ नभन्दै आफ्ना मान्छेहरु मरेको सुन्दा पनि आमा स्थिर देखिन्थिन्, ढुंगाजस्तो । उनको विश्वास थियो– ‘मान्छेको शरिर मर्छ, आत्मा कहिल्यै मर्दैन ।’ उनी भन्थिन– ‘मृत्यु सत्य हो छोरा । सत्यको कथा हुँदैन ।’

मृत्युमािथ आमाको न त शंका थियो, न त त्रास ।

समय संधै एकनास रहदैन । न जीवन एकनास रहन्छ, न मृत्यु । र, एक दिन वैगुनी मृत्युले मेरा बालाई लग्यो । उनी निकै लामो समय ओछ्यान परे र बिदा भए । जब बाले अनन्तकालका लागि आँखा चिम्लिए, आमाको ढुंगाजस्तो मन पग्लियो । उनी खुबै रोइन् । डाको छोडेर । भक्कानिएर । काजकृया सकेपछि पनि आमाका आँशु थामिएनन् । बा बितेको त्यस्तै ६ महिना भएको हुनुपर्छ, एक दिन मैले आमालाई सोधेँ– ‘किन रुन्छ्यौ आमा ?’ उनले भनिन– ‘म तिम्रा बालाई असाध्यै माया गर्छु छोरा । मलाई थाहा छ, उनको आत्मा यतैकतै हुनुपर्छ । त्यसैले त म उनीसँग प्रार्थना गर्दैछु कि बुढा अर्को जुनीमा पनि तिम्रै अर्धांगिंनी बनौं । यो आँशु मेरो प्रार्थना हो पुत्र । यो मेरो तपस्या हो । आफ्ना पतिप्रतिको साधना । दुःखी नबन ।’

त्यो दिन मलाई लाग्यो आमाको आँशु अञ्जुलीमा थापेर मनको क्यानभासमा रंग भरौं । त्यो रंगसँग बाको मृत्युको कथा घोलौ र भनौ आमा तिम्रा पती यिनै रंगहरुमा जिवित छन् । त्यसपछिको एक दिन आमाले पुरानै लयमा मलाई भनिन्– ‘प्रिय छोरा जबसम्म मान्छेको आर्शिवाद तेरो साथमा रहन्छ, ठान्नु त्यो मान्छे मरेको छैन ।’

मेरी आमाका कुराहरु निकै गजवका हुन्थे । सायद संसारकै आमाका कुराहरु गजब हुन्छन् ।

बा बितेको आठ बर्षपछि आमा गईन् । गत ०७६ सालको मंसिर २८ गते । उनको परलोक गमन अकस्मात भयो । यति अकस्मात् कि सबैकुरा फुच्छ्रे्र तारा खसेजस्तो झिलिक्क भयो र सकियो ।

आमा बितेपछि मैले आफ्नो स्वभाविक चेतना गुमाएँ । म मात्र समाजको आदेश पालक भएँ । आदेश दिनेहरु भन्थे– आमालाई ढोग । ढोगिदिन्थेँ । पिताम्वर ओडाउ । ओडाइदिन्थेँ । पुजा गर । गरिदिन्थेँ । चितामा फेरा लगाउ भन्थे । लगाईदिन्थेँ । दागबत्ती देउ । दिइदिन्थेँ ।

दागबत्ती दिनु भनेको कति भयंकार कुरा हो, मैले दोश्रोपटक फेरि अनुभव गरेँ । पहिलोपटक मैले बालाई दागबत्ती दिंदा अनुभव गरेको थिएँ । त्यो बेला मेरा हात कामेका थिए । मान्छेहरु भन्थे, यहि हो, छोराको कर्तब्य । तर, त्यो कर्तव्य कति कठिन थियो, मैले पिताजीलाई दागबत्ती दिँदा पहिलोपटक अनुभव गरेँ । आमालाई दागबत्ती दिदा मैले आफुलाई थाम्न सकिनँ । न त उनको आँखामा हेर्न सकेँ, न त निधारमा । आफ्नी आमाको अनुहारमा आगो राख्नु जत्ति भयंकर कष्ट के हुन्छ ? त्यो मेरा लागि जिन्दगीकै सबैभन्दा कठिन र कठोर परिक्षा थियो ।

त्यसपछि हाहाकार नामक राक्षसादीलाई पिण्ड दिदै पशुपति परिसरमा १२ दिनबिते ।

जब काजक्रिया सकेर घर फर्किएँ, तब पो एक्कासी होस् आयो– झिलिक्क । हेर्छु त घर सुनसान छ । आमाको कोठा, पुजास्थल, भर्यांग र बरण्डा सर्वत्र चकमन्न छ । न कतै श्लोकको गुनमुन सुनिन्छ, न बिरहको राग । लाग्यो– अब आमासँग कहिल्यै भेट हुनेछैन । बस, आँखाबाट आँशु बग्न थाले । मनमनै भनेँ– आमा अहिले मसँग छ आँशुको मसी, छ मनको क्यानभास र छन् मनभित्र कुदिएका तिम्रा अनन्त सम्झनाहरु । कुनै दिन ती सम्झनाहरु अवश्य कथा बन्नेछन् र ती सबैलाई जोडेर म तिम्रा दरसन्तानहरुलाई तिम्रो मायाको कथा सुनाउनेछु ।

त्यो रात मलाई महसुस भयो, आमा निश्चय नै धर्तीको सबैभन्दा अनमोल सम्वोधन हो ।

यो चाहिँ आमाको कथा हैन, सम्झनाको सानो फुलबारी हो ।

एकदिन आमाले भनिन्– ‘थाहा छ, तँ त भाग्यले बाँचेको मान्छे ।’

भएछ के भने, म सानै थिएँ । घरमा म जत्रै सानो कोक्रो थियो । कोक्राका आँखीझ्यालहरुबाट म मेरो सानो संसार चियाउँथे र एक्लै मुस्कुराउँथे । बलेसीमा पानी परेको हेर्थे । बाख्राका पाठाहरु आँगन र पिडीमा नाँचेको हेर्थें । माथि दलिनमा गौथलीले गुँड लगाएको हेर्थे । तुलसाको मठ नजिकै पारिजात फुलेको हेर्थें । र, करेसाबारीको बारमा बसेर रुप्पीले आफ्ना बचेरालाई चारो ख्वाएको हेर्थे । आमा मलाई काक्रोमा सुताएर मेलापात गर्थिन् । घास दाउरा गर्दथिन् । गनगुनाउँदै निकै अबेर रातीसम्म घरधन्दा गर्दथिन् । म आमाको गुनमुन सुन्दै कहिले हाँस्थे र कहिले सपनामा नाच्थे ।

एक दिन, सायद असारको पहिलो हप्ता हुनुपर्छ । घरमा रोपाई थियो । त्यसैले त्यो दिन आमाले गर्नुपर्ने कामहरु धेरै थिए । शुक्रतारा नझुल्कदै उठेर बिउ काड्नुपर्ने, सुर्योदय नहुदै खाजा बनाउनुपर्ने र रविकिरण पृथ्वीमा नपोखिदै रोपाई थाल्नुपर्ने । त्यहिबीचमा दुई भारी घाँस काट्नुपर्ने र भकारो सोर्नुपर्ने । कामको चटारोमा आफ्नो बालगोपाललाई कसरी स्याहार्ने ? आमाका अगाडि प्रश्न थियो पर्वतजस्तो । आमाले जुक्ति निकालिन्, मलाई मस्तले सुताउने । बस्, उनले मेरो मुखमा थोरै कानी हालिदिईन् । भटमासको दाना जति । त्यसपछि जे भयो, त्यो मेरी आमाका लागि जीवनकै नर्बिसिने घटना भयो ।
‘हे कृष्ण ! त्यो दिन तँ मरेको भए सायद म पनि मर्थेहुँला’, आमाले सुस्केरा हालिन् ।

उनले सुनाईन्– ‘कानीको प्रभावले तँ तीन दिन निश्लोट भईस् । मृतप्रायः । मेरो होस् उड्यो । फड्को होला जस्तो भयो । कुनै बेला दौडिन मनलाग्ने, कुनै बेला मर्न मनलाग्ने । चौथो दिन जब तैले आँखा खोलिस्, बस्, मेरो प्राण फर्कियो ।’

त्यसपछि उनले मलाई बोकिन् रे । र, म त्यसपछि कोक्राबाट आमाको पिँठ्युमा सरेँ । त्यसपछि जीवनका थप पाँच बर्ष म आमासँग अभिभाज्य रहेँ । गर्मीमा, शीतमा, हुरीमा, आँधीमा । जस्तो कि पानी झम्झम् परेको बेला होस् या कठ्यांग्रिने चिसोमा, म आमाको ढाँडमा निदाउँदै हुन्थेँ । आमा गुनगुनाउँदै कोदो गोड्थिन् र म उनको स्वरलहरीमा लहराउँथे । आमा बुलबुल चरीको कथा सुनाउँथिन् र म उनको ढाँडमा बसेर मुस्कुराउँथे । जीवनको सानो क्यानभासमा म उड्थेँ, गाँउथे, नाच्थेँ, प्वाँखहरु फट्फटाउँथे र मगनमस्त हुन्थेँ ।

मसँग आमा थिइन्, त्यसैले मसँग सम्पुर्ण संसार थियो ।

एक कक्षामा मेरो नाम लेखाईयो । स्कुलको पहिलो दिन । सेतो सर्ट, निलो हाफप्यान्ट, राता मोजा र रातै जुत्ता । खासमा सेता जुत्ता र निला मोजा हुनुपर्ने तर मसँग थिए राता । बुबाले काँधमा बोकेर मलाई स्कुल लानुभयो । स्कुलको नाम थियो सिंहेश्वरी प्रावि । जसै स्कुल, त्यसको फराक खेलमैदान र मैदानको उत्तरपुर्वी कुनामा मेरा चिरपरिचित गुरु कृष्ण भण्डारी देखापरे, मन फुरुंग् भयो । दौड्दै गएर गुरुको खुट्टामा ढोगिदिएँ । त्यसरी सुरुभयो मेरो स्कुल ।

अनि बिस्तारै म आमासँग अलग हुनथालेँ । दिनभर स्कुलमा । यद्यपि दुई कक्षासम्म पनि स्कुल छुट्टि भएपछि म हतारहतार घर पुग्थेँ र आमाको झुनाको मसिनो साडीमा लुटपुटिदै दुध चुस्न थाल्थेँ । तर कक्षा तीनदेखि मैले आमाको काख छोडेँ । छोडे आमाको झुनाको साडी ।

चार कक्षामा पुगेपछि मेरो ओछ्यान अलग भयो ।

केटाकेटीमा म निकै चञ्चल थिएँ । भंगेराजस्तै । खत्राकखुत्रुक गरिरहनुपर्ने । आमा मलाई माया गरेर भन्थिन्– कृष्ण कनैह्या । तर, मेरो चकचक असैह्य भएपछि हकार्थिन्– धन्दुकारी । बेलामौका आमा मसँग बाजी राख्थिन्– ‘लौ तँ बिहानभर चुप लागिनस् भने म एक मोहर दिन्छु ।’

कहिले म जित्थेँ, कहिले आमा ।

एक बर्षसम्म बाजीमा चुप लागेर मैले २० वटा जति ढ्याक जम्मा गरेँ । जसलाई म प्रायसः प्रत्येक साँझ गन्थँे र लुकाउँथे । एउटा दशैंमा मैले आमालाई सोधे– ‘आमा ! तिमीलाई के किनिदिऊँ ?’

आमाले उल्टो खुत्रुके किनिदिइन् र भनिन्– ‘यसमा जम्मा गर ।’

अहिले पनि मसँग ती सिक्काहरु छन्, खुत्रुके छ र छन् ती सबैमा आमाका औंलाका छापहरु ।

एक दिन हामी दाजुभाई स्कुल जादै थियौं । दाइ स्कुलको हेडमास्टर थियो र म विद्यार्थी । बाटोमा जंगल पथ्र्यो । जंगलको बीचमा थियो चिंखुवा खोलो । हिउँदमा खोलो तर्न कुनै गाह्रो थिएन तर बर्खामा भने कष्ट पथ्र्यो । त्यो दिन दाइले मलाई काँधमा बोक्यो र खोला तार्यो । खोला तारिसकेपछि सोध्यो– ‘केटा ! मलाई खोलाले बगाएको भए के गर्थिस् ?’

त्यो मेरा लागि असैह्या प्रश्न थियो । म रुन थालेँ ।

दाइले भन्यो– ‘न रो मूला । जीवनको के भरोसा ? मान्छे जुनसुकै बेला मर्नसक्छ ।’

म सुँक्कसुँक्क गर्दैथिएँ, उसले मेरो टाउको सुमसुम्याउँदै अर्को प्रश्न गर्यो– ‘म मरेँ भने तँ धेरै रुन्छस् कि आमा, लु भन् ?’

‘म रुन्छु’, मैले भनेँ । किनभने, ऊ मेरो प्रिय नायक थियो । तर, उसले त मलाई नयाँ रहस्य पो बतायो । भन्यो– ‘हैट, आमा रुनुहुन्छ नि ।’

कुरैकुरामा त्यो दिन दाइले बडो अनौठो कुरा सुनायो । उसले भन्यो– ‘आमाको माया समुन्द्र हो, केटा ! जति दिए पनि नसकिने । अपार ।’

त्यो रहस्य थाहा पाएपछि मैले आमालाई अझ धेरै माया गर्न थालेँ ।

चिंखुवाको जंघारसँगै तरेको चार बर्षपछि दाइ हरायो । दाइको बदलामा सरकारले आमालाई एउटा सानो कागज दियो । जसमा लेखिएको थियो दाइको नाम, वेपत्ता मिती र वेपत्ता पारिएको स्थान । कालान्तरमा उसलाई सरकारले शहिद घोषणा गर्यो ।

मेरी आमा शहिदकी आमा भईन् ।

एक दिन मैले आमालाई सोधेँ– ‘शहिद कि आमाको सपना के हुन्छ ?’

आमाले गम्भिर लयमा भनिन्– ‘मेरा सपनाहरु सुनाउन लायक मान्छे यो संसारमा कोहि पनि छैनन् छोरा । त्यसैले सपनाको कुरा छोड् । बरु म मरेपछि तैले मेरो मृत्युको कथा लेख्नु र सरकारलाई सुनाउनु, एउटी शहिदकी आमाको सपना आर्यघाटमा ऊसँगै जल्यो । अब उसका सपनाहरुले यो सत्तालाई कहिल्यै तर्साउने छैनन् ।’

आमा बितेको १५ दिनपछि जब मैले आमाका सरसामान मिलाउन खोजेँ, उनको ओछ्यानको सिरानीमा त्यहि निस्सा भेटेँ । दाजु वेपत्ता भएको निस्सा, जसका अक्षरहरु केहि मैला थिए र तिनमा आमाका आँशुका थोपाहरु लतपतिएका प्रष्ट देखिन्थे ।

जीवनका अन्तिम दिनहरुमा आमालाई डिमेन्सिया भयो । उनले धेरै कुरा बिर्सिईन् । नाता सम्बन्धको मोह बिर्सिईन् । मलाई बिर्सिईन् । तर, आफ्नी आमा र दिदीलाई कहिल्यै बिर्सिनन् । ऐनामा आफैलाई हेर्दै आमा भन्थिन्– ‘ऊ हेर त, आमा बोलाउँदै छिन् । दिदी बोलाउँदै छे ।’

नभन्दै संजोग यस्तो पर्यो कि स्वयं आफ्नी दिदी बितेको चौबिस घण्टा नहुँदै आमाले हामीसँग बिदा लिईन् ।

मान्छेको शरिरको कथा कसरी सकिन्छ ? थाहा छैन । मैले आमाको अन्तिम क्षण सम्झिएँ, जसको साक्षी थिए आर्यघाटका काला ढुंगा, बागमतीको मैलो पानी र मलामीहरु । मैले आमाको चितामा निकै कष्टसाथ दागबत्ती दिएँ ।

हेर्दाहेर्दै आमाको देहमा आगोको लप्का उठ्यो । कपालमा, अनुहारमा, आँखामा र पेटमा त्यो फैलिँदै गयो । मैले चितातिर हेर्न सकिन र आकाशतिर हेरे । आकासमा धुँवाको मुस्लो उठिरहेको थियो । बिस्तारै त्यो पनि विलाउँदै गयो ।

एकै छिनमा मित्र तेजबहादुरले खाली चितातिर देखाउदै भन्यो, ‘खोई आमा ?’ उसैले जवाफ दियो, ‘आकाशमा हराईन् ।’ मैले मित्र तेजबहादुरलाई भनेँ– ‘आमा आकाशमा हराएकी छैनन् साथी, उनी स्वयं आकाश भइन् ।’

आमा बितेको एक बर्षपछि जब आमाको कथा लेख्न बसेँ, मलाई लाग्यो आकाशको कथा लेखेर कहिल्यै सकिदैन । बरु आँशुको मसी सकिन्छ, तर आकाशको कथा सकिदैन । त्यहि बिराट आकाशको कथा हो आमाको कथा । मेरी आमाको कथा ।

त्यसैले आजलाई यतिमात्र भन्छु– ‘आमा ! मैले तिम्रो मृत्युको कथा लेख्न सकिन । यसका लागि तिमीले आफ्नो कान्छो पुत्रलाई क्षमा गरिदिनेछ्यौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button