
१६ बर्षमा दुलही हुनुपर्दा
रचना
नाम परिवर्तन
खुल्ला आकाशको चरीजस्तै स्वतन्त्र वातावरणमा सम्पूर्ण परिवारको निश्चल अनि निस्वार्थ माया पाएर हुर्किएकी म । थाहा छैन म कलिलो उमेरमा कसरी अन्जान व्यक्तिले विछ्याएको जालमा फंसेँ ।
१६ वर्षको चन्चले उमेर पत्तै नभई मभन्दा करिब एक बर्ष जति जेठो देखिने केटासँग मेरो भेट हुन पुग्यो । सुरु सुरुका दिनहरुमा त हामी एक–अर्कासँग साथीकै रुपमा हाँस्न बोल्न थाल्यौँ । कसरी हामी चाँडै नजिकिंदै एकअर्का बिना नरमाइलो महसुस गर्ने भइसकेछौँ पत्तै भएन । हाम्रो कुरा र भेटघाट दिनप्रतिदिन बढ्दै जान थाल्यो ।
मेरो परिवारले सानै देखि मलाई एउटा छोरी मात्र नभएर साथित्वको भूमिकामा पनि बाँधेको हुनाले मैले यो कुरालाई परिवारबाट टाढा राख्न सकिनँ । मैले निकै आँटिलो भावमा आमा बुबालाई भनेँ । केटाको परिवारले छोराले विहे गर्दिए हुने भन्ने चाहना राख्नु भएको रहेछ । मैले आफ्mु पढेर केहि गर्न योग्य भएपछि मात्रै विहे गर्छु भन्ने सोचेर पटकपटक उस्को विहेको कुरालाई इन्कार गर्थेँ ।
मेरो र उस्को बारेमा घरमा कुराहरु सेयर गरेको केहि दिनसम्म त ठिकै थियो । तर अलि पछिका दिनमा घरबाटै पनि एक्लो छोरी यसरी सँगै हिँड्न थालेपछि, अनि भर्खरै हुर्किदै गरेकी छोरी कुनै नराम्रो नै कदम उठाई भने घरको इज्जत जान्छ बरु विहे गरेर पठाइदिउं भन्ने कुराहरु गर्न थाल्नुभयो । उमेर सानै भए पनि परिवारको मनोस्थिति र स्थिति बुझ्न सक्थेँ । त्यसपछि मैले धेरै सोचेँ र आफ्नो अहिले नै विहे गर्न तयार नभएको कुरा बताएँ । तर यो काचो उमेरमा गरिएका यि नरम अनुरोधहरु मेरो परिवारलाई स्वीकार्य भएन । त्यसपछि दुवै परिवारको सहमतिमै ऊसँग १६ वर्षको कलिलो उमेरमै भयो । मलाई पढ्न इच्छा छ । मलाई जसरी भएनि १२ कक्षासम्म पढाउन पर्छ भन्दा हुन्छ हामी पढाउछौँ भनेका थिए ।
म कक्षा ९ मा पढ्दै थिएँ । तर पछिका दिनमा मलाई पढ्को लागि चाहिने किताब किन्न पनि उनीहरुलाई भार पर्न थाल्यो र किचकिच गर्न थाले । त्यसपछि मैले माइति घरबाटै सहयोग माग्थेँ । विहे गरेको करिव ३–४ महिनामा मेरो श्रीमान् काठमाडौ जानुभयो र उतैतिर काम गर्न थाल्नु भयो । म भने पारिवारिक बन्धन र जिम्मेवारीले गाउँमै व्यस्त थिएँ । श्रीमान पनि बीचबीचमा गाउँ आउने जाने गर्न थाल्नुभयो ।
समय बित्दै जाँदा श्रीमानले अर्काे विहे गरिसकेको कुरा गाउँकै मान्छेहरुको मुखबाट सुन्न पुगेँ । चसक्क काँडा बिजेझ्mैँ ति तिखा शब्दहरु गाउँकै मान्छेहरुबाट सुनेपछि आनन्दले बस्न सकिनँ । यता उताबाट बुझ्दा बिहे गरेको कुरा साँचो भएको थाहा पाएँ । उक्त विहेमा आफ्नै सासु र नन्दको समेत मिलोमतो रहेको कुरा पनि थाहा पाएँ । श्रीमानले बिहे गरेको कुरा मैले थाहा पाएपछि मेरो सासुले पनि कहिल्यै दाइजोको कुरा त कहिल्यै पढाइको कुरा निकालेर अलि फ्mरक व्यवहार गर्न थाल्नुभयो । त्यसपछि मेरा दिनहरु रात झै लाग्न थाले । विस्तारै समाजले पनि अनेक थरिका लान्छना लगाउन थालेपछि मलाई बाहिर निस्केर खुल्ला मनले बोल्न हाँस्न पनि गाह्रो भएको थियो ।
मेरा कतिपय रातहरु रुदैँ बित्न थाले र मनले पनि अनेक थरि सोच्न थाल्यो । यि सबै कुराको तनाबले म दिन प्रतिदिन भावनात्मक रुपमा कमजोर हुँदै गएँ । डिभोर्स गर्नलाइ पनि न त मसँग विवाह दर्ता छ त न कुनै कानुनी कागजात । मैले मेरो न्याय र अधिकार कसरी पाउने भन्ने कुरामै मेरा दिनहरु बित्न थाले । यसै बिच म एउटा संस्थासँग जोडिन पुगेँ र त्यहाँ मैले मनोविमर्शसँगै अन्य सिपहरु सिक्ने अवसर पाएँ र आफ्mुलाई विस्तारै बलियो र सशक्त बनाउदै गएँ । अहिले म आफ्नो हकको लागि कानूनी रुपमै संघर्ष गर्दैछु । मलाई आशा छ, म एकदिन आफु न्याय पाउनको लागि सफल भएरै छोडछु । मैले मेरो जीवनको संघर्षमा सिकेको कुरा भनेको पनि हामीले जीवनसँग हार खाएर र पिर मात्रै गरेर आफुलाई कमजोर बनाउने भन्दा पनि आँट र हिम्मतले मात्र सफलता प्राप्त हुनसक्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



