
पुस्तौनी हिंसा आजैदेखि बन्द गरौं
पुजा
नाम परिवर्तन
सिलाई सिक्न भनेर घरबाट १ दिन लाने सदरमुकाम स्थीत एक संस्थामा बसेर सिलाई सिक्दाको केहि तिता मिठा सम्झनाहरु मेरा दिमागमा आज फनफनी घुमिरहेछन् । एकदिन बिहानैदेखि मलाई लुगा सिलाउने खुव जाँगर लागेको थियो । फेरि अघिल्लो दिन डाफ्ट मात्र गरेको कुर्ता आज जसरी पनि काटेर सिलाई सक्नुपर्ने थियो । त्यसैले म दक्षिणतर्फ फर्किएको तिनतले घर, घरको भुईतलाको बरण्डामा लुगा फिजाई डाफ्ट हेर्दे कुर्ता काटिरहेको थिएँ । छेउमै रहेको सिलाई मिसिनको घटघटघटघ आवाज आईरहेको थियो । मेरी साथी कविता सुरिलो स्वरमा नेपाली गजलको अन्तरा गाउँदै कुर्ता सिलाउदै थिई ।
पुसको न्यानो घाम, घन्किरहेकोे धुनले वातावरण नै रमाइलो देखिन्थ्यो । केहि बेरमा गाइरहेको गजललाई रोक्दै कविताले मसंँग भन्न थालिन् “पुजा अब त हाम्रो ६ महिनाको सिलाई तालिम पनि सकिनै लाग्यो है ।”
मैले पनि कविताको कुरामा सहि थप्दै आफ्नो भाव व्यक्त गरें ।
“हो नि कविता ! समय गएको पत्तै भएन । हामी यहाँ आउन नपाएको भए अझै कति हिंसा सहेर, पलपल मरेर बाँच्नुपथ्यो होला है ? हाम्रो आवाज कसले सुनिदिने”, कवितासँग कुरा गरिरहँदा निहुरेर सिलाई रहेको कुर्ताको छेउमा तप्प आँसु खसेको मैले पत्तै पाइनँ । एक्कासी मेरो आवाज बन्द भयो ।
बोलिरहेकी साथीको आवाज ठप्प भएपछि कविता पनि पनि स्तब्ध भइन् ।
कविता मलाई सम्झाउँदै भन्न थालिन्, “नरोऊ पुजा, हेर न हामी यहा १० जना बस्ने सबैको उस्तै कथा, उस्तै व्यथा र उस्तै भोगाई छ त्यसैले त अहिले हामी एकैठाउँमा जुट्ने मौका पायौँ ।”
कविताले पनि आफ्नो वेदनालाई बलियो डोरीले कसें झै गरी आफ्नो पिडा लुकाउदै मलाई सम्झाईन् । तर कविताको पिडा पनि धेरै बेर लुकेन ।
आफुलाई नजिकबाट आँट र भरोसा पाएको महसुस गर्दै कविता भन्न थालिन्, “पुजा, तिमीजस्तो मैले बोल्दै नबोली मेरा मनलाई पढ्न सक्ने साथी पाएकी छु र त मेरो मनभित्र जलिरहेको आगोलाई निभाउने ठाउँ छ ।”
म साथीहरुलाई त सम्झाउँथे तर आफ्नो मनलाई सम्हाल्न भने मलाई हम्मेहम्मे पथ्र्यो । आफ्नो विगत सम्झिँदा मेरो मन पनि भारी हुन्छ ।
अनि कविता जस्तो मन मिल्ने साथी पाएपछि मैले पनि बारम्बार ठाउँ ठाउँमा भोगेको हिंसाहरु कवितालाई सुनाएँ ।
“कविता म आफ्नो पढाई खर्च जुटाउन बिहान एउटा घरमा कामगर्न जान्थेँ । त्यो घरको साहुनीभन्दा पनि साहु मसँग नजिक हुन खोज्थ्यो, तर मलाई पटक्कै मनपर्दैनथ्योे, एकदिन म भर्याङ पुछ्दै माथिबाट तल र्ओलर्दै थिएँ ।”
मैले आफ्नो कथा भनिरहदै आँखाबाट आँसु खसेको पत्तै पाउदिनथे र बोल्दाबोल्दै मेरो आवाज ठप्प हुन्थ्यो ।
कविता मलाई सान्त्वना दिन्थीन त्यसपछि म केहि समय लिदै आफ्नो कथा अगाडि बढाउथें ।
त्यो घरको साहुले एक्कासी पछाडीबाट दुई हातले मेरो स्तनमा च्याप्प समाउदै “तिमी कति किलो छौं ? जोखेको नि भन्दै लाज पचाउँदै भन्थ्यो ।” उसले बेस्सरी मेरो छातीमा समाएकोले छाती दुखाईले म हुरुक्क भए, त्यहि भर्याड.मा थुचुक्क बसें । त्यसपछि मलाई साहुदेखि एकदमै डरलाग्यो, यसले मलाई पक्कै नराम्रो गर्छ भन्ने सोचें अनि जति नै पिडा भएनी आफुलाई जोगाउन मैले उसको हात तानेर टोकिदिएं र त्यहाँबाट फुत्केर बल्ल बल्ल भागें ।
मैले रुदै कवितालाई सुनाएंं ।
मेरो कुरा सुनेर कविता पनि भावुक हुदै मलाई गाहे भएको महसुस गर्छिन र मेरो नजिकै आएर मेरो हात समाउदै ढाड्स दिन्छीन “हामी महिलाहरु कुनैठाउँमा पनि सुरक्षित छैनौं है ।”
त्यसपछि हामी एकअर्कोले आफ्नो आँसु पुस्यौं ।
अरु साथीहरु सबै कोठाभित्र खाना बनाउने आफ्नो काम गर्ने मै व्यस्त थिए ।
मेरो जस्तै कविताको पनि त्यस्तै भोगाई थियो । मलाई सम्झाउँदा सम्झाउँदै कविता पनि आफ्नो अतित तिर हराइन ।
केहिबेर माहोल शान्त भयो । समय अगाडि बढ्दै थियो ।
जे भाग्यमा लेखेको छ त्यहि भएरै छोड्दो रहेछ है पुजा भन्दै कविताले पनि म प्रति विश्वासको वातावरण पाएर आफ्नो कथा सुनाउँछिन् ।
“मैले र पवनले भागेर अन्तरजातिय बिहे गर्यौं । जात कै कारणले घरमा हामीलाई कसैले स्वीकारेनन् । माइतमा त झनै “हाम्रो लागी तं मरिस्” भनेर बुबाआमा दुवैले भनें । विवाह नगरुन्जेल मलाई पवनले असाध्यै माया गथ्यौं तर विवाह गरेपछि बिस्तारै उसले पनि परिवारको कुरा सुनेर म माथि कुटपिट गर्ने, कोहि केटामान्छेसंग बोलेको देख्नेबितिकै शंका गर्ने, घरबाट बाहिर निस्कनै नदिने गथ्र्यो । सासु पनि रिसले मसंग बोल्दैनथिइन् । जो भनेर गएको थिए उसले नहेरेपछि मलाई धेरै पिडा भयो ।”
कविताले आफ्नो घटना सुनाउदा म पुरै उनीभित्रै डुबेकी थिएं ।
कविताले फेरी बिचमा भन्दै गरेको आफ्नो कथालाई अगाडि बढाइन् ।
एकदिन घाँस काट्न भनेर तल बारीको पाटोमा एक्लै गएको थिए, केहि छिनपछि ससुरा आउनु भयो र म नजिकै आएर माया देखाउदै भन्न थाल्नुभयो, “चिन्ता नगर, तिमीलाई म छोरी जस्तै माया गरौला, तिमी मेरो बुहारी हैनौ छोरी हौं ।”
ससुराको कुरा सुनेर मलाई कोहि मायागर्ने मान्छे भेटेको जस्तो महसुस भएको थियो, मेरो मुहारमा केहि खुसी छाएको थियो तर त्यो खुसी छिनभर मै चक्नाचुर भयो पुजा । उनी मलाई सुनाउथिन ।
“किन के भयो र कविता”, मैले फेरी इच्छुक हुदै सोधें ।
कविता अगाडि भन्दै गइन्, “आलीमा लहलह परेको घाँस थियो । एउटा हातले घाँसको मुठो र अर्को हातले हसिया समाउदै घाँसकाट्न थालें । त्यसको केहि बेरमै ससुराले आफ्नो कोटको खल्तीबाट ३ हजार निकालेर “लाउ तिमीलाई खर्च गर्न हुन्छ भन्दै मेरो कुर्ताको गलाबाट हालेजसरी छातिमै छुंदै फुत्त भित्र हालिदिनुभयो ।” म झस्याँङ भए । ससुराले पनि माया गरेको भन्दै अरु नै गर्न खोजेका रहेछन ।”
त्यसपछि मेरो मन आतियो, यो के गरेका होलान भन्ने लाग्यों, केहि साेंच्न सकिन । त्यहाँबाट भागेर रुदै रुदै घर आएँ, घरमा कोहि थिएनन । सबैले जहाँ पायो त्यहि मलाई लुट्न खोजेपछि मलाई बाँच्न मनै लागेन । त्यसपछि आफ्नो रातो कुर्ताको सेटको पातलो सल झिकें । त्यहि सल लिएर घरदेखि अलिपर रहेको रुखमा गएर झुण्डिएर मर्छु भन्दै निस्किएं ।
कविताले सुनाइरहदा मेरो मुखबाट पनि फुत्त बोली निस्कीहाल्योे “मेरो ठुलीदिदीले पनि भिनाजुले दिएको यातना सहन नसकेर आत्महत्या गर्ने प्रयास गरेक थिई ।” तिमीलाई पनि त्यस्तै भएछ है कविता । अनि “कसरी बंच्यौ त ?”
मैले अझै जिज्ञासा राख्दै सोधें ।
सल मिलाउँदा मिलाउँदै माइतको आमा टुप्लुक्क आइपुग्न भयो ।
“के गरेकी छोरी तैले ?”, आमा आत्तिदै रुदै भन्न थाल्नुभयो ।
आमा देखेपछि पासो लगाउने भनेर ठिक्क पारेको हातको सल त्यहि रुखको मुनी छोडेर दौड्दै आमालाई अँगालो मारें र बेस्सरी रोएं ।
केहिवेर दुवै आमाछोरीको रुवावासी चल्यो ।
“तेरो बुबाले म यहाँ आएको छु भन्ने थाहा पाउनुभयो भने मार्छन मलाई । त हिडेपछि तेरो बुबाले सधैं रक्सि खाएर घर आउने र मलाई पनि पिट्ने, तथानाम गाली गर्न थालें ।” आमाले आफ्नो व्यथा सुनाउदै जे परेपनि सहुँला, हिडं घर भनेर मलाई त्यहाँबाट माइतैमा लानुभयो ।
कविताले आफ्नो पिडा मलाई सुनाउदै आफ्नो आँखाबाट खसेको आँसु पुस्छिन ।
मलाई लाग्थ्यो यो संसारमा मैले मात्र यस्तो भोग्नुपरेको तर कविताको कुरा सुनिरहदा उनी पनि म जस्तै रहेछीन भन्ने लाग्यो । त्यसपछि हामी दुवैसाथीले एकअर्कोलाई अँगालो मार्यौं र प्रण गर्यौं, हाम्रो हजुरआमा, आमा र हामीले भोग्नुपरेको पुस्तौनीे हिंसा आजैदेखि बन्द गर्नुपर्छ । हेर कविता अब हामी चुप लागेर बस्नु हुदैन । किन सधैं महिलाले मात्र हिंसा, दुव्र्यवहार सहनुपर्र्ने ?
म, कविता लगाएत हामी १० जनाले यस संस्थामा सिलाईका संगसंग महिला हिंसा, बेचबिखन, बालविवाह आदिको विषयमा तालिमहरु लिई धेरै कुराहरु सिक्न पाएका थियौंं । आफ्नो गाउँघरमा रहेका किशोरी समुह, समुह र विद्यालयमा मानव बेचबिखन, लैंगिक हिंसा, बाल बिवाह न्युनिकरण सम्बन्धी जानकारी दिनथाल्यौं । अहिले हामीहरु अगाडि बढ्न सकेको कारण अरुसंग शिर झुकाउनु परेको छैन् । आफु सक्षम भएको महाशुस गर्न थालेका छौं ।
हामीले जस्तै अहिले पनि कर्यौ महिला तथा किशोरीहरु हिंसा, दुव्र्यवहार, बालबविवाहको शिकार भै रहनु परेको छ । हरेक वर्ष नेपाल सरकार, विभिन्न गैर सरकारी संस्था तथा विभिन्न सरोकारवालहरुले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सञ्चालन गरेपनि यस्ता घटना त्यति घट्न सकेको छैन ।
हरेक परिवारबाट नै छोरीहरुलाई उचित शिक्षा दिने, सानै उमेरमा विवाह नगरिदिने, उनीहरुलाई आत्मनिर्भर बनाउने र आफ्नो जिवनको निर्णय स्वयम लिन सक्ने सक्षम बनाउन सकेमा मात्र हामीले कल्पना गरेको लैंगिक विभेद रहित परिवार, समाज र राष्ट्रको निर्माण गर्न सक्दछौं । हामी आफैं एकजुट भएमात्र हामी हिंसा अन्त्य गर्न सफल हुन सक्छौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)