त्यो ६० बर्षेको अगाडि म १४ बर्षकीको केही लागेन

अन्यायविरुद्ध लड्न नछाडौं

सुस्मा
नाम परिवर्तन

“खान्न के ममी । पुग्यो मलाई”, ३ बर्षको मेरो छोरा खाना खान्न भनेर जिद्धी गर्दैछ ।

“तिम्रो बेलामा मलाई कसैले खाना दिंदैनथ्यो । तिमीचाहिं खान नमान्ने”, छोरालाई भात खुवाउन बल गरिरहेछु । मेरो छोरा मेरो जीवनको एउटा अमुल्य पाटो हो भने यहि छोरा मेरो जीवनको सबैभन्दा पिडादायी क्षण सम्झाउने पात्र पनि हो । नभए आज आफ्नो सत्र बर्षको उमेरमा म पक्कै पनि ३ बर्षको छोरा साथमा लिएर बसिरहेको हुन्नथें होला ।

त्यतिखेर म जम्मा १४ बर्षकी थिएँ । भैँसी गोठालो तथा जंगलमा घाँस काटेरै मेरा दिनहरु बित्थे । अन्य दिनहरु जस्तै त्यो कालो दिनमा पनि म जंगल नजिकै घाँसको भारी बिसाएर बसिरहेकी थिएँ । आफ्नै सुरमा गीत गुनगुनाउँदै मनमा अनेकथरि कुराहरु खेलाउँदै फेरि घाँस काट्नमा व्यस्त भएँ । यतिकैमा कसैले पछाडिबाट आवाज लगायो, “ए नानी, यस्तो चर्को घाममा कति घाँस काटेकी ? थाकेकी हौली । लौ पानी खाउ । तिर्खा मेटिन्छ ।”

काटेको घाँस मुठ्ठीमै राख्दै पछाडि फर्केर हेरें । मेरो छेउमै एक ६० बर्षजस्तो देखिने बुढो हरियो रङ्गको बोतलमा पानी लिएर उभिएको रहेछ । राम्ररी नियालें । मेरै गाउँको अङ्कल पो परेछन् । अलि हाँस्दै भनेँ, “ए अङ्कल पो ? हैन, मलाई तिर्खा लाको छैन । म अहिले पानी पिउँदिन ।”

“लौ–लौ झन् तिर्खा लाको होला भनेर ल्याईदिएको”, उनले अलि जिद्दी गर्दै र माया देखाए जसरी भने ।

त्यसपछि अङ्कलको जिद्धि देखेपछि आफ्नै “बुवा जस्तो मान्छे, छोरी सम्झेर मायाले दिए होलान् । ठिकै छ । पानी त हो” भनेर मैले पनि दुईचार घुट्का पानी घटघट पिएँ । पानी पिएको अलि बेरमै मेरा आँखा तिरमिर गर्दै धमिलिन थाले । अनि कमजोरीले समातेको जस्तै मेरो शरिरमा चक्कर आउन थाल्यो । लौ के भयो भनेर आतिँदै थिएँ । कतिखेर बेहोस भएछु केहि पत्तो भएन ।

धेरै नै बेरपछि आँखाले निद्राबाट व्युझिएँ जस्तै गरेर खुल्ने प्रयास गरे । शरिरले निकै आलस्य भएको महशुस गरायो । आफुलाई हेर्दा लम्पसार पल्टिरहेकी रहेछु । वरिपरि हेर्दा ठाउँ पनि निकै फरक रहेछ । उखुका बोटहरुले मलाई नै हेरेको जस्तो लागिरह्यो । आकाशतिर हेर्दा तिन चार बजिरहेको जस्तो लाग्यो । विस्तारै म उठ्न खोजेँ । तर किनकिन पिसाब गर्ने ठाउँमा पीडा भइरहेको अनुभव भयो । एकछिन सोचें र आफैंलाई सोध्न थालें, “हैन, म कहाँ छु ? मलाई के भइरहेको छ ? खै मेरो घाँसको भारी ?” यी विभिन्न सवालहरुले मनलाई झक्झकाईरहे ।

म विस्तारै उठेँ । तर मेरो सुरुवालको डोरी फुकिरहेको रहेछ । के भएछ, किन आज मेरो पिसाब गर्ने ठाउँ पोलिरह्यो भन्ने लागिरह्यो । सुरुवालको वरिपरि रातै रगतको छापहरु रहेछ । म एकछिन टोलाएँ । के भयो पत्तो पाउन सकिनँ । त्यहि अघिको पानी र त्यो बुढोमान्छेलाई सम्झेँ । कतै उसैले मलाई यहाँ ल्याएर केही नराम्रो त गरेन ? विश्वास र अविश्वास अनि शंकाको आश्रयले म हडबडाउन थालेँ ।

मेरो दुईओटा हातले टाउकोतिर गएर थामिन खोजे । अनि त्यहि शंकाको आभाषले मलाई भक्कानिएर रुने बनायो । डर र दोधारले भरिएको मन लिएर घरतिर लागेँ ।

केहि समयपछि अर्को दिन पनि १०–१५ मिनेटको बाटो हिँडेर म जङ्गलको घाँसे मैदानमा पुगेँ । एक्कासि त्यहि ६० बर्षको मान्छे आएको देखें । मन झसङ्ग भयो । शरीर काप्न थाल्यो । म यति डराएछु कि उ नजिक आउनासाथ मैले भाग्ने प्रयास गरेँ । तर उसले मेरो पिछा गरिरह्यो ।

“मेरो पछि नआइजा म घरमा भन्दिन्छु”, म चिच्याएँ ।

त्यतिकैमा उसले अलि हाँस्दै जवाफ फर्कायो, “तँ कस्लाई भन्छस् ? न त तेरो आमा छ ? न त तेरो बाउ घरमा छ ?”

मेरो बा कामको सिलसिलामा इन्डिया हुनुहुन्छ । सायद यहि मौका पारेर होला उसले मलाई निकै हेपेको थियो । यसरी धेरै बेर इन्कार गर्ने प्रयास गरिरहें । तर म १४ बर्षकी अवोध बालिकाको ६० बर्षको उमेर ढल्केको त्यो मानवपशुको अगाडि केही लागेन । म सहाराविहिन भएर ढलिरहेको रुख जस्तै लम्पसार पल्टिरहेँ । मेरा ओठहरु निशव्द थिए । मेरा निर्दोष आँखाले आँसु झार्नबाहेक अरु केही जानेका थिएनन् ।

आफ्नो प्यास मेटेर उसले मलाई छोड्यो । अब भने मलाई थाहा भयो, त्यो ४ दिन अगाडिको म माथि घटना घटाउने मान्छे उही हो । म कुनै युद्वबाट थाकेर आएको जस्तै भारी र वेदनापूर्ण शरिर लिएर घर पुगेँ । जब बेलुका हँुदै गयो, तब सबै जना परिवार खाना खान बसे । तर मेरो भोक र निन्द्रा सबै ति घिनलाग्दा र अमानविय हर्कतहरुले लुटिसकेका थिए । एकछिन् अलि आँट आए जस्तोगरी सबै घटनाको बारेमा कान्छी आमालाई भनिदिन्छु भनेर पाइला अघि सारेँ । तर फ्mेरि मेरो अर्को मनले भन्यो, “तँलै भनेको कुरा कसैले पत्याउँदैन, तँ सानै छस् । तलाई घरबाट निकाल्छन् ।” यि सबै कुराले मेरा पाइलाहरुलाई पछाडि धकेलिदिए ।

त्यसपछि मेरो महिनावारी रोकियो । यस बीचमा जीवनमा धेरै नै संघर्ष गर्नुपर्यो । आफु बाँच्नको लागि । म गर्भवती भएको थाहा पाएर परिवारले मलाई सहयोग गर्नुको सट्टा उल्टै शंका गर्न थाल्यो । एकदिन कुन सन्जोगले हो कुन्नी त्यहि व्यक्तिसँग गाउँमा भेट भयो । उस्ले आफ्ना सबै लाजहरु बेचेर मलाई भन्न थाल्यो, “ए तँ महिनावारी भइस् कि छैन ?”

मैले पनि रिसको झ्mोकमा जवाफ्m दिएँ, “छैन, तलाइ किन चाहियो र …?”

त्यसपछि उसले एउटा औषधि ल्याएर दियो । अलि दिनपछि मैले चामलको बोराभित्र लुकाएर राखेको त्यो औषधि कान्छी आमाले भेटाइन् । उनले कसैलाइ नसोधी म कहाँ आइन् । धेरै दिनदेखि थाहा पाएजसरी मलाई सोधिन्, “यो तेरो नै काम होला हैन ? कहाँबाट ल्याइस् ?” भनेर भन् कि भन् भनेर मैले कुराहरुलाइ लुकाउन नसकि रुँदै सबै कुराहरु भनें ।

यसरी एक कान दुई कान मैदान हुँदै मेरो कुरा समाजका सबैलाई थाहा भयो । यहि कुराको छिनोफानो गर्न भनी मेरो समाजका ठुलाबडाले मिटिङ राखे । हामी दुवैलाई एकएक गरी सोध्न लगाए् । मैले सबै कुरा निकै हिम्मत जुराएर बोलेँ । तर यो सबै कुरा उसले स्विकार्न मानेन । उसले १४ वर्षको बच्चा झुटो बोल्छ, उसको विश्वास नगर्न भनी सबैलाई आफुतिर तान्यो । मेरो कुरामा कसैले विश्वास गरेनन् । उल्टै सबैले मलाई लान्छना लगाए । कसैले भनिरहेका थिए, “ १४ वर्षको बच्चा भएर ६० वर्षको मान्छेमाथि दोष लगाउन लाज लाग्दैन ?”

समाजका यी तुच्छ शव्दहरु सहन नसकेर मुख खोलें, “अस्पताल लैजानु होस्, जाँच गरौ ।”

यत्तिकैमा उक्त ६० वर्षे मान्छेले जवाफ दियो, “जाउँ, यदि बच्चा छैन भने तैले मलाई ५ लाख दिनुपर्छ ।”

त्यहि रिसमा मैले भनेँ, “५ होइन ५० लाख दिन्छु । पहिला अस्पताल गएर चेकजाच गरौँ ।”

त्यसपछि सबैले मलाई विश्वासले हेर्न थाले । बा र आमा पनि मेरै पक्षमा बोले । अब भने मलाई अलि आशा जाग्यो कि अब मैले न्याय पाउँछु भनेर तर विडम्बना ती ठुलाबडा भन्न थाले, नानी तिमी सानै छौ पैसामा मिल ।

मेरो इज्जत र शरिरलाई समाजको इज्जतसँग बेच्न खोजियो तर मेरा बा, आमा र म मेरो न्यायकै लागि बोलिरह्यौ । एकातिर मेरो मनमा बारम्बार मर्ने प्रयास जागिरहेको थियो । यी घटनाको बीचमा मैले धेरै मर्ने प्रयास गरेँ । तर फेरि हिम्मत जुटाएर आफ्नो न्यायको लागि लडिरहेँ ।

यसैबीच अन्तिममा मेरो परिवार र समुदायको महिला समितिको सहयोगमा प्रहरी कार्यालयमा निवेदन बुझायौ र उक्त व्यक्तिलाई १२ बर्ष जेल चलानको निर्णय मैले सम्मानित न्यायालयबाट पाएँ ।

आज मेरो छोरा मसँग छ । म एउटा नयाँ जीवन बांचिरहेको छु । ममा केहि गरेर खाने आँट छ । मैले आफुले आफ्नो अन्यायविरुद्धमा लडेकोमा आफुलाई बलियो पनि महशुस गर्छु । अहिले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको अवसरमा सम्पूर्ण मजस्तै किशोरीहरुलाई के भन्न चाहन्छु भने आफु, आफ्नो वरिपरि वा नजिकको कुनै पनि महिला तथा किशोरीहरुले हिंसा, दुव्र्यवहार, करणी आदि भोग्नु भै रहेको छ भने न्यायको लागि निडर भएर लडौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button